एसईई दिनेलाई पत्र

                            ध्रुवकुमार अधिकारी

प्रिय भाइबहिनीहरू,

सर्वप्रथम त तपाईंहरूको जीवनको सुनौलो सपना, सम्भावना र अभिलाषाको जग मानिने माध्यमिक शिक्षा परीक्षा (एसईई) तपाईंहरूले कल्पना गरेजस्तै भारी सफल होस् भन्ने शुभकामना प्रदान गर्न चाहन्छु । तपाईंहरूले देखेको सपनाको अठोट र पुग्न खाजेको गन्तव्यको आधारशिलामा भाग्योदय होस् । थप प्रतिभा र समाज रूपान्तरण गर्न सक्ने कलाको विकास होस् । प्राज्ञिक जीवनको पहिलो परीक्षण शुभ रहोस् । तपाईंको देश, समाज र परिवारका जिम्मेवारी र कर्तव्यहरू समेत तपाईंको परिणाममा देखियोस् । फेरि पनि हार्दिक शुभकामना । आगामी दिनहरू पनि अझै संयमित, अनुशासित, सदाचारी बन्ने कुरामा समेत अपेक्षा राख्दछु ।

यस पटकको परीक्षामा देशभरबाट पाँचलाख दश हजार यो देशका भविष्यका बलिया खम्बाहरूले फर्म भरेका मध्ये नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ र आंशिक तर्फ २४ हजार आठसय १४ जना सहभागी हुनु देशको लागि पनि गर्वको कुरा हो । हुन त ‘कुनै पनि मानिसको सबै आत्मा बुझाउन सक्ने विद्या अहिलेसम्म निस्केको छैन’ भनेर लक्ष्मीप्रसाद देवकोटाको अभिव्यक्तिमा थियो । तर पनि ज्ञान र अध्ययनको विकल्प छैन । एउटा शिक्षकको नजरमा एउटा विद्यार्थी ऊर्जाशील, मेधावी, आत्मविश्वासी र होनाहार युग पुरुष बनोस् भन्ने मनोबिम्ब हुन्छ ।

यति मात्र होइन, एउटा असल विद्यार्थीले मनोमालिन्य नगरोस् । तर्क गरोस् । कुतर्क नगरोस् । मनमौजी नबोलोस् । शिक्षकको अपेक्षामा यही हुन्छ । त्यसैले आजबाट सञ्चालित एसईईलाई हाउगुजीको रूपमा नलिनुहोला । परीक्षामा राम्रो अङ्क ल्याउनु पर्छ भन्ने आमाबाबु, परिवार, आफन्त र घरपरिवारको दबाब त होला नै । यसो भए तापनि तपाईंले सक्ने जति मात्र गर्नुहोला । तयारी नभएको कुरामा अनावश्यक तनाव नलिनुहोला ।

एकजना ख्यातिप्राप्त व्यक्तित्व स्टेफेन कोबेले भनेका थिए ‘म आज जे छु, मैले हिजो गरेको कारणले छु ।’ त्यसैले आजको परीक्षा त तपाईंहरूले आजसम्म गरेको मेहनत, परिश्रम र लगनशीलताले नै निर्धारण गर्ला । तपाईंको अध्ययनको आवश्यकता र तयारीले पनि निर्धारण गरेको होला ।

हुन त अध्ययनका आ–आफ्ना तरिका हुन्छन् । कसैले बोलेर पढेको बढी बुझ्ने बानी हुन्छ भने कसैले लेखेर । कसैले सुनेको कुरा बढी प्रभावकारी मान्छन् भने कसैले स्वयम् आफैले पढेको । परीक्षा हलमा पनि असल विद्यार्थीको बानी, व्यवहार देखाउनुहोला । अनुशासित, नियमित, विनम्र, आदरार्थी व्यहोराको विद्यार्थीले मात्र राम्रो प्रगति गरेको देखिन्छ । नियमित अध्ययनको प्रतिबिम्बन गर्नुहोला । भावी दिनमा पनि पढाइमा आवश्यक पर्ने सामग्री मिलाएर राख्नुहोला । जतन पनि गर्नुहोला । पुस्तकलाई सही ठाउँमा मिलाएर राख्नुहोला ।

परीक्षा दिँदा विद्यार्थीहरूले ध्यान दिनुपर्ने एउटा महŒवपूर्ण कुरा के हो भने आफूले जे जानेको छ त्यो लेख्ने होइन, प्रश्नले के मागेको छ त्यो कुरा लेख्ने हो । यसमा विशेष ध्यान दिनुहोला । परीक्षामा कुन समूहबाट कस्तो प्रकारको प्रश्न आउँछ । त्यसको राम्रो ख्यालले सहज बनाउला । तपाईंले कति महसुस गर्नुभएको छ । आजकाल पुस्तक पढ्ने बानी एकदम कम छ । ट्यूशन वा कोचिङका नोट, गाइड, गेसपेपर हावादारी सामग्री पढ्ने चलन बढेको छ । पुस्तकलाई मूल कुरा सम्झेर अन्यलाई सन्दर्भ सामग्री मान्दा उपयुक्त हुन्छ । यदि यस्तो बानी छ भने पनि आगामी दिनमा सुधार गर्नुहोला ।

