प्रेमले जितेपछि भागेर विवाह

प्रेम गर्ने कुनै सूत्र हुँदैन । आँखाको आकर्षण र मनले गर्ने आभाष नै प्रेम हो । जब आँखाले देखिन्छ, मनले आभाष गर्छ र व्यवहारले लोभ्याउँछ तब प्रेम हुन्छ । ठीक यसरी नै बसेको थियो घनश्याम पाण्डेलाई अमृता गौतमसँग प्रेम ।
उनी तत्कालीन वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा पढ्दै थिए । कसैलाई देख्दा उनको अनुहारको आभा चम्किन थालेको थियो । मनमा आत्मीय अनुभूतिको कम्पन हुन थालेको थियो । प्रेमको चुम्बकले पाण्डेलाई कसैको नजिक–नजिक तानिरहेको थियो । यसरी उनका आँखा र मनलाई लोभ्याएर आफूतिर तानिरहने युवती थिइन्, अमृता ।
अमृता पनि बहुमुखी क्याम्पसमा नै पढ्दै थिइन्, पाण्डेभन्दा एक व्याचपछि । तर पाण्डेलाई अमृता कलेजका अरु युवतीहरूभन्दा भिन्दै लाग्थ्यो, अरुभन्दा राम्री पनि । उनको रूप, बोली र व्यवहार सबैले पाण्डेलाई आकर्षित गरेको थियो । हुन त उनीहरू दुवै बाल्यकालदेखि नै एउटै विद्यालयमा पढ्दै आएका थिए । तर, बाल्यकालमा दुवैलाई एकअर्काेको वास्ता थिएन । दुवैको घर कुनाथरी–५ मा नै
थियो । नजिकै घर भए पनि कुनै वास्ता थिएन । एउटै विद्यालयबाट एसएलसी पास गरेका उनीहरूको सामान्य चिनजान भने पहिलादेखि नै थियो । उनीहरू भन्छन्, ‘हाम्रो चिनजान पहिलेदेखि नै थियो तर, बोलचाल भने भएको थिएन ।’
क्याम्पसमा पढ्न थालेदेखि दुवै जना एकअर्काेबीच नजिक हुँदै गए । उनीहरूको विचार पनि मिल्यो । दुवैले एकअर्काेलाई मन पराउन थाले । मन त दुवैले पराउँथे तर भन्न सकिरहेका थिएनन् । व्यक्त गर्न नसकेकै कारण दुवैजनाले सम्बन्धलाई नजिकका साथीको रूपमा कायम राखे । उनीहरू सम्झिन्छन्, ‘हामी एकदमै मिल्ने साथी थियौं, त्यसैले पनि भन्ने आटँ आएन ।’ न पाण्डेले भन्न सके, न अमृताले भनिन् । मित्रता नै टुट्छ कि भन्ने डर हुँदो हो दुवैको मनमा ।
दिनहरू बित्दै गए । अमृताको घरमा उनको विवाहको कुरा गाइँगुई चल्न
थाल्यो । ‘बढेकी छोरीलाई घरमा धेरै राख्नु हुन्न’ भन्न थाले अभिभावकहरू । ‘राम्रो कुटुम्ब आए छाड्नुहुन्न’ पनि भने । राम्रोमध्ये राम्रो भनेर केटा छानिन थाले । घरभित्र चल्ने यस्ता गाइँगुइँ बढ्दै गएको थियो भने अमृताको मनमा बेचैनी पनि बढाएको थियो ।
अमृताको घरमा उनको विवाहको कुरा चलेको पाण्डेले पनि थाहा पाए । एकअर्काेको माया यतिमै टुङ्गिने हो कि भन्ने पीर दुवैलाई हुन थालिसकेको थियो । दुवैले एकअर्काेलाई माया गर्छन् तर भनेका छैनन् । फेरि अमृताको घरमा विवाहको कुरा चलिरहेको छ । धर्मसङ्कटमा परेको थियो दुवैको मन तर, पाण्डेले आफूमा हिम्मत जुटाएरै मुख
खोले । सुरुमै उनले अमृतासँग प्रेम प्रस्ताव राखेनन् । उनले अमृतासँग एक्कासी विवाह प्रस्ताव राखे । अमृतालाई पनि ढुङ्गा खोज्दा देउता मिलेजस्तै भयो । उनले पनि सहज रूपमा नै स्वीकार गरिन् । नगरुन् पनि कसरी आफूले मन पराएको मान्छेले विवाह गरौँ भन्दा । त्यहि माथि घरमा विवाहको कुरा चलिरहेको बेला पाण्डेको विवाह प्रस्ताव उनको लागि खुशीको कुरा नै थियो । एकअर्काेको प्रेम सफल बनाउन उनीहरूले २०५८ सालमा भागी विवाह गरे ।
