हवाई उद्धार कार्यक्रम महिलाका लागि जीवनदान

                                    हुम्लाबाट आकस्मिक उद्धार गरेर सुर्खेत ल्याउँदै एक गर्भवती महिला । फाइल फोटो ।

मुना हमाल,
सुर्खेत : सुत्केरी व्यथाले च्यापेपछि गत वैशाख १८ गते हुम्लाको अदानचुली गाउँपालिका–१ की राजकला महतारालाई उनको परिवारले गाउँकै स्वास्थ्य चौकीमा पु¥याए । तर त्यहाँ प्रसूति गराउन सम्भव नहुने देखिएपछि स्वास्थ्य चौकीलाई प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिदियो । आफन्तले तत्काल कर्णाली प्रदेश सरकारलाई खबर गरे । तत्कालै सामाजिक विकास मन्त्रालयले आकस्मिक हेलिकोप्टर पठाएर उनलाई सुर्खेत ल्यायो । अस्पतालमा आइपुग्दा राजकलाको गर्भमै बच्चाको मृत्यु भइसकेको थियो । डाक्टरले मृत बच्चा शल्यक्रिया गरेर निकाले र आमाको ज्यान बचाए ।

गत वैशाखमै हुम्लाको चंखेली गाउँपालिकास्थित स्वास्थ्य चौकीमा कार्यरत अनमी निशा नेपालीको पनि गर्भमै बच्चाको मृत्यु भएपछि अत्याधिक रक्तश्राव भयो । उनलाई प्रदेश सरकारको पहलमा हेलिकोप्टरबाट तत्काल उद्धार गरेर प्रदेश अस्पतालमा ल्याएर उपचार गरियो । मंसिर १७ गते जाजरकोटको जुनीचाँदे गाउँपालिकाकी कमला नेपालीलाई संघीय सरकारको राष्ट्रपति उद्धार कार्यक्रममार्फत प्रदेश अस्पतालमा ल्याइयो । उनको पनि गर्भमै बच्चाको निधन भइसकेको थियो ।

डाक्टरहरूले शल्यक्रिया गरेर बच्चा निकाले र नेपालीको ज्यान जोगाए । समयमै अस्पताल नपु¥याएको भए उनको ज्यान समेत जोखिममा पर्ने थियो । उल्लेखित घटना त केही उदाहरण मात्रै हुन् संघीय सरकार कर्णाली प्रदेश सरकारले सुत्केरी महिलाहरूको आकस्मिक उद्धारका लागि हवाई सेवा सञ्चालनमा ल्याएपछि राजकला, निशा र कमलाजस्ता धेरै महिलाहरूले जीवनदान पाएका छन् । ‘हेलिकोप्टरको व्यवस्था नगरेको भए सायद मेरो ज्यान जान्थ्यो होला’ राजकला भन्छिन्, ‘सरकारले गरेको यो कामप्रति म आभारी छु ।’ राजकलाका आफन्त बिर्खबहादुर सरकारले ठूलो गुुन लगाएको बताउँछन् ।

अन्य प्रदेशभन्दा कर्णाली विकट छ । यहाँ कैयौं यस्ता गाउँ छन्, जहाँबाट स्वास्थ्य संस्था पुग्नै एक दिन हिँड्नुपर्छ । त्यसमाथि दुुर्गम क्षेत्रमा विशेषज्ञ सेवा उपलब्ध छैन । अझै पनि समयमै उपचार नपाएर यहाँका गर्भवती तथा सुुत्केरी महिलाहरूले ज्यान गुुमाउनुुपर्ने बाध्यता छ । कर्णालीका सुत्केरी महिलाहरूलाई यही बाध्यताबाट मुक्त गर्न केन्द्र सरकारले छुट्टै र कर्णाली प्रदेश सरकारले पनि हवाई उद्धार कार्यक्रम लागू गरेका छन् । यसले यहाँका दर्जनौं महिलाहरूको ज्यान जोगिएको छ । विगतका वर्षहरूमा कर्णालीका धेरै सुत्केरी महिलाहरूले समयमै स्वास्थ्य संस्था पुग्न नसकेरै ज्यान गुमाएका छन् । स्वास्थ्य सेवा निर्र्देशनालय कर्णाली प्रदेशले दिएको तथ्यांक अनुुसार आर्थिक वर्ष २०७२÷२०७३ मा १३ जना, २०७३÷०७४ मा २२ जना, २०७४÷०७५ मा १९ जना र २०७५÷०७६ मा १३ जना गर्भवती महिलाले ज्यान गुमाएका छन् । तर पछिल्लो समय यो संख्या घटेको छ । हवाई उद्धार कार्यक्रम लागू भएपछि मृत्यु हुने गर्भवती महिलाहरूको संख्यामा कमी आएको हो । वि.सं. २०७२ सालदेखि हालसम्म ५५ जना सुत्केरी महिलाहरूको उद्धार गरिएको छ ।

निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७२÷०७३ मा तीन जना, २०७३÷०७४ मा सात जना, २०७४÷०७५ मा ६ जना र २०७५÷२०७६ मा प्रदेश सरकारबाट ११ जनाको र केन्द्र सरकारको उद्धार कार्यक्रमबाट १२ जनाको उद्धार गरिएको तथ्यांक छ । चालुु आर्थिक वर्षको हालसम्म कर्णालीबाट १६ जना सुुत्केरी महिलाहरूको उद्धार गरिएको छ । यसबाहेक संघीय सरकारले देशभरमा ३६ जनाको उद्धार गर्दा १६ जना कर्णाली प्रदेशका छन् । विशेष गरेर भौगोलिक रूपमा विकट कर्णालीमा यहाँका सुुत्केरी तथा गर्भवती महिलाहरूका लागि हवाई उद्धार कार्यक्रम जीवनदान नै बनेको यहाँका महिलाहरू नै बताउँछन् ।

सामाजिक विकास मन्त्री दल रावलले पनि हवाई उद्धार कार्यक्रम यहाँका सुुत्केरी महिलाका लागि जीवनदान बनेको बताए । उनले केन्द्र सरकारसँगै प्रदेशबाट पनि यो कार्यक्रमलाई प्रभावकारी गराएको जनाए । आर्थिक अभावका कारण कसैले पनि उपचार नपाएर अकालमै ज्यान गुुमाउनुुपर्ने बाध्यता नहोस् भनेर सरकारले यस्तो योजना ल्याएको मन्त्री रावलको भनाइ छ । यस्तै कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले पनि जोखिममा परेका सुुत्केरी तथा गर्भवती महिलाका लागि हवाई उद्धार कार्यक्रम प्रभावकारी भएको बताए । तर बिरामी ल्याउँदा प्रदेश सरकारसँग समन्वय गर्नुपर्नेमा उनले जोड दिए । ‘केही केशहरू पहुँचका भरमा रिफर गरिने पनि गरिएको पाइन्छ तर जोखिममा परेका लागि साच्चिकै यो कार्यक्रम जीवनदान नै बनेको छ’ खड्काले भने । उनले थपे, ‘जोखिममा परेका सुुत्केरी तथा गर्भवती महिलाहरूलाई हेलिकोप्टरमार्फत उद्धार कार्यक्रम सञ्चालन गरेपछि कम भएको छ । यो कार्यक्रमलाई अझ समन्वय गरेर सञ्चालन गर्न सक्यो भने अझै प्रभावकारी बन्छ ।’

प्रकाशित मितिः   २३ मंसिर २०७६, सोमबार १०:३९