उपकुलपतिलाई शुभकामना सन्देश
रोविन शर्माको चर्चित किताब ‘तपाईंको मृत्यु पछि को रोला ?’ को सन्दर्भबाट भएको हजुरको मन्तव्यले विश्वविद्यालयलाई आफ्नो उत्तरार्धको जिम्मेवारी ऐतिहासिक बनाउने भावको संकेत गर्दथ्यो । आशलाग्दो प्राज्ञिक व्यक्तित्वबाट कर्णालीको आधारस्तम्भको कार्यकारीको जिम्मेवारी ग्रहण गर्दै गर्दा मिलेको यो संकेत कालो बादलमा देखिने चाँदीको घेरा पक्कै हो । जसले पंक्तिकारलाई पनि प्रफूल्लित बनाएको छ । तर यो प्रफूल्लित अवस्था धेरै लामो टिक्ने वातावरण हामीकहाँ छैन । किनकी यहाँ आफ्नो बोलीको मूल्यमा बस्ने व्यक्तिहरू निकै कम भेटिने गर्दछन् । तर त्यो तरङ्गले मलाई यत्तिकै बेवास्ता गरेर बस्न भने दिएन । बरु सुझावसहितको शुभेच्छा प्रकट गर्न प्रेरित ग¥यो । र, फेरि मनले भन्यो, ‘त्यत्रो विज्ञता हासिल गर्नु भएको व्यक्तिलाई म एक सामान्य व्यक्तिले सुझाव दिन सुहाउँला ? एकछिन सेलाएँ, फेरि त्यही तरङ्गले प्रेरित ग¥योः सुझाव लौकिक पद–प्रतिष्ठा र विज्ञतालाई होइन, एउटा सकारात्मक सोच, उर्जा र भावनालाई हो । ता कि त्यो उर्जा गुणात्मक रूपमा बढोस् । त्यसैले यो प्रयास गर्दै छु ।
विश्वविद्यालयको पूर्व विद्यार्थी, कर्णालीवासी, जिम्मेवार नागरिक र सामाजिक कार्यकर्ताका हिसाबले आफ्नो ज्ञान चक्षुले देखेको कुरा उपहार स्वरूप दिँदै छु । आशा छ सोही अनुरूप स्वीकार गर्नुहुनेछ ।
हाम्रा पूर्वीय दर्शनहरूले प्रेरित गरेको ‘शिक्षा भनेको हरेक व्यक्तिमा अन्तरनिहित विचार र क्षमतालाई सर्वमान्य हुनेगरी प्रस्फूटित गर्ने प्रक्रिया हो ।’ र, शिक्षाको विश्वव्यापी परिभाषा (जोन डिवे, १९५९ इ, ‘डिक्सनरी अफ एजुकेशन) ले पनि त्यै भन्दछ, ‘जुनसुकै बालखले आफ्नै जातिको सामूहिक चेतनामा उत्तरोत्तर गहिरो सहभागिताबाट पाउने ज्ञानको नाम नै शिक्षा हो ।’ सायद त्यसैले पनि होला विश्व मानव जगतको विकासमा शिक्षाले विशेष स्थान पाएको छ र योगदान पनि पु¥याएको छ, यो सबैले स्वीकारेको विषय हो । यसको पुस्ट्याइँ मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्थापनाको पृष्ठभूमिले गर्दछ, र त आफ्नो थालको भागबाट बचाएर यो विश्वविद्यालय स्थापना गर्न कर्णालीवासी सहभागी भए ।
देशकै ऐतिहासिक गौरव बोकेको भूगोलले आज विश्वको गरीब भनेर चिनिने देशको गरीब प्रदेशको परिचय किन पाउन पुग्यो ? राष्ट्रकै तथ्यांकले भन्छ ४१ प्रतिशत शिक्षाको पहुँचभन्दा बाहिर छन् । लगभग दश प्रतिशत बेरोजगारी दर छ भने ८५ प्रतिशत रोजगारीका लागि बाहिर जान बाध्य छन् । त्यतिमात्र होइन २८ प्रतिशत खाद्य जोखिममा छन् भने सात प्रतिशत उच्च जोखिममा रहेका छन्, यसको पछाडिको कारण के होला ? के सदियौंदेखि यस्तै अवस्था हो त ? के हामीले अवलम्बन गरेका सामाजिक चिन्तन, शासन व्यवस्था र शैक्षिक प्रणाली वस्तुगत हुन नसकेको हो ? यस्ता प्रश्नहरूले मलाई जहिले पिरोलीरहन्छन्, र त्यसैको वरिपरी रहेर यो अवस्थामा शिक्षाको भूमिकाको विषयमा केही प्रश्नहरू छन् ।
