ती दिनहरू रमाइला थिए

                     कर्णबहादुर थापा

वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ निवासी कर्णबहादुर थापा पूर्व शिक्षक हुन् । उनले २५ वर्षसम्म शिक्षण पेसा गरे । साथसाथै अन्य सामाजिक कार्यमा पनि उनी उत्तिकै सक्रिय रहँदै आएका छन् । वि.सं. २०२५ चैत्र २९ गत बुवा हस्तबहादुर थापा र आमा सूर्यदेवी थापाको सन्तानका रूपमा जन्मिएका थापाले नेपाल अर्बुद रोग निवारण संस्था शाखा सुर्खेतको संस्थापक सचिव र तीन पटक सभापति भएर काम गरे । शिक्षण पेसाबाट अवकाश लिएर सामाजिक कार्यमा नै समर्पित थापाले हाम्रा सहकर्मी मुना हमालसँग आफ्नो बाल्यकालको सम्झना यसरी साटे ः

बाल्यकालमा म एकदमै सोझो थिएँ । कम बोल्थें । मिलनसार पनि थिएँ । साथीभाइहरूसँग खेल्नु–रमाउनु नै बाल्यकालको सबैभन्दा मिठो सम्झना हो । सँग–सँगै केही संघर्षका दिनहरू पनि बिताएको छु ।

मैले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वीरेन्द्रनगर डाँडास्कुलबाट आफ्नो औपचारिक पढाइ सुरु गरेको हुँ । विद्यालय सुरु हुन एक घण्टा अघि विद्यालय जान्थें । अनि पढाइ सुरु हुुन थालेपछि घर फर्किन्थें । विद्यालयको गेट अगाडि साथीहरूसँग खेल्थे । घण्टी लागेपछि घर फर्किहाल्थँे । विद्यालयमा नियमित नपढेपछि म कक्षा एकमा फेल भएँ ।

एक दिन एक जना दाइले अहिले नपढ पछि भाडा माझेर खानुपर्ला भनेर सम्झाउनुभयो । उहाँको यो भनाइले मेरो मन छोयो । त्यसपछि पढ्नुपर्छ भन्ने भावना आयो । नियमित विद्यालय जान थालें । जो जान्ने विद्यार्थी छ, उनीहरूसँग संगत गर्न थालेँ । विमल नेपाली, जो अहिले जन माध्यमिक विद्यालयको शिक्षक–अभिभावक संघको अध्यक्ष हुनुहुन्छ । उहाँसँग धेरै जसो मेरो साथ हुुन थाल्यो । उहाँ कक्षामा प्रथम हुुने विद्यार्थी हुनुहुन्थ्यो । उहाँको अक्षर राम्रा थिए । म त्यस्तै अक्षर गराउन थाल्थेँ । पढाइमा राम्रो हुनुहुन्थ्यो । उहाँसँग मैले पढ्न सिक्थेँ । त्यसपछि पढाइमा राम्रो सुधार हुँदै गयो ।

कक्षा एकको वार्षिक परीक्षामा तेस्रो स्थानमा आउन सफल भएँ । अर्को वर्ष कक्षा दुईको वार्षिक परीक्षामा दोस्रो स्थानमा उत्तीर्ण भएँ । कक्षा तीनमा पढ्दा मेरो बुवाको निधन भयो । आमा पनि बिरामी हुनुहुन्थ्यो । बिरामी आमाको हेरचाह पनि गर्नुपथ्र्यो । कक्षा सातमा पढ्दा आमाको निधन भयो । त्यसपछि भने मैले अलि संघर्ष गर्नुप¥यो । दाइहरूको विवाह भइसकेको थियो । म पछिको भाइ थियो । आमा र बुवाको निधन भइसकेपछि आफ्नो मात्र होइन, भाइको हेरचाह गर्ने जिम्मेवारी मेरो काँधमा आयो । त्यसपछि पढाइ सामान्य भयो । आर्थिक अवस्था पनि कमजोर थियो । सबै जिम्मेवारी आफ्नो काँधमा आइपरेपछि पढाइलाई राम्रोसँग अघि बढाउन सकिनँ ।

