‘चाडपर्वमा मात्रै नयाँ लुगा पाइन्थ्यो’

                                                        कुमार ढकाल

वीरेन्द्रनगर–६, सुर्खेत निवासी कुमार ढकाल अमरज्योति नमुना माध्यमिक विद्यालयमा कार्यरत शिक्षक हुन् । झण्डै ३६ वर्षदेखि शिक्षण पेसामा रहेका ढकाल सामाजिक र नेपाली विषय अध्यापन गराउँछन् । अध्यापन सँग–सँगै उनी सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् ।
वि.सं. २०१७ पुस १ गते बुवा गंगाबहादुर ढकाल र आमा मानकुमारी ढकालको सन्तानका रूपमा तत्कालीन गर्पन पञ्चायत (हाल वीरेन्द्रनगर नगरपालिका वडा नं. १६) मा जन्मिएका ढकालले हाम्रा सहकर्मी मुना हमालसँग आफ्नो बाल्यकालको सम्झना यसरी साटेः

गर्पन पञ्चायतमा जन्मिएँ । हामी आठ भाइ–बहिनी हौं, चार भाइ र चार बहिनी । म जेठो सन्तान । बाल्यकाल रमाइलोसँग बित्यो । विशेष गरेर पढाइमा नै समय बाल्यकाल बित्यो । पाँच÷छ वर्षको उमेर छँदै विद्यालय गएँ । आदर्श मेडिल स्कुल (हाल आदर्श मावि) मा पढें । मैले यस विद्यालयमा कक्षा ८ सम्म पढें । भौगोलिक विकटता थियो । ग्रामीण परिवेशमै हुर्किएँ । विद्यालय जान १० मिनेट समय लाथ्यो । दिनभरी विद्यालयमा पढाइ हुन्थ्यो । बिहान–साँझ घरको काम गर्नुपथ्र्यो ।

छिमेकमा अरु चार÷पाँच जना साथी थिए । सबै साथीहरूको नजिकै घर थियो । पुरानो मोजामा कपडा हालेर भकुण्डो बनाएर फुटबल खेलेको सम्झना छ । बिहान घरको काम सकेर खाना खाएर विद्यालय जानुपथ्र्यो । त्यसबेलामा पैसा पाउनै मुस्किल पथ्र्यो । एकसयको नोट देख्दा अचम्म लाग्थ्यो । हामी केटाकेटीले पाँच पैसा, २५ पैसाका आठ आना पैसा पाउँथ्यौं । पाँच पैसाले सुन्तला किन्यो भने पाँच वटा पाइन्थ्यो । विद्यालयमा बिक्री गर्न ल्याएको समयमा किनेर खान्थ्यौं । विद्यालय वरीपरी पनि काफल, चुत्रो, दुधिलो, बेडुलो पाइन्थ्यो । दिउँसोको छुट्टीमा खान जान्थ्यौं । मकै, भट्ट, गहुँ, भुटेर खाजा खान्थ्यौं ।

विद्यालयमा शनिवारको समयमा गोठाला जान्थ्यौं । गाईभैसी, बाख्रा नपालेसम्म घरव्यवहार धान्नै समस्या हुन्थ्यो । बिदाको समयमा साथीहरू मिलेर गोठाला जाने खेल्ने अनि रमाउने समय हुन्थ्यो । जंगलमा खोला हुन्थे । साथीहरू मिलेर माछा मार्ने अनि त्यही आगो बालेर पोलेर खाने गथ्र्यौं । म आफूभन्दा ठूलोले गरेको कुरा सुन्न रुचि राख्थें । इन्डियाबाट फर्किएका व्यक्तिहरूको अनुभव सुन्न मन पथ्र्यो । गाउँमा रेडियो सुन्ने त्यति चलन थिएन । सबैका घर–घरमा रेडियो हुन्थेनन् । गाउँमा सीमित घरमा मात्र रेडियो हुन्थ्यो । रेडियामा समाचार र गीतसंगीत सुन्न म बढी रुचि राख्थे । कहिलेकाहीँ सानोतिनो बद्मासी पनि गरियो । विशेष गरेर बुवाको कोटबाट पैसा चोर्ने । कहिलेकाहीँ आमाको थैलीबाट पनि पैसा चोर्ने गरियो । तर ठूलै बद्मासी भने गरिएन ।

पढाइमा राम्रै थिएँ । कक्षा ९ देखि पब्लिक हाइस्कुलमा पढ्न थालें, जुन हाल जन माध्यमिक विद्यालय भयो । वि.सं. २०३३ सालमा पूरानो शिक्षा परिवर्तन भयो । हामीले त्यसबेलामा अंग्रेजी विषय प्रथम अंग्रेजी, द्वितीय अंग्रेजी पढ्नुपर्ने हुन्थ्यो । हामीले पाटीमा खरीले लेख्ने गथ्र्यौं । पछि विस्तारै चाइनिज पेन आउन थाले । क्याम्पस पढ्ने बेला मात्र हामीले डट्पेनले लेख्न पाएको हौं । चाडपर्वमा धेरै रमाइलो हुन्थ्यो । चाडपर्व आएपछि मात्र नयाँ कपडा लगाउन पाइन्थ्यो । दशैंतिहारका लागि भनेर महिनौंदेखि खसी पालेर राख्ने चलन हुन्थ्यो । त्यसबेलामा यति किलो भन्ने हुँदैनथ्यो । धारनीले हिसाब गरिन्थ्यो । १९ धारनी, २० धारनीको खशी काटियो भनेर गाउँमा हल्ला चल्थ्यो । टाढा–टाढाका आफन्तहरूबीच भेटघाट हुन्थ्यो । सेलरोटी खान बेग्लै मजा आउँथ्यो । चर्के र लिङ्गे पिङ खेल्दा रमाइलो हुन्थ्यो । चाडपर्वका समयमा ठूलठूला जात्रा लाग्थे । रातीको समयमा जात्रामा रमाइलो हुन्थ्यो । घरबाट भने जान दिनुुहुन्थेन । हामी राती भागेर जान्थ्यौं । रातभरी जात्रामा बस्ने अनि दिउँसो विद्यालयमा निदाउँदा सरको पिटाइ पनि खाएको सम्झना छ ।

