फेरि ब्युँताउँदै केबुलकार सपना

सिद्धपाइलामा विश्वकै सबैभन्दा ठूलो पाइला बनाइने


सुर्खेत : कर्णाली प्रदेश सरकारले सुर्खेतमा केबुलकार सञ्चालन गर्ने सपनालाई फेरि ब्युँताउने भएको छ । सुर्खेतको वीरेन्द्रनगर बजारदेखि सिद्धपाइलासम्म केबुलकार सञ्चालन गर्ने योजनाको सम्भाव्यता अध्ययन थाल्ने तयारीमा प्रदेश सरकार लागेको छ । केबुलकार सञ्चालन अघि सिद्धपाइलालाई आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने भएको छ । सिद्धपाइला क्षेत्रलाई नै पाइला आकारमा निर्माण गरेर विश्वकै सबैभन्दा ठूलो पाइलाको रूपमा विकास गर्ने योजना कर्णाली प्रदेश सरकारले अघि सारेको छ । वीरेन्द्रनगर नगरपालिकाको वडा नं. १३ मा रहेको सिद्धपाइलालाई विश्वकै ठूलो पाइलाको रूपमा विकास गर्नको लागि योजना बनाउन लागिएको कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा. पूण्यप्रसाद रेग्मीले बताए । बुधवार सिद्धपाइलाको अवलोकन गर्दै उनले धार्मिक पर्यटकीय हबको रूपमा सिद्धपाइलालाई विकास गरिने बताए । ‘हामी सिद्धपाइलाको संरक्षणको लागि पहल गर्दैछौं’ उनले भने ‘जसरी दैलेखमा पादुका, नाभिस्थान र श्रीस्थान विकास भएका छन् । त्यसैगरी सिद्धपाइलालाई विश्वको ठूलो पाइलाको रूपमा विकास गरिने छ ।’ कर्णालीको राजधानी वीरेन्द्रनगरबाट केबुलकारमा सिद्धपाइलाको दर्शन गर्न आउनेगरी काम अगाडि बढाइने उनले जानकारी दिए ।

सिद्धपाइला धार्मिक हिसाबले मात्रै नभइ पर्यटकीय हिसाबले समेत महŒवपूर्ण स्थान रहेको रेग्मीले तर्क गरे । ‘यहाँबाट कर्णाली प्रदेशको राजधानीलगायत बाँकेका केही स्थानहरूको समेत अवलोकन गर्न पाइन्छ’ उनले थपे ‘हावापानी समेत अत्यन्तै राम्रो र मनमोहक क्षेत्र भएकोले यसको विकासमा सबै एकजुट हुनुपर्छ ।’ आगामी वर्षबाट यसको लागि बजेट विनियोजन गरी काम अगाडि बढाउने योजना रहेको उनले जानकारी दिए । सुर्खेतसम्म घुम्न आउने पर्यटकलाई कम्तीमा दुई÷चार दिन यतै घुम्नको लागि पर्यटकीय क्षेत्रहरूको संरक्षण गरिने उनले बताए । स्वदेशी मात्रै नभइ विदेशी पर्यटक भिœयाउने माध्यममा सिद्धपाइला पनि पर्ने गरी योजना बनाउने रेग्मीले बताए ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्द सिंह बुढाले सिद्धपाइलाको क्षेत्रमा पहिले रहेको शिवको पाइलालाई संरक्षण गर्दै उक्त क्षेत्र वरिपरी विश्वकै ठूलो पाइलाको निर्माण गर्नेगरी सम्भाव्यता अध्ययन गरिने बताए । उनले पर्यटकहरूले राजधानीबाट केबुलकारमा चढी सिद्धपाइला घुम्न सक्ने वातावरण निर्माण गर्ने बताए । ‘हामी सम्भाव्यता अध्ययन गर्ने योजनामा छौं’ उनले भने ‘कर्णाली प्रदेश योजना आयोगलाई समेत यस विषयको अध्ययनका लागि आग्रह गरेका छौं ।’ सिद्धपाइलाको वरिपरी विश्वको सबैभन्दा ठूलो पाइला निर्माण गरी शिवको मूर्ति समेत निर्माण गर्ने योजना रहेको मन्त्री बुढाले बताए । सिद्धपाइलालाई तीर्थस्थलका रूपमा विकास गरे कर्णालीको पर्यटनलाई टेवा हुने उनको भनाइ छ । कर्णाली प्रदेशको पञ्चवर्षीय पर्यटन गुरुयोजनामासमेत सिद्धपाइलालाई समेटेर काम अगाडि बढाउने योजना रहेको जानकारी उनले दिए ।

शिवको पाइलाबाट सिद्धपाइला नाम रहेको स्थानीयको भनाइ

शिवको पाइलाबाट उक्त स्थानको नाम सिद्धपाइला रहेको स्थानीयको भनाइ रहेको छ । भगवान् शिवकी धर्मपत्नी सत्यदेवीले अग्निमा हाम फाली देहत्याग गरेपछि शिव भौतिारिँदै विभिन्न स्थानमा जाने क्रममा उक्त स्थानमा दाहिने पाइला टेकेको किंवदन्ती रहेको स्थानीय टंकबहादुर पंगेनीले जानकारी दिए । ‘शिवको पाइला भन्दाभन्दै सिद्धपाइला नाम रहन गएको हो’ उनले भने ‘यहाँ आइ पूजा–आराधना गर्नाले र शिवजीको पाइला ढोग्नाले मनले आँटेको पुग्ने पुरानो विश्वास छ ।’

सिद्धपाइलामा अहिले पनि स्थानीयहरूले वर्षको पहिलो मंगलवार दान दक्षिणा, अन्नको न्वागी र गोरस, जल, चढाउने गरेका छन् । ‘ढुङ्गामा दाहिने पाइला छ’ उनले थपे ‘त्यसलाई संरक्षण गर्नको लागि सानो मन्दिर निर्माण गरी पाइला भित्र पारिएको छ ।’ दैलेख जिल्लामा श्रीस्थान, नाभिस्थान, पादुका नाम रहेजस्तै उक्त स्थानमा शिवले पाइला टेकेको हुनाले सिद्धपाइला नाम रहेको उनले जानकारी दिए । अहिले पनि उक्त स्थानमा हिन्दुधर्मावलम्बीहरू दर्शन गर्न भारतबाट समेत आउने गरेका छन् । स्थानीय तथा प्रदेश सरकारले ठोस योजना बनाई पाइलाको संरक्षणमा लाग्नुपर्ने माग स्थानीय नागरिकको छ । जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमृत बिसीले सिद्धपाइलालाई संरक्षण गर्नसके यो क्षेत्रको विकास हुने बताए । ‘कर्णालीको परिचय थप्नको लागि सिद्धपाइलाको संरक्षण जरुरी छ’ उनले भने ‘सहरको कोलाहलबाट केही समय मुक्ति लिने ठाउँ र मनमोहक क्षेत्र सुर्खेतको लागि सिद्धपाइला हो ।’

प्रकाशित मितिः   २ माघ २०७६, बिहीबार ०९:०६