दुर्गन्धित वीरेन्द्रनगर
मुना हमाल,
सुर्खत : सुर्खेतको वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी भएसँगै यहाँ जनघनत्व बढ्दो छ । जनसंख्याका सथासाथै सवारी साधनको चाप पनि बढिरहेको छ । तर यहाँ सोही अनुसारको सरसफाइ हुन नसक्दा फोहोर व्यवस्थापन चुनौतीको विषय बनेको छ । जीर्ण सडक, अव्यवस्थित फुटपाथ र फोहोर व्यवस्थापनमा नगरपालिकाले प्रभावकारी रूपमा काम गर्न सकेको छैन । नगरपालिकाले पछिल्लो समय वडा कार्यालयलाई सम्बन्धित वडाको फोहोर व्यवस्थापनको लागि जिम्मेवारी दिएको छ । फोहोरमैला व्यवस्थापन सम्बन्धी नगरपालिकाले कार्यविधि समेत बनाएको छ । त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन नगर्दा प्रभावकारी रूपमा फोहोर व्यवस्थापन हुन नसकेको यहाँका नागरिकहरूको भनाइ छ । वीरेन्द्रनगर–६ का गीता गौतमले नगरपालिकाले सार्वजनिक ठाउँहरूको फोहोर व्यवस्थापनमा चासो नदिएको बताए । पैदल तथा गाडीमा हिँड्ने यात्रुुहरूले सडक, सार्वजनिक ठाउँहरूमा मनलाग्दी रूपमा चुरोट, सूर्तिजन्य पदार्थको खोस्टालगायत प्लाष्टिकजन्य फोहोर जथाभावी फालेको देखिन्छ ।
वीरेन्द्रनगर बजारका सडक र नालाहरूमा त फोहोर देखिन्छ नै सँगसँगै बजार क्षेत्रमा पर्ने खोर्केखोला, इत्रामखोला लगायतका खोलामा पनि फोहोर फाल्ने गरिएको छ । यसले पनि वीरेन्द्रनगरको फोहोर व्यवस्थापन थप चुुनौती बन्दै गएको छ । वीरेन्द्रनगर–४ भैरबस्थानका तुुलाराम पाण्डेले यहाँको फोहोर व्यवस्थापनका लागि जनचेतनासँगै जरिवानाको व्यवस्थापन गर्नुपर्ने बताए । नगरपालिकाले फोहोर व्यवस्थापन गर्न चाहे पनि सडकमा हिँड्ने पैदलयात्री, व्यापारीहरूले जथाभावी रूपमा फोहोर फाल्दा नगरको सरसफाइमा चुनौती थपिएको उनको भनाइ छ ।
कार्यविधि कार्यान्वयन भएन
रेन्द्रनगर नगरपालिकाले एक वर्ष अघि फोहोरमैला व्यवस्थापन कार्यविधि तयार गरेको थियो । तर नगरपालिका र सम्बन्धित वडाहरूले कार्यविधिलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेका छैनन् । कार्यविधिमा सडकहरूमा डस्बिनहरू राख्ने, घर, पसल, होटललगायतका क्षेत्रबाट शुल्क उठाउने र जथाभावी रूपमा फोहोर गर्नेलाई कारबाही गर्नेलगायतका विषयहरू उल्लेख गरिएको छ । नगरपालिका वा सम्बन्धित वडाले कसैले जथाभावी रूपमा फोहोर गरेको पाइए एक सय रूपैयाँ र संकलन गरिएको फोहोर अनाधिकृत तवरले प्रयोग गरे पाँच सयदेखि तीन हजारसम्म जरिवाना गर्ने कार्यविधिमा छ । तर अहिलेसम्म नगरपालिकाले एक जनालाई पनि जरिवाना गरेको छैन । कार्यविधिमा प्रति घरधुरी मासिक ५० देखि एक सय रूपैयाँ र होटल व्यवसायी तथा अस्पताललाई तीनदेखि पाँच हजारसम्म शुल्क तोकेको छ । तर नगरपालिका र वडाहरूले प्रभावकारी रूपमा शुुल्क उठाउन सकेका छैनन् । वीरेन्द्रनगर वडा नं. ६ मा सबैभन्दा बढी फोहोर उत्पादन हुुने ठाउँ भए पनि वडा कार्यालयले उक्त शुल्क वापत मासिक डेढ लाख रूपैयाँसम्म संकलन गर्ने गरेको वडा अध्यक्ष मोतीप्रसाद कँडेलले जानकारी दिए । उनले फोहोर व्यवस्थापनमा जनचेतनालाई पहिलो प्राथमिकता दिएकाले कारबाही नगरिएको बताए । अब बजार क्षेत्रमा एक हजार डस्बिनका रूपमा बाल्टीहरू सडकमा राखिने वडा अध्यक्ष कँडेलले जानकारी दिए ।
वीरेन्द्रनगर नगरपालिकाका प्रशासन तथा व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले फोहोर व्यवस्थापनमा नगरपालिका अघि बढे पनि अनुुगमनको पाटोलाई अघि नबढाएको स्वीकार गरे । जनशक्तिको अभावले पनि फोहोर व्यवस्थापनका सोचे अनुसार हुुन नसकेको उनको भनाइ छ । पौडेलले नगरपालिकाको फोहोर व्यवस्थापनमा प्रदेश सरकारको सहयोग आवश्यक रहेको बताउँदै सार्वजनिक स्थलहरूको फोहोर व्यवस्थापनका लागि प्रदेश सरकारसँग सहयोग लिने गरी कार्यक्रम ल्याउन पहल भइरहेको पनि बताए ।
ल्याण्डफिल साइड नहुुँदा समस्या
वीरेन्द्रनगर नगरपालिकाको व्यवस्थित ल्याण्डफिल साइड नहुुँदा पनि फोहोर व्यवस्थापनमा कठिनाइ भएको हो । फोहोर व्यवस्थापनका लागि वीरेन्द्रनगर–१ को तारेभिरमा ल्याण्डफिल साइड बनाउन नगरपालिकाले प्रक्रिया थालेको धेरै समय बितिसक्दा पनि अहिलेसम्म बनेको छैन ।
अहिले यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको र पहुँचमार्गको काम सम्पन्न भएकाले अन्य काम अगाडि बढाएको नगरपालिकाले जनाएको छ । वीरेन्द्रनगरमा दैनिक झण्डै सात टन फोहोर उत्पादन हुन्छ । त्यसको ५० प्रतिशत फोहोर पनि विर्सजन हुुँदैन । नगरपालिकाका वरिष्ठ अधिकृत पौडेलले साढे तीन टन मात्र फोहोर अस्थायी ल्याडफिल साइडमा विसर्जन हुने गरेको बताए । उनले ल्याण्डफिल साइड बनाउन करिब ४० करोड लाग्ने भएकाले सहयोगीदाता खोज्ने काम भइरहेको जनाए । पहिलो चरणमा तीन करोड बजेटले काम हुुने भएकाले नगरपालिकाले काम सुरु गरेको जनाइएको छ ।
प्रकाशित मितिः २८ पुष २०७६, सोमबार ०८:४२
मुना हमाल ।