शङ्कर दाइको बहिनीको बिहेमा

    मोतीसागर परियार

‘सर, तपार्इंलाई हाकिमले बोलाउनुभएको छ ।’ महिनाको अन्तिम दिन । मासिक प्रतिवेदन तयार गर्न व्यस्त थिएँ । पछाडिबाट एक्कासी आएको महिलाको आवाज सुनेर झसङ्ग भएँ । कम्प्युटरको स्क्रीनबाट हटाएर ढोकामा नजर लगाएँ । मैले काम गर्ने कार्यालयको सहयोगी दिदी हुनुहुँदो रहेछ ।

केही बेरमा प्रतिवेदनको काम सकेर म माथिल्लो तलामा रहेको कार्यालय प्रमुखको कार्यकक्षमा पुगें ।

‘ल मोतीजी बस्नुस्’ मेरो नमस्कारको जवाफ नफर्काइकन कार्यालय प्रमुखले कुर्चीतर्फ संकेत गर्नुभयो । म पुग्नुभन्दा पहिला नै अरु कर्मचारी साथीहरू उपस्थित भइसकेका थिए ।

दिउँसोको एक बजेको थियो । अनौपचारिक कुरा सुरु भयो । प्रत्येक कर्मचारीको हालखबर र सञ्चो–विसञ्चोको कुरा भए । त्यत्तिकैमा चिया आइपुग्यो । चियाको चुस्किसँगै छलफलको विषय मोडियो ।

आकस्मिक बैठकमा कार्यालयको विविध विषयमा छलफल भइसकेपछि, हाम्रै कार्यालयका सवारी चालक शंकर नेपाली (जसलाई कार्यालयमा ‘शंकर दाइ’को नामले चिन्छौँ) को बहिनीको विवाहको निमन्त्रणा आएको जानकारी भयो । शंकर दाइले आधिकारिक रूपमा कार्यालय प्रमुखलाई निम्तो दिनुभएको रहेछ ।

अनौपचारिक छलफलका एक विषय त्यही निम्तो पनि रहेछ । ‘ल किन ढिला गर्ने छलफल गरौँ न’प्रमुखले सबैलाई विषय केन्द्रित गर्न खोज्नुभयो ।‘जान मन लागेका व्यक्तिहरू जाऔँ, यहाँ अफिस नि कुर्नुप¥यो’प्रशासन सहायकले निर्णय सुनाए जसरी सुनाउनुभयो ।

‘शंकर दाइले सम्मान गरेर आफ्नो बहिनीको विहेमा निमन्त्रणा गर्नुभएकोले कार्यालयका सबै कर्मचारी जाँदा राम्रो हुन्छ होला’अर्का एकजनाले आफ्नो विचार राख्नुभयो । मैले पनि उहाँको भनाईमा समर्थन गर्दै, सबै जाँदा सकारात्मक हुने मत राखेँ । करिबबीस मिनेटको छलफल पछि, सोहि दिन अपरान्ह पाँच बजे सबै जना जाने निधो भयो ।

‘ल बस्नुस् बैठक सकिएको छैन’ बैठक सकिएको भन्ठानेर कार्यालय प्रमुखको कार्यकक्षबाठ निस्किन लागेका हामी पुःन कुर्सीमा बस्यौँ ।‘खाना के गर्ने ?’प्रमुखकोे अनपेक्षित प्रश्नको छेउटुप्पा छुट्याउन सकिनँ । ‘खाना के गर्ने भन्नाले ?’अर्का सहकर्मीले अनभिज्ञताको भाव प्रकट गर्नु भयो ।

