विमानस्थल विस्तार र अमरज्योतिको भविष्य
परिचय
वीरेन्द्रनगर नगरपालिकाको वडा नं १२ मा अवस्थित अमरज्योति नमूना माध्यमिक विद्यालय कर्णाली प्रदेशकै राम्रो नाम चलेको विद्यालय हो । यसको स्थापना वि.सं २०१४ सालमा भएको थियो । वि.सं २०४० सालदेखि विद्यार्थीहरूलाई प्रवेशिका परीक्षामा समावेश गराएको विद्यालयमा अहिले कक्षा १२ सम्म सञ्चालित भएको छ । सार्वजनिक विद्यालयलाई सबै समुदाय, अभिभावक तथा विद्यार्थीको पहिलो रोजाइको शैक्षिक संस्था तुल्याउन, विद्यालय व्यवस्थापनलाई नयाँ उचाइमा विकास र शिक्षण सिकाईमा नवप्रवर्तन गर्ने अभिप्रायले समुचित क्षेत्रगत वितरणसहित निश्चित संख्यामा विभिन्न प्रकारका नमूना विद्यालयहरू स्थापना, विकास र सञ्चालन गर्नुपर्ने आवश्यकताको बोध भएको बेला यो विद्यालय आफैमा नमूना रहेको छ । विद्यालयको वर्तमान शैक्षिक व्यवस्थापनमा थुप्रै चुनौतिहरू भए पनि व्यवस्थापकीय पक्ष सन्तोषजनक रहेको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा टीकाराम आचार्य विगत चौध वर्षदेखि लगातार हालसम्म जिम्मेवारीमा हुनुहुन्छ । शैक्षिक सुधारको दृष्टिकोण भएको, संस्थागत आर्थिक मितव्ययीता प्रणालीको विकास र आधुनिक परिवेशलाई समेत ध्यान दिएको देखिन्छ । स्थापना कालदेखिका अन्य अध्यक्षहरूमा टोपबहादुर
खड्का, हीरालाल खड्का, गंगाप्रसाद सापकोटा, मानबहादुर खड्का, मोतिप्रसाद सापकोटा, नगेन्द्रप्रसाद धमलाको नाम विद्यालयको अभिलेखमा रहेको छ ।
प्रधानाध्यापक खगेन्द्र थापा, निक्कै सक्रिय हुनुहुन्छ । हु न त म पनि सँगै काम गर्छु तर उहाँको विद्यालयमा उपस्थिति विहान पाँच बजेदेखि बेलुकी छ्र्र÷सात बजेसम्म देखिन्छ । खरो आदत, दार्शनिक, व्यवहारिक, सिघ्र निर्णय गर्ने क्षमता, निडर तथा निसंकोच व्यक्तित्व र ठिट मान्ने स्वभाव, प्रक्रियाभन्दा पनि परिणाम खोज्ने बानीले विद्यालयको समग्र परिचालन र विद्यार्थी अनुशासनमा धेरै ठूलो भूमिका खेलेको देखिन्छ । विद्यालयमा अध्यक्ष र प्रधानाध्यापकले समाजको मागलाई समेत ध्यान दिन सक्ने भएर होला प्राविधिक धारतर्फ पनि बहुविधात्मक कक्षाहरू जस्तै अमिनि, सिभिलका कार्यक्रमहरू चलेको छन् । यस विद्यालयमा विद्यार्थीको चाप अत्याधिक रहेको छ । विहानी र दिवा गरी करिब तीनहजार भन्दा बढी विद्यार्थी र एक सय भन्दा बढी शिक्षक कर्मचारीहरू सक्रिय भएको देखिन्छ । तर समग्र विद्यालय मानवस्रोत विद्यालय प्रशासन र विद्यार्थीको व्यवहारिक परिवर्तनको लागि अत्यन्तै सकारात्मक रहेको देखिन्छ । विद्यार्थीको भविष्य विद्यालयको मानवस्रोतको जोस, जाँगर र कर्तव्यमा नै भर पर्छ ।
विद्यालयका विविध गतिविधि
