कृषि कर्मले फेरियो परिचय उद्यमी खगेन्द्र

भगवतीमाई गाउँपालिका–३ मेहेलतोलीका खगेन्द्र रेग्मी २४ वर्षका भए । कृषि जेटीएको पढाइ पूरा गरेका उनले जागिर गर्ने सोच बनाए । २०६९ सालमा दैलेख कार्यक्षेत्र बनाएर काम गर्ने एउटा गैरसरकारी संस्थामा जागिरका लागि आवेदन दिए । लिखित परीक्षामा पहिलो नम्बरमै नाम निकालेका रेग्मी अन्तरवार्तामा भने फालिए ।

उदयराज अधिकारी

सुरुमै जागिरको तितो अनुभव गरेका रेग्मीलाई सदरमुकामबाट घर फर्कदैं गर्दा उनको मानसिकता बन्यो, अब जागिरका लागि आवेदन कहिल्यै दिन्न । जे सक्छु आफ्नै बलबुतामा गर्छु । अनि सुरु भयो खगेन्द्रको कृषि यात्रा उनले आफ्नो गाउँ नजिकै केही जग्गा भाडामा लिए । कृषि कर्ममै रमाउने योजना बनाए । त्यहाँ कृषि गरिरहेको समयमै उनका अरु थप योजना पनि बने । जिल्ला सदरमुकाममा तरकारी मण्डी सञ्चालन गरी अरु पसलमा तरकारी वितरण गर्ने, गाउँमा भएको आफ्नो जग्गामा बाख्रापालन र स्थानीय जातका कुखुरा पालन गर्ने ।

अहिले उनी यिनै योजनालाई साकार रूप दिन लागिपरेका छन् । सामान्य कृषि गर्ने सोचबाट उनले हाल व्यवसायलाई विस्तार मात्रै गरेका छैनन् आफ्नो परिचय बनाएका छन् ‘सफल उद्यमी’ ।

व्यवसाय सुरुवातदेखि यहाँसम्म आउँदा आफूले अनेक बाधा अड्चनहरूको सामना गर्नु परेको खगेन्द्र बताउँछन् । तर उनले कहिल्यै हार मानेनन् र अहिले सबैका लागी उदाहरण कृषक बन्न सफल भएका छन् । कृषि व्यवसाय गर्ने योजना बनाएका उनले सुरुमा चार हजार सात सय लगानी गरेर अरुबाट तरकारी किने र त्यसलाई बिक्री गर्ने गरेको बताए । सुरुमा तरकारीको बजारीकरणमा सक्रिय भएर केही आम्दानी भएपछि सदरमुकाम नजिकै जग्गा भाडामा लिएर तरकारीको उत्पादन पनि सुरु गरे ।

सुरुवातमा २५ हजार खुर्सानी र टमाटर तथा १० हजार बन्दा काउलीका बेर्ना रोपेर तरकारीको उत्पादन सुरु गरेका उनले त्यसवर्ष खासै आम्दानी लिन नसकेको बताए । तरकारी बिक्री गर्ने समयमा आएको असिना पानीले उनको लगानी बाहेकको अरु आम्दानी हात लागेन ।

‘यति हँुदा पनि हार मानिनँ’ उनी भन्छन् ‘फेरि पछिल्ला सिजनहरूमा तरकारी उत्पादन गरियो, पछि त आम्दानी पनि राम्रै भएको थियो ।’ हार मान्नेहरू सफल हुँदैनन् भन्ने विश्वास राख्ने खगेन्द्रले तरकारी उत्पादन गर्दै आफ्नै तरकारी मण्डीबाट अरु तरकारी पसलहरूमा बजारीकरण गरे । त्यसबाट राम्रै आम्दानी भएको थियो, फेरि लोकल कुखुराको पालनमा सम्भावना देखेपछि त्यो पनि सुरु गरियो ।’ त्यसपछि आफ्नो गाउँको घर भएको ठाउँमा लोकल कुखुरा र बाख्रापालन सुरु गरेका उनका खोरहरूमा १ हजार २ सय कुखुरा र त्यसैको हाराहारीमा खसी बाख्राहरू पनि पालिरहेको खगेन्द्रले बताए ।

विगत पाँच वर्षदेखि उनले शिशिर ग्रिष्म एकीकृत कृषि फर्म दर्ता गरेर तरकारी, फलफूल, माछापालन, ब्रोइलर कुखुरा, लोकल कुखुरा र बाख्रापालन गर्दै आएका छन् । अहिले उनले ४६ लाख रकमसम्म फर्ममा लगानी गरेको बताए ।

 