परीक्षाको पूर्व तयारी गर्दा पुराना प्रश्नहरूलाई पनि अध्ययन र हल गर्न सकेमा राम्रो हुन्थ्यो । यो भयो नै होला । जसले परीक्षामुखि बन्न सहयोग पु¥याउँछ । नियमित रुटिन बनाएर पढ्ने बानीको विकास गर्नेहरूको लागि पक्कै पनि यो परीक्षा सार्थक हुनेछ । मुख्य कुरालाई केन्द्रमा राख्नुहोला । आफैंले अभ्यास परीक्षा बनाएर हल गर्नेलाई पनि सहज नै होला । सुताइलाई पनि व्यवस्थापन गर्नुहोला । प्रत्येक रात ६ घण्टा सुत्नु आवश्यक मानिन्छ । अध्ययन गर्ने ठाउँ पनि उपयुक्त हुनुपर्छ । डर नमानी आत्मविश्वास बढाएर परीक्षा दिनुहोला ।

सबै विषयलाई प्राथमिकता दिने बानी थियो या थिएन । तर अलि आफूलाई कठिन लाग्ने र अलि अभ्यास बढी गर्नुपर्ने विषय जस्तै– गणितलाई बढी समय दिएको विद्यार्थीको लागि त परीक्षा सामान्य नै हो । पहिले पाठ बुझेर पढ्ने, त्यसका महŒवपूर्ण बुँदा टिपोट गर्ने र याद गर्नु राम्रो अध्ययनको असल बानी हो । पाठ्यक्रम पक्कै पनि बुझ्नु भएको होला । उपन्यास–कथामा आफूले पढेका कुरा र सिकेका शब्द चयन गरी कथा, निबन्ध, भावव्यक्त, विवेचनात्मक उत्तरमा राख्नु राम्रो मानिन्छ । कत्तिको ख्याल गर्नुभएको छ ? केही प्रश्नको आरम्भ गर्दा उखान, टुक्का, कुनै प्रख्यात व्यक्ति वा पुस्तकको भनाइ राख्नु सान्दर्भिक हुन्छ । अध्ययन भित्री मनबाट नै गर्नुपर्छ ।

हाम्रा विद्यालयमा मिश्रित सिकाइ क्षमता र पृष्ठभूमि भएका विद्यार्थी हुने हुनाले सबैलाई सन्तुष्ट पार्ने गरी शिक्षकले अध्यापन गराउनु असम्भव जस्तै हुन्छ । मतलब एउटा विद्यार्थीले उही विषयमा नब्बे ल्याउँदा अर्कोले पन्ध्र ल्याउँछ । यो परिवेशलाई विद्यार्थीले मनन् गरी आफैं चलाख भइ कलात्मक रूपमा शिक्षकसँग नजिकिएर सिक्नुभएको छ भने पनि यो लाभ तपाईंलाई नै हुनेछ । कक्षामा पढाएका कुरा घरमा गएर दोहो¥याउने मात्र गरेको भए पनि परीक्षा सफल हुनेछ । परीक्षामा पनि समयमै पुग्नुहोला । रेडियो, टेलिभिजनका नियमित समाचारका विषयवस्तुलाई पनि उत्तरमा जोड्नुहोला । कहिलेकाहीँ गुगल र मोबाइलको पनि प्रयोग गर्नुभएको छ भने पनि सिकेको कुरालाई कुनै न कुनै रूपमा प्रश्नको उत्तरमा जोड्नुहोला । परीक्षाको समयमा हतार नगरी अध्ययन गर्नुहोला ।