मैले करिब अढाई महिना जतिको अनुभवबाट अमरज्योतिलाई हेर्ने हो भने यहाँको पठनपाठन कार्य सन्तोषजनक छ । विद्यालय प्रशासन, शिक्षक कर्मचारीको अत्यन्तै राम्रो मेहनत देखिन्छ । पढाईमा कमजोर विद्यार्थीहरूलाई पनि अत्यन्तै न्युन शुल्कमा जिम्मेवार संयोजक मार्फत अतिरिक्त कक्षाको व्यवस्था गरिएको रहेछ । बाह्य ज्ञानको लागि पनि मुभि शो, अध्ययन भ्रमण, परियोजना कार्य, विज्ञान प्रयोगशालाको उपयोग, कम्प्युटर प्रयोगशालाको प्रयोग, ओेभरहेड प्रोजेक्टर तथा मल्टिमिडियाको सीमित प्रयोग, सीमित पुस्तकालयको व्यवस्था, सूचना प्रविधि अन्तर्गत इन्टरनेटको सीमित प्रयोग, विद्यार्थी परामर्श अनिवार्य गरिएको छ । नियमित स्टाफ मिटिङ र मासिक समिक्षा, नोटकपी परीक्षणलाई प्रयोगात्मक मूल्याङ्कनसँग जोड्ने कार्य, प्रश्नपत्र निर्माण कार्यशाला, कपी परीक्षण र कपी फिर्ता, साप्ताहिक शनिबारीय ल्याकत परीक्षा र सुझाब सहित परीक्षण भएको कपी विद्यार्थीलाई नै प्रदान, प्राथना परामर्श र निर्देशन, झोला तथा कक्षा छड्के जाँच, कक्षा अभिभावक भेला, सुझाब संकलन र विद्यार्थी पहिचान, जेहेन्दार, गरीब र असहायलाई अक्षयकोष छात्रवृत्ति तथा अन्य छात्रवृत्तिको न्यायिक वितरण, स्टाफ जन्म दिनमा जन्म दिन परेको व्यक्तिको प्रधानाध्यापकबाट विगतको जीवनी, पारीवारीक पृष्ठभूमीसँगै उसका सकारात्मक पक्षको चर्चा तथा आदर गरी संगठनात्मक एकताको मजबुती, विद्यालयमा प्रवेश गर्ने व्यक्तिको स्वागत, विदाई भई जाने व्यक्तिको योगदानको प्रशंशा र सम्मान सहित विदाई गर्ने संस्कार, विभिन्न दिवस तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिनहरूमा यासेम्ब्लिङ गरेर विद्यार्थीलाई जानकारी दिने कार्य, बलियो कानूनी आधार सहितको पूर्वाधार तथा उपकरण तथा भौतिक संरचना, कक्षाकोठा व्यवस्थापन, चमेना गृह, प्राथमिक उपचार कक्ष, छात्र र छात्राको लागि अलग–अलग शौचालयको प्रबन्ध, निर्माण गरिएका पूर्वाधारहरूको नियमित मर्मत, बहुपाठ्यपुस्तकको व्यवस्थापन र प्रयोग, परीक्षा परीक्षा मर्यादित र व्यवस्थित पारिएको हुन्छ ।
निरन्तर मूल्याङ्कन प्रणालीलाई त्यसको मर्म अनुसार नै प्रयोगमा ल्याइएको देखिन्छ । अँग्रजी, गणित र विज्ञान विषयमा आवश्यकता अनुसार उपचारात्मक शिक्षण, अतिरिक्त क्रियाकलाप र सहकार्यकलापको नियमितता, सूचना प्रविधिमा आधारित शिक्षक तालिम सञ्चालन गर्न सक्ने शिक्षकहरूको समूह विद्यालय भित्रै तयार, शिक्षण सिकाइमा र दैनिक अफिसियल कार्यमा आधुनिक सूचना र प्रविधिको प्रयोग, कम्तिमा पनि स्नातकहरूको शिक्षण तथा प्रशिक्षण यस विद्यालयका अनुशरणिय कुराहरू हुन जस्तो लाग्छ ।
विमानस्थल विस्तारको प्रभाव