‘कुरा के भनेदेखि, आजको विहेमा शंकरका आफन्तहरू आएका हुन्छन्, भान्सामा उनीहरूले लसपस गरेका हुन सक्छन । त्यस्तो अवस्थामा कसरी हामीले खान सक्छौ ? यदि उनीहरूले जवरजस्ती आफैले पकाएको भान्सामा खाना खान कर गरे भने, हामी कोहीत्यहाँ बस्दैनौँ, सबै जना उठेर आउँछौं’कार्यालय प्रमुखले आदेशत्मक शैलीमा भन्नुभयो । ‘हो, हो त्यो शंकरेको बैनीको विहेमा त्यही सार्की, दमाई, कामी त होलान । उनीहरूले लसपस गरेको भान्सामा खायो भने त मेरो बुढिले घरबाट निकालिदिन्छे’ कार्यालयका लेखा अधिकृतले आफ्नो भनाई राख्नु भयो । उहाँको अनुहारमा घृणाको भाव स्पस्ट देखिन्थ्यो ।

यो संवाद सुनेपछि मेरो मनमा बेचैनी बढ्यो । सम्मानका साथ शंकर दाईले बोलाउनु भएको निमन्त्रणामा जान किन असजिलो भएको होला ? हाम्रै कार्यालयका रामप्रसाद दाईले बोलाउनु भएको भए सरहरूले यस्तो कुरा गर्नुहन्थ्यो होला ? यस्तो सोच बिचार भएका कर्मचारी भएको कार्यालयमा कसरी काम गर्ने होला ? सोच्दासोच्दै अपरान्हको पाँच बजिसकेछ ।

सवा पाँच बजे कार्यालयबाट निस्कनै लाग्दा बाहिर चौरमा कार्यालय प्रमुख र लेखा अधिकृत उभिरहनु भएको थियो । ‘ल मोती जी बिहेको निम्तोमा जाऔं’ प्रमुखले भन्नु भयो । हामी त्यहाँ जम्मा चार जना मात्र जान तयार भयौं । बाँकी पाँच जना कर्मचारीहरू कोही बिरामी भएको, कोही आफूलाई जुठो परेको (आफन्त बितेको) ले जान नसक्ने बताउनु भयो । कार्यालयमा उपस्थित हुनु भएका कर्मचारी साथीहरूमध्ये हामी चार जना मात्र शंकर दाइको बहिनीको बिहेमा जान तयार भयौं । शंकर दाइको बैनीको घरमा जानुपर्दा केही साथीहरू आश्र्चयजनक तरिकाले बिरामी हुनुभयो । हामी चार जना शंकर दाइको घरमा गयौं । विवाहित जोडीलाई दाम्पत्य जीवनको शुभकामना दिइसकेपछि शंकर दाईले खाजा खाएर जान अनुरोध गर्नुभयो । हामी भान्सा भएतीर गयौँ । दलित र ब्राहमण–क्षेत्रीको लागी फरक–फरक भान्साको व्यवस्था गरिएको थियो ।

त्यसको ठ्याक्कै एक महिना अघि हाम्रो कार्यालयमा काम गर्ने यामबहादुर मगर दाइको नातिनीको न्वारनमा निमन्त्रणा आएकोले कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरूले न्वारनमा सहभागी भई दीर्घायूको कामना सँगै उपहार दियौँ । जब खाजा खाने समय भयो, यामबहादुर दाईले अन्कनाउदै अब दुई समूह बनाएर खाजा खानु प¥यो भन्नुभयो । बा्रहमण, क्षेत्री समुदायका कर्मचारीलाई भित्र लिएर जानुभयो । त्यहाँ दुई जना मात्र बाँकि रह्यौ, जो दलित समुदायका थियांै । हामीलाई बाहिरै राखेर खाजा दिइयो । केही जनजाती समुदायमा दलितलाई विभेद गर्दछन् । यो दुई वर्षअघि गुल्मीमा छँदा गरेको अनुभव थियो ।

यस्ता अनेक अनुभव छन् । नेपाल कृषि अनुसन्धान परिषद्वाट फाल्गुन २३, २०७४ मा नियुत्ति लिएर पहिलो पटक गुल्मी जिल्लाको रुरु गाँउपालिका वडा नं. चार भण्डारीडाँडामा पुगेपछि, कार्यालय नजिकै रहेको चिया पसलमा गयौँ ।‘कार्यालयका नयाँ सरहरूलाई स्वागत छ’ लगभग ४५ वर्षकी महिलाले हामीलाई चिया दिइन् । चिया पिँउदै परिचय सुरु भयो । ‘ए मत क्षेत्री हुनुहुन्छ होला भन्याथे सर त तल्लो जातको हुनुहँुदो रैछ’ मैले परिचय दिएपछि ती महिलाले बोलेको तल्लो जात सुनेपछि पिँउदै गरेको चियाको स्वाद पनि हरायो ।

