के हो कर्णाली उत्सव ? किन हुँदैछ ?

                            लक्ष्मीप्रसाद पौडेल

कर्णालीमा वर्षेनी विभिन्न मेला र महोत्सव सञ्चालन भइरहन्छन् । संस्कृति, कला, पर्यटन, कृषि वा औद्योगिक उत्पादनहरूको प्रवद्र्धनका लागि भनेर आयोजना गरिने यस्ता मेला–महोत्सवहरू विशेष गरेर व्यापार केन्द्रित हुने गरेका छन् । सेलिब्रेटी कलाकारहरू ल्याउने, दर्शक जम्मा पार्ने, बाहिरबाट ल्याइएका सामग्रीहरूको व्यापार गर्ने र पैसा कमाउने । अधिकांश महोत्सवहरू यस्तै प्रयोजनमा सीमित हुने गरेका छन् । बौद्धिक विमर्श र पठन संस्कार अभिवृद्धिका लागि भने कर्णालीमा कुनै कार्यक्रम भइरहेका छैनन् । तर अब भने यस्तै बौद्धिक विमर्श र पठन संस्कारलाई बढावा दिन ‘कर्णाली उत्सव’ आयोजना हुँदैछ ।

‘कुडा कर्णालीका’ भन्ने मूल नारा रहेको यो उत्सव आगामी फागुन दोस्रो साता सुर्खेतमा हुँदैछ । जसलाई ऋति फाउण्डेशनले आयोजना गर्ने उत्सव विगतमा भइरहेका अन्य मेला र महोत्सवभन्दा फरक छ । यो विविध विषयमाथि विचार र मन्थन गर्ने कार्यक्रम हो । कर्णालीको नाम धेरैले सुनेका छन् । अधिकांशले कर्णालीलाई अभावको प्रदेश भनेर चिनेका छन् । समस्या नै समस्याले ग्रस्त क्षेत्रको रूपमा कर्णालीको विम्ब स्थापित भएको छ । कर्णाली भनेको अभाव, गरिबी, अशिक्षा, अन्धविश्वास र कुरितीले भरिएको प्रदेश भनेर व्याख्या हुने गरेको छ । जुम्लाबाट काठमाडांैमा पढ्न गएको विद्यार्थीलाई पाखे, जुम्ली र बोल्न नजान्ने भनेर हेपिन्छ । तर यो जानकारी हुन जरुरी छ, नेपाली (खस) भाषाको उद्गमस्थल त्यही जुम्ला हो । कर्णालीका यस्ता अनेक विशेषता छन् । जसको उत्खनन्, संरक्षण र प्रवद्र्धन गर्न जरुरी छ । त्यसैका लागि एक प्रयास हो, कर्णाली उत्सवको आयोजना । कर्णालीबारे फैलिएका नकारात्मक भ्रमहरू अन्त्य गर्दै वास्तविक कर्णाली चिनाउन कर्णाली उत्सवले भूमिका खेल्नेछ । यो उत्सवले कर्णाली चिनाउने मात्रै छैन, यहाँको पर्यटन प्रवद्र्धनमा पनि उत्तिकै सघाउ पु¥याउनेछ । जब कर्णालीबारे सकारात्मक सन्देश बाहिरिन्छ तब पर्यटक भित्रिन्छन् ।

सन् २००६ मा भारतको सहरमा जयपुर साहित्य महोत्सव सुरु भयो । भारतमा पहिलो पटक सुरु भएको यस्तो बहस र साहित्यिक महोत्सवको पहिलो कार्यक्रममा १८ जना वक्ताहरू थिए भने दर्शकहरू एक सय जना थिए । उक्त महोत्सव प्रत्येक वर्षको जनवरीमा सञ्चालन हुँदै आएको छ । भारतीय सञ्चारमाध्यममा लेखिए अनुसार यो महोत्सव सन् २०२० सम्म आइपुग्दा विश्वकै सबैभन्दा ठूलो निःशुल्क साहित्यिक महोत्सव हो । सन् २०२० को जयपुर साहित्य महोत्सव भर्खरै मात्र समापन भएको छ । सन् २००८ मा दुई हजार पाँच सय जना सहभागी उक्त महोत्सवमा सन् २००९ मा बाह्र हजार सहभागी र एक सय ४० जना वक्ताहरू थिए । सन् २०१० मा ३० हजार सहभागी र एक सय ७२ जना वक्ताहरू थिए । २०२० सम्म आइपुग्दा तीन सय वक्ताहरू र पचास हजारभन्दा बढी दर्शकहरू पुगे । उक्त महोत्सवमा नेपालबाट पनि सहभागीहरू पुग्ने गर्दछन् ।