आधारभूत रूपमा शिक्षा व्यक्तिलाई किन चाहिन्छ भन्दा आफू र आफ्नो अरु महत्वलाई पहिचान गर्न नै हो, अझै सरल रूपमा भन्दा म को हुँ ? मेरो महत्व के हो ? मेरो जीवनका प्राथमिकता के–के हुन् ? मेरो जिम्मेवारी र कर्तव्य के हुन् ? के गर्नु उचित हो र के अनुचित हो ? जस्ता अनेकौं प्रश्नका व्यवहारिक र सान्दर्भिक उत्तरका लागि शिक्षा अपरिहार्य छ । तर यी यावत कुरा यहाँ मैले सुकाउन खोजेको हैन मेरो सवाल के हो भने के हाम्रो शैक्षिक संस्थाबाट उत्पादन भएका विद्यार्थीहरूसँग यिनी सबै कुराहरूको उत्तर छन् त के शिक्षाले साँच्चिकै हरेक व्यक्तिको व्यवहारिक जीवनमा मर्यादित सफलता प्राप्त गर्न भूमिका खेलेको छ त ? के हाम्रो कर्णालीको शिक्षामा भएको लागानीले कर्णालीलाई चिनायो त ? के हाम्रो शिक्षाले हाम्रो देशकै ठूलो भूगोल कर्णालीमा हुनुमा गर्व गरायो त ? के हाम्रो शिक्षाले नेपाली भाषाको पहिचान यो भन्दै गर्वका साथ स्थानीय भाषा बोल्ने वातावरण बनायो त ? के हाम्रो कोदो, फापर, मार्सी, गुडे, गहुँ, जौँलगायतका खाद्य सामग्री खाना मात्र नभइ औषधि हुन् भन्ने ज्ञान दियो त ? के हाम्रा डाँडाकाँडामा ढाकेको जंगलभित्र हजारौं मूल्यवान जडिबुटीहरू छन् र तिनीहरूको संरक्षण र उचित व्यवसायीकरण गर्नु पर्छ, हाम्रा संस्कार र सभ्यताहरू जो मानव सभ्यता र सामाजिक विकासका लागि विश्वमै अलौकिक छन् तिनीहरूको संरक्षण र प्रवद्र्धन गर्नु पर्छ भन्ने प्रेरणा दियो त ?
यदि यो सबै दिएको हुन्थ्यो भने आज कर्णालीवासीलाई आफ्नो भाषा र संस्कारप्रति ग्लानी महसुस भइरहेको हुँदैन थियो । यदि शिक्षाले प्रभावकारी काम गरेको हुन्थ्यो भने स्थानीय उत्पादनलाई भकारीमै कुवाएर या बारी बाँझो छोडेर चाउचाउ, बिस्कुट अनि खाद्यको चामल खान भारत र खाडीमा मेहेनत गर्नु पर्दैनथ्यो । यदि शिक्षाले खासमा काम गरेको हुन्थ्यो भने यहाँका टाँठाबाठा, शिक्षित, बौद्धिक र व्यवसायीहरू गैरकर्णालीवासी भएका हुन्थेनन् होला । यदि शिक्षाले आफू, आफ्नो माटो र मानवको कर्तव्यप्रति इमान्दारिता सिकाएको हुन्थ्यो भने यहाँको जडिबुटी अवैध रूपमा बाहिर जाने र त्यही जडिबुटीबाट बनेको औषधि ऋण गरी–गरी खरिद गर्नुपर्ने हुन्थेन होला । यदि शिक्षाले व्यवहारिक र सान्दर्भिक ज्ञान दिएको हुन्थ्यो भने प्राचिन रूपमा चलेको मनोवैज्ञानिक, तान्त्रिक र आध्यात्मिक उपचार पद्धति अन्धविश्वास हुने र अस्पताल जान नसकी घरमै ज्यान गुमाउन पर्ने अवस्था आउँदैनथ्यो होला ।
