समाज रूपान्तरणको युद्धमा महिला
महिला र पुरुष एक रथका दुई पाङ्ग्रा हुन् त्यसमा द्विविधा छैन । जति धेरै असल नारी हुन्छन्, घर र मुलुक त्यति नै बलियो हुन्छ । यसमा पनि कुनै सन्देह छैन । तथापि गर्भावस्थादेखि नै महिला एउटा वस्तुको रूपमा परिभाषित हुँदै आए । महिलामाथि भएका विगतका घटना आजलाई अनौठो लाग्नुपर्ने हो तर वर्तमानका महिलाहरूले सामना गरिरहेका घटना र यथार्थ हेर्दा विगतले पनि आश्चर्य मान्दो होला !
आज पनि छोरी शिशुको हत्या गरिरहेका छन् । अझै भनौ आज छोरी शिशुको हत्या गराउनु प्रचलन बाहिरको कुरा मानिदैन, कारण पहिले महिलालाई परनिर्भर भनियो । त्यसपछि एक किसिमको बोझको रूपमा परिभाषित गरियो । अनि एउटी नारी श्रीमान् र समाजको सम्मान र प्रतिष्ठा पाउने आशामा तमाम छोरी शिशुको हत्या गर्ने जस्तो कलंकित काममा आफ्नो इच्छा विपरित सामेल बन्न पुग्छे र थुप्रै शिशु कन्याहरू संसारको अथाह सम्भावनामा सरिक हुन नपाएर नै भ्रूण अवस्थामै चुडिन बाध्य हुन्छन् ।
महिलाको दोस्रो अध्यायमा एक नारी आफ्नो जन्म, गृह र जन्मदातालाई छोडेर परपुरुषलाई सर्वश्व ठान्छे र पतिगृहलाई जीवन ठानेर जन्मदाताबाट टाढा रहन्छे । परन्तु त्यो नारीले पति गृहमा अपमान, तिरस्कार सहेर बाँच्न विवश हुन्छे । अनि पतिले आफ्नै पत्नीलाई एक उपभोगीय वस्तुको रूपमा ठान्छन् । यसको एक ज्वलन्त उदाहरण पौराणिक कालमा द्रौपतीको वस्त्रहरण हो । साँच्चिकै महिलाले जेलाई जीवन पद्धति सम्झिन्छन् त्यही कुरा नग्नता र निर्लज्जतामा परिणत हुन्छ । नाता जस्तोसुकै किसिमको होस्, नातामा विश्वसनीयता हुनुपर्ने हो । यदि त्यस्तो छैन भने त्यो त देखावटी हो । व्यभिचार हो । यदि प्रेम छ भने एक अर्काप्रति विश्वास निश्चित रूपमा हुन्छ । हो तसलिमा नसरिनले भने जस्तै प्रेम जबर्जस्ती पहरा राखेर कानून बनाएर ल्याउन सकिदैन । जतिबेला पति र पत्नीको सपना पृथक हुन्छन्, त्यहाँ कलहको जन्म हुन्छ र उनीहरूको बीचमा वैमनस्यता उत्पन्न हुन्छ, अनि उनीहरूको उर्जाशील स्वर्णिम समय कलहमा बित्छ । तर पनि मान्छेहरूको मुखबाट राम्री आईमाई मानिने आशामा अनेकन अपमान र तिरस्कार सहेर पनि त्यही घरमा टाँसिरहन्छे ।
तसलिमा नसरिनले वैवाहिक जीवन, प्रेम र नारीको अस्तित्वको सवालमा लेखेकी छिन्, वैवाहिक जीवन अगाध प्रेम र विश्वास हो । दुवै एक अर्काका लागि आफ्ना सपना सम्भावना पूरा गर्ने प्रेरणा बन्नुपर्ने हो । यति कुरा थाह हुँदाहँुदै पनि आफ्नो स्वको बर्बादी गरेर टाउको पछ्यौरीले छोपेर श्रीमान्, सासु–ससुरा, नन्द, बच्चा–बच्चीको लालन–पालन गर्दै श्रीमान्लाई नै फाइदा पु¥याउन विवश छन् थुप्रै महिलाहरू । त्यस्तै गरिकन निलम कार्की निहारिकाले आफ्नो चर्चित कृति चिरहरणमा द्रौपदीको बस्त्रहरणको सन्दर्भ कोट्याउँदै लेखेकी छिन् मर्म जसलाई उसको मात्र निजी हुँदो रहेछ । एक राज सभामा महाराजाकी पत्नीको त्यो दुर्दशा हुँदा त राजसभाका धर्मात्मा र बलिष्ठहरू नेत्रहीन, शब्दहीन भए भने आम नारीको बाटोघाटो, कुवा पधेरो, जंगल, मेलामा कति दशा होलान् ? कर्तव्य निभाउन सकिन्छ तर प्रेम बाड्न कसरी सम्भव होला ? तथापि यस्तै बाध्यताका जंजिरमा छन् तमाम महिलाहरू ।
पाप कर्म गरेर पुरुषहरूले नारीको आडमा नै नारीमाथि दमन अत्याचार गरिरहेका छन् । यसर्थ नारी कहाँ छन् सुरक्षित ? न घरभित्र न बाहिर, न झुपडी न दरबारमा । अनि आज पनि भेटिन्छन् सत्यवती, अम्बा, अम्बालिका, कुन्ती र द्रौपदीहरू । नत्र किन मृत्युवरण गर्नुपथ्र्याे परीक्षामा समावेश हुन गएका छात्राले, सँगै पढ्ने संगीसँग अध्ययन गर्न गएकी निर्मला पन्तहरूले ?
