सङ्कटमा गोपनीयता
गोपनीयता भन्नासाथ गोप्य अथवा आफूबाहेक कसैलाई थाहा नभएको कुरा हो । अर्को शब्दमा त्यस व्यक्ति वा संस्थागत रूपमा निहीत कुनै अन्तरवस्तुलाई त्यसको गोपनीयता भनिन्छ । वैयक्तिक यौनिक जानकारी, उत्पति, आस्था वा विचार आदि व्यक्तिगत गोपनीयता हुन् भने आन्तरिक रणनीति, बैठकका निर्णय, संस्था सञ्चालनको गोप्य संयन्त्र आदि संस्थागत गोपनीयता हुन् । व्यक्तिको बसोवास क्षेत्र, संस्थागत आन्तरिक मूल्याङ्कन, आदि पनि गोपनीयतामै पर्दछन् ।
समग्रमा गोपनीयतालाई स्वयम्को मात्र पहुँच भएको अन्तरनिहीत जानकारी भनी परिभाषित गर्न सकिन्छ । वैयक्तिक गोपनीयता सम्बन्धी ऐन–२०७५ ले वैयक्तिक गोपनीयतालाई प्रचलित कानुनी प्रयोजनका लागि बाहेक अनतिक्रम्य हुने भनेको छ । व्यक्ति र राष्ट्रलाई नै सफल बनाउन अहम् भूमिका खेल्ने गोपनीयतालाई अति संवेदनशीलरूपमा हेरिनुपर्छ । मानव निर्मित संयन्त्रहरूले गोपनीयताको महŒवमा केही ह्रास ल्याएकोले यस्तो हुन गएको हो । स्मरणशक्ति समेत बढाउने गोपनीयताको महत्व आफैंमा सबैले बोध गर्न सक्छन् । तर समय सापेक्ष यसको प्रयोग सर्वोत्तम मानव हितमा गर्न पनि सक्नु पर्छ ।
गोपनीयता रणनैतिक सक्षमताको एक मात्र ठोस आधारस्तम्भ हो । यसको सदुपयोगले सबैलाई उच्च प्रतिष्ठा र सुरक्षित मार्गसम्म पु¥याउन सक्छ । यति हुँदाहुँदै पनि सुरक्षाको पहिलो आधार मानिने गोपनीयतालाई गम्भीरतापूर्वक लिई व्यवहार गर्न धेरैजसो व्यक्ति तथा निकायहरू अक्षम छन् । फलस्वरूप बलियो गोपनीयता नीतिको अभ्यास गर्दै अमेरिका शक्तिशाली हुँदा नेपाल लगायतका केही राष्ट्रहरूको निर्णय केही बेरमा नै छिमेकीकहाँ पुगेको पढ्न र सुन्न पाइन्छ । परिणामतः उनीहरूले आफू अनुकूल निर्णय गराउन दबाब दिने गरेको समाचार प्रकाशित र प्रसारित हुने गरेका छन् । तसर्थ वैयक्तिक तनावबाट मुक्त हुन, देश तथा समुदायमा हस्तक्षेप कम गर्न र आन्तरिक सबलतालाई बाह्य रूपमा निरन्तरता प्रदान गर्न गोपनीयताको संवेदनशस्लता बुझी काम गर्नुको विकल्प छैन । त्यतिमात्र नभइ आधुनिक प्रविधिमा आधारित गोपनीयता र छापा वा अन्य प्रकृतिको गोप्य वस्तुहरूलाई अलग–अलग तरिकाले व्यवस्थापन गर्न नसक्नु चुनौति बन्दै गएको छ । अनावश्यक डाटा सङ्कलन र प्रसोधन अर्को मुख्य चुनौति बन्न पुगेको छ । यस सन्दर्भमा यहाँ गोपनीयतालाई कमजोर पार्ने केही कारणहरूको संक्षिप्त चर्चा गरिन्छ ।
१. इन्टरनेट
