गलत संस्कारको जरो

कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा महिलाहरु महिनावारी र सुत्केरी भएको समयमा घरभन्दा टाढा बनाइएको गोठमा बस्नुपर्ने परम्परा कायम छ । यही परम्परा नै छाउपडी प्रथा हो । परम्परागत सोचमा परिवर्तन आउन नसक्दा यो प्रथाले समाजमा जरा गाडेको छ । महिनावारी भएको समयमा घरपरिवारमा छोइहालेमा घरमा अनिष्ट हुने, देवीदेवता रिसाउँछन्, पाप लाग्छ भन्नेजस्ता रुढीबादी र अन्धविश्वासबाट महिला प्रताडनामा पर्ने गरेका छन् । महिनावारी भएका बेला घरभित्र नपस्न नदिने, घरभित्रको काम गर्न नदिने, दूध दहीजस्ता पोषणयुक्त खानेकुरा खान नदिनेजस्ता अमानवीय व्यवहार गर्ने गरिन्छ । पोषणयुक्त खानेकुराबाट वञ्चित गरिन्छ । यहाँको समाजमा छाउपडी प्रथा ठूलो समस्याका रुपमा रहेको छ ।

छाउपढी प्रथा कायम हुनुको मुख्य कारण परम्परागत सोच हो । महिनावारी हुनु प्रकृतिको नियम हो । किशोरावस्थामा प्रवेश गरेकी महिलाहरुमा जब मासिक श्राव सुरु हुन्छ, तब उसलाई सन्तान जन्माउन सक्षम भएकी मानिन्छ । तर हाम्रो समाजमा यसलाई नछुने भएको भन्छन् । यो अन्यायपूर्ण र विभेदपूर्ण भाषा हो । यसैलाई परम्परा र संस्कारको रुपमा अंगिकार गरिएको छ । युवतीहरु एक निश्चित उमेर पुगिसकेपछि महिनावारी हुनु भनेको प्राकृतिक प्रक्रियाको स्वाभाविक नियम भएपनि महिनावारी हुनुलाई धर्म र धार्मिक ग्रन्थसँग जोडी पाप तथा अभिशापका रूपमा परिभाषित गर्दा यसले समाजमा प्रश्रय पाउँदै आएको छ । परम्परागत सामाजिक मूल्य र मान्यता, रुढीबादी सोच, धार्मिक अन्धविश्वास, जनचेतनाको कमी, लैंगिक विभेद्, अशिक्षा, उपयुक्त नीति नियमको अभावका कारण छाउपडी प्रथाले निरन्तरता पाउँदै आएको देखिन्छ ।

त्यसो त छाउपडी प्रथाविरुद्ध अभियानहरु सञ्चालन नभएका होइनन् । विस्तारै सहरी क्षेत्रमा कम हुँदै गए पनि ग्रामीण क्षेत्रमा यसले अझै जरा गाडेको अवस्था छ । कानुनले समेत छाउपडी प्रथालाई बर्जित गरेको छ । मुलुकी ऐन प्रतिस्थापनका लागि बनाइएको ऐनमा कसैले छाउपडी प्रथालाई मान्यता दिएमा तीन महिनासम्म कैद, तीन हजार रुपियाँ जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था गरेको छ । छाउपडी प्रथा उन्मूलन निर्देशिका २०६४ को उद्देश्यमै छाउपडी कुप्रथा उन्मुलन गरी समतामूलक समाज निर्माण स्थापना गर्नुपर्ने उल्लेख गरिएको छ । छाउपडी प्रथाका कारण महिलाहरु शारिरिक र मानसिक रुपमा मात्रै पीडित छैनन् जघन्य अपराधको सिकार समेत बनेका छन् । उनीहरुमाथि बलात्कार हुनेदेखि जंगली जनावरबाट असुरक्षित हुने गरेका घटना प्रशस्त छन् । त्यसैले पनि यसतो गलत संस्कारलाई जरैदेखि उन्मूलन गर्न जरुरी छ । यसका लागि सामाजिक अभियानका साथसाथै कानुनी कारवाहीलाई प्राथमिकताका साथ कार्यान्व्यन गर्न अपरिहार्य भइसकेको छ ।

प्रकाशित मितिः   २० पुष २०७६, आईतवार ०९:२१