प्रयोगविहीन छन् जेब्राक्रस
सीता वली,
सुर्खेत : बिहीवारको मध्यदिन । वीरेन्द्रनगर बजारको केन्द्र मंगलगढीचोक अन्य दिनहरूजस्तै व्यस्त छ । ठूला तथा साना सवारीका साधन दौडिरहेका छन् । पैदलयात्रुहरूको संख्या पनि कम छैन । ओहोर–दोहोर गरिरहेका छन् । कोही हतारमा देखिन्छन्, कोही सडकछेउ उभिएर कसैलाई कुरिरहेका छन् । म भने सडकछेउमै उभिएर जेब्राक्रसको प्रयोग भइरहेको छ या छैन भनेर नियालिरहेकी थिएँ । सडकको एक पेटीमा उभिएकी मलाई धेरै पटक अटोरिक्सा चालकहरूले ‘कहाँ जाने ?’ भन्दै सोधिरहेका थिए । मेरो ध्यान भने सडक प्रयोगको अवस्था र त्यहाँको दृष्य नियाल्नमै केन्द्रित थियो ।
मंगलगढीचोकलाई पहिलेभन्दा फराकिलो बनाइएको छ । चोकबाट पूर्व र पश्चिमतर्फ जाने तथा बजार क्षेत्रतिर आउने सडकमा जेब्राक्रस बनाइएको छ । यी हालै मात्र बनाइएका हुन् । जेब्राक्रस त बनाइएको छ तर त्यसो प्रयोग भने भइरहेको छैन । यात्रुहरू जेब्राक्रसबाट नहिँडेर नजिकैबाट मनलाग्दी बाटो काटिरहेका देखिन्छन् । निकै न्यून संख्यामा केहीले मात्रै जेब्राक्रस प्रयोग गरेका छन् । उसो त सवारी चालकहरूले पनि जेब्राक्रसलाई बेवास्ता गरेका छन् । जेब्राक्रस नजिक सवारीको गति सुस्त गर्नुपर्ने हो । तर यहाँ त जेब्राक्रसमा हिँडिरहेका पैदल यात्रु नै दुर्घटनाको जोखिममा पर्नेगरी तीव्र गतिमा सवारी चलिरहेका छन् ।
अधिकांश पैदलयात्री त अन्धाधुन्दा सडक पार गर्दै गरेका देखिन्थे । यात्रु जस्तै सवारी चालककहरूले समेत तीव्र गतिमा सवारी साधन हुईकाएको देखिन्थ्यो । यहाँको दृष्य हेर्दा मंगलगढीचोकमा जेब्राक्रसिङ्ग हुनु र नहुनुमा कुनै फरक देखिदैन । एकातिर जेब्राक्रस प्रयोग गर्ने नै न्यून छन् । त्यसमाथि केहीले प्रयोग गर्न खोजे पनि तीव्र गतिमा आउने सवारी साधनको कारण सडक पार नगरी बीचबाटै फर्किनुपरेको दृश्य मैले देखेँ ।
यात्रुहरूकै सहजता र सुरक्षाका लागि बनाइएको जेब्राक्रस किन प्रयोग भइरहेको छैन ? मैले केही यात्रुहरूसँग यसबारे बुझ्ने प्रयास गरेँ । धेरैलाई त जेब्राक्रसबारे जानकारी नै रहेनछ । वीरेन्द्रनगर नगपालिका–९ सुर्खेतका २३ वर्षीय प्रकाश आचार्यले आफूलाई जेब्राक्रसको विषयमा जानकारी नभएको बताए । ‘मलाई जेब्राक्रस के का लागि हो भन्ने कुरा थाहा थिएन’ उनले भने ‘सबै पैदलयात्रीलाई जेब्राक्रसको विषयमा जानकारी नहुन सक्छ । यस विषयमा सरोकारवाला निकायले जानकारी दिनुपर्छ ।’
मंगलगढीमै भेटिएकी वीरेन्द्रनगर–३ मूलपानी सुर्खेतकी शान्ती शर्माले समेत सडक पार गर्दा जेब्राक्रसको प्रयोग गरिनन् । उनीसँगै रहेका अन्य दुईजनाले समेत शान्तीले जस्तै जेब्राक्रस नजिकैबाट सडक पार गरे । ‘मलाई हतार थियो’ शान्तीले भनिन् ‘जेब्राक्रसबाट सडक पार गर्न अलि माथि जानुपथ्र्यो । हतार भएकोले तलैबाट हिँडियो ।’ प्रकाश र शान्ती जस्तै जानकारी नभएर र हतारमा सडक पार गर्ने सर्वसाधारण थुप्रै छन् । जसले गर्दा सडक सुरक्षाका लागि बनाइएका जेब्राक्रस प्रयोगविहीन छन् । बरु दुर्घटनाको जोखिम बढ्दैछ । सडक नियम पालना नगर्दा सवारी दुर्घटना बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी सहायक निरीक्षक हरिभक्त रोकायले बताए । ‘धेरैलाई जेब्राक्रसकको प्रयोगबारे चेतना छैन’ उनले भने ‘कोही जानकारी भएर पनि अटेर गरी हिँड्छन् ।’ वीरेन्द्रनगर बजार क्षेत्रमा पर्याप्त मात्रामा ट्राफिक संकेतहरूको आवश्यकता भए पनि नगरपालिकाले यस विषयमा चासो नदेखाएको उनले बताए । उनका अनुसार आर्थिक वर्ष २०७६÷०७७ को पाँच महिनामा सुर्खेतमा सवारी दुर्घटनाको कारण १९ जनाको मृत्यु भइसकेको छ । जसमा ४७ जना सामान्य घाइते भएका छन् भने १९ जना गम्भीर घाइते भएका छन् ।