यस्तै प्रकृतिको नेपाल साहित्य महोत्सव सन् २०११ अगस्टबाट नेपालमा पनि सञ्चालन भइरहेको छ । हाल उक्त महोत्सव पोखरामा सञ्चालन हुँदै आएको छ । हाम्रै कर्णाली प्रदेशबाट पनि उक्त महोत्सवमा धेरैजना सहभागी हुन्छन् । अब त्यही प्रकृतिको महोत्सव अर्थात् ‘कर्णाली उत्सव’ सुर्खेतमा हुँदैछ । हरेक वर्ष सञ्चालन गर्ने लक्ष्य राखिएको यो उत्सवमा पनि कर्णालीका मात्रै नभएर देश तथा विदेशबाट सहभागी हुने अवस्थाको सिर्जना गर्न सकिने सम्भावना रहेको छ ।

 यो साहित्य महोत्सव हो ?

कर्णाली उत्सवको प्रकृति भारतमा सञ्चालन हुँदै आएको जयपुर साहित्य महोत्सव र पोखरा तथा काठमाडौंमा सञ्चालन हँुदै आएको नेपाल साहित्य महोत्सवसँग मिल्दोजुल्दो छ । तर सबै उस्तै भने होइन । केही नयाँ र फरक पनि छ । कर्णाली उत्सव केवल साहित्य केन्द्रित मात्र नभएर साहित्यसँगसँगै समाज केन्द्रित उत्सव हो । त्यसमा पनि कर्णाली चिनाउने अभियान हो । यहाँका विविध पक्षहरूमाथि विमर्श गर्नु र त्यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउने यसको मूल ध्येय हो । सँगसँगै कर्णालीका मात्रै नभएर राष्ट्रिय सरोकारका विषय पनि छलफलमा समेटिनेछन् ।

यस पटक पहिलो संस्करण हुँदैछ । त्यसैले यसमा कर्णालीका सवाल धेरै समेटिनेछन् । कर्णालीबारे बुझेका स्थानीय तथा राष्ट्रिय व्यक्तिहरू कर्णाली उत्सवका वक्ताहरू हुनेछन् । प्रत्येक वर्ष हुने कर्णाली उत्सवले यहाँका राजनीतिक, सामाजिक, आर्थिक लगायतका विषयमा बहस तथा सम्भावनामाथि छलफल गर्नेछ । र वर्षेनी आफ्नो क्षेत्र विस्तार गर्दै राष्ट्रियस्तरको उत्सवको रूपमा स्थापित गर्नेछ । फागुन दोस्रो साता नेपालको ध्यान कर्णालीमा तान्न कर्णाली उत्सवले सक्नेछ जसको कारण पर्यटन स्वतः प्रवद्र्धन हुन्छ । कुडा कर्णालीका नारा लिएको कार्यक्रमले साँच्चिकै कर्णालीका कुडा अर्थात् वास्तविकता देशभर पु¥याउनेछ । उत्सवले सर्जकहरूलाई एकै ठाउँमा भेला गराइ कला, साहित्य, राजनीति, दर्शनलगायत विविध विषय र विधामाथि सौहार्दपूर्ण बहस र अन्तरक्रिया गर्नेछ । कार्यक्रममा साहित्य मात्रै नभइ अन्य विषयमा पनि विमर्श हुनेछ । तसर्थ साहित्य पनि कर्णाली उत्सवमा विमर्श हुने एउटा विषयवस्तु हो । देशविदेशका बहुचर्चित साहित्यकार, लेखक, पत्रकार, कलाकार, बुद्धिजीवी, विशिष्ट व्यक्ति र कलानुरागीबीच हुने अन्तक्रिया र अन्तरसंवादले कर्णाली उत्सवलाई साहित्य र विचारको कुम्भमेला बनाउनेछ ।

के–के हुन्छ कार्यक्रममा ?