हाल सबै आफूले गरेका कार्यहरूलाई संसारले थाहा पाओस् भन्नका लागि इन्टरनेटमा राखिन्छ । यस क्रममा कतिपय गोप्य जानकारीहरू पनि राख्नुपर्ने हुन्छ । तीमध्ये केही आफ्ना सामग्रीको सुरक्षा र वैधानिकताका लागि हुन्छन् । जस्तैः गोप्य शब्द (पासवर्ड) लक्ष्य र उद्देश्य, अनुपम नाम सहितको स्पष्ट परिचय आदि । अनि कतिपय जानकारी वैयक्तिक कुरासँग सम्बन्धित हुन्छन् । जस्तैः नाम, फोन नम्बर, भौगोलिक क्षेत्र आदि । यस किसिमका जानकारीहरू इन्टरनेट सेवा प्रदायक कम्पनीको नियन्त्रण र रेखदेखमा हुन्छन् । अझ संस्थानहरूसँग आफ्नो इमेल सर्भर समेत छैन । यस तथ्यले नेपालीहरूको सूचनामा परनिर्भरतालाई थप पुष्टि गर्छ । यसर्थ ती कम्पनीहरू, जस्तो कि गुगल, युट्युब, ट्वीटर आदिले कुनै पनि प्रयोजनका लागि हाम्रो जानकारीहरू प्रयोगमा ल्याउन सक्छन् । त्यस कारण इन्टरनेट गोपनीयताको एक समस्या नबन्ला भन्न सकिन्न ।
तपाईं नेपालको कर्णाली प्रदेशमा हुनुहुन्छ र इण्टरनेटको पहुँचमा हुनुहुन्छ भने तपाईंको अनुगमन महाशक्ति देश अमेरिकाले गरिरहेको सम्झनुहोस् । किनकि विश्व स्थिति प्रणाली (जीपीएस) अमेरिकाको पूर्ण नियन्त्रणमा छ । हामीमध्ये केहीलाई पहिले धेरै नम्बरहरू याद हुन्थे तर आजकाल ती सम्पर्क नम्बरहरू मोबाइलमार्फत गुगल, पीडिएफ लगायत अन्य एप्लिकेसनको पहुँचमा सहजै पुग्छन् । यद्यपि विद्युतीय कानुन अनुसार बिना जानकारी कसैको फाइल वा जानकारी खोल्न र सार्वजनिक गर्न पाइँदैन । तर यो भन्न कठिन छ कि हाम्रो अनलाइनमा आधारित कार्य कति सुरक्षित र गोप्य छ भन्ने कुरा ।
२. प्रविधिमा बढ्दो उपनिवेशीकरण
नेपाल लगायत धेरै जसो विकासशील राष्ट्रहरूले प्रविधिमा अगाडि रहेका चीन, थाइल्याण्ड, भारत, बेलायत, रसिया, जापान जस्ता देशका भू–उपग्रहहरू र तिनीहरूमा आधारित सूचना प्रणाली प्रयोग गरिरहेका छन् । नेपालले एक मात्र भू–उपग्रह अन्तरिक्षमा छोडेको छ जुन अमेरिकाकै नियन्त्रणमा छ । यस सन्दर्भमा वर्षेनी ठूलो धनराशी उनीहरूलाई तिर्नु पर्ने निश्चित छ । अझ भनौं पैसा तिरेर पनि हाम्रो गोपनीयता हराउँदै गएको छ । सुरक्षामा नेपालजस्ता कम शक्तिशाली देशहरू बोल्न सक्दैनन् । किनकि, कसैको सामाजिक सञ्जालको खाता बन्द गर्नु प¥यो भने पनि अमेरिकालाई गुहार्नु पर्छ । फेसबुकले राजनैतिक आस्था, धार्मिक आस्था आदि विषयको सूचना सङ्कलन गर्छ । तर वैयक्तिक गोपनीयता सम्बन्धी ऐन २०७५ दफा २७ ले त्यस किसिमका सूचनालाई संवेदनशील वैयक्तिक सूचनाको रूपमा व्याख्या गरेको छ । तथापि फेसबुकमा कडा नियम्बन नीति लिन कठिन जस्तै छ किनकि फेसबुकको कार्यलय अमेरिकामा छ ।
३. अनुवाद