घरमा छोरीको विवाहको लागि कुटुम्बको खोजी भइरहेको बेला छोरी अर्कै केटासँग भागेको सुन्दा जो कसैको बाबुआमाको मन दुख्छ नै । अमृताका बाबुआमाको मन पनि त्यतिकै दुखेको
थियो । विवाहपछि करिब दुई महिनासम्म अमृतासँग उनका बाबुआमा रिसाए । तर, पनि बाबुआमाको मन न हो कति समयसम्म आफ्ना छोरा–छोरीसँग रिसाएर बस्न
सक्छन् र ? फेरि बाबुआमा मात्र यस्ता व्यक्ति हुन् जुन आफ्ना सन्तानले गरेका हजारौ र जति ठूलो गल्तीलाई पनि सहज रूपमा माफ गर्न सक्छन् । त्यस्तै माफी अमृताले पनि दुई महिनापछि पाइन् ।
उनलाई विवाहपछि बल्ल अनुभूति भयो कि छोरी हुँदा बग्लै आनन्द आउँदो रै’छ । छोरी र बुहारीको भूमिका एउटै व्यक्तिले गर्नुपर्ने थियो । जब छोरी हुँदा सबैको माया ममतामा हुर्किएको आफु खुशी काम गर्ने, जान मन लागेको ठाउँमा सहजै जान पाइने तर, बुहारी भइ सकेपछि भने अरुको अनुमति विना घर बाहिर जान नपाइने र घरको हरेक चीजलाई आफ्नो बनाउन थुप्रै चुनौतीहरू पार गर्नुपर्ने अमृताले पनि यस्तै अनुभव गरिन् छोरी र बुहारी हुनमा ।
विवाह भन्दा अगाडि जसरी जीवन सहज रूपमा अगाडि बढेको थियो । तर, विवाहपछिका दिनमा उनीहरूका सङ्घर्षका दिनहरू सुरु भयो । विवाह पछिका दिनमा पाण्डे वीरेन्द्रनगरमा बसेर राजनीतिमा लागे भने अमृता भने गाउँकै विद्यालयमा पढाउन थालिन् । विवाह पछिका धेरै समय छुटिएका जोडीको मेहेनत र लगनशीलताले नै आज उनीहरू सफल भएका छन् । दुवै जनाले वीरेन्द्रनगरमा पब्लिक एकेडेमी स्कुल सञ्चालन गरेका छन् ।
पिता भविलाल पाण्डे र माता पद्मादेवी पाण्डेको कोखबाट २०३७ सालमा सुर्खेतको कुनाथरी गाविसमा जन्मिएका घनश्याम पाण्डेको बाल्यकाल मध्यम परिवारमा भए पनि सुखद्सँगै बितेको थियो । बाल्यकालमा पढाइ र घरमा बुबाआमालाई काम सघाउँदै र साथीभाइसँग रमाउँदै बित्यो । उनी बाल्यकालमा विद्रोही स्वभाव र अलि चञ्चले स्वभावका थिए । कहिलेकाहीं साथीसँग झगडा गर्न पनि अघि सरी हाल्ने उनको स्वभाव थियो । उनले एसएलसीसम्म बड्डीचौरको जनज्योति माविमा पढे त्यस पछिका दिनमा उनी प्रायः वीरेन्द्रनगरमा नै हुन्थें । उनी कक्षा ६ मा पढ्दादेखि नै अनेरास्ववियुमा आवद्ध भएका थिए । उनी कक्षा १० मा पढ्ने बेलासम्म इलाका कमिटीका सदस्य समेत भइसकेका थिए । उनलाई राजनीतिको मोह भने २०४८ सालमा निर्वाचन हुँदा नेकपा एमालेका बालाराम शर्मा र नेपाली कांग्रेसका शिवराज जोशी चुनाव लड्दा बालाराम शर्माको तस्बीरमा लेखिएको ‘बेरोजगारीलाई रोजगार, जोताहालाई खेत’ भन्ने नाराले नै प्रभाव
पा¥यो । त्यसपछिका दिनमा उनी पनि राजनीतिमा प्रवेश गर्ने मोह झन बढ्दै गयो । र उनी अहिले नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको सचिवालय सदस्यका रूपमा काम गरिरहेका छन् ।
उनलाई राजनीतिबाट समाज सेवा गर्न पाउँदा आनन्द पनि लाग्ने गर्छ । उनको राजनीति यात्रा जसरी विद्यार्थीकालदेखि सुरु भएको थियो । त्यसरी नै अहिले पनि चल्थेन होला सायद अमृता उनको जीवनमा नआएको भए । उनले भने, ‘मेरो बाल्यकालदेखिको राजनीतिमा लाग्ने इच्छा र सपना अमृताले नै पूरा गरीदिइन्, उनी मेरो जीवनमा नआएको भए सायद म राजनीतिमा प्रवेश नै गर्न पाउँथिन होला ।’ विवाह पछिका दिनमा अमृताले घरव्यवहार सबै राम्रोसँग सम्हालेपछि नै पाण्डे घर बाहिरका काममा लाग्न सफल भएका हुन् ।
