उद्यमी बन्दै किशोरी, ट¥यो मुग्लान जानुपर्ने बाध्यता
साझा बिसौनी संवाददाता
सुर्खेत, १३ भदौ ।
गाउँमा उत्पादन नहुँदा छाक टार्नै मुस्किल । घरखर्च चलाउनै समस्या भयो । सानैमा बिहे गरेको उनको जोडी केही उपाय नलागेपछि मजदुरीको लागि मुग्लान (भारत) पस्यो । दुई वर्षसम्म अर्काको ठाउँमा दिनरात पसिना बगाउँदा पनि सोचेजस्तो कमाइ भएन । त्यसपछि यो जोडी पुनः मुग्लान छोडेर गाउँमै फिर्ता भयो ।
अहिले पनि गाउँका धेरै परिवार घरमा ताला नै लगाएर मजदुरीका लागि मुग्लान पसेका छन् । तर, पूर्वी सुर्खेतको मैनतडास्थित सानोजात्रीमा खीमा केसीको जोडी भने घरमै बेमौसमी तरकारी खेतीमा व्यस्त छ । कुनैबेला छाक टार्नै मुस्किल हुँदा मुग्लान पसेको यो जोडीलाई अहिले तरकारी खेतीले नै मुग्लान जानबाट रोकेको छ । हिजोआज वर्षैभरी आफ्नै बारीमा बेमौसमी तरकारी खेती गरेर उनीहरूले घरखर्च मात्र धानेका छैनन्, आम्दानी भएको रकम स्थानीय समूह र सहकारीमा बचत गर्न थालेका छन् ।
बारीमा तरकारी गोडमेल गर्दै गरेकी खीमाले भनिन्, ‘कमाउनका लागि अर्काको देशमै जानुपर्दो रहेनछ, दुःख गरेपछि त आफ्नै बारीमा सुख फल्दो रहेछ । पहिला त हामी पनि भारत नै जान्थ्यौं, तर दुई वर्ष भयो घरमै बसेर आम्दानी भएको छ ।’ परिवारसँगै बसेर गाउँमा तरकारी खेती सुरु गरेको र त्यसले आफूहरूलाई मुग्लान जानुपर्ने बाध्यता हटेको उनको भनाइ छ । ‘हिजोआज तरकारी किन्न घरमै आउँछन्, बिक्रीको कुनै समस्या छैन’ उनले थपिन्, ‘सबै खर्च कटाएर वर्षमा ६० हजार रूपैयाँसम्म बचत हुन्छ, घरमै बसेर आम्दानी भएपछि किन कालापहाड जानु ? तरकारी खेतीले त हाम्रो बाटो नै मोडिदियो, विदेशमा अर्काको गाली सहेर कमाउनु भन्दा आफ्नै बारीमा पसिना बगाउनु राम्रो ।’ पहिला छाक टार्नका लागि अरुको साहारा माग्ने यो जोडी अहिले छिमेकीलाई सहयोग गर्न सक्ने भएको छ ।
मैनतडाकै ठूलोजात्रीका तिलसरा बिकको जोडीले पनि भारतको सिमलामा धेरै वर्ष बितायो । १५ वर्षको उमेरमा नै बिहे गरेकी तिलसरा पनि घरखर्च चलाउन मुस्किल भएपछि भारत पसिन् । २१ वर्षीया तिलसरा जब दशैंको बेलामा घरमा आइन्, तब उनका दौंतरीहरूले गाउँमै केही गर्न सल्लाह दिए । स्थानीय फूलबारी किशोरी संवाद केन्द्रमा आवद्ध उनका साथीहरूले १० हजार रूपैयाँ सहयोग गरे । त्यही रकमबाट गाउँमा किराना पसल सुरु गरेकी तिलसरा अहिले साहुनी बनेकी छन् । ‘पसल सुरु गरेपछि कमाइ राम्रै भएको छ, तीन वर्ष भयो मजदुरीका लागि भारत जानु परेको छैन’ तिलसराले भनिन्, ‘साथीहरूले नै मेरो मुग्लानको यात्रा रोकिदिए, उनीहरूकै सहयोगमा गाउँमै पसल छ । अहिले घरमै बसेर मासिक १० हजार भन्दा बढी आम्दानी हुन्छ, विदेशमै गएर मात्र कमाइ हुन्छ भन्ने छैन ।’ मेहेनत गरे गाउँमै आम्दानी गर्न सकिने भन्दै उनले हिजोआज छिमेकीहरूलाई समेत मुग्लान नजान सुझाव दिन थालेकी छन् ।
खीमा र तिलसराको जोडी मात्र होइन, गाउँमा उत्पादन नहुँदा मजदुरीका लागि भारत जान बाध्य जिल्लाका मैनतडा, मेहेलकुना, छिन्चु, तातापानी, घाटगाउँ, गुटु लगायतका गाविसका बासिन्दा हिजोआज गाउँमै बसेर विभिन्न उद्यम सञ्चालन गर्न थालेका छन् । छिन्चु निवासी मंगली परियारले अहिले सिलाइ–कटाइ तालिम सिकेर घरमै कपडा सिलाउन थालेकी छन् । यस्तै मैनतडा र छिन्चुका अधिकांश जोडी तरकारी खेती, कुखुरा तथा बंगुरपालन र किराना पसल सञ्चालन गरेर आम्दानी गर्न थालेका हुन् । गाउँमै बसेर उद्यम गर्न थालेपछि वर्षौंदेखि मजदुरीका लागि भारत जानुपर्ने समस्याबाट उनीहरूले मुक्ति पाएका हुन् । मैनतडामा अहिले पनि अधिकांश परिवारका सदस्यहरू मजदुरीका लागि भारतमा छन् । उनीहरू वर्षमा एकपटक दशैंमा मात्र गाउँ आउने गर्दछन् । जसका कारण उनीहरूका बालबालिकाहरू विद्यालय जानबाट वञ्चित भइरहेका छन् ।
गाउँमा उत्पादन नहुने र मानिसहरूले कालापहाडलाई मात्र विकल्पको रूपमा लिन थालेपछि किर्डाक नेपालले जिल्लाका विभिन्न गाविसहरूमा किशोरकिशोरीहरूलाई आयआर्जनमा जोड्न थालेको छ । गाउँमै बसेर उद्यम गर्न चाहनेहरूलाई आर्थिक सहयोग र तालिम प्रदान गर्दै आएको किर्डाक नेपालका जिल्ला संयोजक अनुप नेपालीले पछिल्लो समय मुग्लान जानेहरूको संख्यामा कमी आएको बताए । उनले भने, ‘विदेशमा मात्र कमाइ हुन्छ भन्ने सोच हावी छ, गाउँमा दुःख गर्ने बानी छैन । हामीले त्यही सोचलाई चिर्नका लागि किशोरकिशोरीहरू परिचालन गरेका छौं, हिजोआज धेरैले गाउँमै बसेर आयआर्जनका उपाय अपनाउन थालेका छन् ।’ आर्थिक रूपमा सक्षम भएमा मात्र सामाजिक रूपान्तरण सम्भव हुने भन्दै उनले युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न र गाउँमै उद्यम गर्न प्रेरित गर्नका लागि आफूहरूले गाउँगाउँमा संवाद केन्द्रहरू सञ्चालन गरेको बताए ।
साझा बिसौनी संवाददाता ।