यी सबै सन्दर्भ र सवालहरू लिएर यदि शैक्षिक संस्थामा जाने हो भने उनीहरूले गर्वका साथ सिकाइ उपलब्धिका लब्धाङ्क–पत्रहरू देखाउँछन् तर ती लब्धाङ्क–पत्रधारी उत्पादनले आफ्नो व्यक्तिगत, पारिवारिक, सामाजिक भूमिका कस्तो निभाइरहेको छ भन्ने कुराको न कसैले खोजी निती गर्दछ न कसैलाई मतलब छ । जसले मतलब गर्छौं भनेर सपथ खान्छन् उनीहरूको प्राथमिकता कसरी कुर्चीमा पुग्ने र व्यक्तिगत स्वार्थ पूरा गर्ने भन्ने मात्र छ । ती उत्कृष्ट नतिजाका लब्धाङ्क–पत्रधारीहरूलाई मूल्याङ्कन गर्दा त्यो लब्धाङ्कले सँगसँगै यत्रो ठूलो अहंकार पनि बोकेको छ, उसले न आफ्नो आमा–बुवालाई मान्छे ठान्दछ, न आफ्नो रहनसहलाई सभ्य ठान्दछ । न आफ्नो संस्कार र सभ्यतालाई वैज्ञानिक ठान्दछ न जिम्मेवारीपन र इमान्दारितालाई आफ्ना मूल्य ठान्दछ । अब भन्नुस् त कसलाई शिक्षित भन्ने कसलाई अशिक्षित भन्ने ?
त्यसैले आफू, आफ्नो परिवार, समाज, संस्कृति र सभ्यतालाई घृणा गर्ने जनशक्ति उत्पादन गर्दैछौं भने हामी शिक्षा हैन कु–शिक्षा प्रदान गरिरहेका छौं । राम्रो अंक ल्याएर विकसित राष्ट्रमा गए मात्र सभ्य र मर्यादित भइन्छ भन्ने प्रेरणा दिदै छौँ भने हामी शैक्षिक संस्था होइनौं पश्चिमेली राष्ट्रका एजेन्सी हौं । यसो भन्दै गर्दा बाहिर जानै हुँदैन भन्ने पक्कै होइन । हाम्रो शास्त्रले पहिले नै भनेको छ ‘वसुधैव कुटुम्बकम’ विश्व परिवार हो सिक्न या प्रगति गर्न स्वतन्त्रता हुनु पर्छ तर चंगा आकाशमा धेरै माथि उड्न सिकाए पनि त्यसको डोरी चै हातमै राख्न प्रेरणा दिनु पर्दछ । तर उतैको भाषा, संस्कृति र रहनसहननै उत्कृष्ट सभ्यताको प्रेरणा दिने खालको हाम्रो शिक्षा हुने हो भने देशभित्र शैक्षिक संस्थामा लगानी गर्नु भन्दा सरकारले सिधै बाहिरका विश्वविधालयहरूसँग सम्झौता गरी ‘आउट सोर्स’ गर्दा उत्तम हुन्छ ।
म धन्यवाद दिन्छु त्यो शिक्षालाई जसले कर्णालीको छोरा तपाईंलाई आत्माअनुभूति दिलायो, विश्वको उत्कृष्ट शैक्षिक संस्थाबाट शिक्षा हासिल गर्ने क्षमता प्रदान ग¥यो, देशको उत्कृष्ट शैक्षिक संस्थामा काम गर्ने सीप प्रदान ग¥यो र आफ्नो ठाउँको शिक्षाको स्तरोन्नति गर्ने जिम्मेवारी बहन गर्ने उत्प्रेरणा प्रदान ग¥यो । अब हेर्न बाँकी यो छ कि हजुरले प्राप्त गरेको शिक्षाले सिकाएको के रहेछ ? र, त्यसले यो ठाउँको पुरानो गौरव र विशिष्टतालाई पुनर्ताजकी गर्न कत्तिको भूमिका खेल्दछ ? मलाइ प्रारम्भिक चरणमा प्राप्त आत्मिक उर्जाले हजुरप्रति सकारात्मक संदेश दिएको छ र त्यसै संदेशलाई थप बल प्रदान गर्ने यो प्रेरणा मिलेको छ ।
