अरुका लागि प्रेरणा देवेन्द्र

  • थुप्रै पटक आत्महत्याको प्रयास गरे पनि बुवाको मुख हेरेर बाँच्ने साहस बोकेर नयाँ जीवन सुरु गरेका देवेन्द्र पाठक अहिले अरु धेरैका लागि प्रेरणाका स्रोत बनेका छन् ।
  • जसरी म समाजमा खुलेर अन्य दाजुभाइ तथा दिदी–बहिनीहरुको लागि वकालत गर्दै हिँडेको छु । त्यसरी नै सबै संक्रमितहरु खुल्नुपर्छ भन्ने मेरो धारणा हो । म संक्रमित भएर पनि धेरै स्वस्थ छु । दिनभर अन्य व्यक्तिहरू जस्तै काम गर्छु । मलाई अन्य एचआईभी संक्रमित दाजुभाइ तथा दिदी–बहिनीहरुको लागि वकालत गर्न पाउँदा खुशी लाग्छ ।

वि.सं. २०६२ सालमा जब उनले अस्पतालको शैयामा एचआईभी संक्रमित भएको रिपोर्ट पाए, छाँगाबाट खसेजस्तै भयो । जीवन सकिएजस्तो लाग्यो । उनलाई बाँच्न पटक्कै मन थिएन । धेरै पटक उनी हातमा चक्कु बोकेर आत्महत्याको बाटो रोज्ने प्रयासमा समेत लागे । कहिले गुडिरहेको बसबाट त कहिले घरको छतबाट हाम फाल्न खोजे । तर जब–जब उनी यस्तो सोच्थे ठीक त्यहीबेला आँखामा वृद्ध बुवाको तस्बिर आइपुग्थ्यो । अनि पछि हट्थे ।

थुप्रै पटक आत्महत्याको प्रयास गरे पनि बुवाको मुख हेरेर बाँच्ने साहस बोकेर नयाँ जीवन सुरु गरेका देवेन्द्र पाठक अहिले अरु धेरैका लागि प्रेरणाका स्रोत बनेका छन् । धादिङ जिल्लामा वि.सं. २०३३ साल वैशाखमा जन्मिएका देवेन्द्र हाल नवकिरण प्लस सामुदायिक हेरचाह केन्द्र सुर्खेतको कार्यक्रम संयोजकको रूपमा काम गर्दै आएका छन् । सुरुको अवस्थामा आत्महत्याको बाटो रोजेका पाठक अहिले अभियन्ताको रूपमा काम गर्दै आएका छन् । उनका लागि एचआईभी रोग होइन । नियमित औषधि उपचार गरे पूरा आयु बाँच्न सकिने उनी बताउँछन् । एचआईभी संक्रमितहरूको पक्षमा काम गर्दै आएका पाठकले आफ्नो जीवनभोगाइका कथा हाम्रा सहकर्मी सीता वलीसँग यसरी साटे:

एसएलसी उत्तीर्ण भएपछि वकिल बन्ने सपना बोकेर पृथ्विनारायण क्याम्पस पोखरामा कानुन विषय पढ्न थालें । अध्ययन अघि बढ्दै थियो जीवनमा एउटा दुर्घटना भयो । वि.सं. २०६२ सालमा एचआईभी संक्रमण देखियो । सुरुको चरणमा त एकदमै अप्ठ्यारो भयो । बाँच्ने कुनै रहरै थिएन । आमा भर्खरै बित्नुभएको । रोग लुकाएरै मर्ने सोच बनाए पनि ६० वर्षीय वृद्ध बुवाको मुख हेरें । मलाई मर्न मन लागेन । विस्तारै मैले आफूलाई सम्हाल्दै नवकिरण प्लस काठमाडौंका अध्यक्ष राजीव काफ्ले सरसँग भेट्न गएँ । उहाँ आफै पनि एचआईभी संक्रमित हुनुहुन्थ्यो । उहाँको हौसला र प्रेरणाले मलाई बाँच्ने उर्जा दियो ।

कानुनमा स्नातक गर्दै गरेको मेरो बाटो मोडियो । सायद कानुनको पढाइ पूरा गरेको भए म वकिल बन्थेँ होला । तर यो क्षेत्रमा धेरै एचआईभी संक्रमितहरूको घाउमा मल्हम लगाउँदैछु । यो पनि वकालतको क्षेत्र हो । मैले पोखरामा बस्दा धादिङ–पोखरा सम्पर्क समितिमा रहेर काम गरें । जब म संक्रमित भएँ नवकिरण प्लसमा रहेर काम गर्दै आएको छु ।

