‘गुरुले रोजेको केटी विवाह गरें’
पिता धनसिंह वली र माता भद्रदेवी वलीको कोखबाट २०२९ सालमा सुर्खेतको पातलगंगा लाटीकोइलीमा जन्मिएका रामबहादुर वलीको बाल्यकाल सामान्य तरिकाले बित्यो । सामान्य परिवारमा जन्मिएका वली बाल्यकालमा लजालु स्वभावका थिए । त्यति धेरै नबोल्ने र आफूभन्दा ठूला व्यक्तिहरू नभेटिएको भए हुन्थ्यो जस्तो लाग्ने गथ्यो उनलाई । उनी भन्छन्, ‘म बाल्यकालमा अलि लजालु स्वभावको थिए, अनि आफूभन्दा ठूला व्यक्तिहरू भेटिँदा बोल्न लाज मान्थें ।’
उनको १४ वर्षदेखि खेलकुदमा ध्यान बढी जान थालेको थियो । विद्यालयस्तरदेखि नै उनी खेलकुदमा लागे । उनले खेलकुदबाट नै धेरै पुरस्कार पनि जिते । उनले भने, ‘त्यतिबेला अहिलेको जस्तो खेलकुदका लागि पर्याप्त मात्रामा खेलहरू सुर्खेतमा हुन्थेनन्, खेलको लागि धेरै बाहिर जान पनि पाइन्थ्यो त्यसैले पनि राष्ट्रियस्तर भन्दा मैले जिल्लास्तरमा नै खेलकुदबाट धेरै पुरस्कारहरू जितेको छु ।’ उनी खेल खेल्दाखेल्दै जिल्ला खेलकुद विकास समितिमा एथ्लेटिक्स खेल हेर्ने जिम्मा नै पाए । आफै खेल सिकेको कार्यालयमा जागिर पाए उनले । अहिले उनले एथ्लेटिक्स खेल अन्तर्गत रनिङ्ग, ज्याम्पिङ्ग र थ्रो खेल सिकाउने गर्छन् ।
भर्खरै मात्र उनले रनिङ्ग सिकाएको विद्यार्थी तिलक विकले १७ वर्षको पुरानो रेकर्ड तोडेर १५ मिटर ५६ सेन्टिमिटरमा रनिङ्ग गर्न सफल भएका थिए । उनी आफू राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा खेल खेल्न जान नपाए पनि आफ्ना विद्यार्थीहरू जान पाउँदा आफै पुगे जस्तो लाग्ने गर्छ । उनले खेल्न सिकाएका विद्यार्थीहरू राष्ट्रिय तथा अन्तिर्राष्ट्रियस्तरमा गइ सफलता हात पारेर पनि फर्केका छन् । वलीलाई जब आफ्ना विद्यार्थीले सफलता पाउँछन् तब उनको मन शान्ति हुन्छ ।
उनलाई खेलकुदले सबै चिज दियो । खेलकुदले उनलाई नाम दियो, जागिर दियो त्यति मात्र होइन खेलकुदकै कारण उनलाई जीवनसाथी पनि भेटियो । उनी धेरै जसो विभिन्न विद्यालयहरूका विद्यार्थीहरूलाई पनि खेल सिकाउने कोचको रूपमा काम गर्ने गर्थे । त्यस्तै विद्यार्थीलाई खेल सिकाउन कोचको रूपमा उनलाई घुस्रा स्कुलले बोलाएको थियो । उनी कोचको रूपमा त्यहाँ गए पनि । उनले घुस्रा स्कुलका विद्यार्थीलाई रनिङ्ग, ज्याम्पिङ्ग खेल सिकाए ।
उनले खेल सिकाउने ग्रुपमा दुर्गा पनि थिइन् । उनलाई खेलमा त्यति धेरै रुचि त थिएन तर, विद्यालयले उनलाई नै छनौटमा पारेर खेलको लागि पठाएको थियो । विद्यालयले नै छनौट गरी सकेपछि उनले पनि नाइ भन्न सकिनन् र साथीहरूसँगै खेलको लागि तयार भइन् । रनिङ्ग, ज्याम्पिङ्ग खेलमा दुर्गा जिल्लास्तरबाट प्रथम भइन् । जिल्लास्तरमा प्रथम भएपछि उनलाई क्षेत्रीयस्तरको खेलका लागि नेपालगन्ज लगियो । नेपालगन्जमा पनि उनी प्रथम नै भइन् । उनको रनिङ्ग राम्रो गर्थिन् । त्यसकारण पनि विद्यालयले उनलाई नै छनौट गरेको थियो । त्यति बेला दुर्गा कक्षा ८ मा पढ्दै थिइन् । वलीका गुरु विक्रमजंग थापा पनि उनीहरूसँगै गएका थिए ।
