साझा संवाद

‘सामाजिक परम्पराले हिंसा बढाएको छ’

 गीता कोइराला

मार्च ८ अर्थात्, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । महिला मुक्तिको आरम्भ दिनको रूपमा यसलाई विश्वभर सम्झने गरिएको छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर दिवस मनाइएको छ । दिवस एकातर्फ छँदैछ महिलाहरूमाथिको विभेदको श्रृंखला भने रोकिएको छैन । महिलाहरू भने अझै पनि समानताको लडाई लड्दैछन् । नजान्नेहरूले भन्दा जाने बुझेकाहरूबाटै अझै भनौ नीति निर्माणमा पुगेकाहरूले नै महिलामाथि विभेद गर्दै आएका छन् । तुलनात्मक रूपमा कर्णाली प्रदेशमा महिलाहिंसा र विभेदका घटना अझै बढी छन् । यसै सन्दर्भमा हाम्रा सहकर्मी सीता वलीले अधिवक्ता गीता कोइरालासँग कुराकानी गरेकी छिन् । प्रस्तुत छ, उक्त कुराकानीको अंश ः

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई कसरी बुझ्नु भएको छ ?

क्लारा जेटकिन्ले सुरुवात गरेको यो दिवस श्रमिक महिलाहरूको हितको लागि सुरुवात गरिएको थियो । महिलाहरूले १६ घण्टा काम गर्नुपर्ने अवस्थालाई जेट्किन्कै नेतृत्वमा आन्दोलन गरी आठ घण्टा श्रम गर्ने अवस्थामा आएपछि दिवसको रूपमा मार्च ८ लाई मनाउने गरिएको हो । खासगरी नेपालको सन्दर्भमा ८ मार्च अर्थात् महिला दिवसलाई हिंसामुक्त समाज निर्माण गर्नको लागि मनाइन्छ । महिलाहरू हिंसामुक्त बन्नुपर्छ भन्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।

दिवस मात्रै मनाएर महिला हिंसाको अन्त्य हुन सक्ला ?

वर्षमा तीन सय ६४ दिन विभेद र हिंसा सहेका महिलाहरूको जीवनमा एकदिनको दिवसले ठूलै परिवर्तन गर्छ जस्तो मलाई लाग्दैन । तर दिवसको सार्थकता भने अर्कै छ । वर्षभरी नै महिलाहरूका लागि यो दिवस हुनुपर्छ । महिलाहरूलाई घरमा, कार्यस्थलमा र विभिन्न सार्वजनिक स्थलहरूमा सम्मानजनक व्यवहारहरू हुनुपर्छ भन्ने यो दिवसको उद्देश्य हो । वर्षभरी नै महिलाहरू हिंसामुक्त हुनुपर्छ । त्यो सन्देश सबैलाई दिनको लागि दिवस हरेक वर्ष मनाउने गरिन्छ । आमालाई सम्मान गर्ने, दिदिबहिनीहरूलाई माया गर्ने र श्रीमतीका कुराहरू सुन्ने खालको वातावरण सिर्जना बनाउन यो एक अभियान हो ।

तपाईं लामो समयदेखि विशेषगरी महिलाहरूको क्षेत्रमा वकालत गर्दै हुनुहुन्छ । काम गर्ने क्रममा महिलाहरूको अवस्था कस्तो पाउनुभएको छ ?

गर्न त मैले गैरसरकारी संघ–संस्थाहरूमा समेत काम गरेँ । जहाँ जति काम गरे पनि महिलाहरूकै विषयमा र महिला अधिकारका लागि काम गरेँ । अधिकारकर्मी भएर काम गर्दा चेतना दिने कुरा र दैनिक अदालती अभ्यास गर्दा प्रत्यक्ष अधिकार दिलाउने कुरामा फरक छ । हिंसा भएकाहरूलाई हिंसामुक्त हुनुपर्छ भनेर कानुन अनुसार अभ्यास गर्ने क्रममा महिलाहरूका थुप्रै समस्याहरू रहेको मैले पाएँ । अधिकांश महिलाहरू घरेलुहिंसाबाट पीडित छन् । त्यसमा पनि आर्थिक, मानसिक, शारीरिक र यौन हिंसा खेपेर पनि महिलाहरूले अन्य हिंसा खेप्नुपरेको अवस्था मैले काम गर्ने क्रममा पाएकी छु ।

हाम्रा दिदिबहिनीहरू छोरी जन्माएकै कारण, छोरी सन्तान हुन् भनेर नस्वीकारेकै कारण हिंसामा परेका घटना छन् । शिक्षामा कमजोर भएकै कारण, विवाहित महिलालाई सम्पत्तिको अधिकार भए पनि पैतृक सम्पत्ति नदिने, प्रमाण–पत्र दिन नखोज्ने र श्रीमान्बाट यौनहिंसामा परेका समेत घटनाहरू रहेका छन् ।

कुन वर्गका महिलाहरू बढी हिंसा खेप्नुपरेको पाउनुभएको छ ?

