उद्यम गरेर आत्मनिर्भर

मुना हमाल, 
सुर्खेत : वीरन्द्रनगर–१० बुदबुदीका नन्दप्रसाद चौलागाईको परिवारमा उनीसहित तीन जना अपाङ्गता भएका छन् । नन्दप्रसादको शरीरको तल्लो भाग चल्दैन भने उनकी श्रीमती दृष्टिविहीन र छोरी बौद्धिक अपाङ्गता हुन् । तर उनको परिवार व्यवसाय गरेरै आत्मनिर्भर छ ।

मिठाई प्याकिङ्ग गर्ने बट्टा बनाएर वार्षिक करिब डेढ लाख रूपैयाँ आम्दानी गर्ने गरेको नन्दप्रसादले बताए । सुुर्खेत नेत्रहिन संघले आयोजना गरेको कागजका सामग्री गराउने तालिममा उनीहरूले यो काम सिकेका हुन् । अहिले त्यही सीप सिङ्गो परिवारकै जीविकोपार्जनको मुख्य स्रोत बनेको छ । नेपालगन्ज र रूपैडियाबाट सामग्री ल्याएर बट्टा बनाउने गरेका छन् । वीरेन्द्रनगरका धेरै मिठाई पसलमा नन्दप्रसादकै परिवारले बनाएको बट्टा प्रयोग भइरहेका छन् । यसबाट हुने आम्दानीले घर खर्च चलाउन सहयोग पुुगेको उनले बताए ।

चौलागाई भन्छन्, ‘अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै बसी–बसी काम गर्न पनि सजिलो हुुने र धेरै आम्दानी नभए पनि घर खर्च टार्न सजिलो हुुने भएकाले हामीले यो काम सुरु गरेका हौं ।’ यस कामबाट आम्दानीसँगै समाजमा आत्मसम्मान पनि मिलेको भनाइ उनको छ । मेहेनत गरेपछि सफल हुने रहेछ भन्ने लागेको चौलागाई बताउँछन् । उनकी श्रीमती नन्दा चौलागाईले आफूले आँखा देख्न नसक्ने भए पनि काम सिकेर कमाउँदा खुुशी लागेको बताइन् ।

वीरेन्द्रनगर नगरपालिका नयाँगाउँका माघुराम चौैधरी बाँसको मुढा बनाउने काम गर्छन् । जन्मदैदेखि शारीरिक अपाङ्गता भएका चौधरीले इच्छाशक्ति भएपछि जस्तोसुुकै काम गर्न पनि सकिने बताए । एक महिनाको तालिम लिएपछि उनले घरमै बसेर बाँसको मुढा बनाउने काम गर्न थालेको करिब चौध वर्ष भयो । अहिले यो पेसा नै उनका लागि आयआर्जनको गतिलो माध्यम बनेको छ ।

अपाङ्गता भएका व्यक्तिहरू आयआर्जनमा लागेपछि उनीहरूको जीवनयापन सजिलो बन्दै गएको छ । वीरेन्द्रनगर–८ बसपार्कका मायाप्रसाद जैसी र रेणुका जैसी दुवै जना दृष्टिविहीन हुन् । उनीहरूको छोरीसहित तीन जनाको परिवार छ । सात वर्षअघिदेखि भाँडा माझ्ने पाउडर उत्पादन गरेर आम्दानी गर्दै जीविकोपार्जन गरिरहेका छन् । उनीहरूलाई वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा सुर्खेत नेत्रहिन सेवा संघले भाडा माझ्ने पाउडर उत्पादन सम्बन्धी तालिम दिएको थियो । तालिमपछि उद्योग नै स्थापना गरेर काम सुरु गरेको करिब सात वर्ष भयो । जैसीको परिवारसहित पाउडर उत्पादन गर्ने उद्योगमा तीन जना आवद्ध छन् । आफूले सिकेको सीप अहिले आफूहरूलाई साहारा बनेको मायाप्रसादको भनाइ छ । जैसीको परिवारले महिनामा न्यूनतम पाँच हजारदेखि १० हजारसम्म आम्दानी गर्दै आएको छ । उनले भने ‘आफूले कमाउन थालेपछि धेरै सहयोग भएको छ । पानी बत्तीको पैसा तिर्नुपर्छ । नूनतेल खाद्यान्नदेखि स्वास्थ्य उपचार गर्नुुपर्छ र पाउडर बनाउने उद्योगबाट हामीलाई जीविकोपार्जन गर्न सजिलो भएको छ ।’ रेणुुकाले आफ्नो लागि आफैले केही गर्न सक्दा खुुशी लागेको बताइन् । शैक्षिक योग्यता नभए पनि र उज्यालो संसार नदेखे पनि केही गर्न सकेर आफ्नै पौरखमा रमाएकोमा खुशी लागेको उनको भनाइ छ ।

प्रकाशित मितिः   १८ फाल्गुन २०७६, आईतवार ०५:००