स्तरोन्नतिको पर्खाइमा कर्णाली राजमार्ग
महेश नेपाली,
जुम्ला : नेपाली उखानै छ ‘बाह्र वर्षमा त खोला पनि फर्किन्छ’ । तर कर्णाली राजमार्गको अवस्था भने यो १२ वर्षको अवधिमा पनि जस्ताको तस्तै छ । सडक बनेर गाडी गुड्न थालेको एक दशक बितिसक्दासम्म पनि राजमार्ग सुधार र स्तरोन्नति हुन सकेको छैन । वि.सं. २०४२ सालमा पहिलो पटक कर्णाली राजमार्गको रेखांकन गरी सर्भे गरिएको थियो । त्यसको ६ वर्षपछि २०४८ सालबाट राजमार्ग निर्माणको काम सुरु गरियो । सुरुको वर्षमा सडक निर्माणको लागि दुई करोड बजेट विनियोजन गरी काम थालिएको थियो । २०५६ सालमा विश्व बैंकले जिम्मा लिएपछि राजमार्ग निर्माणले तीव्रता पायो । सशस्त्र द्वन्द्वका कारण विश्व बैंकले निर्माणको काम गर्न सकेन । पछि सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिइयो र ट्रयाक खुल्यो ।
सबेला तातोपानी–३ का ६५ वर्षीया वृष कठायतले जुम्लामा मोटर बाटो पुग्ला भन्ने सोचेका थिएनन् । हवाई जहाजबाट खलंगामा आएको दैनिक उपभोग्य सामान खरिद गर्न एक दिनको बाटो हिँडेर बजार पुग्थे । बजार बास बसेर भोलिपल्ट दैनिक उपभोग्य सामानको भारी बोकेरै घर पुग्थे । अहिले उनका घरै अगाडि सामान पाइन्छ । पूराना दिन सम्झिदैं भन्छन्, ‘कुडा (कुरा) त धेरै पहिलेदेखि गरेका हुन् । गाडी अब आउन्या भैगो भुनी धेरै मान्ठले कुडा गरेका हुन् । गाडी आएन । आश मर्याको छियो । तर अहिले गाडी आएपछि त अनौठो लाग्यो ।’
नुन ल्याउन भेडा लिएर लेक, गाड (नदी) गरेका सिंजा कालिकाखेतुका उमाकान्त न्यौपाने तराईमा गाडी गुडेको र कालोपत्रे भएको राजमार्ग देख्दा जुम्लामा पनि यस्तै भइदिएको भए सोच्थे । समयले आफ्नै घर अगाडिबाटै गाडी त गुड्यो तर त्यो सधैंको लागि चिन्ताको विषय बन्यो । ‘कोही घरका जहान गाडीमा यताउता गएपछि झर्को मात्तै लाग्न आँट्यो । मन सन्तोष कहिले हुनैन । क्या प हुन्या हो भुन्या लाग्दोछ’ उनले आफूले भोगको कुरा यसरी सुनाए । यसरी राजमार्ग सञ्चालनमा आएको १३ वर्ष पुगेको छ । यद्यपि राजमार्गले सुविधा दिए पनि आरामदायी यात्रा भने यहाँका नागरिकले अहिलेसम्म नपाएको सिंजा लाहर्जका गोविन्द शाही बताउँछन् । उनी केही समयअघि घुम्ती व्यापारको लागि चितवन गएका थिए । सोही क्रममा पाएको सास्ती शब्दमा व्यक्त गर्नु बेकार रहेको बताए ।
यात्रामा हुने सास्ती त छँदैछ वर्षेनी भइरहने ठूला तथा साना दुर्घटनाले पनि ठूलो धनजनको क्षति हुँदै आएको छ । तर यति हुँदा पनि राजमार्ग स्तरोन्नतिमा ध्यान पुगेको छैन । २०६९ भदौ २८ मा कालिकोटको सेरावाडा नजिकै वित्तामोडमा भएको गाडी दुर्घटनामा २७ जनाको ज्यान गयो । उक्त घटनापछि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले १८ महिनामा कालोपत्र गरी सक्ने वचन दिए । काम अगाडि बढ्यो । विश्व बैंकको अनुदानमा सुर्खेतदेखि खिड्कीज्यूलासम्मको कालोपत्रे पहिले नै भइसकेको थियो । पछि विश्व बैंकको ऋणमा खिड्कीज्यूलादेखि जुम्ला खलंगासम्म कालोपत्रे गरियो । तर