हिंसाको रूपमा यो वर्ग वा जातलाई बढी वा यो वर्गलाई कम भन्नेनै छैन । हिंसाका रूप फरक होलान् तर सबैवर्गका महिलाहरूले हिंसा खेप्नुपरेको अवस्था छ । गृहिणी, मजदुरी गर्ने महिला, राजनीतिकर्मी, शिक्षित, सरकारको नेतृत्वमा गएका महिलाहरूले समेत हिंसा भोग्नुपरेको अवस्था छ । जागिर खाएका,शिक्षक, उप–प्राध्यापक, वकिल, सबै पेसा र व्यवसायमा संलग्न महिलाहरूले हिंसा खेप्नुपरेको मैले देखेकी छु । तर यति मात्रै फरक छ कि सक्षम महिलाहरूले हिंसा नसहन सक्छ । प्रतिकार गर्न सक्छ । उसले श्रीमान् वा घरपरिवारले हिंसा गरेको खण्डमा एक्लै बाँच्नसक्ने सामथ्र्य राख्छ तर आर्थिक रूपमा कमजोर महिलाको त्यो खालको आँट हुँदैन । त्यसैले आर्थिक उपार्जन गर्न नसक्ने महिलाहरू बढी पीडित देखिन्छन् ।

महिलाहरूले हिंसालाई किन बाहिर ल्याउन चाहन्नन् ?

एउटा नेपाली उखान छ ‘सहनेको सहिसिद्धि’ अझै पनि महिलाले सहनुपर्छ भन्ने मानसिकता समाजमा छ । विशेषगरी महिलाले नै सहनुपर्छ भन्ने सामाजिक परम्पराले गर्दा अझै हिंसा निम्त्याएको हो । अर्को कुरा महिलालाई समाजले अझै पनि दोस्रो दर्जाको रूपमा हेरेको छ । श्रीमान् न हो एकपटक कुट्यो सहनुपर्छ भन्ने प्रचलन छ । विवाहित महिलाहरूको हकमा विवाहपछि माइतीपक्षले त्यसको जिम्मेवारी लिन चाहदंैन । माइती पक्षले ‘मारे पाप, पाले पूण्य’ भन्दै विवाहको दिनबाटै जिम्मेवारीबाट पञ्छिन्छन् । श्रीमान् वा घरपरिवारले हिंसा गरेपनि जाने ठाउँ महिलाहरूको कहीँपनि हुँदैन । श्रीमान् वा घरपरिवारको भरमा बाँचेकी महिलालाई जन्मघरको पैतृक सम्पत्तिमा समेत अधिकार हुँदैन । अझै पनि महिलालाई इज्जतको रूपमा हेर्ने प्रचलन रहेको छ । कुलखान्दानको इज्जत जाने डरले समेत महिलाहरू हिंसा सहेर बस्न बाध्य छन् । कानुनी बाटो अपनाउने महिलाहरू त बाँच्नै नसक्ने अवस्थामा मात्रै आउँछन् । अझै पनि घरेलुहिंसा सहेर धेरै महिलाहरू बसेका छन् ।

हिंसाबाट प्रभावित महिलाहरूलाई घर त असुरक्षित छ नै । त्यसमा पनि माइतीपक्षको सहयोग नहुँदा कसरी न्याय पाउन सक्छन् ?

