पीडितको पक्षमा उभिएकी ममता

                                   ममता नगाल

वि.सं. २०३९ साल असार १३ गते बुवा धर्मबहादुर कार्की र आमा नोखी कार्कीको कोखबाट जन्मिएकी ममता नगाल द्वन्द्वपीडितहरूको सुरक्षा संगठनको केन्द्रीय सदस्य हुन् । भेरीगंगा–८ सुर्खेतमा जन्मिएकी उनी द्वन्द्वकै कारण श्रीमान् गुमाएपछि समाजसेवामा समर्पित भइन् । विशेषगरी द्वन्द्वपीडितहरूको पक्षमा वकालत गर्दै आएकी ममताले आफूजस्तै द्वन्द्वका कारण एकल भएकाहरूको आवाज भन्ने उद्देश्यले समाज सेवामा लागेको बताउँछिन् । हाल एकल महिला समूह सुर्खेतकी अध्यक्ष समेत रहेकी नगालले हाम्रा सहकर्मी सीता वलीसँग आफ्नो पेसागत जीवनको कथा यसरी साटिन् ः

शिक्षक बन्ने सपना थियो

म विपन्न परिवारमा जन्मिएकी हुँ । बुवाआमा कृषि पेसा गरेरै परिवार चलाइरहनु भएको थियो । जीविकोपार्जनको स्रोत नै कृषि थियो । त्यतिबेलाको समाज पूर्ण शिक्षित भइसकेको थिएन । चेतनाको अभाव थियो । छोरा नै चाहिन्छ भन्ने हुन्थ्यो । छोरा नजन्मदासम्म सन्तान जन्माइरहने गरिन्थ्यो । मेरो बुवाआमाहरूले पनि छोराको आशमा नौ सन्तान जन्माउनुभयो । जसमध्येकी माइली छोरी हुँ, म । आठ बहिनीपछि एउटा भाइ जन्मिएको हो ।

त्यो बेलामा छोरीलाई पढाउनुपर्छ भन्ने सोच थिएन । यसै पनि विपन्न परिवारले कसरी छोराछोरी पढाउन सक्थ्यो ? तर मेरो दिदी पहिलो सन्तान भएकोले पढ्न पाउनुभयो । मैले भने दश वर्षको उमेरमा कक्षा ३ मा नाम लेखाएकी हुँ । त्यो भन्दा पहिले प्रौढ शिक्षा लिएकी थिएँ ।

पढाइमा एकदमै लगनशील थिएँ । कक्षाको प्रथम थिएँ । कक्षा ७ सम्म प्रथम भए पनि घरको कामको बोझले त्यसपछिको पढाइ खस्किँदै गयो । पढेर भविष्यमा शिक्षक बन्ने अठोटका साथ पढाइमा तल्लिन भएकी थिएँ । तर कक्षा ९ मा पढ्दापढ्दै मेरो प्रेम विवाह भयो, कमल नगालसँग । उहाँ सशस्त्र प्रहरी हुनुहुन्थ्यो ।

विवाहपछि पनि बुहारीले पढ्नुहुन्न भन्ने चलनले मैले पढ्न पाइँन । घरमै गृहिणीको रूपमा रहन थालेँ । त्यतिबेला सम्म मेरो एउटा छोरा भइसकेको थियो । २०५८ सालमा विवाह बन्धनमा बाँधिएकी थिएँ । २०६१ सालमा श्रीमान्ले सहादद प्राप्त गर्नुभयो । त्यसपछि जीवनले अर्कै मोड लियो ।

परिचय बदलियो

एकल महिलालाई समाजमा यसै पनि बाँच्न अप्ठ्यारो छ । पाइला पाइलामा अनेक चुनौती सामना गर्नुपर्ने हुन्छ । त्यसमा पनि भर्खरै विवाह भएको । श्रीमान्को मृत्यु भएपछि जीवन नै अन्धकार भयो । वि.सं. २०६१ सालमा श्रीमान्को घटना भएपछि करिब एक वर्षसम्म समाजको रितीरिवाज र संस्कारले मलाई बाँध्यो । वि.सं. २०६३ सालबाट भने म निरन्तर यो क्षेत्रमा छु ।

