दोस्रो भेटले बनायो जीवनसाथी
पिता कृपालाल कँडेल र माता टीकादेवी कँडेलको कोखबाट वि.सं. २०२१ सालमा सुर्खेतको ईत्राममा जन्मिएका हुन् अमृतलाल कँडेल । उनी बाल्यअवस्थाकै थिए, उनका बुबाको निधन भयो । त्यसपछिका दिनमा उनलाई आमाले नै बाबुआमा दुवैको माया ममताका साथ हुर्काइन् । आमाको माया ममतामा हुर्किएका अमृत बाल्यकालमा अलि चञ्चले स्वभावका थिए । उनको रुचि र सपना बाल्यकालदेखि नै निजामती सेवामा जागिर गर्ने थियो । उनको त्यो सपना वि.सं. २०४३ सालमा पूरा भयो । निजामती कर्मचारी भएर जागिरको शिलशिलामा उनी दैलेख पुगे ।
उनको बाल्यकालदेखिको त्यो सपना त पूरा भयो उनलाई बाल्यकालदेखि बुनेको सपनाले जीवनमा महŒवपूर्ण कुरा पनि भेटाइदियो । उनी जागिरको शिलशिलामा गुङ्गेश्वरमा बस्थे र काम गर्न भने विभिन्न गाउँहरूमा जानु पथ्र्यो । वनमा काम गर्ने भएकाले पनि उनी विभिन्न गाउँहरूमा जानु पथ्र्याे । यस्तै उनी अफिसको कामकै शिलशिलामा दैलेख अवलपराजुल पुगेका थिए । उनले त्यहाँ धेरै बोलिरहने चञ्चले स्वभावकी एउटी केटीलाई देख्न पुगे । उनले देखेको केटी अरु कोही नभएर खगीसरा शाही थिइन् । खगीसराको स्वभाव धेरै बोल्नै पर्ने अनि केटाहरूको माझमा भए पनि भलिबल खेल्नैपर्ने थियो ।
पिता वीरबहादुर शाही र माता देवीसरा शाहीको कोखबाट वि.सं. २०२९ सालमा दैलेखको अवलपराजुलमा एक्ली सन्तानको रूपमा जन्मिएकी खगीसरा सबैको माया ममतामा हुर्किइन् । उनलाई दुःख के हो भन्ने अनुभूति नै भएन । एक्ली सन्तान भएका कारण सबैले उनलाई माया ममता दिएर नै हुर्काए । त्यसैले पनि उनी अरु भन्दा अलि निडर स्वभावकी थिइन् । उनलाई भलिबल भनेपछि अरु केही चाहिन्थेन् । उनी भन्छिन्, ‘म भलिबल खेल्न रुचाउथे भलिबल खेलेपछि समय बितेको पनि पत्तो नै हुन्थेन्, केटाहरूसँग मिलेर नि भलिबल खेल्ने गर्थे ।’ घरको काममा उनलाई मतलब नभए पनि पढाइमा भने उनी सधैं मेहेनत गर्ने गर्थिन् । उनी भन्छिन्, ‘पढाइमा धेरै जान्ने नभए पनि नियमित स्कुल भने जान्थे ।’
यस्तै धेरै बोल्ने क्रममा अमृतको नजरमा पर्न गइन् खगीसरा । अमृतलाई खगीसरा मन पर्न थालेको थियो । अनि उनले एउटा चिठ्ठी पनि लेखेर पठाए । अमृतले खगीसरालाई चिठ्ठी पठाउँदा खगीसरा भर्खर ८ कक्षामा पढ्दै थिइन् । अमृतले पठाएको चिठ्ठी पु¥याउन गएको केटोले खगीसरालाई उनको आमाको अगाडि नै चिठ्ठी दियो । खगीसरालाई कसले किन पठाएको हो, त्यसमा पनि आमाको अगाडि नै दियो भन्ने सोचेर रिस उठेको थियो । तर, उनको आमालाई थाहै भएन कि कसैले खगीसरालाई लभलेटर पठाएको हो भनेर । हतार गर्दै खगीसरा मकैबारीमा गएर चिठ्ठी पढ्दा चिठ्ठीमा अमृतको परिचय मात्र लेखिएको थियो । उनले त्यो चिठ्ठी त्यही च्यातेर फालिन् । उनले भनिन्, ‘त्यतिबेला माया प्रेम भन्ने केही थाहै थिएन, भर्खर ८ कक्षामा पढ्ने केटाकेटी नै थिएँ, रिस उठेर च्यातेर फालेँ ।’ त्यसपछि भने उनीहरूको दुई वर्षसम्म भेट भएन । खगीसरा एसएलसी दिएर बसेकी थिइन् । फुर्सदको समयमा उनले सिलाइ–कटाइ तालिम लिन दुई घण्टा हिँडेर डुङ्गेश्वर जानु पथ्र्याे । त्यही क्रममा अमृत र खगीसराको फेरि भेट भयो । त्यसपछिका दिनमा उनीहरूको कुराकानी र चिठ्ठी आदानप्रदान हुन थाल्यो ।