वलीलाई उनका गुरु थापाले जहिले भन्ने गर्थे, ‘वलीले मैले रोजेको केटीसँग बिहे गर्नुपर्छ ।’ वलीले पनि गुरुको बचनलाई मनमा राखिरहेका थिए । नेपालगन्जको खेलमा वलीका गुरुले दुर्गालाई नै उनको जीवनसाथीको लागि राजेका थिए । वलीलाई सुरु–सुरुमा कसैप्रति पनि ध्यान थिएन । जब गुरुले दुर्गाको बारेमा उनलाई भने तब उनको ध्यान दुर्गातर्फ गयो । उनले त्यसपछि नै दुर्गालाई नजिकबाट चिन्ने कोशिस गरे ।
नेपालगन्जको खेल सकेर आए पनि दुर्गा राष्ट्रियस्तरको खेलमा भने जान पाइनन् । उनको परीक्षा नजिक आएकोले घरबाट उनलाई जान दिएनन् । खेलबाट फर्केपछि दुर्गा र वलीको भेटघाट अलि बढी नै हुन थालेको थियो । उनीहरू भन्छन्, ‘खेलबाट फर्केपछि दुवैको भेट प्रायः भइरहन्थ्यो ।’ भेटघाट र चिनजान नजिकबाट भइसकेपछि वलीले दुर्गालाई प्रेम प्रस्ताव राखे । उनीहरूको पहाडको घर एकै ठाउँमा थियो । त्यसैले पनि दुवैको घरपरिवारको राम्रो चिनजान थियो । वलीको प्रेम प्रस्तावलाई दुर्गाले केही समय पनि मात्र जवाफ दिएकी थिइन् । उनले भनिन्, ‘पहिला उहाँले प्रेम प्रस्ताव राखेपछि मैले चार महिनापछि मात्र स्वीकार गरे ।’ उनले सोचिन् वलीको बानी व्यवहार, जागिर सबै भएको र यतिको केटा भएपछि मेरो जीवन चल्नसक्छ भन्ने भएपछि दुर्गाले वलीको प्रेम प्रस्ताव स्वीकार गरेकी थिइन् ।
दुर्गा कक्षा ९ मा पढ्दै थिइन् उनीहरूले भागी विवाह गरे । दुवैको घरपरिवारको राम्रो चिनजान हुँदाहुँदै पनि उनीहरूले २०५५ सालमा भागी विवाह गरे । मान्छे जीवनमा जे लेखेको छ त्यही पाउँछ । वलीको भाग्यमा दुर्गा नै लेखेको हुँदा उनीहरूको भेट खेलकुदको माध्यमबाट भएको थियो । देखेको हुँदैन लेखेको हुन्छ भनेझै भो वली र दुर्गाको जीवनमा पनि । उनीहरूले सुरुमा सोचेका पनि थिएनन् कि यसरी माया बस्ला अनि विवाह नै गरौंला भन्ने तर, भाग्यमा लेखेको कुरा कसैले टार्न सक्दैन उनीहरूको पनि जोडी बनेकै थियो ।
पिता प्रेमबहादुर बिसी र माता देवी बिसीको कोखबाट २०३९ सालमा नयाँ गाउँमा जन्मिएकी दुर्गाको बाल्यकाल सुखद्सँग नै बित्यो । उनलाई कुनै पनि किसिमको अभाव झेल्नु परेन । सुखमयसँग बाल्यकाल बिताएकी दुर्गा बाल्यकालदेखि नै हक्की र कसैसँग नडराउने स्वभावकी थिइन् । कसैले केही भन्यो र आफूलाई मन परेन भने त्यसको प्रतिउत्तर फर्काइ हाल्थिन् ।
भागी विवाह गरेपछि उनका माइती केही समयका लागि रिसाए पनि । हरेक बाबुआमाको सपना हुन्छ कि आफ्ना छोराछोरीको विवाह आफूले खोजेको र रोजेको सँग होस् । राम्रो ठाउँमा परोस् भन्ने । यस्तै सपना दुर्गाका बाबुआमाले पनि बुनेका थिए । तर, दुर्गा भागेर विवाह गरे पनि उनका बाबुआमाको मन दुख्नु स्वभाविकै पनि हो । आखिर बाबुआमाको मन न हो आफ्ना छोराछोरीसँग कति दिनसम्म रिसाउन सक्छन् र दुर्गाका बाबुआमा पनि दुर्गासँग धेरै समय रिसाउन सकेनन् । चार महिनापछि नै उनीहरूको टिका फुकाइ दिए । भनिन्छ नि बाबुआमाले छोराछोरीले गरेका हजारौं गल्तीहरूलाई माफ गर्न सक्छन् । यस्तै माफ दुर्गाले पनि पाइन् । उनले भनिन्, ‘सुरु–सुरुमा त रिसाउनु भयो भागेर विवाह गरी भनेर तर, चार महिनामा नै टिका फुकाइ दिनुभयो ।’