सामग्रीहरू अङ्ग्रेजी भाषामा अनुवाद हुने क्रम तीव्र रूपमा भइरहेको छ । यस सन्दर्भमा अङ्ग्रेजी भाषी नै शक्तिको पहिलो नम्बरमा रहनुले गोपनीयतालाई मात्र नभइ आविष्कार तथा पहिचानलाई नै तोडमोड गर्ने खतरा उत्पन्न भएको छ । अझ सोचनीय पक्ष केही क्षेत्रमा मानिसहरू आफ्नो पहिलो भाषाको प्रयोग नगरिकन सिधै कागजात वा तथ्यहरूलाई अङ्ग्रेजीमै मात्र प्रकाशन र प्रसारण गर्न उद्धत देखिन्छन् । यसले जानकारीलाई विश्वभर पहुँचयोग्य बनाइ तथ्यगत तोडमोड गर्ने बौद्धिक व्यक्ति र पूँजीपतिलाई मलजल गर्छ । वर्तमान समयमा धेरैजसो आर्थिक तथा सामाजिक विषयका प्रतिवेदनहरू अङ्ग्रेजीमा प्रकाशित हुने गरेका छन् जुन राष्ट्रियतालाई पनि कम महŒव दिएको भन्न सकिन्छ । गैरसरकारी संस्थाका प्रतिवेदनहरू, नयाँ वैज्ञानिक आविष्कारहरू आदि यसका उदाहारण हुन् । यस किसिमको प्रवृत्तिले फाइदा उठाउन खोज्नेलाई सिधा पहुँचयोग्य मात्र हुँदैन, तथ्यगत चुनौतिको पनि सिर्जना हुन जान्छ । यस प्रकारको अनुवादित जानकारीले निश्चित कुराको प्रवोधीकरण त होला तर त्यो भन्दा धेरै आक्रमणको क्षेत्रगत विशिष्टीकरणमा समेत टेवा पु¥याउँछ ।
४. उत्तर आधुनिक जीवनशैली
सामूहिक कुराकानी र सगोलमा बस्नेहरूको भन्दा एकल वातावरणमा रमाउने जमात बढ्दै जानुले उत्तर आधुनिकवादको प्रतिनिधित्व गर्छ । उत्तर आधुनिक समाजको विकासले प्रविधिको चरम विकासलाई जनाउँछ । हाल नेपालको कुल जनसंख्याको करिब ९० प्रतिशत बढीमा मोबाइल पहुँच छ र त्यसको आधाभन्दा बढी इन्टरनेटको उपयोग गरिरहेका छन् । यो विकास गत १५ वर्षमा मात्र सम्भव भएको छ र आगामी २० वर्षमा सबै नेपालीले मध्यम गतिको इन्टरनेट चलाउने निश्चित छ । यस अनुमानलाई मात्र आधार मान्ने हो भने आउँदो दुई दशकमा भौतिक वातावरण लगायत सबै किसिमका जानकारीहरू इन्टरनेटको माध्यमबाट कुनै पनि व्यक्तिले सबै जसो जानकारी इन्टरनेट मार्फत प्राप्त गर्न सक्ने देखिन्छ । त्यस कारण उत्तर आधुनिकीकरणलाई पनि गोपनीयता लोप गराउने तत्वका रूपमा लिनुपर्छ ।
५. विश्वास र नैतिकता
पछिल्लो पुस्तामा निर्देशनको पालना गर्ने भन्दा आफंै निश्चय गर्ने चलन निकै बढेको छ । साइबर नैतिकता, विद्युतीय कानुनको ठीक पालना, तथ्य सङ्कलन आदि काममा निकै लापरवाही गर्ने गरेको पाइन्छ । सामाजिक सञ्जालमा दुई वा सोभन्दा बढी खाताको सिर्जना गर्नु र सूचनाहरू चुहिनु यसका परिणामहरू हुन् । एक द्वारमा आधारित सूचना प्रणाली नहुनु र हाइपर प्रविधिको दुरूपयोग यसका प्रमुख कारण मान्न सकिन्छ ।
६. शक्तिप्रतिको सम्मान