अर्गानिक कृषिमा जोड

खगेन्द्रले अहिले सदरमुकाम दैलेख बजारमा सब्जी मण्डी गरेर बसेका छन् । उनले गाउँमा उत्पादन भएको तरकारीसँगै जिल्लाभरबाट किसानहरूले ल्याएको तरकारी होलसेलमा खरिद गरेर बिक्री गर्ने गर्दछन् । ‘व्यापार मात्र सम्झेर यो मण्डी स्थापना गरिएको होइन्’ उनले भने ‘यहाँबाट हामी जतिसक्यो अर्गानिक तरकारीको बिक्री वितरण बजारीकरण गर्न चाहन्छौं ।’ सरकारले अर्गानिक कृषिमा जोड दिएको भए पनि सरकार एकातिर लक्ष्य अर्कातिर रुमलिरहेको उनको अनुभव छ ।

सरकारले वास्तविक किसानहरूको पहिचान गरी उचित लगानी गर्नुपर्नेमा उनको जोड छ । ‘मेरो शब्दमा केही झोले किसानहरू छन्, यो देशभरकै हकमा लागू छ ।’ खगेन्द्रले ठट्यौली तरिकाले भने ‘त्यस्ता किसानहरूको पहिचान पनि हुनु जरुरी छ, जसले अनुदान लिन्छन्, खेतीपातीमा सिन्का भाँच्दैनन् ।’ अहिलेदेखि नै अर्गानिक कृषिमा जोड नदिए भोलिका दिनमा सरकार र कृषकहरू चुक्नुपर्ने उनको बुझाइ छ । ‘भारतबाट भित्रिएकोे तरकारी सबैमा पूर्ण रूपमा विषादी प्रयोग गरिएको हुन्छ, हामीले त्यसलाई नरोके हाम्रो अवस्था के होला ?’ उनले जिज्ञासु हुँदै भने ।

मुलुक संघीयतामा गएसँगै कर्णाली प्रदेशको राजधानी बनेको सुर्खेतमा आवश्यक पर्ने दैलेखको अर्गानिक तरकारी एवम् अर्गानिक उत्पादन पुग्नुपर्नेमा खगेन्द्रको जोड रहेको छ । ‘कर्णालीको राजधानीमा भित्रिने अधिकांश तरकारी भारतको छ, हामी किन भारतमा निर्भर हुने ?’ प्रश्न गर्दै उनी भन्छन्, ‘दैलेखका किसानहरूले सुर्खेतलाई मात्र बजार केन्द्रित गरेर जति तरकारी उत्पादन गरेपछि बजार पाइदैन कि भन्ने चिन्ता गर्न पर्दैन ।’

गाउँमै रोजगारी

आफ्नो कृषि फर्म मार्फत खगेन्द्रले अहिले ७ जनालाई रोजगारी प्रदान गरेका छन् वर्षेनी रोजगारीको लागि कैयौंको संख्यामा विदेश पलायन भइरहेका युवाहरूलाई गाउँमै रोक्ने उनको उद्देश्य रहेको छ । आफ्नै ठाउँमा मेहेनत गर्न लाज मान्ने युवाहरूको लागि गतिलो उदाहरण पनि खगेन्द्र बनेका छन् । ‘कैयौं साथीहरू रोजगारी खोज्न विदेश जानुपरेको छ, अब हामी युवाको मानसिकता रोजगारी खोज्ने नभएर दिने हुनुपर्दछ,’ खगेन्द्र थप्छन् ।
सुरुमा तीन जनालाई रोजगारी दिएका खगेन्द्रले आफ्नो व्यवसायसँगै आवश्यक जनशक्ति पनि बढाउँदै गए । उनले आफूसँग कार्यरत ७ जना कर्मचारीलाई १२ हजार भन्दा माथिको तलब दिइरहेको बताए । आगामी दिनमा व्यवसाय बढाउँदै करिब ५० बढीलाई आफ्नै माटोमा रोजगारी दिने उनको उद्देश्य छ । ‘व्यवसाय बढाउँदै गइयो भने त स्वभावैले जनशक्ति पनि आवश्यकता पर्दछ, अझै जनशक्ति बढाउने मनसायमा छु ।’ खगेन्द्रले भन्छन्, ‘जिल्लाका अरु स्थानमा पनि युवा साथीहरूले व्यवसाय सुरु गरेर आफ्नो जीविकोपार्जनसँगै अरुको जीविकोपार्जनमा सहयोग पु¥याउन सक्नुहुन्छ ।’ मनले नजिकबाट आवश्यकता ठानेर गरिएको काममा कहिल्यै असफल नभइने उनको विश्वास छ । आफूले व्यवसाय सुरु गर्दा सकिदैन कि भन्ने लागेको समयमा साहसिलो नबनेको भए अहिले यो सबै सम्भव नै नभएको उनी बताउँछन् ।

