‘बाकस’ मञ्चन हुँदै
साझा बिसौनी संवाददाता
सुर्खेत, १४ भदौ ।
पछिल्लो समय सुर्खेती रंगमञ्च सुस्ताइरहेको बेला नाटक मञ्चन हुने भएको छ । आरंग नेपाल र जननाट्य मञ्च सुर्खेतको आयोजनामा नाकट ‘बाकस’ मञ्चन गर्न लागिएको हो ।
आरंग नेपालका अध्यक्ष गणेशभक्त गौतमको लेखन तथा निर्देशन रहेको नाटक यही भदौ १७ गते वीरेन्द्रनगरस्थित घण्टाघरमा मञ्चन गरिनेछ । नाटकमा माया थापा, अकवर खान, सञ्चिता सुनार र यलीशा घर्तीले अभिनय गर्ने जनाइएको छ ।
गरिबीले पारेको प्रभाव, तीज पर्व, गहनाप्रतिको महिलाहरूको मोह, गरीबले देख्ने सपनाको विचलन र कमाउनका लागि विदेश जानुपर्ने नेपालीहरूको बाध्यता र त्यसले निम्त्याउने परिणाम लगायतका विषयमा केन्द्रित भएर नाटक लेखिएको बाकसका लेखक एवम् निर्देशक गौतमले जानकारी दिए । नाटक हेर्न चाहने दर्शकहरूका लागि दुई सय रूपैयाँ टिकट शुल्क तोकिएको जननाट्य मञ्चका उपाध्यक्ष अकवर खानले जानकारी दिए । उनका अनुसार भदौ १७ गते दिउँसो ४ बजेदेखि घण्टाघरमा नाटक मञ्चन हुनेछ ।
साझा बिसौनी संवाददाता ।