नेतृत्वविरुद्ध गुटबन्दी नगर्न नेकपाको निर्देशन

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको नीति र नेतृत्व विरुद्ध गुटबन्दी नगर्न निर्देशन दिँदै विशेष परिपत्र जारी गरेको छ । प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा जारी विशेष परिपत्रमा पार्टीमा गुटबन्दी क्यान्सर जतिकै खतरनाक रोग भएको उल्लेख छ ।

‘पार्टीको आधिकारीक नीति र नेतृत्वकाविरुद्ध गोप्य रूपमा समूह निर्माण गरी पार्टीलाई नकारात्मक रूपमा प्रभावित गर्ने क्रियाकलाप गुटबन्दी हो । गुटबन्दीले सही विचार, कार्यक्रम र योजनालाई कार्यान्वयन गर्नमा अवरोध सिर्जना गर्दछ र व्यक्तिगत स्वार्थ पूरा गर्ने दुश्कार्यलाई प्रोत्साहन गर्दछ’, परिपत्रमा भनिएको छ, ‘पार्टीमा अराजकता र अनुशासनहिनता सिर्जना गर्दछ र पार्टीलाई असफल बनाउँछ । त्यसैले कम्युनिष्ट पार्टीमा गुटबन्दीलाई क्यान्सर जत्तिकै खतरनाक रोग मानिन्छ ।’

पार्टी नेता कार्यकर्तालाई पठाइएको सर्कुलरमा पार्टीलाई गुटबन्दीबाट मुक्त गराउने उपाय पनि सुझाइएको छ । पार्टीमा गुटबन्दीपूर्ण क्रियाकलाप बढ्न नदिन कमिटीका पदाधिकारीले वैधानिक व्यवस्था बमोजिम प्रस्ताव तयार गर्ने, निर्धारित समयमा पार्टी कमिटीको बैठक बस्ने, बैठकमा प्रत्येक सदस्यलाई खुलस्त रूपमा विचार व्यक्त गर्न दिन निर्देशन दिइएको छ । त्यस्तै बैठकमा व्यक्त विचारका आधारमा कसैप्रति कुनै किसिमको असमान व्यवहार नगर्ने, व्यक्तिको योग्यता र पार्टी कामको आवश्यकताको बीचमा सन्तुलन हुनेगरी जिम्मेवारी निर्धारण गर्नेजस्ता कुरामा ध्यान दिनुपर्ने सर्कुलरमा उल्लेख छ । ‘सबै तहका कमिटी र समस्त पार्टीलाई वैधानिक व्यवस्था, स्थापित पद्धति र संस्थागत निर्णयका आधारमा परिचालित गर्नुपर्दछ,’ सर्कुलरमा भनिएको छ ।

उक्त परिपत्रमा कुनै पनि कमिटीको पदाधिकारी वा सदस्यले पार्टीको नीति, निर्णय वा नेतृत्वका विरुद्ध अनुकूलका पात्रहरूको खोजी गर्ने, उनीहरूलाई पार्टीको वैधानिक व्यवस्था विपरित भेला, बैठक वा समानान्तर गतिविधिमा उतार्ने काम नगर्न नेता कार्यकर्तालाई आग्रह गरिएको छ । उता, पार्टी निर्णयको विरुद्ध सार्वजनिक रूपमा चुनौती दिनु अनुशासनहीन र पार्टी हितविपरित हुने र त्यस्तो कार्य गर्नेलाई कारबाहीको दायारमा ल्याउने बताइएको छ । ‘कमिटी प्रणालीलाई चुनौती दिँदै मन मिल्नेहरूको बैठक बस्ने र पोजिसन बनाउने, स्वार्थ समूह वा स्वार्थी तत्वहरूको झुण्ड निर्माण गरेर पार्टीमा दबाव सिर्जना गर्ने, पार्टी निर्णयविरुद्ध सार्वजनिक रूपमा चुनौती दिने वा अवज्ञा गर्नेजस्ता स्वेच्छाचारी, अनुशासनहीन, स्वार्थी र पार्टी हितविपरितका क्रियाकलाप कडाइका साथ रोक्नुपर्छ,’ सर्कुलरमा उल्लेख छ । परिपत्रमा गुटबन्दीको स्रोत माथिल्लो तह भएको पनि स्वीकार गरिएको छ । गुटबन्दीको अन्त्यका लागि माथिल्लो तहबाटै प्रभावकारी कदम चाल्नुपर्ने उल्लेख छ । गत मंसिर २९ गतेदेखि एक साता चलेको स्थायी कमिटी बैठकमा प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टीमा गुट झाँगिएको बताएका थिए ।

प्रकाशित मितिः   ८ माघ २०७६, बुधबार ०८:०४