जातीय विभेदजन्य अनुभव म गुल्मी आएर काम गर्ने क्रममा पटक–पटक भोगियो । तर यी दुई घटनाले मलाई धेरै दिनसम्म मानसपटलमा केही प्रश्नहरूले डेरा जमाइरहे । किन शंकर नेपाली र यामबहादुर मगर कार्यालयको लागि समान व्यक्ति होइनन् र ? किन एउटै समान हैसियत भएको व्यक्तिको लागी फरक व्यबहार ?

यामबहादुर मगरको नातिनीको न्वारनमा सहभागी हुने कर्मचारीहरू शंकर नेपालीको बहिनीको विहेमा किन सहभागी हुन इच्छुक देखिएननन् होला ? यदि शंकरप्रसाद पौडेल भएको भए, उनको घरमा निम्तोमा गएर खाने कि नखाने विषयमा छलफल हुन्थ्यो कि हुदैन्थ्यो होला ?

प्रंशङ्गवस जातीय विभेदको विषयमा छलफल हुँदा म सँगै काम गर्ने साथीहरू बढो आदर्शवादी कुरा गरेको सुन्छु । उनीरुको भनाइ हुन्छ, आजभोली नी के जातपातको कुरा गरेको होला ? जातिय विभेद छैन, हटिसक्यो । वर्ण व्यवस्थामा हुर्किएका ती साथीहरूको व्यबहार भने साह्रै आर्दश विपरित हुन्छ । समाजमा शिक्षाको विकास भएपछि जातीय, लैंङ्गिक विभेद कम हुन्छ भनेर सुन्दै आएका हामी व्यवहारमा भने त्यस्तो पाउँदैनौ । अशिक्षित (औपचारिक शिक्षा नलिएका)भन्दा शिक्षित भनिने मानिसहरूमा जातीय विभेदका घटनामा बढि संग्लनता पाइन्छ । मेरो अनुभवमा ।

धार्मिक अगुवा (नेपालको सन्र्दभमा हिन्दु धर्मका अगुवा), शिक्षक, सरकारी निकायमा काम गर्ने व्यक्ति, सुरक्षा निकायका जिम्मेवार पदाधिकारीहरू जातीय विभेदका घटनामा प्रत्यक्ष सहभागिता हुन्छ ।

नेपालमा २०२० को मुलुकी ऐनले जातीय भेदभावलाई पहिलो पटक दण्डनीय मानेको थियो । २०४७ सालको संविधानले जातीय भेदभाव तथा छुवाछुतलाई संवैधानिक रूपमा अन्त्य गरेको थियो । त्यस्तै २०६८ सालमा लागु भएको जातीय भेदभाव तथा छुवाछुत (कसूर र सजाय) ऐनले निजी तथा सार्वजनिक क्षेत्रमा जातीय भेदभाव तथा छुवाछुतलाई दण्डनीय बनाएको छ । संविधानसभाबाट निर्माण गरिएको नेपालको संविधान २०७२ को प्रस्तावनामा सवै प्रकारका जातिय विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समावेशी र सहभागीतामुलक सिदान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरिएको छ । २०७२ सालको संविधानको मौलिक हक अन्र्तगत धारा १८,२४ र ४० मा सबै प्रकारका जातिय विभेद तथा छुवाछुतलाई गम्भिर सामाजिक अपराधका रूपमा कानुन बमोजिम दण्डनिय हुने व्यावस्था गरेको छ । तर कार्यान्वयन भने फितलो छ ।

प्रकाशित मितिः   ८ चैत्र २०७६, शनिबार ११:२७