कर्णालीमा कुपोषणको कहर

सीता वली, 
सुर्खेत : पञ्चपुरी नगरपालिका–२ पलैंटेकी मीना पराई मगरले दुई वर्षकी छोरी बिरामी परेपछि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा भर्ना गरिन् । तीन दिनसम्म आकस्मिक कक्षमा उपचार पछि डाक्टरको सल्लाह अनुसार उनले अहिले छोरीलाई अस्पतालको पोषण पुनस्र्थापना गृहमा भर्ना गरेकी छन् । ‘पोषणको कमी भयो भन्दै डाक्टरसाहेबले यहाँ बस्न भन्नुभयो’ उनले भनिन् ‘बच्चा सानो हुँदा घाँस–दाउरामै ध्यान गरियो । अहिले बच्चा कुपोषित भयो ।’ गाउँघरमा भएको खानेकुरा समेत मिलाएर खान नजान्दा समस्या भएको उनले बताइन् ।

रास्कोट नगरपालिका–३ कालीकोटकी जना न्यौपानेले समेत एक वर्षको छोरालाई पोषण पुनस्र्थापना गृहमा भर्ना गरेकी छन् । यसअघि करिब डेढ महिना गृहमै छोरा राखेर घर फर्किएकी जनाले दोस्रो पटक पुनस्र्थापना गृहमा ल्याइन् । ‘घरमा काम गर्ने कोही पनि छैन’ उनले भनिन् ‘सबै काम आफूले गर्नुपर्दा छोराको खानपान मिलेन ।’ दुई छोरालाई एक्लैले हेर्नुपर्ने समस्या भएकोले छोरा कुपोषित भएको उनले बताइन् ।

मीना र जना जस्तै पाँच वर्षमुनीका कुपोषित छोराछोरीलाई पोषण पुनस्र्थापना गृहमा लिएर हरेक वर्ष एक सय भन्दा बढी आमाहरू आउने गरेको गृहकी इन्चार्ज प्रभा सिंहले जानकारी दिइन् । उनले तीन वर्षमा गृहमा तीन सय २१ कुपोषित बालबालिका भर्ना भएको बताइन् । आर्थिक वर्ष २०७३÷०७४ मा गृहमा एक सय १६ जना बालबालिका भर्ना भएका थिए । सिंहका अनुसार उक्त आर्थिक वर्षमा निको भएर ८३ जना घर फर्किएको, १५ जनालाई अन्य अस्पतालमा रिफर गरिएको थियो । उपचार गर्दागर्दै घर गएका १५ जना, भागेर घर गएका पा“च जना र एक जनाको मृत्यु भएको उनले बताइन् । त्यस्तै आर्थिक वर्ष २०७४÷०७५ मा भर्ना भएका एक सय १२ जनामध्ये ८४ जना निको भएर गएको उनले बताइन् । उपचार गर्दागर्दै बीचैमा घर गएका १३ जना, भागेर घर गएका १३ जना र ६ जनालाई रिफर गरिएको उनले बताइन् ।

आर्थिक वर्ष २०७५÷०७६ मा भने भर्ना भएका एक सय तीन जनामध्ये ७५ जना निको भएर घर फर्किएको, १७ जना उपचार गर्दागर्दै घर गएको, ६ जनालाई रिफर गरिएको र पाँच जना भने भागेको उनले जानकारी दिइन् । गृहमा आउनेमध्ये अधिकांश बालविवाह गरी सानै उमेरमा बच्चा जन्माएको कारणले कुपोषण भएको पाइएको उनले बताइन् ।

‘सहरी क्षेत्रमा विशेषगरी बजारको खानेकुरा खुवाउने प्रचलन छ’ सिंहले भनिन् ‘गाउँघरमा भने काम मात्रै भन्ने छोराछोरीलाई वास्ता नगर्ने समस्या छ ।’ खाना पकाउन अल्छी गर्ने प्रवृत्तिले समेत कुपोषणको समस्या आउने गरेको उनले बताइन् ।

गृहमा कर्णाली प्रदेशका दैलेख, कालिकोट, जाजरकोट र सुर्खेत लगायतका बालबालिकाहरू बढी छन् । पाँच वर्ष मुनीका कुपोषित बालबालिकालाई सामान्यतया एक महिनादेखि डेढ महिनासम्म राख्ने गरिए पनि डाक्टरको सल्लाहअनुसार बढी पनि राख्ने गरिएको छ । गृहमा निःशुल्क दिनको आठ पटक खाना र आमालाई समेत निःशुल्क खाना र बस्नको व्यवस्था छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका सबै जिल्ला कुपोषणबाट प्रभावित छन् । निर्देशनालयका स्वास्थ्य शिक्षा प्राविधिक बसन्तमान श्रेष्ठले आर्थिक वर्ष २०७३÷०७४ मा ८२ हजार नौ सय ३२ जना बालबालिकामा तौल नाप गरेकोमा सात हजार सात सय ५७ जना कम तौलका बालबालिका भेटिएको बताए । यो नाप गरिएको जनसंख्याको ९.४५ प्रतिशत हो । त्यस्तै आर्थिक वर्ष २०७४÷०७५ मा ७८ हजार आठ सय ६३ बालबालिकालाई नापतौल गरिएकोमा आठ प्रतिशत अर्थात् ६ हजार तीन सय ६९ जना कम तौलका बालबालिका भेटिएको श्रेष्ठले बताए । आर्थिक वर्ष २०७६÷०७७ मा भने ७२ हजार आठ सय १७ जना बालबालिकाको तौल नाप गरेकोमा ६ प्रतिशत अर्थात् चार हजार पाँच सय ३३ बालबालिका कम तौलका भेटिएका छन् । यो तथ्यांक हेर्ने हो भने कर्णालीका ठूलो संख्यामा बालबालिका कुपोषणबाट प्रभावित भएको देखिन्छ ।

प्रकाशित मितिः   २२ फाल्गुन २०७६, बिहीबार ०५:०६