अमूल्य निधि हुन् धर्मग्रन्थ

                 सरस्वती पन्त

नेकपाकी सांसद यशोदा गुरुङले केही दिनअघि प्रतिनिधिसभामा बोल्ने क्रममा स्वस्थानी ब्रतकथाका पाना च्यात्नुपर्ने धारणा राखेपछि उनी विवादमा आइन् । प्रतिनिधिसभाको शून्य समयमा उनले महिनावारी हुँदा छोइछिटो गर्ने परम्परालाई प्रोत्साहन गर्ने स्वस्थानी ब्रतकथा र ऋषिपञ्चमीका कथाहरू च्यात्नुपर्ने बताएकी थिइन् । उक्त विषयलाई लिएर सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म अनेक टिका–टिप्पणीहरू भए । कतिले आक्रोश प्रकट गरे भने कतिपयले सांसदको भनाइलाई समर्थन गरे । एक महिनाको स्वस्थानी पूजाको समाप्तीको आसपासमा व्यक्त गरिएको स्वस्थानीका पानाहरू च्यात्नुपर्छ भन्ने अभिव्यक्तिले उनले चर्चा समेत पाइन् ।

हुन त उनको यो सांकेतिक भनाइ होला तर त्यसको सिधा अर्थ र असर नराम्रो भने पर्न गयो । मलाई लाग्छ सोचाइ, गराइ, भनाइ, भोगाइ र बुझाइ नितान्त फरक कुराहरू हुन । हरेक व्यक्तिको सोचाइ र बुझाइ पनि फरक–फरक हुन्छ । तर यस्ता कुराहरू विचार नगरी बोल्नाले कहिलेकाहीँ नियत गलत नभए पनि परिणामहरू गलत आउन सक्छन् । अझ सार्वजनिक पहिचान भएको व्यक्तिले बोलेका कुराहरू त्यसमा पनि सदनमा बोलिएका कुराहरूले विशेष अर्थ राखेका हुन्छन् र सबैका चासोमा रहन्छन् ।

विश्व चिनाउने हाम्रो पूर्वीय संस्कृति मुलुकको अमूल्य चिनारी र पहिचान बोकेको कुरा हामी कोहीबाट पनि छिप्न सक्दैन । आज पश्चिमा समाजहरूले समेत पूर्वीय संस्कार र संस्कृतिलाई स्वीकार गर्दै आइरहेको पाइन्छ । यसमा धार्मिक मात्रै नभएर विभिन्न वैज्ञानिक आधारहरू समेत रहेको पुष्टी भइसकेको छ ।

अर्काे कुरा धार्मिक आस्था र विश्वास हामीभित्र कुनै न कुनै रूपमा रहेकै हुन्छ । हामीले हाम्रै पालामा देखिसकेका छांै हिजो मन्दिर र मस्जिद भत्काउनेहरू आज शिर झुकाएर त्यही मन्दिर र मस्जिदमा छिरेका छन् । हिजो धार्मिक ग्रन्थको अर्थ छैन भनेर च्यात्नेहरू आज ती च्यातिएका पानाहरू सिलाउने प्रयत्नमा छन् । जसरी हिजो संविधान जलाएकाहरू आज त्यहीं संविधानमा टेकेर मुलुकको जिम्मेवार पदमा आसिन छन् । कुनै पनि कुरा भन्न र गर्नमा धेरै फरक छ जो हामीले भोग्दै पनि आइरहेका छौं ।

मलाई लाग्छ सांसद गुरुङको स्वस्थानीका पाना च्यात्ने अभिव्यक्ति पनि व्यवहारमा लागू गर्ने हिसाबले होइन् । जसरी एउटी आमाले आफ्नो बच्चाले भनेको नमान्दा पख् तलाइ मार्छु अब भनेर कुचो लिएर लखेट्छिन् तर साँच्चिकै उनले कुचोले झटारो समेत हान्न सक्दिनन् । यतिसम्म कि उनले लखेट्दा बच्चा लड्यो भने पनि हातको कुचो फालेर झटपट बच्चालाई अंगालेर भन्छिन् ‘मेरो बावुलाई कतै चोट त लागेन ?’ हो ठीक यस्तै हो उनले सदनमा स्वस्थानीको बारेमा राखेको धारणा । उनले स्वस्थानीका पानाहरू च्यात्नुपर्छ त भनिन् तर वास्तवमै चाहेर पनि उनी आफैले च्यात्न सक्दिनन् । किनकि, यही नेपाली समाजको संस्कार भोगेर, यहीको धर्म अंगालेर, यहींको परम्परामा रमाउँदै र यहीको प्रथालाई स्वीकार्दै हुर्किएकी हुन् उनी पनि ।

