उप–सभामुखको अडानपछि विकल्पको खोजी

काठमाडौं : सत्तारुढ नेकपा सचिवालयको निर्णयलाई चुनौती दिँदै उप–सभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिन अस्वीकार गरेपछि नेकपाभित्र सम्भावित अर्को कदमबारे छलफल सुरु भएको छ । राष्ट्रपति र प्रधानमन्त्रीकै ‘भरोसा’ मा उप–सभामुखले राजीनामा दिन अस्वीकार गरेको निश्कर्षमा पुगेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले विकल्पमाथि छलफल गरेका छन् ।

तुम्बाहाङ्फेको अडानले नेकपाले सभामुख गुमाउने स्थिति आउन सक्ने आँकलनसहित विभिन्न विकल्पबाट अघि बढ्ने विषयमा केन्द्रित रहेर प्रचण्ड र नेपालले छलफल गरेका हुन् । पार्टी निर्णयलाई उप–सभामुख तुम्बाहाङ्फेले अवज्ञा गरेपछि प्रचण्ड र नेपालले आइतवारबाटै जटिलता समाधानमा केन्द्रित रहेर छलफल थालेका थिए । अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली तुम्बाहाङ्फेको अडानमा मौन बसेकाले समस्या जटिल बनेको उनीहरूको बुझाइ छ । बानेश्वरको एक होटेलमा आइतवार दिउँसो भएको भेटवार्तामा प्रचण्ड र नेपालले सचिवालयको पछिल्लो निर्णय कार्यान्वयनमा देखिएको जटिलतामा केन्द्रित रहेर छलफल गरेका थिए ।

स्थायी समिति सदस्य मणि थापाले उप–सभामुखको अडानले निम्त्याएको जटिलताबारे सामान्यतया सचिवालयका सबै नेताबीच अनौपचारिक छलफल चलिरहेको बताए । ‘पछिल्लो जटिलताबारे सबै नेताबीच अनौपचारिक छलफल भइरहेकै छ,’ थापाले भने, ‘वरिष्ठ नेता नेपालले एकता महाधिवेशन सम्पन्न नहुँदासम्म पूर्व समझदारी अनुसार माओवादी समूहले नै सभामुख लिँदा ठीकै हुन्छ भन्ने सकारात्मक धारणा राखेको बुझिन्छ ।’ नेपाल निकट एक नेताका अनुसार तुम्बाहाङ्फेले पार्टी निर्णयलाई चुनौती दिएकाले उनीबाहेकको विकल्पबाट छिटो उम्मेदवार छान्नुपर्ने समझदारी प्रचण्ड–नेपालबीच भएको छ । तुम्बाहाङ्फेबाहेक सभामुखमा पूर्व एमाले समूहबाट सुवास नेम्वाङ तथा माओवादी समूहबाट अग्नि सापकोटाको नाम चर्चामा छ । सभामुखको उम्मेदवार टुंग्याएपछि उप–सभामुखले चाल्ने कदमका आधारमा अघि बढ्न सहज हुने दुवै नेताको बुझाइ रहेको ती नेताले बताए । अघिल्लो साता भैंसेपाटीस्थित नेता वामदेव गौतमको निवासमा भएको छलफलमा पनि नेताहरूबीच तत्काल उप–सभामुखलाई राजीनामा गर्न लगाएर सभामुख चयन प्रक्रिया अघि बढाउने सहमति भएको थियो । छलफलमा नौ सदस्यीय सचिवालयमध्ये प्रचण्डसहित नेपाल, गौतम, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

प्रकाशित मितिः   २ माघ २०७६, बिहीबार ०८:५४