भैरवी गाउँपालिका

चुनावी एजेण्डा भर्सेस नीति तथा कार्यक्रम

केही दिनअघि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकामा पुगेर स्थानीय तहका काम सडक खन्ने नभएको प्रतिक्रिया दिए । अहिले सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म आउने अधिकांश समाचारमा स्थानीय तहको धेरैजसो बजेट सडकमै खर्च भइरहेको भन्ने गुनासो आइरहेको छ । यसै सन्दर्भमा दैलेखको भैरवी गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरूका निर्वाचनका एजेण्डा र गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेटको तुलनात्मक विश्लेषण गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढा र उनको दल तत्कालीन नेकपा एमालेको निर्वाचनअघिको प्रतिबद्धता अनुसार गाउँपालिकामा जनप्रतिनिधिहरूका निर्वाचनका एजेण्डा पनि सडक निर्माण तथा विस्तारमा केन्द्रित भएको र सोहीअनुसार गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट निर्माण भएको छ भन्ने प्रष्ट भयो ।
स्थानीय तहका जनप्रतिनिधिहरूको मुख्य काम स्थानीय तहको विकास र नीति निर्माण हो, सँग–सँगै उनीहरूले निर्वाचनका समयमा जनतासामु गरेका बाचाहरू पूरा गर्न आवश्यक हुन्छ । भैरवी गाउँपालिकामा तत्कालीन नेकपा एमालेका उम्मेदवारहरूले आफूहरू निर्वाचित भएपछि गाउँपालिकाको विकास निर्माण र समृद्धिको लागि गर्ने कामहरू सहितको १८ बुँदे प्रतिबद्धता–पत्र तयार पारी जनतासामु पु¥याएका थिए । गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित गाउँसभामा आधाजसो जनप्रतिनिधिहरू तत्कालीन नेकपा एमालेकै छन् ।

उक्त प्रतिबद्धता–पत्रमा सबैभन्दा धेरै सडकलाई प्राथमिकतामा राखिएको थियो । नेकपा एमालेका उमेदवारहरूले तयार पारेको घोषणापत्रका १८ वटा प्रतिबद्धताहरूमध्ये चारवटा बुँदामा विभिन्न सडकहरूको ट्रयाक खोल्ने तथा कालोपत्र गर्नेसम्मका वाचाहरू थिए ।

घोषणा–पत्रमा माथिल्लो डुङ्गेस्वर–दुल्लू–डाँडीमाडी–कुसापानी, कालीकोट, जुम्ला हुँदै मुगु जिल्लाको नाँग्चेलाग्ना सडक निर्माण गरी उक्त सडकलाई उत्तर दक्षिण प्रादेशिक सडकको रूपमा विकास गर्ने पहिलो बुँदामा उल्लेख गरिएको थियो । त्यसैगरी बुँदा नम्बर चारमा बडलम्जी–डाँडीमाडी–कुसापानी र बडलम्जी–रावतकोट सडकलाई स्तर उन्नति र कालोपत्रे गर्ने कुराको प्रतिबद्धता उम्मेदवारहरूले जनतासामु गरेका थिए ।

प्रतिबद्धता पत्रको आठौं नम्बरमा बाजथला–बगौरा, बगना–गडाजिउला, डाँडीमाडी–गडाजिउला, डाँडीमाडी–सैन, डोक्रा–कुसापानी साथै कुसापानी–गैरासरु–कडेनी–गोर्ती–काशीकाँध, कुसापानी–घुम्नेखाली–कुर्माकोट–कुटी–काशीकाँध सडक निर्माण गर्ने प्रतिकद्धता गरिएको थियो । नवौं नम्बर बुँदामा बडलम्जी–डाँडीमाडी–कुसापानी र बडलम्जी–रावतकोट सडकलाई स्तरोन्नति र कालोपत्रे गर्ने उल्लेख गरिएको थियो ।

पहिलो प्राथमिकतामा सडक भएको र त्यसबाहेक अन्य पूर्वाधार निर्माण तथा सामाजिक विकासका क्रियाकलापहरूलाई प्राथमिकतामा राखेको देखिएन । गाउँपालिकाका केही क्षेत्रमा खानेपानी र सिँचाइको समस्या रहेकोले त्यसतर्फ केही ध्यान राखेर घोषणा–पत्र तयार भएको बुझ्न सकिन्छ । घोषणा–पत्रको एउटा बुँदामा गडाज्यूला र सैन सिँचाइ कुलो निर्माण गर्ने र छामघाटमा पम्पिङ्ग प्रविधिबाट सिँचाइ आपूर्ति गर्ने उल्लेख भएको छ भने अर्काे बुँदामा बडलम्जी खानेपानी आयोजना र अन्य साना खानेपानी आयोजनाको व्यवस्थापन गरी भैरवी गाउँपालिका क्षेत्रमा खानेपानीको आपूर्ति गर्ने कुरा उल्लेख गरिएको छ ।

