‘मरीचिका’ र बुद्धिसागर पुरस्कृत

श्यामललाई साधना सम्मान

सुर्खेत : कर्णाली साहित्य समाजले दुई जना लेखकलाई पुरस्कृत गर्नुका साथै एक जनालाई सम्मान गरेको छ । समाजले शनिवार वीरेन्द्रनगरमा यस वर्षको कृति पुरस्कारतर्फ कथासंग्रह ‘मरीचिका’लाई पुरस्कृत गरेको छ । कथाकार एवम् समाजका संरक्षक महेशविक्रम शाहले मरीचिकाका लेखक महेश थापालाई नगद ५१ हजारसहितको पुरस्कार अर्पण गरेका हुन् । वि.सं. २०७५ सालमा प्रकाशित साहित्यिक कृतिहरूमध्येबाट मरीचिकालाई पुरस्कृत गरिएको हो । साहित्यिक पुरस्कारतर्फ यो कर्णालीकै सबैभन्दा ठूलो राशीको पुरस्कार हो ।

यसैगरी कर्णाली साहित्य समाज प्रतिभा पुरस्कारबाट आख्यानकार बुद्धिसागर पुरस्कृत भएका छन् । ‘कर्नाली ब्लुज’, ‘फिरफिरे’ जस्ता चर्चित पुस्तका लेखक बुद्धिसागरलाई नगद २५ हजार राशीको प्रतिभा पुरस्कार प्रदान गरिएको हो । शनिवार नै समाजले कवि श्यामल अधिकारीलाई कर्णाली साहित्य समाज साधना सम्मानमार्फत सम्मानित गरेको छ । उनलाई ताम्रपत्रसहित सम्मानित गरिएको हो ।

कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षाशास्त्र संकायका सहायक डीन उप–प्राध्यापक विष्णुकुमार खड्काले पुरस्कृत तथा सम्मानित स्रष्टाहरूको व्यक्तित्व र कृतित्वको बारेमा परिचय दिँदै कर्णाली साहित्य समाजले भाषा साहित्यका क्षेत्रमा साँच्चिकै कर्णालीको शिर उँचो बनाएको बताए । पुरस्कृत लेखक महेश थापाले आफूलाई साहित्य सिर्जनामा थप उर्जा मिलेको बताए । यस्तै स्रष्टा बुद्धिसागरले आफ्नो विगत मात्र नभइ वर्तमान समेत कर्णालीमा रहेको बताउँदै नेपाली काव्य विधा र आख्यानका क्षेत्रमा आफूले गरेका कार्यहरूलाई कर्णाली साहित्य समाजले योग्य ठानीदिएकोमा खुशी व्यक्त गरे । साधना सम्मानबाट सम्मानित स्रष्टा श्यामलले भने, ‘कर्णालीका यथार्थतालाई रचनाका माध्यमबाट बाहिर ल्याउन सकेको खण्डमा कर्णाली चिनाउन सहयोग पुग्नेछ ।’

कर्णाली साहित्य समाजका सल्लाहकार डा. दीपेन्द्र रोकायाले पुरस्कृत तथा सम्मानित स्रष्टाहरूलाई बधाई दिँदै कर्णाली साहित्य समाजले गरेको कार्यले सिंगो कर्णालीलाई गौरवान्वित बनाएको बताए । पुरस्कार तथा सम्मान अर्पण कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष खगेन्द्र अधिकारी ‘अमृत’ ले कर्णाली साहित्य समाजले स्थापना गरेको पुरस्कार तथा सम्मान ग्रहण गरिदिनु भएकोमा पुरस्कृत तथा सम्मानित स्रष्टाहरूप्रति आभार व्यक्त गरे । उनले भने, ‘नेपाली भाषाको उद्गमस्थल कर्णाली भए पनि भाषा साहित्यका क्षेत्रमा यस प्रदेशमा जति कार्यहरू हुनुपर्ने हो त्यति हुन सकेको छैन ।’ नेपाली भाषा, साहित्यको प्रवद्र्धन र सम्वद्र्धनका लागि स्थानीय सरकारदेखि कर्णाली प्रदेश सरकारसम्मले विशेष योजनाका साथ कार्यक्रम नै बनाएर अगाडि बढ्नुपर्नेमा त्यसो हुन नसकेको उनको भनाइ थियो । समारोहमा साहित्यकारहरू डा. दीपक गौतम, प्रा. खोपीराम लम्साल, विक्रम शिशिर चन्द, ऋषिप्रसाद थानी, भीम थापा, देवकी तिमल्सिना, ऋषि शर्मा सुदामालगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः   २२ मंसिर २०७६, आईतवार ०९:०५