एकअर्काेलाई मन पराउन थालेपछि उनीहरूको सल्लाह पनि भयो । अमृत ब्राम्हण समुदायका थिए भने खगीसरा ठकुरीको छोरी । पक्कै पनि माग्न जादा छोरी दिदैंनन् भन्ने पक्का भएपछि उनीहरूले भागी विवाह गर्ने निर्णय लिए र २०४६ सालमा भागी विवाह गरे । खगीसरा घरकी एक्ली छोरी मात्र थिइनन् कि घरको एक्लो सन्तान थिइन् । एक्लो सन्तान त्यसमा पनि बाबुआमाको मञ्जुरी विना नै भागेर विवाह गर्दा उनका बाबुआमा रिसाउनु स्वभाविकै थियो । तर, बाबुआमा आफ्ना सन्तानले जति ठूलो गल्ती गरे पनि सहजै माफी पनि दिन्छन् । फेरि खगीसराले त भागेर विवाह त गरेकी थिइन् जुन काम एक दिन गर्नै पर्ने थियो । एक महिनापछि खगीसरालाई बाबुआमाले बोलाइहाले पनि ।
विवाहपछि खगीसरालाई छोरी र बुहारी हुनुको अन्तर थाहा भयो । माइतीमा एक्ली सन्तान घुमी–घुमी काम नगरी खाएको विवाहपछि उनलाई सुरु सुरुमा गाह्रो पनि भयो । तर, उनकी जेठानी दिदी र नन्दहरूले सहयोग गरेको हुँदा धेरै गाह्रो भने भएन । उनलाई विवाहपछि बल्ल थाहा भयो कि माइतीमा आफूले केही काम नगरेको । उनले भनिन्, ‘विवाहपछि अनुभव भयो मलाई कि मैले केही काम सिकेको रहेनछु, विवाहपछि धेरै कुरा सिकेँ ।’
खगीसराको सोच भविष्यमा गएर शिक्षक नै बनुँला भन्ने सोचेकी थिइनन् । तर, समय र परिस्थितिले उनलाई शिक्षक बनायो । शिक्षक र जिल्ला विकास समितिमा एकै चोटी नाम निकाल्दा उनले शिक्षक पेसा छोडेर सचिव भएर दुई वर्ष काम गरिन् । दुई वर्ष काम गर्दै जाँदा शिक्षक सेवाको लागि फर्म खुलेपछि उनले परीक्षा दिइन् र नाम पनि निकालिन् । उनले भनिन्, ‘साथीहरूको सल्लाहमा मैले शिक्षक सेवाको परीक्षा दिएको थिए नाम निस्कियोपछि शिक्षक पेसामा नै लागे अहिले यही पेसाले मलाई हर ठाउँमा चिनाएको छ, खुशी लाग्छ अहिले शिक्षक पेसा रोजेकोमा आफैलाई ।’ उनी अहिले हरिडिलभूमि आधारभूत विद्यालयमा अध्यापन गराउँछिन् । त्यति मात्र होइन उनी लायन्स क्लब अफ वीरेन्द्रनगरको अध्यक्ष पनि छिन् । उनीहरूको बर्दियामा आफ्नै कृष्णसार मल्टीपल एकेडेमी र सुर्खेतमा सुर्खेत कम्प्युटर इन्स्टिच्यूट र सुर्खेत होस्टेल पनि सञ्चालन गरिरहेका छन् । अमृत भने इलाका वन कार्यालयमा कार्यरत छन् ।
उनीहरूका अनुसार दाम्पत्य जीवन सुखमय बनाउनको लागि एकअर्काेमा विश्वास, इमान्दार र सकारात्मक सोच हुन जरुरी छ । तबमात्र दाम्पत्य जीवन सुखमय बनाउन सकिन्छ । उनीहरू भन्छन्, ‘हाम्रो अहिलेसम्म झगडा भएको छैन, हाम्रो झगडा नभएको देखे अरु पनि दङ्ग पर्छन् ।’ उनीहरू एकआपसमा गिफ्ट साटासाट पनि गर्छन् । विवाह भएको दिन, जन्मदिनमा एकअर्काेलाई गिफ्ट दिने गर्छन् । उनीहरू भन्छन्, ‘अहिले त छोरा छोरी, बुहारीहरूले समेत गिफ्ट दिने गर्छन् वर्षमा धेरै जसो रमाइलै दिन आउँछन् ।’
अमृतलाई खगीसराको प्रष्ट बोल्ने, आफूमा आइपरेको समस्या र गर्न लागेको कामका बारेमा सल्लाह माग्ने बानी मनपर्ने गर्छ । त्यस्तै बाहिर काममा धेरै हिँड्दा खगीसराले घरमा धेरै समय दिन पाउँदिनन् त्यो समय बचाएर घरका लागि बचाइदिएको हुन्थ्यो जस्तो लाग्ने गर्छ अमृतलाई । त्यस्तै खगीसरालाई पनि अमृतको आफूलाई विश्वास गर्ने र कहिल्यै आफूले यो काम गर्छु भन्दा नाइ नगर भन्ने बानी मन पर्ने
गर्छ । अमृतको केही काम गर्दा बढी चिन्ता लिने बानी भने खगीसरालाई अलि मन पर्दैन ।
उनीहरू भन्छन्, ‘विवाह र प्रेममा धेरै भिन्नता छ, प्रेम धेरैलाई गरिन्छ, विवाह एउटा व्यक्तिसँग मात्र गरिन्छ ।’ विवाहले मान्छेलाई व्यवहारिक गराउँछ तर प्रेममा व्यवहारिकता हुँदैन । उनीहरूको अनुसार जीवनसाथी भनेको नङ र मासु जस्तै हुन् । एकअर्काे विना अधुरो र अपुरो हुन्छ । अरु कसैसँग भन्न नसकेको कुरा भन्न सक्ने साथी नै जीवनसाथी हो । दुःख–सुख हरेक पलपलमा साथ दिने साथी नै जीवनसाथी हुन् ।
प्रस्तुतीः गीता थापा
प्रकाशित मितिः ११ भाद्र २०७३, शनिबार १०:३८
साझा बिसौनी संवाददाता ।