जसले बदले विद्यालयको मुहार

DSC_3610वि.सं. २०४६ साल नेपाली राजनीतिको स्मरणीय वर्ष हो । त्यही वर्ष कुनाथरीवासीका लागि अर्को कारणले पनि महŒवपूर्ण छ । जनज्योति निमावि (हालको उच्च मावि) मा २०४६ सालमा नै नारायणप्रसाद सिग्देलको प्रवेश भएको थियो । हुन त जनज्योतिमा कैयौं शिक्षक आए र गए । तर सिग्देलको आवागमन यसकारण पनि स्मरणीय र महŒवपूर्ण छ कि उनैको योजना र सक्रियतामा जनज्योतिको कायापलट भयो ।

जनज्योतिमा कक्षा ७ सम्म पढाइ हुन्थ्यो । अधिकांश विद्यार्थी विद्यालय नै आउँदैन थिए । आएकामध्ये पनि अधिकांशले सात कक्षा उत्तीर्ण गरेर पढाइ छोड्थे । निकै कम विद्यार्थीले मात्र माथिल्लो कक्षाको पढाइलाई निरन्तरता दिने अवस्था थियो । यो त्यतिबेलाको कुरा हो जतिबेला नारायणप्रसाद सिग्देल शिक्षकको रूपमा जनज्योतिमा प्रवेश गरेका थिए ।
सिग्देलले २०४६ फागुन १४ गते जनज्योतिमा नियुक्ति पाए । दुई वर्षसम्म सहायक प्रधानाध्यापकको जिम्मेवारी समेत सम्हाले । अध्यापनमा उनको दक्षता र समग्र विद्यालयको विकासमा उनको लगाव देखेपछि अभिभावकहरूले नै उनलाई प्रधानाध्यापकको जिम्मेवारी सुम्पिए, २०४८ सालमा । त्यही वर्षदेखि हो जेनतेन चलिरहेको जनज्योतिले प्रगतिको यात्रा थालेको ।
कक्षा सात उत्तीर्ण गरेर अधिकांश विद्यार्थी घरमै बसेको देख्दा सिग्देललाई नमिठो लाग्यो । गाउँमा थप कक्षा भएको विद्यालय थिएन । सदरमुकाममा राखेर पढाउन अभिभावको आर्थिक अवस्थाले भ्याउदैन थियो । त्यसपछि सिग्देलले योजना बनाए, बड्डिचौरमै माध्यमिक तह सञ्चालन गर्ने । उनले अभिभावकहरूसँग सल्लाह गरे, ‘तपाईंहरूले पचास हजार रूपैयाँ सङ्कलन गरिदिनुस् म अर्को वर्षदेखि कक्षा आठ पनि सञ्चालन गर्छु ।’ उनलाई अभिभावकहरूले पनि विश्वास गरे । सामूहिक छलफल डाकियो । त्यही छलफलमै ७४ हजार रूपैयाँ नगद सङ्कलन भयो । यसले सिग्देललाई थप हौसला मिल्यो । उनकै पहलमा त्यसको एक वर्षपछि अर्थात् २०४९ सालमा जनज्योतिले कक्षा आठ पनि सञ्चालन ग¥यो ।
कक्षा ८ को परीक्षा सालकोटको पलैटेबाट दिनुपर्ने भयो । नतिजा पनि आयो । पहिलो वर्ष नै जनज्योतिले उत्कृष्ट नतिजा ल्यायो । सालकोट स्रोत केन्द्रबाट परीक्षा दिने सबै विद्यालयका विद्यार्थीहरूमध्येबाट जनज्योतिका विद्यार्थी र प्रथम र तृतीय स्थान प्राप्त गरे । उक्त नतिजाले सिग्देललाई थप हौसला मिल्यो, अभिभावकमा सिग्देलप्रतिको विश्वास बढ्यो । उनको कामको धेरैले प्रशंसा पनि गरे । त्यसको अर्को वर्ष ९ कक्षा चलाए । त्यसका लागि गाउँलेले आफै तोकेर चन्दा सङ्कलन गरे । २०५१ सालमा कक्षा १० पनि सञ्चालन भयो । त्यसवर्ष जनज्योतिबाट १३ जनाले एसएलसी दिए, पाँच जना उत्तीर्ण भए । उक्त नतिजा सदरमुकाम वीरेन्द्रनगरभन्दा पश्चिमका सबै विद्यालयहरूमै उत्कृष्ट थियो ।