पिता मायाराम गौतम र माता दुर्गादेवी गौतमको कोखबाट २०३८ सालमा कुनाथरी गाविसमा जन्मिएकी अमृताको बाल्यकाल सुखद नै थियो । बाल्यकालमा पढाइ लेखाइमा नै बित्यो । उनी बाल्यकालमा अलि जिज्ञाशु स्वभावकी थिइन् । उनले पनि बड्डीचौरको जनज्योति माविबाट नै एसएलसी पास गरिन् । उनको भविष्यमा सरकारी जागिर खाने बाल्यकालदेखिको सपना थियो । पढ्दा पढ्दै विवाह भयो विवाह पछि आर्थिक समस्यालाई सुल्झाउँदैमा सानो तिनो जागिरमा नै दिन बिताउनु प¥यो । उनले भनिन्, ‘हुन त मान्छेको सबै सपना पूरा हुँदैनन् मेरो पनि भविष्यमा सरकारी जागिर खाने सपना थियो विवाहपछि घरव्यवहारमा नै अल्झिनु प¥यो, जे भए पनि परिवारसँग खुशी नै छु ।’ आफूले सोचेको कुरा पूरा गर्न नसके पनि दुवै जना एकअर्काेलाई निकै सहयोग गर्दै अगाडि बढिरहेका छन् । साथमा रहेका दुई छोराको साथमा सानो अनि सुखी जीवन बिताइरहेका छन् ।
उनीहरू भन्छन्, ‘धनको सुख भन्दा मनको सुखले आनन्द दिन्छ, धन कमाउन सकिएला नसकिएला तर, दुःख र मेहेनतको कमाइमा रमाउन सिके आनन्द त्यसैमा
हुन्छ ।’ धन त हातको मैलो हो आज भए भोलि हुँदैन त्यसैले दुःख र मेहेनतले नै मान्छेलाई जीवनमा अगाडि बढ्न धेरै सहयोग गर्छ । एकअर्काेलाई नजिकबाट बुझ्न सकेमा मात्र दाम्पत्यजीवनलाई सुखमय बनाउन सकिने उनीहरूको भनाइ छ । उनीहरू भन्छन्, ‘सम्बन्ध टिकाउने भनेको विश्वासले हो विश्वास विना सम्बन्ध अगाडि बढाउन सकिदंैन, त्यसैले एकअर्काेबीचमा विश्वास र समझदारी हुनु पर्दछ ।’ हुन त श्रीमान् श्रीमती भएपछि सामान्य झगडा हुनु स्वभाविकै मान्छन् उनीहरू तर, पनि त्यही सानो झगडालाई ठूलो रूप बनाउन नहुने उनीहरूको भनाइ
छ । यो जोडी पनि कहिलेकाहीं सामान्य रूपमा झगडा त गर्छन् तर, त्यो झगडा एकै छिनमा मायामा परिवर्तन हुन्छ ।
पाण्डेको नजरमा अमृता एक सुन्दर अनि आफ्नो जीवनको सबैभन्दा महŒवपूर्ण व्यक्ति हुन् । उनको लागि अमृता एउटा असल जीवनसाथी हुन् । अमृतालाई पाण्डे आफ्नो जीवन परिवर्तन ल्याउने भगवान् नै
मान्छन् । उनले भने, ‘अमृतासँगको विवाहले मेरो जीवनको बाटो नै सफलता तिर मोडिदियो ।’ अमृताको नजरमा पाण्डे एउटा दुःख–सुखमा साथ दिने असल जीवन साथी हुन् ।
२०६० साल वैशाख १३ गते पाण्डेको जीवनमा एउटा यस्तो अविस्मणीय घटना घट्यो जुन घटना सम्झदा अहिले पनि उनलाई डर लाग्ने गर्छ । नेपालगञ्जबाट अमृता सुर्खेत आउँदै गर्दा बस धुलियाविटमा पल्टियो भन्ने समाचार घरभेटीले सुनाइ दिँदा कसरी हस्पिटल पुगे उनी आफैलाई थाहा भएन् । हस्पिटलमा पुगेर अमृतालाई नदेख्ने बेलासम्म उनको मनमा शान्ति पाएन । अमृता लगायत धेरैलाई सामान्य चोट लागे पनि पाण्डेको जीवनको सबैभन्दा ठूलो र सधैं मन मस्तिष्कमा घुमिरहने अविस्मणीय घटना बन्न पुग्यो । उनीहरूका अनुसार प्रेम र विवाह एउटै यात्रामा दुई वटुवा जस्तै हुन् । प्रेमविना विवाह सम्भव हुँदैन र विवाह विनाको प्रेमको औचित्य हुँदैन । त्यसैले प्रेम र विवाहमा फरक छैन ।
प्रकाशित मितिः   २० चैत्र २०७२, शनिबार ०६:२२