‘सामाजिक बन्धनलाई तोड्ने प्रयासमा छु’
वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ सुर्खेतकी शान्ता भुषाल लामिछाने वि.सं. २०३६ साल वैशाख १ गते जन्मिएकी हुन् । बुवा भिमप्रसाद भुषाल र आमा विष्णु भुषालको कोखबाट घरकी जेठी छोरीको रूपमा उनी अर्घाखाँची जिल्लामा जन्मिइन् । सानैदेखि सरकारी जागिरको सपना बोकेर हिँडेकी शान्ताको लगाव भने सामाजिक क्षेत्रमा थियो । विद्यालय उमेरदेखि नै उनी सामाजिक क्षेत्रमा समर्पित भइन् । अर्घाखाँचीको तुलनामा सुर्खेतमा छोरी र बुहारीलाई हेर्ने दृष्टिकोण फरक पाएकी शान्ताले सामाजिक बन्धनलाई तोडेरै यो क्षेत्रका लागेको बताउँछिन् । सामाजिक क्षेत्रमा घरपरिवारबाट राम्रो सहयोग पाइन् । शान्तिका लागि साझा अभियान (कोक्याप)मा कार्यरत उनले हाम्रा सहकर्मी सीता वलीसँग आफ्नो पेसागत जीवनको कथा यसरी साटिन्ः
म अर्घाखाँची जिल्लाको ढाँकाबाङ–८ मा जन्मिएकी हुँ । हामी घरमा ६ भाइबहिनी थियौं । तीन बहिनी र तीन भाइमध्ये म घरकी सबैभन्दा जेठी छोरी । बुवा–आमा कृषि गर्ने भए पनि छोरालाई भन्दा छोरीलाई पढाउनुपर्छ भन्ने सोच थियो । मलाई त बुवा–आमाले घरकी जेठी छोरी तैले सरकारी जागिर गर्नुपर्छ भन्ने दबाब दिनुहुन्थ्यो । मलाई पनि बुवा–आमाको इच्छा अनुसार सरकारी जागिर नै खाने इच्छा थियो । पढाइमा पनि सधैं कक्षा द्वितीय हुन्थें । तर मेरो लगाव भने नजानिँदो ढङ्गले सामाजिक क्षेत्रमा थियो ।
समाजका हरेक क्रियाकलापमा मेरो सहभागिता हुन्थ्यो । बुवा–आमाले पनि मलाई सामाजिक क्षेत्रमा साथ दिनुभयो । विद्यालय उमेरमा राजनीतिमा समर्पित भएर पनि काम गरें । वि.सं. २०६२ सालमा मेरो विवाह सुर्खेतका खडानन्द लामिछानेसँग भयो । उहाँको साथ सामाजिक क्षेत्रमा मैले झनै पाएँ । सुर्खेत आएपछि २०६४ सालमा मुस्लिम समुदायमा सुपरभाइजरको रूपमा काम गरें । त्यसपछि दुई वर्ष महिला विकास प्रशिक्षण केन्द्रमा लेखा सहायकको रूपमा काम गरें । स्थानीय शान्ति समितिमा समेत करिब दुई वर्ष काम गर्ने मौका मिल्यो । हाल शान्तिका लागि साझा अभियान (कोक्याप) कर्णाली प्रदेशको सम्पर्क व्यक्तिको रूपमा काम गर्दै आएकी छु ।
हरेक महिला सक्षम हुनु जरुरी छ
अर्घाखाँचीको तुलनामा सुर्खेतमा विवाहपछि आउँदा महिलालाई हेर्ने दृष्टिकोणमा मैले धेरै फरक पाएँ । सुर्खेत आउनुभन्दा पहिले किताबमा मात्रै सुर्खेतको नाम पढ्न पाएकी थिएँ । यहाँ आएपछि नौलो अनुभूति भयो । तर महिलामाथि गरिने विभेद देखेर मलाई चुप लागेर बस्न मन लागेन । मैले हरेक कार्यक्रममा महिलामाथिको विभेदका विरुद्धमा आवाज उठाइरहें । आज पनि मैले कार्यालयको जिम्मेवारी सँगसँगै यो कुरामा आवाज उठाइरहेकी छु । जब घरबाट छोरी र बुहारीमाथि विभेद हुन्छ समाज समृद्ध बन्छ भन्ने कल्पना नगर्दा पनि हुन्छ । छोरीलाई पनि छोरा सरह परिवारले अवसर दिए समाजबाट विभेद भन्ने शब्दको अन्त्य हुन्छ । हरेक महिला सक्षम हुनु जरुरी छ । केही हदसम्म महिलाहरूले घर र समाजको बन्धन तोड्न पनि सक्नुपर्छ । त्यो मैले पनि गरेकी हुँ ।
घरबाट मलाई सहयोग भए पनि यो समाजसँग लडेर काम गर्न मलाई त्यति सजिलो थिएन । तर मैले हार नखाइकन काम गरें । आर्थिक हिसाबले त घर चलाउने मात्रै हो । तर सामाजिक सेवालाई पैसासँग पनि तुलना गर्दा उचित हुँदैन । हाल मैले सुर्खेत क्याम्पस शिक्षाबाट गणित विषयमा स्नातकोत्तर गर्दैछु । पाँच जनाको परिवार छ । श्रीमान् राजनीतिमा सक्रिय हुनुहुन्छ । यो क्षेत्रमा मलाई उहाँले नै ल्याउनु भएको हो । उहाँको हौसलाले सफल भएकी छु । जीवनमा दुःख र सुख त आइरहन्छन् । तर एक पटक मेरो बुवा र म गाउँमा घाँस काट्न गएको बेला रुखबाट लड्नुभयो । उहाँलाई धेरै चोट लाग्यो । त्यो सम्झदा आज पनि दुःख लाग्छ । खुशीको क्षण त पढाइमा सफलता प्राप्त गर्दा नै हो । । छोरीहरूको जन्म हुँदा खुशी भएकी थिएँ ।
महिला अधिकारका लागि संस्था स्थापना
विवाह गरेर सुर्खेत आएपछि मैले महिला अधिकारका लागि एउटा संस्था स्थापना गरें । महिला अधिकार युनेस्को मञ्चको अध्यक्ष भइ विभिन्न कार्यक्रमहरू समेत गरियो । जसले महिलामाथिको विभेद, हिंसाको विरुद्धमा काम गर्दथ्यो । यो बाहेक गैरसरकारी संस्था महासंघ सुर्खेतको उपाध्यक्ष भएर काम गर्ने मौका पाएकी छु ।
सानैदेखि शान्त स्वभावकी म आज पनि त्यही स्वभाव छ । आधा जीवन सामाजिक क्षेत्रमा नै बिताएपछि अब अर्को पेसा अपनाउने कल्पना भन्दा बाहिरको कुरा हो । सक्ने बेलासम्म यही क्षेत्रमा नै रमाउन चाहन्छु ।
सीता वली ।