रोगलाई लिएर समाजले घृणा गर्छ

आजको २१ औँ शताब्दीमा आएर पनि हाम्रो समाज रोगलाई लिएर व्यक्तिलाई घृणा गर्छ । त्यसमा पनि कर्णालीमा यो अवस्था अझ विकराल छ । करिब १५ वर्ष अगाडि म एचआईभी संक्रमित हुँदा पनि मेरो केही साथीभाइहरू र मेरा नातेदारहरू मसँग टाढा हुनुभयो । वास्तवमा एचआईभी रोग होइन । नियमित औषधि सेवन गरे पूरा आयु बाँच्न सकिन्छ ।

नेपाल सरकारका विभिन्न अस्पतालहरूमा समेत औषधि निःशुल्क रूपमा वितरण गरिएको छ । तर पनि समाजको डरले धेरै व्यक्तिहरू खुल्न सक्नुभएको छैन । मेरो जीवनमा खासै धेरै समस्या त भएन । मेरो परिवारले सुरुमा रोगबारे अनौठो व्यवहार देखाए पनि मलाई सहर्ष स्वीकार्नु भयो । तर धेरै संक्रमितहरू आज पनि परिवार तथा समाजलाई रोग लुकाई राख्नु भएको छ । कर्णालीको अवस्था हेर्ने हो भने करिब ६ सय जना संक्रमितहरू हाम्रो सम्पर्कमा हुनुहुन्छ । जसमध्ये ८० प्रतिशत खुल्नुभएको छ भने २० प्रतिशत अझै लुकेरै उपचार गराइ रहनु भएको छ ।

एचआईभी संक्रमित खुल्नुपर्छ

पछिल्लो समय एचआईभी सामान्य भइसक्यो । अन्य दीर्घ रोग भन्दा यो रोग लागेका मानिसहरू स्वस्थ देखिन्छन् । नियमित आयु लम्बाउने औषधि सेवन गरेको खण्डमा पूरा आयु बाँच्न सकिन्छ । एचआईभी संक्रमितहरू खुलेर आउनु पर्छ । यसको लागि तीनै तहका सरकारले समेत बजेट विनियोजन गरी जनचेतनामूलक कार्यक्रमहरू गर्नु जरुरी छ ।

नवकिरण प्लस जो एचआईभी संक्रमितहरूको पक्षमा वकालत गर्ने संस्था हो । जसले औषधि उपचार, हेरचाहदेखि पैरवीको समेत काम गर्दै आएको छ । हामीहरूले सेल्टरमा राखी संक्रमितहरूलाई उपचार गर्ने व्यवस्था समेत गर्दै आएका छौं । त्यसमा कर्णाली प्रदेश अस्पतालले समेत सहयोग गर्दै आएको छ ।

नवकिरण प्लस विशुद्ध रूपमा संक्रमितहरूकै नेतृत्वको संस्था हो । जसरी म समाजमा खुलेर अन्य दाजुभाइ तथा दिदीबहिनीहरूको लागि वकालत गर्दै हिँडेको छु । त्यसरी नै सबै संक्रमितहरू खुल्नुपर्छ भन्ने मेरो धारणा हो । म संक्रमित भएर पनि धेरै स्वस्थ छु । दिनभर अन्य व्यक्तिहरू जस्तै काम गर्छु । मलाई अन्य एचआईभी संक्रमित दाजु–भाइ तथा दिदी–बहिनीहरूको लागि वकालत गर्न पाउँदा खुशी लाग्छ । त्यो बेला दुर्घटना घट्यो भन्ने लाग्थ्यो तर आज गर्व लाग्छ । कि धेरैको घाउमा मल्हम लगाउन पाएको छु । धेरैको आँशु पुछेको छु । अनी धेरैलाई बाँच्ने प्रेरणा दिएको छु ।

यो अभियानमा निजी क्षेत्रले मात्रै केही गर्न सक्दैन सरकारको समेत ध्यान जानु जरुरी छ । एचआईभी संक्रमितहरूको लागि बजेट विनियोजन गर्ने व्यवस्था सरकारले गरेको खण्डमा धेरै सहज हुने थियो । जबसम्म मेरो जीवन रहन्छ तबसम्म म यही क्षेत्रमा वकालत गर्नेछु । एचआईभी संक्रमितहरूको पक्षमा काम गर्नेछु ।

प्रकाशित मितिः   १८ मंसिर २०७६, बुधबार ०९:१५