अमरज्योति नजिकै सुर्खेत विमानस्थल छ । अब छिट्टै सुर्खेत विमानस्थल विस्तार हुन्छ र अमरज्योति नमूना मावि कतै सर्छ भन्ने चर्चा चलेको छ । विभिन्न कोणहरूबाट विभिन्न चर्चापरिचर्चा भए । यस विद्यालयका प्रधानाध्यापकले एक दिन स्टाफ मिटिङमा यदि विमानस्थल विस्तार हुने नै हो भने हुन लागेको विकासप्रति हाम्रो साथ, सहयोग र समर्थन छ तर हाम्रो विद्यालयको व्यवस्थापन उत्तरपट्टिको औद्योगिक क्षेत्रमा गरिदिए अत्यन्तै उत्तम हुन्छ भन्ने कुरा राख्नुभएको थियो, जसमा सबै स्टाफहरूको एक मत थियो । पछि यसको वास्तविकता थाहा पाउन विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष टीकाराम आचार्य र प्रधानाध्यापक खगेन्द्र थापा पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री योगेश भट्टराइलाई लैनचौरमा गएर भेट गरी दोहोरो संवाद गर्दा आफ्नो योजना उत्तरतिर तीन सय मिटर र दक्षिणतिर दुईसय मिटर गरी जम्मा पाँचसय मिटर विस्तार गर्ने र त्यसो भएमा अमरज्योति पनि अन्य स्थानमा अत्याधुनिक भवन र सुविधा सहितको व्यवस्थापन नेपाल सरकारले नै गरिदिने जवाफ पर्यटन मन्त्रीले दिएको कुरा प्रधानाध्यापकले जानकारी दिनुभएको थियो । हाइवे भन्दा तल एअरपोर्ट विस्तार गरेपछि बाटोको व्यवस्थापन सुरुङ मार्फत गर्ने भन्ने योजना मन्त्रीको रहेछ । तर पनि अन्तिममा एकपटक प्राविधिकहरूको प्रतिवेदन पछि मात्र निर्णय लिने भन्ने पर्यटनमन्त्रीको जवाफ रहेछ । पछि फेरी एकपटक उत्तरदक्षिण एअरपोर्ट विस्तार गर्दा भिजिविलिटीको समस्या हुने हुनाले एअरपोर्ट विस्तार पूर्वपश्चिम नै उपयुक्त हुने समाचार आएको थियो ।
सुधार गर्नुपर्ने कार्यहरू
एअरपोर्ट विस्तारको वास्तविकता र यसबाट अमरज्योतिलाई पर्ने प्रभाव के हो यसबारे यथाशिघ्र सरोकारवालाहरूले विद्यालयलाई जानकारी दिनुपर्छ । किन कि विद्यालयको थप योजना निर्माण, संरचना विस्तार, थप पूर्वाधार विकासमा यसले अन्न्यौल बनाएको छ । सूचना र प्रविधिको सही उपयोग गर्न र समय सापेक्ष शिक्षणमा परिवर्तन ल्याउन पनि प्रविधिमैत्री कक्षा कोठा निर्माण गर्नुपर्ने हुन्छ । यसको लागि पनि एअरपोर्ट विस्तारको हल्लाले नै अलमल पारेको देखिन्छ । भएको श्रोत र साधनको उपयोग गर्न समेत यसले अप्ठ्यारोमा पारेको छ ।
यसै गरी अब कक्षा ११ र १२ को पाठ्यक्रम परिवर्तन पछि यि कार्यक्रम पनि दिवा मै सञ्चालन गर्नुपर्ने हुन्छ । त्यतिबेला विद्यालय ठुलै अप्ठ्यारोमा पर्नेछ । त्यसलाई पनि व्यवस्थापनको योजना बनाउन एअरपोर्ट विस्तारको हल्लाले असर पु¥याएको छ । यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थी कम्तिमा पन्ध्र जिल्ला भन्दा बढी जिल्लाको छन् । सबैको आशालाग्दो विद्यालयको रूपमा यो रहेको छ । वर्गीय हिसावले पनि कमजोर आर्थिक