अहिलेको समाज धन र शक्तिलाई मात्र सम्मान गर्छ । यस्तो अवस्थामा शक्तिमा रहेकाहरूले गोपनीयता नीतिमा आफू अनुकूल नियन्त्रण र व्यवस्थापन गर्ने कुरा सहज अनुमान गर्न सकिन्छ । त्यसैगरी सम्मान प्राप्त गर्न धन वा शक्ति आर्जन गर्नु पर्ने अवस्थामा केही व्यक्तिहरू गोपनीयता संरक्षण नीतिको पूर्ण विपरीत कार्य गर्ने र गोप्य दस्तावेज वा जानकारीहरू बिक्री गर्ने कार्य गर्न सक्छन् । यसले उनीहरूलाई धनाड्यको रूपमा शक्तिशाली बनाउँदा हाम्रो गोपनीयता सङ्कटमा पर्ने निश्चित छ । त्यति मात्र नभई हालको संवेग प्रकृतिले परिवर्तन नगरेमा मानवीय सुरक्षामा समेत समस्या पैदा हुन सक्ने देखिन्छ । त्यसो त हिन्दू धर्मको दर्शनले हालको समयलाई कलि युगको रूपमा परिभाषित गर्दै बौद्धिक वर्गमाथि धनाड्य र सामान्य मानिसररू हाबी हुने तर्क गर्छ ।
गोपनीयता संवेदनशील विषय भएकोले यसका लागि सबै उत्तिकै गम्भीर र चिन्तनशील हुनुपर्छ । आन्तरिक उत्पादनलाई बढावा दिनु पर्छ । यस अन्तर्गत नेपाली सफ्टवेर, वैज्ञानिक कानुनी सजाय जस्ता कुरामा जोड दिन आवश्यक छ । अनलाइन प्रणालीको उचित अनुगमन गर्दै राष्ट्रका सूचनाको सम्पादनको अवस्थाबारे जानकार हुनुपर्छ । हामीले अनलाइनमा अपलोड गर्ने सूचनाको विश्वसनीयता एकिन गरेर मात्र विद्युतीय कार्य गर्नुपर्छ । साइबर आतङ्कलाई दुरुत्साहन गर्न एक व्यक्ति एक अनलाइन खाताको अवधारणा लागु गर्नुपर्छ । त्यसका लागि अनुहार पहिचान प्रविधिको प्रयोग गर्न सकिन्छ । अन्तर्राष्ट्रिय स्तरको नभए पनि देशका लागि उपयोग हुने प्रतिवेदनहरू नेपाली र अन्य राष्ट्र भाषामा तयार गर्ने र दुई वर्षसम्म ढिलो गरी अनलाइनमा अपलोड गर्न सक्ने नीति लिनुपर्छ । तर सरोकारवालाको पहुँचयुक्त ढाँचा र लिपिमा तयार गरी अविलम्ब पठाउन भने ढिलो गर्न हुँदैन । सामाजिक सञ्जालमा भरपर्दो सुरक्षा नीति लागु गर्नुपर्छ र खाता वा साइट ह्याकिङ्ग प्रणाली कमजोर पार्न कुनै कसरत बाँकी राख्नु हुँदैन । प्रविधिसँगै समूहगत छलफललाई पनि प्रोत्साहन दिनुपर्छ । हामी सबैले आफ्नो गोप्य जानकारी चुहिन सक्ने सम्भावित खतराबाट मुक्त हुन संवेदनशील जानकारीहरूलाई अनुसन्धानमा अनिवार्य आवश्यक अवस्थामा बाहेक सार्वजनिक गर्नु हुँदैन ।
सारमा उल्लेख गर्नु पर्दा गोप्य जानकारीका लागि इन्टरनेट, विश्वव्यापी प्रविधिगत पहुँच लगायतका कुरा प्रतिकूल बन्दै गएका छन् । त्यस कारण हामी सबै आफ्नो गोपनीयताको अधिकारको प्रयोग गर्दै आफ्नो शरीर र सूचनाहरूमा पूर्ण नियन्त्रण राख्न अति जरुरी छ । नत्र भने अबको केही दशकमै गोपनीयता मानवयन्त्रमा निहीत नरहला भन्न सकिन्न ।
प्रकाशित मितिः ७ चैत्र २०७६, शुक्रबार ०८:४९
वसन्त जैसी ।