हरियाली जोगाऊ

कुनै समयको हरियाली वीरेन्द्रनगर पछिल्ला केही वर्षयता उजाड बन्दै गएको छ । जंगलले भरिएका खुला ठाउँ मासिदै छन् । विकासका नाममा रुख काटेर भौतिक संरचना निर्माण गरिएका छन् । सडक छेउछाउमा रहेका बोटविरुवा पनि कटान गरियो । जसले गर्दा हरियाली हराउँदै गएको छ ।

खुला ठाउँ र सडक आसपासमा हुने रुखले हरियाली मात्रै बनाउँदैन सरसफाई र वातावरण संरक्षणमा समेत सघाउ पु¥याउँदछ । सडक किनार रोपिने रुखबिरुवाले प्रदूषण कम गर्छ । हावाको धूलोधुवाँ सोस्छ । हामीले सास फेर्ने हावा स्वच्छ राख्छ । त्यही भएर सडकछेउ रुख रोप्ने चलन पुरानै हो । विकसित देशहरुमा अपरिहार्य मानिन्छ । तर वीरेन्द्रनगरमा भने सडक किनारमा भएका रुखबिरुवा नै मासिदै गएका छन् ।
वीरेन्द्रनगर उपत्यकामा दिनप्रति दिन जनसंख्याको चाप बढ्दो छ । बाह्य जिल्लाबाट बसाइँ सरेर आउनेहरुको संख्या पनि उत्तिकै छ । बस्ती बढ्दै जाँदा वन जंगल पनि फडानी भए । हरियाली हराउँदै गयो । पछिल्लो समय सडक विस्तारको कारण सडक छेउमा भएका रुखहरु समेत फडानी भएका छन् । जसले हरियाली मात्रै मासेको छैन वीरेन्द्रनगरलाई कुरुप बनाएको छ । वीरेन्द्रनगरको गुरुयोजना अनुसार केही काम भएको छैन । धुलो र प्रदूषण बढ्दै गएको छ । जसको प्रत्यक्ष असर यहाँका नागरिकको स्वास्थ्यमा परेको छ । हरियाली हराउँदा पानीको स्रोत पनि सुक्दै जान्छन् । जसका कारण समयमा पानी नपर्ने, पानी परे पनि मुसलधारे पर्ने, मुहानहरु सुक्ने लगायतका समस्या देखिन थालेको छन् ।
हरियाली जोगाउन यहाँका नागरिक र स्थानीय सरकारको पनि उत्तिकै महङ्खवपूर्ण दायित्व हो । सुर्खेत उपत्यकाको गुरुयोजनामा पनि हरियाली जोगाउने योजना छ । तर त्यसको कार्यान्वयन भएको छैन । वीरेन्द्रनगर नगरपालिकाले पनि केही वर्षदेखि नै नगरलाई ग्रिनसिटी बनाउने योजना सार्वजनिक गर्दै आएको छ । यद्यपी योजना कागजमै सीमित भएको छ । अब पनि सम्वद्ध निकायहरुले ध्यान नदिने हो भने समस्या थप विकराल हुने निश्चित छ ।

भएको हरियालीलाई संरक्षण गर्दै थप वृद्धि गर्नेतर्फ ध्यान दिन जरुरी छ । यसका लागि आवश्यकता र अवस्था अनुसार खुला ठाउँमा बगैचा बनाउने र सडक किरानमा रुखहरु रोप्न सकिन्छ । यसका साथै हरेक घरको आगनमा कुनै न कुनै विरुवा रोप्ने नियम कार्यान्वयन गर्न सकेको खण्डमा पनि हरित नगर बनाउन सघाउँनेछ । यसका लागि नागरिकलाई सचेत गराउने र नियम बनाएर कार्यान्वयन गराउन वीरेन्द्रनगर नगरपालिकाले भूमिका निर्वाह गर्न अपरिहार्य छ ।

प्रकाशित मितिः   २६ कार्तिक २०७६, मंगलवार ०८:५४