स्रोत छ, उपयोग भएन
‘सुनको सिरानी हालेर, नुनको खोजीमा’ भनेर कर्णालीलाई यसै भनिएको होइन । अपार स्रोत र सम्भावना भएर पनि त्यसको उपयोग गर्न नसक्दा कर्णाली पछि मात्रै परेको छैन सबैभन्दा गरीब, कमजोर र समस्याग्रस्त भूगोलको रुपमा चित्रित हुँदै आएको छ । यस्तो चित्रण संघीयता कार्यान्वयनमा आइसकेपछिको अवस्थामा पनि बदलिन सकेको छैन ।
स्रोतका दृष्टिले कर्णाली प्रदेश सबैभन्दा धनी छ । जलस्रोत यहाँको पूँजी हो । तर आफैसँग भएको पूँजी प्रयोग गर्न नसक्नु यहाँको विडम्बना हो । कर्णाल र भेरीजस्ता ठूला नदीसँगै अन्य थुप्रै खोलानाला पनि छन् जहाँ बाह्रै महिना पानी बग्छन् । यदी त्यही पानीलाई प्रयोग गरेर विद्युत उत्पादन गर्न सकेको खण्डमा मात्रै पनि मुलुककै अर्थतन्त्रलाई त्यसले ठूलो योगदान पु¥याउँदछ । यो कुरा सरकारले नबुझेको पनि होइन । तर बुझेर पनि उपयोग गर्न सकेको छैन । अथवा भनौं उपयोग गर्नतर्फ गम्भिरता देखाएको छैन ।
त्यसो त कर्णालीको पानी सदुपयोग गर्न प्रयास नै नभएको भने होइन । भएका प्रयास सार्थक भइरहेका छैनन् । केही जलविद्युत आयोजना निर्माणको पहल भए पनि वर्षौंदेखि अलपत्र छन् । यस्तैमध्येको एक हो माथिल्लो कर्णाली जलविद्युत आयोजना । यो आयोजना निर्माणका लागि भारतीय निर्माण कम्पनी जीएमआरसँग सम्झौता भएको एक दशक बित्यो । सम्झौता अनुसार सन् २०२१ सम्ममा आयोजना निर्माण गरिसक्नुपर्ने हो । तर अहिलेसम्म निर्माणको काम नै सुरु भएको छैन । नौ सय मेगावाट क्षमताको यो आयोजना नेपालका ठूला जलविद्युत आयोजनामध्येको एक हो । तर निर्माणमा भने निक्कै ढिलाइ भइरहेको छ । यस्तै कर्णालीमा निर्माण हुने अर्को ठूलो आयोजना हो, जाजरकोटको नलगाड जलविद्युत आयोजना । चार सय १७ मेगावाट क्षमताको जलाशययुक्त यो आयोजना पनि वर्षौदेखि अलपत्र परेको छ । आयोजनाबारे चर्चा सुरु भएको ३१ वर्ष बिते पनि हालसम्म निर्माण कार्य सुरु हुन सकेको छैन । अहिलेसम्म विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत निर्माण हुन सकेको छैन ।
कर्णालीको अधिकांश भुभाग अहिले पनि अँध्यारोमा छ । विद्युत पुग्न सकेको छैन । केही जिल्लामा त राष्ट्रिय प्रसारण लाइनले छोएको समेत छैन । विद्युत पुगेका जिल्लाहरु पनि सदरमुकाममा मात्रै उज्याला छन् । ग्रामीण भेगमा अहिले पनि वैकल्पिक उर्जाको प्रयोग भइरहेको छ । विद्युत अभावमा अन्य पूर्वाधार विकासमा पछि पर्नुपरेको छ । औद्योगिक विकास हुन सकेको छैन । यस्ता यावत समस्यासँग जुधिरहेका कर्णालीवासी हामीसँग २० हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन गर्नसक्ने क्षमता छ भनेर गर्व गरी बस्नुपर्ने बाध्यतामा छन् ।
प्रकाशित मितिः १३ फाल्गुन २०७६, मंगलवार ०५:०१
साझा बिसौनी ।