अवस्था भएको वर्गको केटाकेटीको प्रतिशत ठूलो रहेको छ । त्यसैले पनि यो कुरालाई वीरेन्द्रनगर नगरपालिका र कर्णाली प्रदेश सरकारले अझ बढी चासो र चिन्ता गर्नुपर्ने विषय जस्तो लाग्छ । यसका अतिरिक्त विद्यालयले विद्यार्थी चाप र गुणस्तरलाई थप ध्यान दीर्घकालिन स्रोतको परिकल्पना र योजना सहित थप आन्तरिक दरबन्दीको सिर्जना गरी पठनपाठनलाई थप गुणस्तरीय बनाउनु आवश्यक रहेको छ । यहाँको मौजुदा मानवश्रोतलाई पनि थप प्रोत्साहन, तालिम र वृत्ति विकासका अवसर सिर्जना गरी उच्च मनोबलयुक्त र अझै गतिशिलतान्मोख बनाउनुपर्ने देखिन्छ । तालिम हल, अडिटोरियम हल, संगीत प्रशिक्षण कक्ष,, चमेना गृह, प्राथमिक उपचार कक्ष, छात्र र छात्राको लागि अलग–अलग शौचालयको प्रबन्ध, इन्डोर तथा आउटडोर खेलका लागि उपयुक्त हुने खेल मैदान, इ–पुस्तकालय, इन्टरनेट कनेक्सन सहितका कम्प्युटर,जस्ता कुराहरूले विद्यालयलाई साँच्चिकै एउटा ज्ञानको भण्डारको रूपमा सुसज्जित पारेको हुन्छ । विद्यार्थी भर्नाको सम्बन्धमा पनि स्वतन्त्र ढंगको छनौट समिति मार्फत हुने गर्दछ । विद्यालयको वेभसाइटको प्रयोग, विद्यालयमा अनुसन्धानात्मक र प्रवर्तनात्मक कार्यहरू गर्नुपर्ने देखिन्छ ।
उपसंहार
यति ठुलो जनसमुदाय र अभिभावकको विश्वास जितेको यस विद्यालयलाई कर्णाली प्रदेशकै अब्बल र आवासिय सुविधा सहितको नमूना विद्यालयमा रूपान्तरण गर्नको लागि अझै पनि समुदाय, वीरेन्द्रनगर नगरपालिका र कर्णाली प्रदेश सरकार गम्भिर रूपमा लाग्नुको विकल्प छैन । बरु यस विद्यालयलाई लक्षित गरी विभिन्न प्रोत्साहनमुलक कार्यक्रम, परामर्श कार्यक्रम, संरचना सुधार कार्यक्रम लगायतका कार्यक्रम प्रवाह गरी प्रादेशिक विशिष्टिकृत विद्यालयमा रूपान्तरणको सोच राख्नु सान्दर्भिक हुन्छ । यहाँ समग्रमा शैक्षिक गुणस्तरको सुनिश्चितता प्रवद्र्धन गर्न र त्यसमा टिकाउपनको लागि विद्यालय नै आफ्ना विद्यार्थीहरू प्रति सारभूत रूपमा जिम्मेवार रहने गरि पठनपाठन गरिएको हुन्छ ।
यसका लागि विद्यालयले गुणस्तर सुनिश्चितताका स्कीमहरू विकास गरी कार्यान्वयनको प्रारम्भ उत्तम हुन्छ । विद्यालयमा अपेक्षित भौतिक पूर्वाधारहरूको निर्माण र व्यवस्थापनमा पूर्ण रूपमा लाग्न एअरपोर्ट विस्तारको हल्ला केही हदसम्म अवरोध बनेको छ । शैक्षिक वातावरण पनि नमूनायोग्य र अरुले अनुशरण गर्न सक्ने प्रकारको बनाउन विद्यालय क्रियाशिल रहे पनि अवरोधहरूले केही कठिनाई भने उत्पन्न गराएको देख्न्छि । हाल कार्यान्वयनको अनुभवले थप सुधार गरी गती लिन सहयोग पुग्नेछ ।
(लेखक अमरज्योति नमूना माध्यमिक विद्यालयमा कार्यरत शिक्षक हुन् ।)
प्रकाशित मितिः १३ पुष २०७६, आईतवार १०:५६
ध्रुवकुमार अधिकारी ।