तीन दिन सञ्चालन हुने उत्सवमा हरेक दिने ‘प्यानल डिस्कसन’ हुनेछ । यसका अतिरिक्त देउडा गीत, सिँगारु नाच, हुड्के नाच, थारु नाच, कविता तथा गजल वाचन लगायतका सत्रहरू पनि चल्नेछन् । हरेक सेसन बढीमा एक घण्टाको हुनेछ । एउटा सेसनमा करिब ३ हजार दर्शक अट्न सक्ने गरी मञ्चको निर्माण गरिनेछ । कार्यक्रम सामाजिक सञ्जाल फेसबुक र यूट्यूवबाट लाइभ प्रसारण हुनेछ भने सुर्खेतस्थित विभिन्न टेलिभिजनबाट पनि प्रत्यक्ष प्रसारण हुनेछ । यो उत्सवमा कर्णाली प्रदेशका सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक र पर्यटकीय विषयवस्तुमा आधारित भएर सेसनहरूको निर्माण गरिएको छ । कार्यक्रममा आएका अतिथि तथा वक्ताहरूलाई वीरेन्द्रनगरका देउतीबज्यै, काँक्रेविहार, घण्टाघर तथा गोठीकाँडासम्म घुमाउन लगिनेछ । यसले गर्दा अतिथिहरूले यी ठाउँको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वको बारेमा जान्न पाउनेछन् । कार्यक्रममा नेपालका चर्चित पत्रकारहरू तथा लेखकहरूको पनि उपस्थिति हुने हुँदा उनीहरू यस उत्सवमा सहभागी भएर फर्किसकेपछि वीरेन्द्रनगर तथा कर्णाली प्रदेशको बारेमा, यहाँका सम्भावनाका बारेमा पत्रिका तथा अनलाइनहरूमा लेख र विचारहरू लेख्नेछन् जसले कर्णाली प्रदेशको पहिचान पूरै देशभरी फैलाउन मद्दत हुनेछ ।

समग्र कर्णाली प्रदेशको सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिक, प्रशासनिक, पर्यटकीय महत्व राष्ट्रियस्तरमा परिचित हुनेछ । कर्णाली प्रदेशलाई राष्ट्रिय÷अन्तर्राष्ट्रिय रूपमा उपयुक्त गन्तव्यस्थल बनाउन पनि मद्दत पु¥याउनेछ । कर्णाली प्रदेशअन्र्तगत रहेको खस क्षेत्र, खस सभ्यता र खस विरासतलाई नेपालभर सर्वपरिचित गराइनेछ भने खस सभ्यताको इतिहासमय विचार विमर्श गरिनेछ । कार्यक्रम कर्णाली प्रदेशको चर्चित पर्यटकीयस्थल बुलबुलेमा आयोजना हुने भएकाले यसले बुलबुलेको परिचयलाई राष्ट्रिय रूपमा सुपरिचित गराउनेछ ।

देशकै विकट भनेर परिचय पाएको कर्णाली प्रदेशमा यस्तो बहसको कार्यक्रम पहिलो पटक हुँदैछ । एकै पटकमा सबै विषयहरू समेट्न सम्भव छैन । तथापि उत्सवमा यहाँको सांस्कृतिक, ऐतिहासिक, सामाजिक, राजनैतिक तथा आर्थिक विषयमा विमर्श हुनेछ । बाँकी विषयहरूमा हरेक वर्ष छलफल गरिनेछ ।

उत्सवपछिको फाइदा के ?

