प्रदेश राजधानीमै छैन नगरबस

सुर्खेत : विगतको क्षेत्रीय सदरमुकाम वीरेन्द्रनगर यतिबेला कर्णाली प्रदेशको राजधानी हो । प्रदेश मुकाम भएको दुई वर्ष बितिसक्यो । राजधानी भएसँगै यहाँको जनघनत्व वृद्धि हुुँदै गएको छ । तर नागरिकले भने प्रदेश राजधानीको सुविधा उपभोग गर्न पाएका छैनन् । नागरिकको सहजताका लागि स्थानीय तहले नगर बस सञ्चालन गर्न सक्छन् । तर कर्णालीका ग्रामीण भेगका स्थानीय तहले बस सञ्चालन गर्दा पनि प्रदेश राजधानीकै नगरपालिकाले नगरबस सञ्चालन गर्ने तयारी समेत गरेको छैन ।

पटक–पटक नगरबस सञ्चालनका लागि नागरिक स्तरबाट कुरा उठे पनि नगरपालिकाले चासो दिएको छैन । नागरिक अगुवा पिताम्बर ढकालले वीरेन्द्रनगरमा नगरबस सञ्चालन आवश्यक भए पनि नगरले चासो नदिएको बताए । उनले नगरबस सञ्चालन भएको भए भाडामा नागरिकहरूलाई सस्तो पर्ने पनि जनाए । नेवारे, लाटीकोइली, धुलियाविटदेखि बाङ्गेसिमलसम्म रुट छुटाएर नगरबस सञ्चालन गर्न सके नागरिकलाई सहज हुुने उल्लेख गरे । साथै उनले सडक पनि व्यवस्थित बनाउँदै लिनुपर्नेमा जोड दिए ।

वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुुख मोहनमाया ढकालले अहिले नगरबस सञ्चालन गर्ने कुनै तयारी नभएको जानकारी दिइन् । उनले नगरबस सञ्चालन गर्न आवश्यक रहेको कुरा उठ्दै आएको उल्लेख गर्दै आगामी आर्थिक वर्षमा सञ्चालनका लागि प्रक्रिया अघि बढाइने बताइन् ।

नगरबस सञ्चालन नहुँदा नागरिकले महङ्गो भाडा तिरेर यात्रा गर्न बाध्य छन् । वीरेन्द्रनगरमा सञ्चालन भएका अटोरिक्साले मनलाग्दी भाडा असुल गर्दा पनि नगरपालिकाले चासो देखाएको छैन । वीरेन्द्रनगर–१० खजुराकी राधा शाहीले वीरेन्द्रनगरकै क्याम्पस रोडदेखि हटिया चोक जाँदा अटोरिक्सा चालकलाई एकसय रूपैयाँ तिनुपर्ने बाध्यता भएको बताइन् । अटो रिक्सा चालकले मान्छेको अनुहार हेरेर भाडा लिने गरेको जनाइन् । बजार क्षेत्रमा अटोरिक्सा सञ्चालन भएपछि नागरिकलाई सुविधा त भएकै छ तर मनपरी भाडा असुल गर्नाले आफूहरूलाई समस्या भएको उनको भनाइ छ । नगरपालिकालाई यसबारे जानकारी दिँदा पनि चासो नदिएको शाहीले गुनासो गरिन् ।

वीरेन्द्रनगरकै वडा नं. ९ अलायचौरका मानबहादुर बोहोराले सम्बन्धित निकायले ध्यान नदिँदा महङ्गो भाडा तिर्नुपर्ने बाध्यता रहेको बताए । अटोरिक्सा बाहेक अरु यातायातका साधन नचल्ने हुँदा महङ्गो भाडा तिरेर यात्रा गर्नुपरेको उनको भनाइ छ । अटोरिक्सा चालकले मंगलगढी चोकदेखि अलायचौर जान ७० रूपैयाँ भाडा लिन्छन् । उनले अटोरिक्सामा तीन जना भन्दा बढी नराख्ने शर्तमा ७० रूपैयाँ भाडा दिने सहमति भएपनि छ–सात जना मान्छे चढाउँदा दुर्घटनाको जोखिम रहेको बताए । आफूहरूले चाहेको समयमा अटोरिक्सामा चढ्दा रिजर्ब भनेर चार–पाँच सय नै तिनुपर्ने बाध्यता रहेको उनले सुनाए । नगरले आफ्नै यातायात सञ्चालन गरेको भए आफूहरूलाई केही सहज हुने बोहोराको भनाइ थियो ।

वीरेन्द्रनगर नगरपालिकामा अटोरिक्साले मनपरी भाडा असुल गरेको जनगुनासो पनि आउने गरेको छ । तर नगरपालिकाले अहिलेसम्म यसको अनुगमन गर्ने र कारवाही भने गरेको छैन । नगरपालिकाले अटो तथा इ–रिक्सा व्यवस्थापन निर्देशिका समेत बनाएको छ । तर निर्देशिका बनेको एक वर्ष बितिसक्दा पनि लागु भएको छैन । निर्देशिकामा अटोरिक्सा दर्ता गर्ने, रुटपरमिटदेखि लिएर भाडादर समेत तोकिएको छ । कालोपत्रे गरिएको सडकमा न्यूनतम २० रूपैयाँ र त्यसपछि प्रतिकिलोमिटर पाँच रूपैयाँको दरले भाडा लिइने र कच्ची सडकमा २० रूपैयाँ न्यूनतम भाडा र त्यसपछि प्रतिकिलो मिटर १० का दरले लिने निर्देशिकामा व्यवस्था छ । तर अटोरिक्साले निर्देशिका विपरित नागरिकबाट भाडा असुल्ने गरेका छन् । निर्देशिकामा निर्धारित भाडा दर भन्दा बढी भाडा लिएको पाइएमा १५ सयदेखि २५ सयसम्म जरिवाना गर्ने व्यवस्था समेत छ । तर अटोरिक्सामा धुलियाविटदेखि बाङ्गेसिमलसम्म जान एक जनाले करिब आठ किलोमिटरको सडकमा एकसय रूपैयाँ तिर्नुपर्छ । नागरिकले वीरेन्द्रनगरभित्रका सडकमा एकसय रूपैयाँ भन्दा बढी तिर्न बाध्य छन् । तर यसको अनुगमन भने अहिलेसम्म नगरपालिकाले गरेको छैन । न नागरिकलाई भाडादरको बारेमा जानकारी गराएको छ ।

नगरपालिकाका अनुसार वीरेन्द्रनगरमा एक हजार अटो रिक्सा दर्ता भएर सञ्चालनमा छन् । नगरपालिकाका उप–प्रमुुख ढकालले अनुगमन नगरिएको स्वीकार गरिन् । उनले भनिन्, ‘निर्देशिकामा भाडादरदेखि रुटसम्म तोकिएको छ । मनपरी भाडा असुलेको जनगुनासो पनि हामीकहाँ आएको छ । अनुुगमन भने गरेका छैनौँ ।’