वार्षिक ६० लाख आम्दानी

उनले आफ्नो व्यवसायको सुरुवातमा चार हजार ७ सय रूपैयाँको तरकारी खरिद गरेका थिए । त्यसैमार्फत भएको आम्दानीको सही सदुपयोग गरेर अहिले आफूले लाखौंको व्यवसाय सञ्चालन गरिरहेका छन् । अहिले उनको व्यवसायमार्फत वार्षिक ६० लाखभन्दा बढीको कारोबार भइरहेको बताए ।
सुरुवातका बेलाको संघर्ष सम्झिँदा खगेन्द्रलाई लाग्छ गरे हुन्छ भनेको यही रहेछ । ‘उ बेला गरे हामै्र माटोमा छ भन्ने सुन्दा मात्रै अर्कै लाग्थ्यो, अहिले आफै त्यसको प्रमाण बनेको छु खुशी लाग्छ ।’ खगेन्द्रले भने । अहिले कुखुरा, बाख्रा तथा तरकारीबाट उनको वार्षिक ६० लाख बढी आम्दानी हुने गरेको उनी बताउँछन् । विगतका वर्षहरूमा आफूलाई आफ्नो व्यवसाय सञ्चालनका लागि चाहिने खर्चसमेत अभाव हुने गरेको भएपनि गर्दै जाँदा अहिले त्यस्तो अवस्था नरहेको उनको भनाइ छ ।
व्यवसायको सुरुवातका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग लगानीको लागि समन्वय गरेको सम्झदै खगेन्द्र भन्छन् । ‘अरुको भर परेर काम गर्न उचित नै रहेनछ जस्तो लाग्दछ, शुरुवातमा अधिकाशं निकायहरूबाट आर्थिक सहयोगको आशा लाग्दथ्यो, अहिले भने अरुको नै मुख ताकेर बस्नुपर्दछ जस्तो लाग्दैन् ।’

खगेन्द्रले व्यवसायको सुरुवातका क्रममा विभिन्न निकायहरूको समन्वय पनि गरेका थिए तर उनले कुनै पनि निकायहरूबाट सहयोग भने प्राप्त गर्न सकेनन् । मुलुकभर नै वास्तविक किसानको पहिचान हुन नसकेको र झोले किसानहरूले सरकारको अनुदान तथा अरु सहयोगमा रजाई गर्ने गरेको उनको आरोप रहेको छ । ‘सरकारले कृषिमा कैयौं लगानी गरिरहेको छ तर त्यो लगानीको सदुपयोग नहुँदा कृषिमा यो अवस्था आएको हो ।’ उनी भन्छन् ‘आगामी दिनमा सरकारले वास्तविक किसानको पहिचान गरेर लगानी गरे मात्रै लक्ष्य पूरा हुन्छ, नत्र लगानी जति सबै बालुवामा पानी खनाए जस्तो हुनेमा दुईमत छैन ।’

कुखुराले बजार नपाएपछि चिन्ता

स्थानीय (लोकल) कुखुरापालनको व्यवसाय सुरु गर्दा खगेन्द्रलाई लागेको थियो, यसले त राम्रो बजार पाउँला । त्यही मनसाय राखेर खगेन्द्रले लोकल कुखुरापालन सुरु गरे र संख्यात्मक हिसाबमा एक हजार दुई सय बढी कुखुराको उत्पादन गरे । तर अहिले कुखुराले सोचेको जस्तो बजार नपाएपछि चिन्ता थपिएको छ । स्थानीयस्तरमा फाटफूट बाहेक उनको कुखुरा अन्यत्र निर्यात हुन सकिरहेको छैन । दैलेख जिल्लाकै अधिकांश क्षेत्रहरूमा लोकल कुखुराको माग हुने गरेको भए पनि अहिले ब्रोइलर कुखुराको सहज पहुँच र सस्तो दरका कारण आफ्नो कुखुराले बजार नपाएको उनको अनुमान छ ।

‘स्थानीय कुखुराको बजार छ भन्ने मनसाय बन्यो र पाल्न सुरु गरियो तर ब्रोइलरका कारण यसको बजारमा समस्या रहेछ भन्ने थाहा भएन ।’ खगेन्द्रले भने ‘जिल्ला बाहिर निर्यातको पहल गरेको भए पनि सबै ठाउँमा उस्तै रहेछ ।’ आगामी दिनमा सुर्खेतका विभिन्न ठाउँहरूमा कुखुरा बिक्री वितरण गर्ने योजना बनेको भए पनि अधिकांश ठाउँहरूमा ब्रोइलर कुखुराको पर्याप्तताका कारण बजारीकरणमा समस्या रहेको उनको निश्कर्ष छ । ‘कतिपय ठाउँमा त स्थानीय कुखुरा भनेर अरु आधुनिक जातका कुखुरा बिक्री वितरण भइरहेको समेत पाइयो, यसले झनै समस्या पारेको छ,’ उद्यमी खगेन्द्रले भने ।

प्रकाशित मितिः   ५ चैत्र २०७६, बुधबार ०५:०५