मलाई एकल महिला समूहकी रामकुमारी थापा, नन्दा श्रेष्ठ र हालकी कर्णाली प्रदेशसभा सांसद अमृता शाहीले ठूलो हौसला दिनुभयो । उहाँहरूकै हौसला र प्रेरणाले म गृहिणीबाट समाजसेवी भएँ । मेरो परिचय बदलियो ।

सुरुमा त समाज मात्रै किन घरपरिवारले समेत साथ दिएन । अर्को विवाह गरेर जान्छे, परपुरुषसँग सल्किई जस्ता आरोप लाग्थे । त्यो बेलामा मलाई दिदीहरूले कत्ति पनि विचलित हुन दिनु भएन । श्रीमान्को मृत्युपछि म विस्थापित भएर साविकको मेहेलकुना बडाखोलीबाट वीरेन्द्रनगर आएकी हुँ ।

विस्तारै चुनौतीहरू सामना गर्ने साहस जुट्दै गयो । अरुसँग घुलमिल हुँदै गएँ । आफ्नो लागि मात्रै होइन अरुका लागि पनि आवाज उठाउनुपर्छ भन्ने महसुस गरेँ । अनि सामाजिक अभियानमा जोडिएँ ।

सुरुमा मैले वीरेन्द्रनगर नगरपालिका १० को वडा नागरिक मञ्चको संयोजक भएर काम गरेँ । सहकारीहरूमा समेत आवद्ध भएर काम गरेँ । हाल द्वन्द्वपीडित सुरक्षा संगठनको केन्द्रीय सदस्य र एकल महिलाहरूका लागि एकल महिला समूह सुर्खेतको अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेकी छु ।

एकल महिलाहरूलाई अझै पनि समाजमा खुलेर काम गर्न चुनौती छ । धेरै लाञ्छनाहरू समाजले लगाउँछ, त्यसको सामाना गर्दै म यो स्थानसम्म आएकी हुँ । जस्तो सुकै समस्या परेपनि यो अवस्थाबाट पछि नहट्ने गरी समाजसेवामा समर्पित भएकी हुँ ।

द्वन्द्वपीडितकै न्यायका लागि सक्रिय

समाजसेवामा समर्पित हुनुको मुख्य उद्देश्यनै द्वन्द्वपीडितहरूलाई न्याय दिनु हो । तर पछिल्लो समय राज्य पक्ष र विद्रोही पक्ष भनेर पीडितभित्रै पनि द्वन्द्व रहेको छ । यो अवस्था आउन नदिनको लागि सुरुदेखि नै हामीहरू लागिरहेका छौं ।

विकट क्षेत्रका विशेष गरी द्वन्द्वपीडित एकल महिलाहरूलाई न्याय दिने उद्देश्य मेरो हो । जीवनको अन्तिम अवस्थासम्म पनि न्यायको क्षेत्रमा आवाज उठाउन मैले छोड्ने छैन । द्वन्द्वपीडितको लागि काठमाडौंमा भएको आन्दोलनमा समेत मैले ३३ दिनसम्म उभिएरै बिताएँ । त्यसरी विभिन्न आन्दोलनमा सहभागी भएरै आज यो अवस्थामा आएका हौं । तर अझै पनि द्वन्द्वपीडितहरूले न्याय पाउन सकेका छैनन् । द्वन्द्वपीडितको लडाई अझै सकिएको छैन । मैले न्याय नपाएपनि विकट क्षेत्रका पीडितले न्याय पाए भने मात्रै मेरो मनले शान्ति पाउँछ ।

प्रकाशित मितिः   २१ फाल्गुन २०७६, बुधबार ०५:००