यो जटिल समस्या छ । हिंसाबाट प्रभावित महिलाहरूले कानुनी बाटो अपनाउने क्रममा घरमा बस्ने वातावरण हुँदैन । त्यसमा पनि माइतीपक्षले समेत सकेसम्म छोरी वा बहिनीले सहेर बसोस् भन्ने सोच्दछन् र कानुनी बाटो अपनाउने क्रममा सहयोग समेत गर्दैनन् । त्यो अवस्थामा महिलाहरू धेरै असुरक्षित भएको अवस्था छ । त्यसको लागि आपत्कालीन गृह निर्माणमा सरकारले पहल गर्नुपर्छ । अदालती प्रक्रिया अगाडि बढाउने क्रममा विस्तारै पारिवारीक सम्बन्ध राम्रो हुने हुन्छ । पारिवारीक सम्बन्ध राम्रो नभए पनि न्याय पाउने बेलासम्मको लागि आपत्कालीन गृहमा बस्ने व्यवस्था भयो भने न्याय पाएपछि महिलाले आफ्नो व्यवस्था गर्न सक्छिन् ।

महिला हिंसा हुनुका कारण के देख्नुभएको छ ?

महिला हिंसाका थुपै्र कारणहरू छन् । त्यसमा पनि सबैभन्दा बढी मानसिकताले नै ठूलो भूमिका खेलेको छ । महिला दोस्रो दर्जाको रूपमा, महिला यौन सन्तुष्टि लिने साधनको रूपमा, महिला काम गर्ने मेसिनको रूपमा । जब श्रीमान् र घरपरिवार तथा समाजले महिलालाई विभिन्न दर्जा दिन्छ अनि हिंसाको सुरुवात हुन्छ । कतिपय अवस्थामा मुद्दा घरेलु हिंसा वा सम्बन्ध विच्छेदको आएको हुन्छ । बुझ्दै जाँदा घरपरिवारका अन्य सदस्यसँग सम्बन्ध एकदमै राम्रो भएको र नितान्त ओछ्यानको लडाई त्यहाँ देखिन्छ । त्यो कुरालाई वैवाहिक बलात्कारको रूपमा महिलाहरूले समेत ल्याउन चाहदैंन । श्रीमतीको चाहना विपरित यौनकर्मका विभिन्न नयाँ तरिका श्रीमान्ले अपनाउन खोजेकोले महिलाहरूले सहनै नसक्ने अवस्थामा अदालत आएका घटना छन् ।

हिंसा अन्त्यका लागि महिला स्वयम्ले के गर्नुपर्छ ? सरोकारवाला निकायहरूले के –के गर्नुपर्छ ?

पहिलो कुरा महिला सक्षम हुनु नै हिंसा कम हुनु हो । कानुनी कुराहरू समेत महिलाहरूले जानेको हुनुपर्छ । बालविवाह गर्ने र शिक्षालाई निरन्तरता नदिने, सानै उमेरमा बच्चा समेत जन्माउने र आर्थिक संकट झेल्ने यो अवस्थामा बढी हिंसा भएको मैले देखेकी छु । त्यसैले हरेक छोरी उमेर पुगेपछि र सक्षम भएपछि मात्रै विवाह गर्ने, हिंसाको प्रतिकार गर्ने गर्नुपर्छ, पाठ्यक्रममा महिला हिंसासम्बन्धी कुराहरू समेट्ने गर्नुपर्छ । सरोकारवाला निकाय वा सरकारले समेत कानुनको कार्यान्वयनमा ध्यान दिनुपर्छ । अझै पनि घरेलुहिंसा सम्बन्धी कानुन पूर्णरूपमा कार्यान्वयन हुन सकेको छैन । घरेलुहिंसा सम्बन्धी कानुन अझै बलियो भयो र हिंसा गर्नेलाई कारबाही भयो भने यसको अन्त्य हुनसक्छ ।

जबसम्म आधा आकाश ढाक्ने महिलाहरू हिंसामा परिरहन्छन् समाज विकासको कल्पना समेत गर्न सकिँदैन । टोलदेखि घरेलुहिंसा नियन्त्रणका लागि संरचना निर्माण गर्नुपर्छ । उक्त संरचनाले काम गरे–नगरेको अनुगमन समेत गरिनु जरुरी छ । पुरुष मात्रै होइन महिलाले समेत महिलालाई हिंसा गरेको अवस्था छ । महिला आफै हिंसामा छ भने उसका सन्तानहरू समेत स्वतः हिंसामा पर्छन् । जसले गर्दा देशको विकासमा नै नकारात्मक असर पर्छ । त्यसैले सबै तह र तम्काबाट महिला हिंसा अन्त्यका लागि पहल गरिनुपर्छ ।

प्रकाशित मितिः   २६ फाल्गुन २०७६, सोमबार ०५:०३