पानी सुकेर चौर बन्यो बराहताल

सुर्खेत : सुर्खेत जिल्लाकै सबैभन्दा ठूलो बराहतालको पानी सुकेपछि ताल चौरमा परिणत भएको छ । गत जेठ महिनादेखि बराहतालको पानी सुकेको स्थानीयले बताएका छन् । यो ताल बराहताल गाउँपालिका वडा नं. ४ तरंगामा रहेको छ । बीच जंगलमा १२ विगाह जमिनमा फैलिएको ताल वरीपरीको लम्बाई दुई किलोमिटर रहेको छ । बराहताल विकट ठाउँमा हुनु र तालको संरक्षणमा सम्बन्धित निकायले चासो नदिँदा ताल सुकेको स्थानीय बताउँछन् । स्थानीय पूर्ण महताराले समयमै सम्बन्धित निकायले संरक्षणमा ध्यान नदिँदा ताल सुक्ने अवस्थामा पुगेको बताए । स्थानीयले २०७२ सालमा गएको भूकम्पपछि र जथाभावी डोजरले बाटो खनेपछि तालको पानी सुकेको हुनसक्ने बताएका छन् ।

बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले बराहताल कसरी सुक्यो र यसलाई पहिलेको अवस्थामा फर्काउन सकिन्छ भनेर छलफल भइरहेको बताए । उनका अनु्सार खडेरीको समयमा यस अघि पनि ताल केही मात्रामा सुकेको थियो । अहिले तालमा पानि नभएपछि गाईबाख्रा चर्ने ठाउँमा परिणत भएको उनको भनाइ छ । अध्यक्ष बस्नेतले गाउँपालिकाले बराहतालको विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने तयारी भइरहेको पनि जानकारी दिए । ‘पहिले पनि अलि–अलि ताल सुकेको थियो । हामीले यसकोे संरक्षणका लागि डीपीआर बनाउने तयारी पनि गरेका थियौं । एक्कासी ताल सुकेको पायौँ’ उनले भने ।

ताल सुकेपछि बराहतालको अवस्था बुझ्न कर्णाली प्रदेशका मुख्यसचिव केवलप्रसाद भण्डारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यसहितको टोली अनुगमन गरेको छ । टोलीले स्थानीयसँग ताल सुक्नुको कारण र कसरी यसलाई पुरानै अवस्थामा फर्काउन सकिन्छ भनेर छलफल गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यले ताल सुकेको जानकारी पाएपछि तालको अवस्थाको विषयमा स्थानीय र जनप्रतिनिधिसँग बुझेको बताए । बराहताल क्षेत्र राष्ट्रपति चुरे विकास संरक्षण क्षेत्रमा पर्छ । मन्त्रालयले सम्बन्धित विज्ञलाई ल्याएर ताल सुक्नुको कारण पत्ता लगाउने र त्यसपछि यसलाई पुरानै अवस्थामा कसरी ल्याउन सकिन्छ भनेर योजना बनाउने उनले बताए । उनले अर्को हप्ताभित्र तालको विषयमा सरोकारवालाहरूसँग छलफल गर्ने तयारी गरेको जानकारी दिए । तालको वरिपरी पानीको मुल नभएकोले पनि सुक्न सक्ने उनको भनाइ छ । ‘तालमा भएको पानी के कारणले सुक्यो भनेर हामीले सम्बन्धित विज्ञहरूलाई ल्याएर बुझ्छौं र त्यसपछि के गर्न सकिन्छ भनेर योजना बनाउँछौं’ आचार्यले भने ।