ठाकुर ज्ञवाली बने नयाँ आईजीपी

काठमाडौं : सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा एक नम्बर प्रदेशका डीआईजी ठाकुर ज्ञवालीलाई नियुक्त गरेको छ । ज्ञवालीले अर्का प्रतिस्पर्धी डीआईजी तारिणी लम्साललाई पछि पार्दै नेपाल प्रहरीको २७औं आइजीपी भएका हुन् । सरकारले प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ को नियम ४१ मा नेतृत्व गर्न सक्ने कुशलता, उत्तरदायित्व बहन गर्नसक्ने क्षमता र ज्येष्ठतासहित ६ वटा आधारमा टेकेर ज्ञवालीलाई आईजीपी बनाएको हो । सोमवार बसेको बैठकले निर्णय लिन नसकेपछि मंगलवार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले ज्ञवालीलाई आईजीपी बनाउने निर्णय गरेको हो ।

ज्ञवालीलाई आईजीपी बनाउने विषयमा सोमवार गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सहमति भएको थियो । दुई नेताबीचको छलफलपछि वरियताको पहिलो नम्बरमा रहेका ज्ञवालीलाई आईजीपी बनाउने प्रस्ताव गृह मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको थियो । २६औँ आईजीपी सर्वेन्द्र खनालले ३० वर्षे सेवा अवधि पूरा गरी मंगलवारदेखि अवकाश पाएसँगै मन्त्रीपरिषद्ले ज्ञवालीलाई नयाँ आईजीपी बनाएको हो । ज्ञवाली अबको पाँच महिनासम्म उक्त पदमा रहनेछन् । असार अन्तिम साता उनी पनि ३० वर्षे सेवाअवधि पूरा गर्दै अवकाशमा जानेछन् ।

आईजीपी खनालसहित तीन एआईजी र १८ डीआईजीले ३० वर्षे उमेर हदका कारण मंगलवारबाट अवकाश पाएका छन् । २०७४ चैतमा प्रतिस्पर्धी रमेश खरेललाई पछि पार्दै खनाल महानिरीक्षक बनेका थिए । अवकाश पाउनेमा एआईजी पुष्कर कार्की, धीरु बस्न्यात र ठूले राई रहेका छन् । यस्तै, डीआईजीहरू राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, महेन्द्र पोखरेल, नारायणसिंह खड्का, सुरेशविक्रम शाह, महेशविक्रम शाह, पीताम्बर अधिकारी, केदार रिजाल, शेरबहादुर बस्नेत, दिनेश अमात्य, कमल जिटी, सुरज केसी, रामप्रसाद श्रेष्ठ, पूर्णचन्द्र जोशी, विकास श्रेष्ठ, हरिभक्त जोशी, विनोद शर्मा घिमिरे, दानसिंह बोहोरा छन् । एसएसपी दिलिपसिंह बस्नेतले पनि अवकाश पाएका छन् ।

आईजीपी खनालसँगै सबै २०४६ माघ २९ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । सेवा अवधि सकिए पनि खनालले भने ६ महिना कार्यअवधि लम्ब्याउने प्रयास गरेका थिए । तर, गृहमन्त्री रामबहादुर थापाले उक्त कुरालाई अस्वीकार गरेपछि खनाल बिदा भएका हुन् । नयाँ आईजीपीका लागि तीनजना डीआईजी प्रतिस्पर्धामा देखिएका थिए । यसअघि एआईजीबाट आईजीपी हुने गरेका थिए । तर, यो पटक आइजीपीसँगै सबै एआईजीले पनि अवकाश पाएपछि भएपछि डीआईजीबाटै सिधै आइजीपी चयन गरिएको हो ।

आईजीपीका लागि प्रदेश १ का डीआईजी ठाकुर ज्ञवाली, सुदूरपश्चिम प्रदेशका डीआईजी तारिणीप्रसाद लम्साल र प्रहरी प्रधान कार्यालयका डीआईजी सूर्यप्रसाद उपाध्यायबीच प्रतिस्पर्धा चलेको थियो । तर, मन्त्रिपरिषद्को बैठकले वरियता क्रमका आधारमा अगाडि रहेका ज्ञवालीलाई नयाँ आईजीपीमा नियुक्त गरेको हो ।

प्रकाशित मितिः   २९ माघ २०७६, बुधबार ०५:०१