एमसीसीबारे नेकपा विभाजित

पार्टी संस्थापन पक्षमा, इतर विपक्षमा

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा विभाजित देखिएको छ । बुधवारबाट सुरु भएको नेकपा केन्द्रीय कमिटी बैठकमा १५ समूह बनाएर छलफल जारी छ । बिहीवार समूहगत रूपमा भएको छलफलमा प्रधानमन्त्री केपी ओली निकटले एमसीसीको पक्षमा र पूर्व माओवादी र माधव नेपाल निकटस्थ भने एमसीसीको विपक्षमा धारणा राखेका हुन् । बुधवार बैठक उद्घाटन गर्दै अध्यक्ष ओलीले एमसीसी पारित गर्नुपर्ने धारणा राखेका थिए ।

नेकपा स्थायी समिति सदस्य मणि थापाले बैठकमा एमसीसीबारे सरकारले प्रष्ट धारणा राख्नुपर्ने माग उठेको बताए । ‘त्यसको निर्णयको अधिकार सचिवालयलाई हुने भनिएको छ । सचिवालयले बोलेको छैन र यो प्रतिवेदनमा पनि सचिवलायले बोल्यो भनेर आएको छैन’, उनले भने, ‘धेरै साथीहरूको जोड सरकारले प्रष्ट धारणा राख्नुपर्छ भन्ने छ । एमसीसीको प्रश्न विकास र समृद्धिको पनि हो । तर, त्यो भन्दा राष्ट्रियता हाम्रो लागि मुख्य कुरा हो ।’ केन्द्रीय समिति बैठकले के निर्णय गर्छ त्यो मुख्य हुने बताए । स्थायी समितिले सचिवालयलाई एमसीसी इण्डो प्यासिफिकको अङ्ग हो कि होइन निक्र्यौल गर्न भनेको उनले जानकारी दिए । इन्डो प्यासिफिकको अङ्ग भए एमसीसी कार्यान्वयन नगर्ने र नभए कार्यान्वयन गर्ने बताए । त्यस्तै उनले लिम्पियाधुरा, कालापानी लगायतका सीमा विवादको विषय पनि चर्को रूपमा उठेको बताए ।

नेकपामा माधव नेपालनिकट नेताहरू पनि एमसीसीको विपक्षमा उभिएका छन् । नेपाल निकट नेता जगन्नाथ खतिवडाले प्रधानमन्त्री एवम् अध्यक्ष ओलीले एमसीसीको भावना नबुझेको आरोप लगाए । ‘प्रधानमन्त्रीज्यूले एमसीसीको अँध्यारो पाटो नछोइ उज्यालो पाटोको मात्रै चर्चा गर्नुभयो । उहाँले सम्झौताको शब्दमा जानुभयो, भावनामा जानुभएन । हाम्रो समूहले निश्कर्ष त निकालिसकेको छैन तर साझा धारणा यही रहेको छ’, खतिवडाले भने । पूर्व एमालेकै नेकपाका अर्का केन्द्रीय सदस्य लालबहादुर थापा भने एमसीसी नेपालको विकास र समृद्धि पारित गर्नुपर्ने पक्षमा छन् । बाजुराबाट निर्वाचित सांसद समेत रहेका थापा अमेरिकाले तय गरेको मापदण्ड पूरा गरेर आएको बताए । एमसीसीको विरोध गर्नेहरूले आग्रह, पूर्वाग्रह राखेको उनको आरोप छ । ‘हामी एमसीसी पारित गर्नुपर्ने पक्षमा छौं । सुखी नेपाली समृद्ध नेपाल भनेका छौं । स्रोतहरूलाई रोकेर समृद्धि कसरी आउँछ ?’, उनले भने, ‘एसियाली विकास बैंकको पनि अनुदान लिनु भएन नि । अरु संस्थालाई पनि सहयोग नदेऊ भन्ने सामथ्र्य राख्छन् ? विभिन्न आग्रह, कुण्ठा र कहाँ के मिलेको छैन सरकारसँग मान्छेहरूका । त्यसको एउटा प्रतिफल हो भन्ने मैले बुझ्छु ।’ उनले एमसीसीको विरोधमा रहेकाहरूलाई पनि एमसीसीका पक्षमा उभिन आग्रह गरे ।

बैठकमा समूहगत छलफलमा केन्द्रीय सदस्यहरूले फरक–फरक मत राखिरहेका छन् । एमसीसीमा ३ थरी मत देखापरेका छन् । पहिलो, अहिले जस्तो छ त्यहीअनुसार एमसीसी पारित गर्नुपर्ने, दोस्रो केही परिमार्जनसहित पारित गर्नुपर्ने र तेस्रो एमसीसीको सहयोग लिनै नहुने मत बैठकमा व्यक्त भइरहेको छ । नेकपा नेता भीम रावल एमसीसीको पूर्ण विपक्षमा छन् । त्यस्तै बैठकमा अधिकांश केन्द्रीय समिति सदस्यहरूले पार्टीमा पूर्व एमाले र पूर्व माओवादीबीच भावनात्मक एकता चाँडै सम्पन्न गर्नुपर्नेमा पनि जोड दिएका छन् । सरकार र स्थानीय सरकारको कामले राम्रो सन्देश नदिएको र त्यसले भोलि अप्ठ्यारो पर्न सक्नेतर्फ पनि केन्द्रीय सदस्यहरूले चिन्ता व्यक्त गरेको स्थायी समिति सदस्य थापाले जानकारी दिए । नेकपाको केन्द्रीय समिति बैठक शुक्रवार समूह छलफल सकिनेछ । शनिवार टोली नेताले बोल्ने क्रम सुरु हुनेछ । बैठक २२ गते सम्पन्न हुनेछ ।

प्रकाशित मितिः   १७ माघ २०७६, शुक्रबार ०५:०५