एक पटक विद्यालयलाई आवश्यक शिक्षकको खोजीमा सिग्देल चितवन पुगे । त्यहाँको रामपुर कृषि क्याम्पस देखे । त्यहींबाट उनले अर्को योजना बनाएर फर्किए जनज्योतिमा पनि रामपुर जस्तै कृषि क्याम्पस सञ्चालन गर्ने । योजना बनाएर अघि बढेपछि असम्भव के छ र ? सिग्देलकै पहलमा निमाविबाट मावि हुँदै उच्च मावि सञ्चालन भइरहेको जनज्योतिले २०६८ मा १५ महिने कृषि कोर्ष पढाउन थाल्यो । उक्त कार्यक्रम अहिले १८ महिने भएको छ । यति मात्र होइन हाल उक्त विद्यालयमा १८ महिने कृषिका साथै ३ वर्षे कृषि र १८ महिने भेटेनरी कक्षा सञ्चालन भइरहेको छ । तत्कालै ३ वर्षे भेटेरेनरी कोर्ष सञ्चालनको तयारी विद्यालयले गरिरहेको छ । प्राविधिक शिक्षामा पनि जनज्योतिले एकपछि अर्को फड्को मार्दै गएको छ । जुन सफलतामा प्राचार्य नारायणप्रसाद सिग्देलको योजना र अभिभावकहरूको साथ छ ।
विद्यालयबाट सयौं विद्यार्थीले एसएलसी र उच्च माध्यमिक तह अध्ययन गरिसकेका थिए । तर तिनीहरूको अवस्था कस्तो छ भन्नेबारे पनि सिग्देल ख्याल राख्दथे । विद्यालयबाट ६ सय ३४ जनाले एसएलसी उत्तीर्ण गरिसक्दा ती मध्ये केहीले मात्र रोजगारी पाएका र अधिकांश यत्तिकै कामकै खोजीमा भौंतारिएका पाएपछि उनले प्राविधिक शिक्षामा जोड दिने निधो गरे । ‘हामीले दिने सैद्धान्तिक ज्ञानले मात्र विद्यार्थीको जीवनमा कुनै सकारात्मक प्रभाव पार्दोरहेनछ’ उनी भन्छन्, ‘विद्यार्थीलाई त सीप पो सिकाउनुपर्ने रहेछ, जसले गर्दा कि उनीहरूले रोजगारी पाउन सकुन या त आफै पनि केही गरेर आत्मनिर्भर हुन सकुन् ।’ उनी कृषिमा प्रशस्त सम्भावना देख्छन् । कृषिलाई व्यवसायिक र आधुनिक बनाउँदै लैजाने हो भने युवाहरू पनि स्वरोजगार हुने र मुलुकको विकासमा टेवा पुग्ने सिग्देलको विश्वास छ । त्यसैले उनी बड्डीचौरमै आइएससी एजी सञ्चालन गर्ने गरी कृषि क्याम्पस बनाउने योजनामा छन् । कृषि क्याम्पस स्थापनाका लागि केही वर्षअघि महायज्ञ सञ्चालन गरियो । उक्त महायज्ञबाट २ करोडभन्दा बढी रकम सङ्कलन भएको छ । दुई वर्षभित्रमा बीएससी एजी सञ्चालन गर्नेगरी कृषि क्याम्पस निर्माणका लागि सिग्देलले पहल गरिरहेका छन् ।
जनज्योति उच्च मावि यतिबेला नमूना विद्यालय बनेको छ । शैक्षिक र भौतिक विकासका कामले यसलाई सदरमुकाममा रहेका विद्यालयहरूभन्दा पनि अब्बल सावित गरेका छन् । विद्यालयलाई सरकारको मुख मात्रै ताक्नुपर्ने अवस्थाबाट मुक्त गर्न वैकल्पिक आयआर्जनका कार्यहरू पनि विद्यालयले सञ्चालन गर्दै आएको छ । पोखरी निर्माण गरी विद्यालयले नै माछा पालन गरेको छ । जसबाट वर्षेनी आम्दानी लिने गरिएको छ । त्यसैगरी गाइपालन, मौरीपालन, बाख्रापाल र खरायो पालन गर्नुका साथै कपुर खेती समेत गरिएको छ । विद्यालयले नै इट्टा उत्पादन गरेर आर्थिक आम्दानी लिनुका साथै हरेक वर्ष धान खेती गरेर बिक्री गर्ने गरिएको छ । ‘यस्ता वैकल्पिक कार्यहरूले एकातर्फ विद्यालयको आम्दानीको स्रोत बढेको छ भने अर्कोतर्फ विद्यार्थीहरूलाई कृषि सम्बन्धि प्रयोगात्मक शिक्षा प्रदानमा सघाउ पुगेको छ’ सिग्देलले भने ।
कक्षा सातसम्म पढेर पढाइ छोड्नुपर्ने कुनाथरीवासीको बाध्यता अहिले समाप्त भएको छ । गाउँमै उच्च शिक्षा लिन सकिने भएको छ । यतिबेला बड्डीचौरका मात्र होइन कुनाथरीभरका अभिभावक खुशी छन् । जुन खुशीको कारण हुन्, नारायणप्रसाद सिग्देल । जनज्योतिले उनको नेतृत्व नपाउँदो हो त जनज्योति अहिलेको जस्तौ नमूना विद्यालय नबन्न सक्थ्यो । सिग्देलको सक्रियता र योजनाले आज जनज्योति जिल्लामा मात्र होइन मुलुकमै ख्याती कमाउन सफल उदाहरणीय विद्यालय बनेको छ ।

सिग्देललाई आफ्नो पढाइ पूरा गर्नुथियो, सँगै दुई जना भाइहरूको पालनपोषण र शिक्षा दिक्षाको जिम्मेवारी पनि उनकै काँधमा थियो । घरको आर्थिक अवस्था मजबुत पनि थिएन । त्यसैले पनि रोजगारीको जरुरी थियो । रोजगारीकै खोजीमा वि.सं. २०४६ सालमा तनहुँबाट सुर्खेत आएका नारायणप्रसाद सिग्देललाई त्यतिबेला लागेको थिएन कि आफ्नो जीवनका महŒवपूर्ण २७ वर्ष शिक्षकको रूपमा सुर्खेतमै बित्नेछन् । तर उनको अझैं कयौं वर्ष जनज्योति उमाविमै बित्नेछन् । जहाँ उनी आफूले देखेको सपना पूरा गर्न प्रयासरत छन् । विद्यालयको नेतृत्व गर्ने प्राचार्यले मात्रै चाहने हो भने पनि विद्यालयले धेरै प्रगति गर्नसक्छ भन्ने उदाहरण दिएका छन्, सिग्देलले । उनको यही प्रेरणात्मक कार्यको उच्च सम्मान गर्दै साझा बिसौनी दैनिकले ‘साझा वर्ष व्यक्ति–२०७२’ बाट उनलाई सम्मानित गरेको छ ।

प्रकाशित मितिः   ३० असार २०७३, बिहीबार ०९:३५