पहिलेको तुलनामा अहिले हरेक क्षेत्रमा विकास भएको छ । त्यसबेलामा हिँडेर नै नेपालगन्ज हाट जानुपथ्र्यो । सधैंभरी गइरहन पनि समय हुन्थेन । बाटोमा सुरक्षाका हिसाबले पनि उचित हुन्थेन । त्यही भएर धेरै जना भएर वर्षमा एक पटक वर्षभरीलाई पुग्ने सामान किनेर ल्याउनुपर्ने हुन्थ्यो । नेपालगन्ज हिँडेरै आउने–जाने भएकाले करिब १० दिनका लागि बाटो खर्च व्यवस्थापन गरेर जानुपथ्र्यो । एकै पटक ७०÷८० जनाको समूह हुन्थ्यो । एक पटक बुवासँग नेपागन्ज हाट जान पाएको थिएँ । बुवा घरबाट हिँडिसकेपछि म भागेर उहाँहरूलाई भेटाउन चिङ्गाडखोला पुगेर भेटाएँ । घर फर्काउन बुवाले कोशिस गर्नुभएको थियो । पछि अरु छिमेकीले भनेपछि बुवाले मलाई नेपालगन्ज लैजान अनुमति दिनुभयो । पहिलो पटक नेपालगन्ज जान पाउँदा रमाइलो भयो । त्यहाँको रङ्गीचङ्गी अहिले पनि त्यस्तै छ भन्ने लाग्छ । नेपालगन्जमा फोटो खिचेको, मिठाइ किनेर खाएको सम्झना छ । चिनीको बतासा, भेली, पिपलमेन्ट चक्लेट बुबाले धेरै किनिदिनुभएको थियो ।

बाल्यकालमा शिक्षक बन्छु भन्ने सपना थियो । त्यसबेलामा आफ्नै गाउँ ठाउँमा शिक्षक पाउन गाह्रो हुन्थ्यो । हामीलाई पढाउने शिक्षकको घर कहाँ हो भनेर सोध्दा पनि कसैले इण्डिया, नेपालगन्जतिर भन्नुहुन्थ्यो । त्यसमाथि शिक्षकलाई समाजमा छुट्टै मानसम्मान हुन्थ्यो । गाउँमा केही परेपछि शिक्षकलाई सोध्ने, गाउँका हरेक ठाउँमा शिक्षकको आवश्यकता महसुस गरे बोलाउने अनि मानसम्मान गर्ने गर्थे । समाजमा शिक्षकको राम्रो प्रभाव परेकाले पनि मलाई शिक्षक बन्ने चाहना थियो ।

एसएलसी पछि म पढ्न काठमाडौँ पढ्न गएँ । त्यसबेलामा सुर्खेतमा एसएलसीसम्म मात्र पढाइ हुन्थ्यो । त्यसपछि नेपालगन्ज पनि पढ्न पाइन्थ्यो । तर मलाई बुवाले पढ्नका लागि काठमाडौं पठाउनुभयो । त्यसबेलामा हामी सुर्खेतका सात÷आठ जना साथीहरूसँगै पढ्न गएका थियौं । काठमाडौँमा मैले आईएड र बीएड पढेँ । मैलै काठमाडौँ पढ्दै गर्दा पनि विजय मेमोरियल हाइस्कुलमा पढाएँ । दशैँ बिदामा घर आएको बेलामा मैले गाउँमै शिक्षण पेसा सुरु गरें । शिक्षा सम्बन्धी नै पढेकाले बुबाले पनि आफ्नै गाउँमा सेवा गर्न सुझाव दिनुभयो । आफैले औपचारिक शिक्षा सुरु गरेको आदर्श माविबाट मैले यहाँ पढाउन सुरु गरँे । २०४० सालबाट अहिले शिक्षण पेसामा छु । २०४३ सादेखि हालसम्म अमरज्योति माविमा पढाइरहेको छु । पछि एमएड भने मैले सुर्खेत शिक्षा क्याम्पसबाट गरे ।

शिक्षण पेसासँगै मैले सामाजिक कार्य र पत्रकारितामा पनि संलग्न हुने अवसर पाएँ । नेपाल पत्रकार महासंघ सुर्खेत शाखा स्थापना हुँदा म चासो साप्ताहिक पत्रिकामा आवद्ध थिएँ । पछि जनचासो साप्ताहिकमा पनि आवद्ध भएर काम गरें । सँगै रेडक्रसमा आवद्ध भएर पनि सामाजिक काम गर्ने अवसर मिल्यो । अब केही समयपछि शिक्षण पेसाबाट अवकाश हुँदैछु । अब बाँकी जीवन समाज सेवामा नै बिताउने योजना छ । विशेष गरेर किशोरकिशोरी तथा युवाहरू अहिले लागुऔषध दुव्र्यसनमा फसिरहेका छन् । यसविरुद्ध एउटा सशक्त अभियान सञ्चालन गर्नुपर्छ भन्ने लाग्छ । एउटा टिम बनाएर यसको न्यूनीकरणमा लाग्ने योजना बनाएको छु ।

प्रकाशित मितिः   १६ मंसिर २०७६, सोमबार ०८:०८