कार्यक्रमको समापनपछि सहभागी वक्ताहरूले बोलेका कुरालाई पुस्तकको रूपमा प्रकाशन गरिनेछ जुन निकट भविष्यमा कर्णाली प्रदेश सरकार तथा स्थानीय तहहरूलाई नीति निर्माणमा उपयोगी हुनेछ । कार्यक्रम हरेक वर्ष आयोजना गरिनेछ । यस उत्सवले कला, साहित्यको मात्रै प्रवद्र्धन त गर्छ नै, त्यसका साथै विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिनेछ । यस प्रकारको सामाजिक बहस र विमर्शले सर्जक र पदासिन व्यक्तित्वलाई जवाफदेही बनाउन, विचार मन्थन गरी समाजलाई मार्गनिर्देश गर्नुका साथै लोकतन्त्रलाई शक्तिशाली बनाउन मद्दत पु¥याउँछ । साहित्य र संवादलाई एकैसाथ प्रवद्र्धन गरिरहेको यस उत्सवले कर्णालीमा पर्यटनको सम्भावनालाई समेत ऊर्जा दिनेछ ।

उत्सवको आयोजनाले कर्णालीको समग्र विकासमा टेवा पुर‌्याउँछ । सांस्कृतिक र साहित्यिक विकासमा योगदान पुर्याउनुका साथै कर्णाली प्रदेशलाई राष्ट्रिय÷अन्तर्राष्ट्रिय रूपमै उपयुक्त गन्तव्य बनाउन मद्दत गर्छ । प्रदेश राजधानी वीरेन्द्रनगरको आर्थिक विकासका लागि समेत उत्सव उपयोगी सावित हुनेछ । उत्सवले कर्णालीको सामाजिक चेतनाको स्तरोन्नति गर्नुका साथै यहाँको मनोबल उँचो राख्न मद्दत गर्छ । साहित्यिक तथा वैचारिक उत्सवजस्ता कार्यक्रमले पर्यटन व्यवसायमा उल्लेखनीय योगदान दिन सक्छ भन्ने उदाहरण हो भारतको जयपुर लिटरेचर फेस्टिभल हो । सन् २००६ मा सुरु भएको भारतको जयपुर लिटरेचर फेस्टिभलमा सहभागी हुनकै लागि हाल ५० हजारभन्दा बढी मानिसहरू विदेश र भारतका अन्य ठाउँबाट जयपुर पुग्छन् । यसबाट राजस्थानको पर्यटन र सांस्कृतिक विकासमा ठूलो योगदान पुगेको महसुस गरेपछि राजस्थान सरकारले समेत उक्त महोत्सवलाई ठूलो आर्थिक सहयोग दिँदै आएको छ । यस्तै पोखरामा हरेक वर्ष हुने नेपाल लिटलेचर फेस्टिभलमा सहभागी हुनका लागि हजारौं मानिस पोखरा पुग्छन् ।

कर्णाली उत्सवमा सहभागी हुने पत्रकार तथा लेखकहरूले कर्णाली प्रदेश र यहाँका सम्भावनाबारे आमसञ्चार माध्यममा लेख र विचारहरू लेख्नेछन् । जसले यहाँका कुरा सर्वत्र फैलाउन मद्दत गर्छ । उत्सवले कर्णाली प्रदेशको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, साहित्यिक एवम् सामाजिक विकासमा सहयोग गर्नुका साथै पर्यटन प्रवद्र्धनमा समेत ठूलो योगदान गर्ने विश्वास छ । उत्सवले नेपाल भ्रमण वर्ष–२०२० को उद्देश्यलाई टेवा पु¥याउँछ । कर्णाली प्रदेशको कला, संस्कृति, भाषा र साहित्यको प्रवद्र्धन गर्छ । प्रदेशको शैक्षिक तथा प्रशासनिक विकासका लागि पैरवी गर्न सहयोग गर्छ । प्रदेशमा रहेका आर्थिक सम्भावनाहरूको खोजी गर्न बहस गर्नुका साथै प्रदेशको सामाजिक अवस्थामाथि विमर्श गर्न कर्णाली उत्सवले सहयोग गर्नेछ ।

प्रकाशित मितिः   १४ माघ २०७६, मंगलवार ०५:०५