तपाईंसँग उत्कृष्ट विषयगत विज्ञता छ, भौगोलिक, सामाजिक र साँस्कृतिक भोगाइ छ, अन्तर्राष्ट्रिय ज्ञान छ र शैक्षिक संस्थाको कार्यअनुभव अनि उचित समय । यो भन्दा उत्कृष्ट संयोगको कल्पना गर्न गाह्रो छ र त्यो अर्थमा पनि मेरो शुभकामनासहितका केही बुँदागत रूपमा सुझाव पनि पेश गर्दछु ।
१. व्यक्तिगत इमान्दारिता र व्यवस्थापकीय सीपको उच्चतम प्रयोग ः मलाई लागेको माथि उल्लेखित सवालहरूलाई चिर्न धेरै ठूलो पहाड उठाउनु पर्ने छैन । त्यो मात्र गरिदिए पुग्छ जुन गर्नुपर्ने हो, कर्म र कर्तव्य । त्यो नगर्दिए पुग्छ जुन गर्नु हुँदैन, भ्रष्टाचार । तर इमान्दारिता वहन गर्नु कुनै पहाड उचाल्नु भन्दा सानो काम भने पक्कै होइन । त्यसका लागि आत्मसाहस चाहिन्छ र त्यो आँट त्यस्तो व्यक्तिसँग अपेक्षा गर्न सकिन्छ जसले यो सोच्दछ कि ‘मेरो मृत्युमा को–को रुन्छन् भन्दै गर्दा आफ्नो मृत्युचरणमा कतै आफै त रुनु पर्दैन ? पश्चातापले ।’
२. विद्यार्थी, सरोकारवाला, पदाधिकारीदेखि राजनैतिक नेतृत्वले विश्वविद्यालयलाई राजनैतिक अखडाको रूपमा लिने स्थापित प्रचलनलाई चिर्ने र विशुद्ध बौद्धिक थलोको परिचय बनाउने रणनीति अपरिहार्य छ ।
३. प्राज्ञिक गतिविधि ः उपलब्ध विषयहरूको व्यवहारिक महत्व बोध हुने शिक्षण सिकाइ पद्धति निर्माण र प्राध्यापकहरूको विषयगत प्राज्ञिक र बौद्धिक सहभागिता, अध्यन, अनुसन्धान, प्रतिपादन ।
४. उत्पादित जनशक्तिको उचित व्यवस्थापनका लागि रणनीति ।
५. समुदायलाई विश्वविद्यालयसँग जोड्ने सामाजिक कार्यक्रमहरू (खुला पुस्तकालय, सामाजिक सवालमा आधारिक कार्यक्रमहरू)
६. नेपाली भाषा, सभ्यता र संस्कृतिको सिकाइ आदान–प्रदान सम्बन्धि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेलोसिप कार्यक्रमहरू जसले यहाँका ऐतिहासिक विशिष्टतालाई प्रवद्र्धन गरोस् ।
अन्त्यमा मैले माथि प्रस्तुत गर्न खोजेको विषयवस्तुले कसैलाई दोषी देखाउन खोजेको होइन । मात्र आफ्नो गराई, भोगाई र अनुभवलाई प्रस्तुत गरेको हुँ । र, यो सबैको पछाडिको दोषी कोही छ भने त्यसको अंशको हकदार म पनि हुन तयार छु । तर मेरो आशय समस्यालाई उजागर मात्र गर्ने पक्कै होइन । यो समस्याको उचित व्यक्तिसँगको उजागरले समाधानको बाटो पहिल्याओस् भन्ने हो । उक्त भरोसासहितको पात्र हजुरलाई यो अवसरका लागि हार्दिक शुभकामना छ । आशा छ चार वर्षपछि यस्तै एउटा बधाई नै बधाईसहितको सन्देश लेख्ने अवसर मिल्नेछ ।
प्रकाशित मितिः ५ चैत्र २०७६, बुधबार ०५:०४
साझा बिसौनी ।