बेलैमा पुल बनेनन् । वर्षामा पहिरोका कारण यात्रुले पाएको सास्तीका सयौं समाचार बने । जुम्लादेखि खिड्कीज्यूलासम्मको नयाँ कालोपत्रे पनि एक वर्ष नपुग्दै उक्कियो । परिणाम राजमार्ग वर्षामा हिलो र हिउँदमा धुलो हुने भइरहेको छ भने दुर्घटनाको जोखिम पनि बढिरहेको छ । ‘जुम्लामा गाडी हिँड्न्या बाटो पुगेपछि यहाँका सबै खुशी छिया । देश विदेशका मान्छेले कर्णालीमा बाटो पुग्छ भनि थाहा पाए,’ यात्रुले भोग्दै आएको पीडालाई न्यौपानेले भने, ‘तर राजमार्गको संरक्षण गर्ने र राम्रो बनाउने विषयमा सकारले ध्यान नदिएपछि हामी निराश छौं ।’
पछिल्लो समय स्थानीयहरू सरकार र सम्बन्धित निकायप्रति आक्रामक छन् । कर्णाली राजमार्गलाई मृत्युमार्ग (ज्यानमारा मार्ग) नामाकरण गरिरहेका छन् । सुर्खेत–जुम्ला सडक सञ्चालन यता एक सय ९६ पटक सडक दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्यांक छ । ट्राफिकका अनुसार सबैभन्दा बढी कालीकोट खण्डमा ९६ दुर्घटना भएका छन् भने दैलेखमा ३७ र जुम्लामा ६३ घटना भएका छन् ।
सुर्खेतको बाङ्गेसिमलबाट सुरु भएर सदरमुकाम खलंगा पुग्ने दुई सय ३२ किलोमिटर सडकमा एक सय ३४ जनाले दुर्घटनामा परी ज्यान गुमाइसकेका छन् भने दुई सय ८७ जना घाइते भएको प्रहरीको तथ्यांकले भन्छ । तर राजमार्गको सुधार भने हुन सकेको छैन । कालोपत्रे उक्किएपछि अधिकांश ठाउँमा खाल्डाखुल्डी परेका छन् । यसले गाडी चलाउन निकै समस्या छ । छोटो दूरी पार गर्नको लागि लामो समय खर्चिनु परिरहेको छ । ‘सडकस्तरीय भए सात घण्टामा सुर्खेतबाट जुम्ला पुगिन्थ्यो,’ व्यवसायी दिपेश अधिकारीले भने, ‘बाटैभरी खाल्डाखुल्डी हुँदा र चौडा सडक नहुँदा १२ घण्टामा पनि जुम्ला पुग्न मुस्किल हुन्छ ।’ राजमार्गको स्तरोन्नति भएको छैन भने अधिकांश मोडहरू साँघुरा छन् । गाडी ‘ब्याक’ गर्नुपर्ने बाध्यता रहेको कर्णाली यातायात व्यवसायी संघका अध्यक्ष मीनबहादुर थापाले बताए । ‘दुई दिनमा सुर्खेतबाट गाडी खलंगा पुग्छन्, राजमार्ग सुरुमा जस्तो थियो उस्तै छ । गाडी बिग्रिरहने समस्या छ,’ उनले भने, ‘अधिकांश कालोपत्रे उक्किसकेकाले धुलैधुलोमा यात्रा गर्नुपर्ने बाध्यता छ ।’
जुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष रज्जबअली मनिहार सामान ढुवानी सहज भए पनि यात्रा निकै कठिन हुने गरेको बताउँछन् । ‘जहाजबाट ढुवानी गर्दा प्रतिकेजी ७० रूपैयाँ तिर्दै आएका थियौं । सडक सञ्चालनमा आएपछि पाँचदेखि १० रूपैयाँसम्म पर्छ । सामानको मूल्य पनि सस्तो भयो । स्थानीयले पनि सुविधा पाए,’ उनले भने, ‘सडक अधिकांश ठाउँमा बिग्रिएको कारण यात्रा अझै सुरक्षित हुन सकेको छैन । स्तरोन्नतिका लागि सरकारले ध्यान दिएन ।’ सडकमा एउटा गाडी बिग्रिए घण्टौं जाम हुने समस्या छ । सडक एक लेनको मात्र हुँदा पनि यात्रा कष्टकर हुने गरेको हो । कुनै ठाउँमा पहिरो खस्दा हप्ता दिनसम्म राजमार्ग अवरुद्ध हुने गरेको उनी सुनाउँछन् ।
प्रकाशित मितिः २१ मंसिर २०७६, शनिबार ०९:४५
साझा बिसौनी ।