गाउँपालिका क्षेत्र भित्र केन्द्रीय प्रसारण लाइनबाट विद्युतीकरण गर्ने कुरालाई पनि एजेण्डाको रूपमा उम्मेदवारहरूले राखेका थिए । त्यस्तै भैरवी गाउँपालिका क्षेत्रभित्र उपयुक्त स्थानको छनोट गरी प्राविधिक दृष्टिले सम्भव हुने एउटा औद्योगिक केन्द्र स्थापनाका लागि आवश्यक पहल गर्ने कुरा उल्लेख भएको छ ।

बहुमूल्य धातु, स्लेट, जडिबुटी, जंगल र वन्यजन्तुको संरक्षण गर्न सो क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्ने, एक वडाः एक उत्पादन क्षेत्र, एक वडा एक सहकारी र एक वडा एक पार्कलाई नीतिगत व्यवस्थापन गर्ने, श्रीस्थानमा रहेको पेट्रोलियम पदार्थको उत्खनन् कार्यलाई अगाडि बढाउन पहल गर्नेजस्ता एजेण्डाहरू थिए । उत्तरी क्षेत्रमा जडिबुटी र दक्षिणी क्षेत्रमा तरकारी, फलफूल र मत्स्यपालन पकेट क्षेत्र बनाइ कृषिमा आधुनिकीकरण प्रविधि अपनाउन पहल गर्ने, जडिबुटी प्रशोधन केन्द्र र आधुनिक घरेलु उद्योग स्थापन गर्नेजस्ता बाचाहरू उम्मेदवारहरूले गरेका थिए ।

घोषणा–पत्रमै थिएन शिक्षाको कुरा

गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा निर्वाचित उमेदवारहरूको प्रतिबद्धतामा शिक्षालाई खासै प्राथमिकतामा राखिएको थिएन् । घोषणा–पत्रका १८ वटा बुँदाहरूमध्ये एउटा बुँदामा शिक्षालाई समेट्न खोजिएको भए पनि स्पष्ट विकासको व्याख्या भएको थिएन । शैक्षिक संस्थाहरूको स्तरयुक्त विकास गर्ने र सिंगो गाउँपालिका क्षेत्रभित्र एउटा क्याम्पस स्थापना गर्न पहल गर्ने कुरामात्रै उल्लेख भएको थियो । यद्यपि गाउँपालिकामा शैक्षिक क्षेत्रमा दर्जनौं समस्याहरू विद्यमान छन् ।

स्वास्थ्यलाई पनि बेवास्ता

प्रतिबद्धताहरूको सूचीमा छुटाउने नहुने धेरै कुरा छुटेका छन् । जसमध्ये स्वास्थ्यको कुरा उठाइएकै थिएन । निर्वाचनको समयमा एजेण्डामा राख्न नसकेपनि गाउँपालिकाले हरेक वडामा स्वास्थ्य क्लिनिक स्थापना र एम्बुलेन्स समेत खरिद गरेको छ ।

कति पूरा भए प्रतिबद्धता ?

निर्वाचित जनप्रतिनिधिहरूले निर्वाचनको समयमा गरेका प्रतिबद्धताहरू र गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट हेर्दा अधिकांश बाचाहरू पूरा भएका देखिन्छन् । सबैभन्दा धेरै प्राथमिकतामा रहेको सडकलाई हेर्दा बडलम्जी–डाँडीमाडी–कुसापानी र बडलम्जी–रावतकोट सडकलाई कालोपत्रे गर्ने बाहेक सबै कुरा नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएका छन् । एजेण्डामा राखिएको पेट्रोलिएम पदार्थ उत्खननको कुरा संघीय सरकारको बजेटबाट र त्रिदेशीय सडकको काम प्रदेश सरकारको वजेटबाट भइरहेको छ ।