विवाहपछि दुर्गा एउटा छोरीबाट बुहारीको भूमिकामा परिवर्तन हुनुप¥यो । माइतीमा भएका आफन्तसँगको नातालाई घरमा परिवर्तन गर्नुप¥यो । बाबुआमाको ठाउँमा सासुससुराको नाम पाइन् उनले । माइतीमा हुँदा बाबुआमालाई जे भने पनि हुने काम नगरे पनि हुने तर, विवाहपछि बिहानै उठ्नुपर्नेदेखि रहेक काममा आफू नै अघि सर्नुपर्ने हुँदा छोरी र बुहारी हुनुमा आकाश पातालको फरक पाइन् दुर्गाले । उनले भनिन्, ‘विवाहपछि छोरीलाई घरका माइती जस्तो हुँदो रै’छ र हरेक चिजदेखि व्यक्तिसँगको नाता समेत परिवर्तन गर्नुपर्छ ।’
विवाहपछिका दिनमा कहिले काहीं सामान्य झगडा भए पनि जो जोडीले झगडालाई कहिल्यै ठूलो रूप बनाएनन् । जब श्रीमान्–श्रीमती बीचमा कुरा लुक्न थाल्छन् । तब दुवैबीच मनमुटावको स्थिति आउने उनीहरूको भनाइ छ । उनीहरूका अनुसार एकआपसमा कामको बाँडफाँड र काम गर्दा हरेका कामको सरसल्लाह गर्नसकेमा झगडा हुँदैन । वली जिल्ला खेलकुद विकासमा काम गर्छन् भने दुर्गा ठेक्का पट्टाको काम गर्ने गर्छिन् । दुवै जना आ–आफ्नो काममा व्यस्त हुने हुँदा पनि झगडा नहुने उनीहरूको भनाइ छ ।
दुवैले एकअर्काेको काममा सघाउने पनि गर्छन् । वलीले दुर्गालाई घरको काम पनि सघाउने गर्छन् । फुर्सदको समयमा दुवै जना नजिकै भए पनि घुम्न पनि जाने गर्छन् । उनीहरूको एक छोरा र एक छोरी छन् । छोरा कक्षा १२ मा र छोरी कक्षा ९ मा पढ्दै छन् । छोराछोरी हुर्किसकेको भएकाले पनि दुवैलाई आ–आफ्नो काम गर्न सहज भएको छ । वलीलाई दुर्गाको सुत्ने बेला गिलासमा सधैं दुध लिने बानी मनपर्छ । दुर्गाले आफ्नो स्वास्थ्यको केयर गरेको उनलाई मनपर्ने गर्छ । उनलाई दुर्गाको आफूले भनेको कुरा हुनैपर्ने र भनेपछि त्यो काम पूरा गर्नै पर्ने जिद्धि बानी भने अलि मन पर्दैन । त्यस्तै दुर्गालाई पनि वलीको घरको काम भनेको श्रीमतीले गर्ने हो भन्ने सोचाइ नराखेर आफूले पनि सघाउने बानी मनपर्ने गर्छ । वली कहिले काहीं नभेरै साँझ घरमा अलि ढिलो आउने बानी भने दुर्गालाई मन पर्दैन ।
उनीहरूका अनुसार जीवन भनेको सङ्घर्ष हो । जीवनमा उतारचढावहरू धेरै आउँछन् त्यसलाई सहज रूपमा सामना गर्नसक्नु नै जीवन हो । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागि एकअर्काको भावनाको कदर हुन जरुरी छ । श्रीमान्–श्रीमती बीचमा शंका उत्पन्न हुन नदिनको लागि हरेक काम गर्दा दुवैबीच सरसल्लाह हुन जरुरी रहेको उनीहरू बताउँछन् । उनीहरू भन्छन्, ‘जीवनसाथी भनेको एकअर्काेको हरेक सुख दुःखमा साथ दिने र जीवनको अन्तिम साससम्म सँगै रहनसक्ने नै जीवन साथी हो ।’ उनीहरू नवदम्पत्ति जोडीहरूलाई पहिला एकअर्काेको भावना राम्रोसँग बुझेर र आफ्नो खुट्टामा उभिएर मात्र विवाह गर्न सुझाव दिन्छन् । बाबुआमाको भरमा विवाह गर्दा दुःख पाइने हुँदा पहिला पढाइ पूरा गरेर आत्मनिर्भर भएर मात्र विवाह गर्दा त्यो सम्बन्ध सफल हुनसक्ने उनीहरूको भनाइ छ ।
साझा बिसौनी संवाददाता ।