कृषि क्षेत्र जोगाऊ
कृषिप्रधान मुलुक नै कृषिमा आत्मनिर्भर छैन । कृषिजन्य वस्तु आयात गर्नुपर्ने अवस्था छ । त्यसमाथि कर्णाली प्रदेशको अवस्था अझ नाजुक छ । उत्पादन न्यून छ । जसले गर्दा खाद्यवस्तुको आयात अझ बढी हुन्छ । बाहिरबाट खाद्यान्न नल्याउने हो भने भोकमरीको समस्या झेल्नुपर्ने बाध्यता छ । खेतीयोग्य जमिनमो खेती भइरहेको छैन । खेती गरिरहेको क्षेत्रमा बस्ती विकास भइरहेको छ । घर बनिरहेका छन् । उत्पादन घट्दो छ ।
एकातर्फ खाद्यवस्तुको उत्पादन घटिरहेको छ भने अर्कोतर्फ कृषियोग्य जमिन मास्ने क्रम बढेको छ । कतिसम्म भने यसलाई जोगाउनुपर्ने दायित्व बोकेका निकायहरूका योजनामै कृषि क्षेत्र पर्न छोडेको छ । यसैको एक उदाहरण हो वीरेन्द्रनगर नगरपालिकाले बनाउँदै गरेको आगामी २५ वर्षे गुरुयोजना । जसमा कृषिलाई उपेक्षा गरिएको छ । चार दशक पूरानो गुरुयोजनाले छुट्याएको कृषि क्षेत्र मासेर वीरेन्द्रनगरमा बस्ती विकास गर्ने योजना अघि सारिएको छ । उक्त योजना अनुसार पूरानो गुरुयोजनाले कृषि क्षेत्रका रूपमा छुट्याएको वीरेन्द्रनगर उपत्यकाको तल्लो भू–भाग पनि कंक्रिटमय बन्ने भएको छ ।
वि.सं. २०२८ सालमा बनाइएको तत्कालीन वीरेन्द्रनगर उपत्यकाको गुरुयोजनामा अहिलेको रत्न राजमार्गभन्दा तल्लो भू–भागलाई कृषि क्षेत्रको रूपमा छुट्याइएको थियो । त्यसभन्दा माथिल्लो क्षेत्रलाई बस्ती विकास गर्ने योजना बनाइएको थियो । जुन योजनालाई तत्कालीन अवस्थामा फ्रान्सको पेरिस सहरसँग तुलना समेत गरिएको थियो । तर उक्त योजना कार्यान्वयन नै हुन सकेन । योजनाविपरीत संरचनाहरू निर्माण गरिएन । अव्यवस्थित रूपमा बस्ती विकास भयो । यद्यपि अहिले नगरपालिकाले व्यवस्थित शहर बनाउनका लागि अर्को दीर्घकालीन योजना बनाउने तयारी थालेको छ । जसमा सडक, पार्क, विभिन्न निजी तथा सरकारी भवन, ढल, निजी ऐलानी क्षेत्रहरूको संरक्षण, प्राकृतिक खानेपानी मुहानको संरक्षण, सांस्कृतिक धरोहरको संरक्षण, फोहोर व्यवस्थापन लगायतका विषय समेटिने छन् । तर कृषि क्षेत्रको संरक्षणको योजना छैन । बरु पहिलेको कृषि क्षेत्रलाई मासेर सहरीकरण गर्ने बताइएको छ ।
बढ्दो जनसंख्या र सोही गतिमा निर्माण भइरहेका संरचनाहरूलाई व्यवस्थित गर्न विस्तृत योजना जरुरी छ । योजना बनाउँदा व्यवस्थित बस्ती र सहर मात्रै होइन कृषि क्षेत्रको संरक्षण पनि उत्तिकै महत्वपूर्ण छ । वीरेन्द्रनगर उपत्यकाको तल्लो तटीय क्षेत्र कृषि उत्पादनका लागि अनुकूल क्षेत्र पनि हो । अहिले पनि उक्त स्थानमा व्यावसायिक रूपमा खेती गर्ने क्रम बढ्दै गएको छ । जसले स्थानीय उत्पादन मात्रै वृद्धि गरेको छैन यहाँका नागरिकलाई आत्मनिर्भर पनि बनाएको छ । खाद्यवस्तु र तरकारीजन्य उत्पादनको आयातलाई थोरै भए पनि कम गरेको छ । यसले वीरेन्द्रनगर र समग्र कर्णाली प्रदेशकै कृषि–अर्थतन्त्रलाई मद्दत पु¥याएको छ । यसकारण पनि नगरपालिकाले गुरुयोजना बनाउँदा राम्रा र व्यवस्थित घर निर्माणको मात्र होइन सँगसँगै कृषि उत्पादन क्षेत्रको योजना पनि समावेश गर्न अपरिहार्य छ ।
प्रकाशित मितिः ५ चैत्र २०७६, बुधबार ०५:०४
साझा बिसौनी ।