बजेटको प्राथमिकतामा पनि सडक

गाउँपालिकाको आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रममा पनि सडकलाई नै प्राथमिकता राखिएको छ । जसमा गाउँपालिकाभित्रका प्रत्येक सडकहरूको विस्तृत परियोजना प्रतिवेदन तयार गरी सबै बस्तीलाई सडक सञ्जालबाट जोड्न र वडा जोडने मुख्य सडकहरूको स्तरोन्नति गरिने उल्लेख गरिएको छ ।

चुनावी प्रतिबद्धतामा पनि प्राथमिकतामा रहेको कृषि उत्पादन वृद्धिका लागि बिउ–विजन तथा यान्त्रिकरण सहुलियत पूर्ण साझेदारी कार्यक्रममार्फत सहयोग गरिने कुरा नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएको छ । चुनावी एजेण्डामा त्यति ध्यान दिन नसकेपनि गाउँपालिकाको नीति तथा कार्यक्रममा भने शिक्षालाई प्राथमिकतामै राखिएको छ । शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न भर्ना अभियान सञ्चालन गर्ने, बालमैत्री विद्यालय स्थापना गर्नेदेखि स्थानीय स्तरमै प्राविधिक उत्पादन गर्न प्राविधिक शिक्षालयहरू सञ्चालन, शिक्षक व्यवस्थापन कार्यविधि निर्माण गरी लागू गर्ने, एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई सम्मान गर्नेसम्म नीति तथा कार्यक्रममा उल्लेख छन् ।

निर्वाचनका समयमा गरिएका वाचाहरूको सूचीमा नअटाएको स्वास्थ्य क्षेत्रमा पनि ध्यान दिइ गाउँपालिकामा नीति तथा कार्यक्रम र बजेट निर्माण गरिएको देखिन्छ । गाउँपालिकाको नीति तथा कार्यक्रममा स्वास्थ्य सम्बन्धी नीति निर्माण, गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह सुनिश्चित गर्ने, स्वास्थ्यसँग सम्बन्धित गैरसरकारी संस्थाहरूसँगको साझेदारी, ग्रामीण स्वास्थ्य क्लिनिक, एक वडाः एक गाउँघर क्लिनिक, जेष्ठ नागरिकको स्वास्थ्य सेवाको अधिकारलाई सुनिश्चित गर्न गाउँ–गाउँमा एकीकृत घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिने उल्लेख गरिएको छ । छोरी सम्मान कार्यक्रम अन्तर्गत दुई सन्तानसम्म छोरीलाई बालिकाको नाममा रू. एक हजारको खाता खोलिदिने गाउँपालिकाले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

निर्वाचनको समयको महत्वपूर्ण एजेण्डा तथा गाउँपालिकाको समस्याको रूपमा रहेको खानेपानी र सिँचाइलाई मध्यनजर गर्दै छामघाट खोलाको पानी लिफ्ट प्रविधिबाट खानेपानी तथा सिँचाइ गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । गाउँपालिकामा विद्युतीकरणको कुरा पनि नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएको छ ।

पूरा गर्न बाँकी प्रतिबद्धता

निर्वाचनको समयमा गरिएका प्रतिबद्धताहरूमध्ये एक वडा, एक उत्पादन क्षेत्र स्थापना गर्ने, एक वडा, एक सहकारी र एक वडा एक पार्कलाई नीतिगत व्यवस्थापन गर्ने, जडिबुटी प्रशोधन केन्द्र र आधुनिक घरेलु उद्योग स्थापना गर्ने, गाउँपालिका क्षेत्रभित्र एउटा क्याम्पस स्थापना गर्ने, बडलम्जी–डाँडीमाडी–कुसापानी र बडलम्जी–रावतकोट सडकलाई कालोपत्रे गर्ने जस्ता प्रतिबद्धता पूरा भएका छैनन् । साथै गाउँपालिकाका केही क्षेत्रमा बिजुली विस्तार भए पनि उत्तरी वडाहरू अन्धकार रहेका छन् ।

पाँच वर्षे कार्यकालमा पूरा गर्न नसक्ने विषय भैरवी गाउँपालिका क्षेत्रभित्र उपयुक्त स्थानको छनोट गरी प्राविधिक दृष्टिले सम्भव हुने स्थानमा एउटा विमानस्थल स्थापनाका लागि आवश्यक पहल गर्ने कुरा मात्रै हो । यो एजेण्डा पुरा गर्न धेरै नै कठिन देखिन्छ ।

(यो विश्लेषणात्मक आलेख तन्नेरी चासो सुर्खेतको टिमले तयार पारेको हो ।)

प्रकाशित मितिः   २५ फाल्गुन २०७६, आईतवार ०७:२०