विद्यालयमा केही साथीहरू अलि बदमास थिए । उनीहरू बदमासी गर्थे । कारबाही भने मैले नै भोग्नुपथ्र्यो । विद्यालयमा साथीहरूले बदमासी गर्ने र भागिहाल्ने गर्थें । मैले केही गरेको छैन भनेर भाग्दिनथें । अनि सरहरूले मलाई भेट्नुहुन्थ्यो र कारबाही गर्नुहुन्थ्यो । कक्षा नौं मा पढ्दा विद्यालयमा कारबाहीमा परें । त्यसबेलामा म जन माविमा पढ्दै थिएँ । विद्यालयमा कारबाहीमा परेपछि म नेपालगन्ज गएर पढेँ । विद्यालयमा नराम्रो रेकर्ड कायम भएपछि मैले गलत साथीहरूसँग संगत गर्न छोडँे । घरमा पनि हेर्नुपर्ने भएकाले फेरी सुर्खेत फर्किएँ । त्यसपछि भैरव मावि भैरवस्थानबाट एसएलसी उत्तीर्ण गरेँ ।

मलाई बाल्यकालमा चित्रकलामा रुचि थियो । राम्रो चित्र पनि कोर्थें । मान्छेको तस्बिर जस्ताको त्यस्तै उर्तान सक्थेँ । कक्षा ६–७ मा पढ्दा धेरै चित्र पनि बनाउने गरिन्थ्यो । अनि म साइकल चलाउनमा सोखिन थिएँ । कहिलेकाहीँ साथीहरू मिलेर धाइरो खान जंगल पनि जान्थ्यौं । वनमा गएर तिर्खा लागेको बेलामा भातगाउँले टोपिमा कुवाबाट पानी निकालेर खाएको सम्झना अझै पनि आउँछ । ती दिनहरू रमाइला थिए ।

त्यसबेलामा सुर्खेत बजारमा पाललो बस्ती थियो । प्रायः झाँडी र जंगल थियो । पुराना घरहरू थिए । खेल्नका लागि ठूला चौर थिए । हामीले त्यसबेलामा कपडाको भकुण्डो बनाएर खेल्थ्यौं । अहिलेका बालबालिकाको बालापन र त्यसबेला हाम्रो बालापन आकाश–पातल फरक छ । अहिलेका बालबालिका
एड्भान्स छन् । त्यसबेलामा हामीले कक्षा एक–दुईमा पढ्दा सिलौटामा चकले लेखेर अक्षर लेख्न सिकेका थियौं । अहिले प्रविधिले बालबालिकालाई धेरै अघि बढाएको छ । मोबाइल र कम्प्युटरमा खेलहरू खेल्छन् ।

बाल्यकालमा चाडपर्व रमाइला हुुन्थे । आफ्नो जिम्मेवारी त्यति नभएर पनि होला बाल्यकाल रमाइला हुने । महिनादिनदेखि नै रमझम सुरु हुन्थ्यो । मिठो खान र राम्रो लगाउन पाइने र टिका लगाएर पैसा पाइन्छ भन्दै महिनौंदेखि हामी पर्खाईमा हुन्थ्यौं । त्यो पर्खाई लामो लाग्थ्यो । भविष्यमा गएर यो नै बन्छुु भन्ने त केही थिएन । तर पढ्नुुपर्छ । नपढे पछि परिन्छ भन्ने चाहिँ हुुन्थ्यो । संघर्ष गर्नुपर्छ भन्ने लाग्थ्यो । एसएलसीपछि मैले उच्च शिक्षा पढेँ । कमाउँदै पढ्दै पनि गरँे ।

प्रविणता प्रमाण–पत्र तह उत्तीर्ण गरेपछि जागिर पनि खाएँ । वि.सं. २०५० सालमा मैले स्थायी शिक्षकमा नाम निकालेँ । शिक्षण पेशामा रहेर २५ वर्ष सेवा गर्ने अवसर पाएँ । कालिका मावि लामीदमार र नेरा निमावि वीरेन्द्रनगर ५ चिसापानीमा पढाएँ । त्यसबाहेक मैले नेपाल अर्बुद रोग निवारण संस्था शाखा सुर्खेतको संस्थापक सचिव र तीन पटक सभापति भएर काम गरें । अहिले उज्वल बहुउद्देश्यीय सहकारी संस्था वीरेन्द्रनगरको अध्यक्ष भएर काम गरिरहेको छु ।

प्रकाशित मितिः   २६ फाल्गुन २०७६, सोमबार ०५:०१