नारीका विवशता र बाध्यताको अन्त्य कहिले हुने ? निम्न वर्गीय परिवारका महिलाहरूका विवस कथा व्यथाहरू मात्र दृष्टान्तमा एक छन् तर मध्यम वर्गीय र उच्च वर्गीय महिलाका कथा व्यथाहरू धेरै अदृश्य छन् । अन्तर्राष्ट्रिय स्तरमा समाज परिवर्तन तथा महिला अधिकारका लागि गरिएको क्लारा जेटकिनको संघर्ष हेरौं । नेपालकै सन्दर्भमा नारीको सम्मानपूर्वक बाँच्न पाउनु पर्ने भन्दै योगमायाको तत्कालिन संघर्ष र जल समाधि यदि मिथ्या होइन भने हेरौँ ति दर्दनाक संघर्षका पलहरू । समान अधिकारको अभिलाषामा निरन्तर आन्दोलन र कठिन युद्धमा होमिएका महिलाहरूका संघर्षका कथाहरू पढौँ । विडम्बना आजको यो युगमा समेत पतिको गलत कदममा पनि साथ दिनुलाई कर्तव्य भनेर यातना सहनुपर्छ ।
दैनिक आवश्यकताका सबै कार्य सम्मानयोग्य हुन्छन् भन्ने जान्दाजान्दै पनि नारीले गर्ने कार्यलाई सामान्य र पुरुषले गर्ने कार्यलाई उच्च भनेर दर्जा दिइरहेको छ समाजले । नारीलाई जिउँदै जलन धर्म सिकाइ जलाइरहेको छ यो पुरुषतन्त्रीय समाजले । आजको बदलिदो विश्वपरिवेशमा समेत द्वापर युगकी कुन्ती, द्रौपदी र सत्यवतीमै सीमित राख्न उद्धत छ यो समाज ।
अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहँदा शासन व्यवस्था फेरिएको छ । सिंहासनमा महिलाहरू पनि विराजमान छन् । तथापि महिलाहरूको अवस्था फेरिएको अनुभूति भएको छैन । पुरुषहरूको चिन्तन र व्यवहार फेरिएको छैन । पढेलेखेकी, जागिर खाएकी, घरभित्र र बाहिर धान्न सक्ने जीवन संगिनीको साथ लिन सबै लालयित छन् तर साथ दिन संकुचित नै छन् धेरै पुरुषहरू । नेपालको संविधानमा ३३ प्रतिशत महिला आरक्षण कोटाको व्यवस्था गरेर १५÷२० प्रतिशतमै सीमित राखेर राजकाज चलाउन नै लालयित छन् देशका सर्वोच्च कमाण्डरहरू ।
अन्त्यमा, जबसम्म नारी हृदय बुझ्न नसक्ने पुरुषहरू न्यायको जिम्मेवारीमा ठेकेदार रहिरहन्छन् तबसम्म नारी समस्त नारी जातिले न्याय प्राप्त गर्न नसक्ने निश्चित छ भने नारी जातिले पनि कथा व्यथा लुकाएर बाच्ने कला भएकी र भव्यतव्य र अन्यायमा समेत आफूलाई शक्तिहीन सम्झिएर अरुकै मार्ग ताकिरहने द्रौपदीपथबाट अगाडि बढेर कुसल क्षमताको विकास गरी समाज रूपान्तरणको युद्धमा निरन्तर होमिनुपर्ने आवश्यकता देखिन्छ । नारीहरूको सुरक्षाका खातिर गलत मनोवृत्तिबाट ग्रस्त पुरुषहरूको आड, भरोसा मात्र होइन तमाम नारीहरूको कथा व्यथाहरूलाई आफ्नो कथा व्यथा सम्झी सही बाटोमा अवतरण गर्ने गराउने पुल बन्नुपर्ने अवश्यकता देखिन्छ । त्यसैगरी भोग विलास र सत्ता मोहको प्राप्तिमा लिप्त रही नारीको अस्मिता माथि खेलवाड गर्ने समाजका केही धृतराष्ट्र, दुर्योधनहरूको हातमा सत्ता पर्न नदिनका लागि संघर्षरत बन्नुपर्ने चुनौतीलाई आत्मसात गरि चिर्नुपर्ने आवश्यकता छ ।
(लेखक जनता माध्यमिक विद्यालय कोटथाप्ला, दैलेखका प्रधानाध्यापक हुन् ।)
प्रकाशित मितिः २५ फाल्गुन २०७६, आईतवार ०७:२२
साझा बिसौनी ।