पुरुषमाथि घरेलु हिंसा

कुटपिटदेखि घर निकालासम्म

महिलामाथि हुने घरेलु हिंसाको संख्या निक्कै धेरै छ । यद्यपि पछिल्लो समय थोरै संख्यामा भए पनि आफूमाथि हिंसा भएको भन्दै पुरुषहरु अदालतसम्म पुग्न थालेका छन् ।

सुर्खेत : महिलामाथि हुने घरेलु हिंसाका समाचार दैनिकजसो सञ्चारमाध्यममा आइरहन्छन् । श्रीमान्बाट श्रीमती कुटिएकादेखि घर निकालासम्मका घटना नेपाली समाजका लागि अब नौला रहेनन् । तर पछिल्लो समय यस्ता घटना पनि सार्वजनिक हुन थालेका छन् जहाँ पुरुषहरू घरेलु हिंसाको सिकार भएका छन् । विगतमा निकै न्यून संख्यामा सार्वजनिक हुने पुरुषमाथि हुने हिंसाका घटना पछिल्लो समय भने धमाधम सार्वजनिक हुन थालेका छन् । आफूमाथि हिंसा भएको भन्दै पुरुषहरू न्यायका लागि अदालत धाउन थालेपछि यस्ता घटना पनि बाहिर आउन थालेका हुन् । अदालतसम्म पुगेका पुरुषमाथि हुने घरेलु हिंसाका घटना हेर्दा तिनको प्रकृति भने पुरुषले महिलामाथि गर्ने हिंसासँग मिल्दाजुल्दा नै छन् । श्रीमतीले कुटपिट गरेकादेखि घर निकाला गरिएकासम्मका घटना अदालतमा पुगेका हुन् ।

जिल्ला अदालत सुर्खेतमा पनि यस्ता घटना दर्ता भएका छन् । गत साउन महिनादेखि मंसिर ५ गतेसम्म जिल्ला अदालत सुर्खेतमा २८ वटा घरेलुहिंसाका घटना दर्ता भएका थिए । जसमध्ये सात वटा घटना महिलाले पुरुषमाथि घरेलुहिंसा गरेको सम्बन्धी छन् । श्रीमतीबाट हिंसा भएको उजुरी लिएर पुरुषहरू अदालत आएको जिल्ला अदालत सुर्खेतका श्रेस्तेदार भुपाल भण्डारीले जानकारी दिए । उनका अनुसार श्रीमतीले कुटपिट गरेको, खान–लाउन नदिएको तथा घर निकाला गरेको आरोपमा पुरुषहरूले श्रीमतीविरुद्ध मुद्दा दर्ता गराएका हुन् ।

कतिपयले श्रीमतीले अपशब्द बोलेको आरोपमा उजुरी दर्ता गराएका छन् भने कतिपयले आर्थिक जिम्मेवारी आफैले लिएको र घरसल्लाह नगरी व्यवहार चलाएको भन्दै पुरुषहरूले श्रीमतीविरुद्ध घरेलुहिंसाको मुद्दा दर्ता गराएको भण्डारीले जानकारी दिए । उनले यस्ता प्रकृतिका मुद्दा पहिले नआएको भन्दै नयाँ कानुनी व्यवस्था अनुसार पुरुषहरू पनि अदालतसम्म आउने क्रम बढेको बताए । ‘पहिले यस्ता मुद्दा आएका थिएनन्’ भण्डारीले भने ‘यी मुद्दाहरू दर्ता भइ विचाराधिन अवस्थामा छन् ।’ निवेदकले अन्तरिम आदेशमाग गरेको अवस्थामा श्रीमतीले श्रीमान्लाई संरक्षण गर्नुपर्ने संरक्षणात्मक आदेश अदालतले दिने भण्डारीले बताए । संरक्षणात्मक आदेशलाई फैसला भन्न नमिल्ने समेत उनले जानकारी दिए । घरेलुहिंसा भएको ठहर भएमा कानुनी कारबाही हुने उनले बताए ।

‘अहिलेसम्म कुनै पुरुषलाई घरेलु हिंसा गरेको कसूरमा महिलाले कानुनी सजाय पाएको अवस्था जिल्ला अदालत सुर्खेतमा छैन’ उनले थपे ‘धेरै घरेलु हिंसाका मुद्दाहरू बीचमै मिलापत्र हुने गर्दछन् ।’ अदालतले समेत सम्बन्धमा दरार नआओस् भन्दै सकेसम्म मेलमिलापकै प्रयत्न गर्ने उनले बताए । आफूमाथि हिंसा भएको भन्दै पुरुषहरूले पनि सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन् । त्यसो त यसरी आफूमाथि हिंसा भएको भन्दै न्याय माग्न अदालत पुग्ने पुरुषहरूको संख्या अत्यन्तै न्यून छ । घरेलु हिंसाका घटनाहरू हेर्ने हो भने महिलाहरूमाथि हुने हिंसाको संख्या निक्कै धेरै छ । कर्णाली प्रदेशमा मात्रै पछिल्लो तीन वर्षमा दुई हजार पाँच सयभन्दा बढी महिलाले घरेलु हिंसाको उजुरी प्रहरीमा दर्ता गराएका छन् । मध्यपश्चिमाञ्चल विश्व–विद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायकी उप–प्राध्यापक कमला तिवारी भने पछिल्लो समय पुरुष हिंसामा पर्नुको कारण अधिकारको दुरूपयोग भएको बताउँछिन् । ‘महिलाहरू लामो समयदेखि हिंसामा पर्दै आएका हुन्’ उनले भनिन् ‘प्रतिकार गर्ने नाममा पुरुषहरूलाई हिंसा भएको हो ।’ आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकारको ख्याल गर्न नसक्दा समेत पछिल्लो समय हिंसाको दर बढ्दै गएको उनको बुझाइ छ । ‘महिलाहरूमा चेतनाको विकास त भएको छ, तर अहिले त्यो चेतनाको पूर्ण विकास नभइ अल्पविकासको अवस्था हो । जसले घरेलु हिंसालाई बढवा दिएको छ’ तिवारीले साझा बिसौनीसँग भनिन् ।

सामाजिक सम्बन्धलाई समेत सही विकास गर्न नसक्नु हिंसाको अर्को कारण भएको समेत उप–प्राध्यापक तिवारीको बुझाइ छ । समग्रमा समाजमा पुरुषलाई भन्दा महिलालाई घरेलु हिंसा हुने गरेको बताउँदै बदलाको भाव भन्दा पारिवारिक तथा सामाजिक सम्बन्ध सुमधुर बनाउने कुरामा सबै लाग्नुपर्ने उनले बताइन् । हिंसा कसैमाथि पनि गर्न नहुने तिवारीको तर्क छ ।

प्रकाशित मितिः   १३ मंसिर २०७६, शुक्रबार ०९:१९