ज्ञानको ज्योति छर्दै सुरेश

ggggggggggg
गीता थापा

‘सङ्घर्ष गरेमा सफलता टाढा छैन’

जीवन काँडासहितको फूल हो, गुलाफ जस्तै । जसरी काँडाका बीचमा गुलाब सधैं सुन्दर देखिन्छ । त्यसैगरी जीवनलाई काँडाकै बीचमा पनि सुन्दर बनाउन सकिन्छ भन्ने उदाहरण हुन् सुरेशकुमार खड्का । उनी दृष्टिविहीन हुन् तर उनले बाँचेको जिन्दगी अरुका लागि पनि डाहा लाग्दो छ । उनले खुशी र सन्तुष्टीको जिन्दगी बाँचिरहेका छन्, जो अरुका लागि प्रेरणा बन्न सक्दछ ।DSC05194 … सुरेश भर्खर दुई वर्ष पूरा गरेर तीन वर्षमा प्रवेश गर्दै थिए । तब उनलाई दादुराको संक्रमण भयो । घरपरिवारले उनको उपचारको लागि कुनै कसुर बाँकी राखेनन् । उपचारपछि दादुरा त ठीक भयो तर, दादुराको असर उनको आँखामा पर्न गयो । जन्मदा उज्यालो संसार देखेका सुरेश विस्तारै धमिलो देख्न थाले । उपचारका लागि सक्दो प्रयास पनि नगरेका होइनन् । तर, उनको दृष्टि स्नायूमा असर परेकोले डाक्टरले ठीक नहुने बताइसकेका थिए । उनलाई त के थाहा थियो र सानै थिए, खेल्न र रमाउन पाए पुग्थ्यो । विस्तारै उनको उमेर बढ्दै गयो तब आँखा धमिलिंदै गए । उनले अक्षर देख्दैनथे । यति हुँदासम्म पनि उनले साइकल चलाउन भने छोडेनन् । उनी भन्छन्, ‘म बाल्यकालमा अलि चकचक गर्ने भएकाले डाक्टरले साइकल नचलाउनु भन्दा पनि म अटेर गरेर साइकल चलाउँथे ।’ आँखाको दृष्टि गुम्दै गए पनि उनको साहास भने गुमेको थिएन । मनैदेखि आँट लिएर अघि बढेपछि असम्भव भन्ने कुरा केही हुँदैन जस्तो लाथ्यो उनलाई । यदि उनी आँखा देख्न सक्ने भएको भए पाइलट वा इन्जिनियर बन्न सक्थे । दृष्टि गुमे पनि उनको साहस भने गुमेन । आफू आँखा नदेख्ने भए पनि धेरैलाई उज्यालो बाँडिरहेका छन् । विगत सात वर्षदेखि शिक्षण पेसामा रहेर हजारौं विद्यार्थीलाई शिक्षामार्फत् उज्यालोको ज्योति छरिरहेका छन् उनै दृष्टिविहीन सुरेश । सुरुसुरुमा उनलाई आँखाको दृष्टि गुमाउँदाको पीडाले निकै पिरोल्ने गथ्र्यो । तर अहिले पनि उनी कुनै पछुतोमा छैनन् । उनलाई आफूले दृष्टि गुमाउँदा कुनै दुःख लागेको छैन । बरु दृष्टि गुमाउँदा आफूले जीवनको सही अर्थ के हो भन्ने बुझेको बताउँछन् । ‘मैले आँखाको ज्योति गुमाएर जिन्दगीको दृष्टि प्राप्त गरे ।’ श्रीकृष्ण संस्कृत तथा साधारण उच्च मावि इत्राममा कक्षा ६ लाई कम्प्युटर विषय पढाइरहेका शिक्षिक सुरेश भन्छन्, ‘यदि म पनि अन्य व्यक्ति जस्तै आँखा देख्न सक्ने भएको भए सायद शिक्षक हुने थिएन, मलाई दृष्टि गुमेपछि नै जीवन मिलेको हो ।’ दृष्टि नै गुमेपछि सुरेशको जीवनलाई हेर्ने दृष्टिकोण नै बदलियो । जीवन हर समय परिवर्तन भइरहने चक्र हो भन्ने जाने उनले । आफूले दृष्टि गुमाएपछि सुरेशलाई साहरा दिने सेतो छडी भयो । उनी ९ वर्षको उमेरदेखि विद्यालय पढ्न गएका थिए । उनी भन्छन्, ‘म अरु भन्दा अलिपछि नै विद्यालय पढ्न थालेको हुँ ।’ उनलाई जबदेखि दादुराको संक्रमण भयो तबदेखि नै आँखामा समस्या देखिन थालेको थियो । उनलाई अक्षर चिन्नको लागि ब्रेललिपीको साहारा चाहिने भयो । २०४३ सालमा वीरेन्द्रनगर–६ मा जन्मिएका सुरेश कक्षा एकदेखि नै शिखर उच्च मावि रामघाटमा पढे । त्यतिबेला त्यो विद्यालय मात्र एक थियो, जो दृष्टिविहीनहरूका लागि पढाइ हुने गथ्यो । उनी त्यही विद्यालयबाट अन्य विद्यार्थी सरह एसएलसी पास गरे । ‘दृष्टिविहीनले पनि पढ्न सक्छन् र ? कसरी पढ्छन् ? पढेर के गर्न सक्छन् र ? सामान्य लेखपढ गर्न गएको त हो यसले के पढ्न र गर्न सक्ला र ?’ समाजका व्यक्तिहरू उनलाई देखेपछि यस्तै प्रश्नहरू तेर्साउँथे । तर, पनि सुरेशले आफूभित्रको हिम्मतलाई हार्न दिएनन् । जब सुरेशले एसएलसीमा राम्रो अङ्क ल्याएर पास भए अनि गोरखापत्रमा पास भएको कुरा गाउँलेले सुने तब मात्र यही समाजले सुरेशलाई केही गर्नसक्छ भन्ने हौसला दियो । उनी भन्छन्, ‘समाजले नकारात्मक कुरा गरे पनि त्यसलाई हामीले आफ्नो जीवनमा सकारात्मक रूपमा लागू गर्न सक्नुपर्छ, मैले त्यही गरें ।’ उनले एसएलसी पासपछि काठमाडौं पढ्न जाने निधो गरे । दृष्टिविहीन त्यसमा पनि उच्च शिक्षा पढ्नको लागि एक्लै काठमाडौं जाने भनेको सानो कुरा पनि होइन । उनीभित्रको आत्मविश्वासले उनलाई काठमाडौं जाने गरायो । उनले भने, ‘म पढ्नको लागि काठमाडौं गएँ, सानोठिमी भक्तपुरमा पढें ।’ उनी क्याम्पसमा पनि अन्य विद्यार्थीहरूसँग नै पढे । स्नातक दोस्रो वर्षसम्म उनले काठमाडौंमा नै पढे । उनले विद्यालय वा क्याम्पसमा पढ्दा सबै साथीहरूबाट राम्रो सहयोग पनि पाए ।

 

कक्षा एकमा ब्रेललिपीबाट अक्षर चिनेपछि उनी अन्य विद्यार्थीहरूसँगै बसेर पढ्न थालेका थिए । सुरु–सुरुमा केही समस्या भए पनि उनले ती समस्यालाई सहज रूपमा पार गर्दै अघि बढे । बाल्यकालदेखि नै उनी अलि कडा र चित्त नबुझ्ने गरी कसैले बोल्यो भने त्यसको प्रतिउत्तर फर्काउनै पर्ने स्वभावका थिए । विद्यालयमा कसैले उनलाई आँखा सम्बन्धी लिएर जिस्याउँदा त्यसको प्रतिउत्तर फर्काइ हाल्ने आफू भन्दा ठूलै भए पनि हात फर्काइ हाल्ने गर्थे । उनले भने, ‘मेरो अरुले जिस्क्याए भनेर रुने स्वभाव थिएन, झगडा गरी हाल्ने बरु मेरो घरमा कसैले मेरो बदमासीको कुरा लगाइदिएको भए हुन्थ्यो जस्तो लाग्थ्यो ।’ किनकी कसैले घरमा कुरा लगाउँदा आफ्नो स्पष्टीकरण राख्न पाइन्छ भन्ने उनलाई लाग्थ्यो । उनलाई कसैले जिस्याउँदा बरुपछि पिटाइ खाए पनि पहिला आफूले अरुलाई पिट्नैपर्ने हुन्थ्यो । उनी भन्छन्, ‘म अरु भनेर जिस्क्याउँदा केही भन्थिन तर, आँखासँग जोडेर कसैले केही भन्यो भने त्यसको प्रतिक्रिया दिइ हाल्थे ।’ उनलाई एक चोटी जिस्क्याएको व्यक्तिले फेरि अर्काे पटक जिस्क्याउने आँट गर्थेन । दृष्टि गुमेपछि अरुले जिस्क्याउँदा होस् या आँखा सम्बन्धी लिएर प्रहार गरिएका शब्दहरू नै जीवनमा अघि बढ्ने प्रेरणा बने उनका लागि । अरु साथीलाई गाली गर्दा सामान्य रूपमा गाली गर्ने आफूलाई गाली गर्दा आँखासँग जोडेर गाली गर्दा कता–कता मनमा बदलाको भावना जाग्ने गथ्र्यो । त्यही बदलाको भावनाले नै उनलाई जीवनमा अगाडि बढ्ने प्रेरणा दियो । उनी कसैको अगाडि कमजोर बनेर नभइ हिम्मत र आँट लिएर अघि बढे । कहिल्यै अरुको नजरमा सुरेशले आँखा देख्दैन भन्ने भान हुन दिएनन् ।

DSC05226 आफूले आँखा नदेखे पनि अरुलाई आँखा देखाउने काम गर्न थालेको सात वर्ष भइसक्यो । पाँच वर्षभन्दा धेरै उनले नेरा मावि चिसापानीमा पढाए । श्रीकृष्ण संस्कृत तथा साधारण उच्च माविमा अध्यापन गराउन थालेको दुई वर्ष बित्न लागिसकेको छ । उनी दृष्टिविहीन भएर पनि दृष्टि भएकाहरूलाई पढाउँछन् । सरकारी दरबन्दी कोटामा खुलाबाट जागिर शिक्षण पेसामा प्रवेश गरेका हुन् । प्रावि तहको दरबन्दी भए पनि निमावि तहसम्म पढाउने जिम्मेवारी उनलाई दिइएको छ । उनी कक्षा एकदेखि कक्षा १० सम्मका दृष्टिविहीन विद्यार्थीलाई पढाउने गर्छन् । दृष्टिविहीनलाई मात्र होइन दृष्टि भएका कक्षा ६ का विद्यार्थीहरूलाई नेपाली र अङ्ग्रेजी भाषामा कम्प्युटर विषय पनि अध्यापन गराइरहेका छन् । आफूलाई पढाउने गुरुले आँखा नदेखे पनि उनले दिने ज्ञानले आफूहरू सन्तृष्ट भएको विद्यार्थीहरू बताउँछन् । कक्षा ६ मा पढ्ने दिपिका पौडेल भन्छिन्, ‘सर दृष्टिविहीन भए पनि हामी विद्यार्थीलाई उज्यालो ज्योति छरिरहनु भएको छ ।’ जसरी अन्य सरहरूले पढाउँछन् त्यसरी नै सुरेशले पढाएको स्पष्ट बुझ्ने गरेको उनको भनाइ थियो । त्यस्तै कक्षा ६ कै अर्काे विद्यार्थी रोशन रम्तेल भन्छन्, ‘दृष्टिविहीन भए पनि सहज रूपमा हामी विद्यार्थीलाई बुझाउनु हुन्छ ।’ सुरेशका अनुसार जीवनमा उतार–चढाव सबैमा आउँछ अझ् बढी त झन् अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा आउँछ । हामीले जीवनको सही अर्थ बुझेर सङ्घर्ष गर्न सक्नुपर्छ । सुरेशको जीवनमा पनि दुःख, समस्या र चुनौती नआएका होइनन् । तर, पनि उनले जीवनलाई काँडाभित्रको फूल सम्झेर सहज रूपमा अगाडि बढे । जीवनमा सफलता पाउन सजिलो त छैन । तर, सुरेश जो दृष्टिविहीन भएर पनि सामान्य व्यक्ति सरह जीवन बिताइ रहेका छन् । उनको श्रीमती सपना र एक छोरीको साथमा जीवन सुखमयका साथ बितिरहेको छ । ‘मैले आँखाको दृष्टि नगुमाएको भए जीवनको अर्थ नै बुझ्ने थिएनँ र आज सुरेश भनेर जसरी जहाँ चिनिएको छु त्यसरी चिनिने पनि थिएनँ । म के हुन्थे आफैलाई थाहा छैन, तर दृष्टि गुमाएर मैले जीवनको सही अर्थ बुझेर अगाडि बढ्ने प्रेरणा पाए ।’ उनी जब दृष्टिविहीन भए तबदेखि पढाइ बाहेक अर्काे विकल्प उनले पाएनन् । उनमा सोच आयो पढाइमा अब मैले ध्यान दिनुपर्छ म सफल हुनलाई पढाइ नै मेरो हतियार हो । उनको मासिक रूपमा कमाइ खरिदार सरहको हुन्छ । जसरी बुबा आमाको साथ सधैं उनले पाए त्यसरी नै बिहेपछि पनि श्रीमतीको साथ, सहयोग र हौसला झन् बढी पाए । उनी भन्छन्, ‘म सफल बन्नुमा पूर्णतया मेरी सपनाको हात छ, मलाई हर समय ख्याल गर्ने, हरेक पलमा साथ दिने जीवनसाथी भएकाले पनि जीवनमा अगाडि बढ्ने हौसला मिलेको छ ।’ उनका अनुसार जति पनि व्यक्ति सफल भएका छन् ती व्यक्ति दुःख पाएका र निरविकल्पका व्यक्तिहरू नै छन् । सुरेशको आगामी योजनाहरू दृष्टिविहीनहरूलाई घरभित्रबाट बाहिर ल्याउने र उनीहरूमा आत्मविश्वास बढाउने रहेको छ । दृष्टिविहीनहरूले पनि केही गर्न सक्छन् भन्ने देखाउन चाहन्छन् उनी । उनीहरूलाई बोझको रूपमा नलिएर उनीहरूलाई स्वतन्त्र रूपमा बाहिर छोड्नुपर्ने र आफ्नो अवसर आफै खोज्न सक्ने क्षमताको विकास गराउने उनको आगामी योजना रहेको छ । उनी भन्छन्, ‘अवसरहरू हामी वरिपरि नै हुन्छन्, सङ्घर्ष गरे सफलता टाढा छैन ।’ उनका अनुसार समाज आफैंमा नराम्रो छैन, मान्छेले आफ्नो स्वार्थ अनुसार यसलाई चलाउँदा खजमजिएको हो । जीवनमा आइपर्ने दुःख, परिस्थिति र समस्यालाई व्यक्तिले व्यहोर्नु त छ नै त्यसलाई सकारात्मक रूपमा बुझ्न जरुरी छ । हामी अरुका लागि भन्दा पनि आफ्नो लागि केही गर्नुपर्छ भन्ने सोचेर अगाडि बढ्दा सफलता धेरै टाढा छैन । अपाङ्गता भएका व्यक्तिलाई घर समाजदेखि नै अगाडि बढ्न सक्ने वातावरणको सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मितिः   २९ असार २०७३, बुधबार ०४:४८