अध्ययनमा सामूहिक कार्यको पनि महŒवपूर्ण भूमिका हुन्छ । समूहमा साथीहरू मिलेर छलफल र प्रश्नोत्तर विधि प्रयोग गरी अध्ययन गरेमा सिकाइ दिगो र तार्किक हुन्छ । यदि परीक्षामा यसरी पढेको प्रश्न सोधिएको रहेछ भने पनि यसको सार्थक हुन्छ । पढाइका अतिरिक्त बीच–बीचमा आराम पनि गर्नुहोला । मनोरञ्जन पनि आवश्यक हुन्छ । आधुनिक सूचना प्रविधिको प्रयोगलाई अध्ययनमा जोडेमा त्यो उपयुक्त हुन्छ । विश्वबजारका नयाँ–नयाँ ज्ञान र विचारहरूसँग पनि त्यत्तिकै मात्रामा परिचित हुन सकेमा प्रश्नको उत्तरमा मौलिकपन र स्तरीयता ल्याउन सहज हुन्छ । विभिन्न प्रकारका अतिरिक्त क्रियाकलाप र विद्यालयले आयोजना गर्ने सहकार्यकलाप भाग लिएमा त्यसको अनुभवले पनि सहज बनाउँछ । म कलिलो मस्तिष्क भएको परिपक्व युवा हुँ भन्ने सोच राखेर परीक्षा दिनुहोला । विज्ञान प्रयोगशाला, पाक शिक्षा, शैक्षिक अवलोकन भ्रमण, पिकनिक र कम्प्युटर प्रयोगशालामा सिकेका कुरालाई पनि जोडेर उत्तर लेखेमा उपयुक्त हुन्छ । अध्ययनमा आत्ममूल्याङ्कन पनि गर्नुपर्छ । नोट कपीको अध्ययन गर्ने । उत्तर बुँदागत रूपमा प्रस्तुत गर्न सकेमा स्पष्टता प्रदान हुन्छ ।

सुताइलाई पनि विशेष ध्यान, अक्षर सुन्दर गोलाकार बनाएर लेख्ने, छानेर लेख्नुपर्नेमा आफूले राम्रोसँग जानेको र छोटो उत्तर लेखे पनि हुने प्रश्न छान्ने, परीक्षामा प्रश्नको निर्देशन राम्रोसँग अध्ययन गर्ने, पहिले सोचेरमात्र लेख्न सुरु गर्ने, जानेको प्रश्न पहिले गर्नुहोला, नेपाली र अङ्ग्रेजी विषयमा व्याकरण पहिला गर्ने, कतै उत्तर काटिहाल्नु परेमा एक पटक मात्र काट्ने, उपयुक्त कलमको उपयोग गर्ने, उत्तरपुस्तिकाको प्रथम पेजमा दिइएको निर्देशन राम्रोसँग पढ्ने, तेस्रो पेजबाट मात्र उत्तर लेख्न सुरु गर्ने, उत्तरपुस्तिकामा कम्तिमा डेढ इन्चको मार्जिन राख्नुपर्छ, सबै प्रश्नको हल गर्ने, थप कापीमा सिम्बोल नम्बर लेख्नुहोला, साइन्टिफिक, सिस्टमेटिक र अर्थपूर्ण उत्तर लेख्नुहोला ।

विना तनाव, ध्यानपूर्ण तरिकाले तयारीमा लाग्नुहोला । सोचाइ सकारात्मक बनाउनुहोला । बीच–बीचमा पानी पिउने, फुर्सदको समयमा सोच्ने, परीक्षा हलमा जाँदा सफासुग्घर, मिठो वचन, निरीक्षकको ध्यान आकर्षण गर्ने वा कापी थप गर्ने बेला नबोल्ने तर उठेर ध्यानाकर्षण गर्नुपर्छ । आफूलाई पठनपाठन गराउने विद्यालयका गुरुहरूसँग राम्रो सल्लाह लिने गर्नुहोला । समयको व्यवस्थापन, कक्षाकोठामा समयमा पुग्ने, गृहकार्य, कक्षाकार्य समयमै गर्ने, खाजा खाने समयमा पनि सही सदुपयोग गर्ने, समयमा कक्षाकोठामा हाजिर हुने, घरबाट विद्यालय समयमा नै पुग्ने बानीले परीक्षार्थीलाई समेत सहज बनाएको महसुस गर्नुहुनेछ ।

अन्त्यमा, परीक्षामा जाँदा प्रत्येक दिन पेन्सिल, ज्यामिति बाकस, इरेजर, कलम, क्याल्कुलेटर, घडी, प्रवेश–पत्र लिएर मात्र जानुहोला । एसईई अवधिभरि मुहारमा मुस्कान छरियोस् । दिनहरू आत्मविश्वासी ज्ञानले भरिऊन् । अन्तर्निहीत प्रतिभा प्रस्फुटित होेस् । तपाईंको जीवन निर्माणको लागि समर्पित, पथिक, परिवर्तनप्रेमी, शिक्षकलाई कहिल्यै नभुल्नुहोला । तपाईंको जीवन विधात्मक र अन्तरविधात्मक ज्ञानसँग जोडियोस् । फेरि पनि परीक्षाको सफलताको शुभकामना । एसईईको शुभकामना ।
(लेखक अमरज्योति नमुना माध्यमिक विद्यालय नेवारेमा कार्यरत शिक्षक हुन् । )

प्रकाशित मितिः   ६ चैत्र २०७६, बिहीबार ०८:५६