जेब्राक्रसको प्रयोग नगर्नु ट्राफिक नियमको उल्लंघन पनि हो । तर यसको पालना गराउन ट्राफिक प्रहरीले पनि कुनै कदम चालेको छैन । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख उदयसिं सिजापतिले जनशक्ति अभावका कारण ट्राफिक नियमको उल्लंघन भए पनि अनुगमन गर्न समेत नपाएको बताए । ‘ट्राफिक चिन्हहरू सम्बन्धित नगरपालिकाले व्यवस्था गर्ने हो’ उनले भने ‘धेरैपटक वीरेन्द्रनगर नगरपालिकामा धाउँदा समेत कुनै सुनुवाइ भएको छैन ।’ नागरिकलाई ट्राफिक नियमको पालनको कुरा सिकाउन खोज्दा ट्राफिक चिन्ह नभएको गुनासो गर्ने गरेको उनले बताए ।
किन आवश्यक छ जेब्राक्रस ?
व्यस्त सडकको बीचमा यात्रुलाई सडक पार गर्न सहजताको लागि जेब्राक्रस निर्माण गरिन्छ । दुर्घटनालाई कम गर्न यसले मद्दत गर्छ । जेब्राक्रस निर्माण गरिएको स्थानबाट पैदलयात्रुले सडक पार गर्नुपर्ने हुन्छ । सवारी चालकहरूले समेत जेब्राक्रसबाट यात्रुले सडक पार गर्दै गरेको अवस्थामा सवारी साधन रोक्नुपर्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार आवश्यकता अनुसार सडकमा जेब्राक्रस राखिनुपर्छ । विभिन्न जक्सनहरू, विद्यालयको नजिक जेब्राक्रस राखिनुपर्ने ट्राफिक प्रहरीको भनाइ छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद ७ मा आवागमन नियन्त्रण सम्बन्धी व्यवस्था रहेको छ । जसको दफा १३२ मा रहेको सवारी रोक्नुपर्ने व्यवस्था अनुसार चालकले चलाइरहेको सवारी देहायको अवस्थामा रोकी आवश्यकता अनुसार उचित समयसम्म अड्याई राख्नु भन्ने व्यवस्था रहेको छ । प्रहरी वा यातायात निरीक्षकले सवारी रोक्न संकेत गरेमा, कुनै जनावर तर्सी बेकाबु हुने सम्भावना भइ सो जनावर तत्काल जिम्मा रहेको व्यक्तिले सवारी रोक्न अनुरोध गरेमा, सवारी दुर्घटनाग्रस्त भइ कुनै मानिस, जनावर वा सम्पत्तिको हानीनोक्सानी भएमा र जेब्रा क्रसिङ्गमा मानिस ओहार दोहोर गरिरहेको अवस्थामा वा चौबाटोमा रहेको ट्राफिक बत्तीले रोक्ने संकेत गरेमा सवारी साधन रोक्नुपर्ने व्यवस्था ऐनमा रहेको छ ।
त्यस्तै ऐनको दफा १३७ मा निर्धारित ठाँउबाट बाटो काट्नुपर्ने व्यवस्था समेत रहेको छ । जसमा जेब्राक्रस, सब–वे, ओभरहेड ब्रीज वा त्यस्तो बाटो काट्नको लागि निर्धारित गरिएका ठाँउबाट बाटो काट्नुपर्ने व्यवस्था रहेको छ । ट्राफिक संकेतको उल्लंघन गरेको खण्डमा ऐनको दफा १६४ बमोजिम यातायात निरीक्षक वा प्रहरी सहायक निरीक्षकले तत्काल सजाय गर्न सक्ने व्यवस्था छ । जसमा पहिलो पटक भए पाँच सय, दोस्रो पटक भए एकहजार र तेस्रो पटक वा सो भन्दा बढी भए एकहजार पाँच सयसम्म जरिवाना गर्न सकिने व्यवस्था ऐनमा रहेको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको व्यस्त सडकमा समेत पर्याप्त मात्रामा ट्राफिक चिन्हहरू छैनन् ।
प्रकाशित मितिः २७ मंसिर २०७६, शुक्रबार १२:१७
सीता वली ।