कतिपय विद्धत व्यक्तिहरूले समेत उनको कुरामा समर्थन जनाएका छन् । यो समर्थन वा विरोध भन्दापनि विश्लेषण महŒवपूर्ण कुरा हो । इतिहास साक्षी छ हामीले भनिरहनु र बेलिरहनु पर्दैन, हाम्रा धार्मिक ग्रन्थहरू पनि देशको नियम, कानुन, सविंधान बनाउन महŒवपुर्ण दस्तावेजको रूपमा रहेका र रहँदै आएका छन् । यी धार्मिक ग्रन्थहरू आफैमा गर्विलो इतिहास बोकेका दस्तावेजहरू हुन् । यीनमा भएका कतिपय कुराहरू वर्तमान समय अनुकूलका छैनन् होला तर जलाउन र च्यात्नै पर्ने पनि छैनन् । तत्कालीन समय र समाजको आवश्यकता अनुसार लेखिएका होलान् तर वर्तमान समयमा अहितकारी र अनावश्यक पनि छैनन् ।

एकातिर हामी भन्दै आइरहेका छौं पछिल्लो समय हामीले निर्माण गरेको संविधान र कानुनहरू अन्य मुलुकको तुलनामा अब्बल छन् भनेर र अर्काेतिर त्यो अब्बल संविधान र कानुन भएका मुलुकका बासिन्दा हामी सबैले आफ्ना हक र अधिकार समेटिएनन् भनेर बेलाबेला आन्दोलन पनि गरिरहेका हुन्छौं । हो हामी आफैले आफ्ना लागि निर्माण गरेका कुराहरूमा त सन्तुष्ट छैनौं भने हिजो हाम्रा लागि कसैले बनाएर सुम्पिएको कुरालाई हामी हाम्रो अनुकूल भएन भनेर भन्नु भन्दा पनि समयानुकुल बनाउने प्रयत्नमा लाग्दा ठीक हुन्छ । आधुनिकता र स्वतन्त्रताका नाममा हामीले सदियौंदेखि मान्दै आइरहेका हाम्रा धार्मिक ग्रन्थहरूलाई च्यातेर वा जलाएर हामी स्वतन्त्र र उन्मुक्त हुन्छौं भन्ने सोच राख्नु भनेको कछुवाले आफ्नो खोल कडा र अप्ठेरो भयो भनेर खोल फाल्न चाहेको जस्तै हो यसैले हाम्रा यी अमूल्य निधिहरूको अपमान नगरौं । अस्ति भर्खरै मात्रै विश्व परिवेशलाई बुझेर विज्ञहरूको जमघट भएर हामी आफैले निर्माण गरेको संविधानमा सयौं त्रुटिहरू भए भनेर तिनलाई पटक–पटक संशोधन गरेका छौं भने त्यो त सदियौ पूरानो इतिहास हो त्यसमा लेखिएका कुरा शतप्रतिशत सही छ भन्न खोजेको होइन तर त्यसमा लेखिएका सबै कुरा गलत पनि छैनन् ।

अन्तमा, हामीले कुनै पनि धर्मको पक्ष र विपक्षमा बहस भन्दा पनि ती ग्रन्थहरूमा भएका कुराहरूको गहन अध्ययन गरेर विश्लेषण गर्दा उपयुक्त हुन्छ । गीता, रामायण, महाभारत, स्वस्थानी, कुरान, बाइबल गुरुग्रन्थ धार्मिक मात्रै नभएर इतिहास बोकेका कथाहरू हुन् । तत्कालीन समयको माग र आवश्यकता अनुसार निर्माण भएका, लेखिएका यी इतिहासहरू वर्तमान समयमा मेल नखालान् । तर यस्ता धर्मग्रन्थहरूलाई लिएर बेमेलको स्थिति सिर्जना नगरौं । धर्म र धार्मिक ग्रन्थहरूका नराम्रा कुरा केलाउने मात्रै होइन राम्रा कुराहरू पनि अनुशरण गर्ने बानी बसाल्न सकेमा धार्मिक सहिष्णुता

र भाइचाराको वातावरण सिर्जना हुन जान्छ । धर्म र धार्मिकताको नाममा हुने आडम्बरलाई छोडौं कमजोरीलाई सुधार गरौं र असल पक्षहरूको अनुशरण गरौं । कुनै पनि धर्म र धार्मिक ग्रन्थहरूलाई च्यात्नुपर्ने, जलाउनुपर्ने, गाड्नुपर्ने जस्ता अभिव्यक्ति दिएर कोही विवादित र आलोचित नबनांै ।