हराउँदैछ हरियाली

हरियाली मासियो, बढ्दैछ प्रदूषण, विपद्को जोखिम

सीता वली,
सुर्खेत : वरीपरी डाँडाले घेरेको सुन्दर उपत्यका, जहाँ घना जंगल थियो । हत्तपत्त कोही जंगल पस्दैनथे, डराउँथे । बाघ, भालुलगायत हिंस्रक जंगली जनावरहरूको उत्तिकै डर हुन्थ्यो । कति पटक दिउँसै बाघले मान्छे समेत मारिदिन्थ्यो । यो कुनै एकादेशको गाउँखाने कथा होइन, केही दशकअघिको वीरेन्द्रनगरको वास्तविकता हो । झट्ट सुन्दा यो कुनै कथा जस्तै लाग्छ तर त्यही घना जंगल देखेरै हुर्केका वीरेन्द्रनगर–८, सुर्खेतका ८९ वर्षीय रुद्रप्रसाद देवकाटा भने उजाड बन्दै गएको आजको उपत्यका हेर्दै विगतको त्यही हरियाली सम्झन्छन् । सालका रुखमा पिङ बनाएर खेलेको सम्झना आउँछ । तर अहिले त्यो घना जंगल छैन । सालका रुख देख्नै समेत मुस्किल पर्छ । जसले रुद्रप्रसादलाई अचम्म लाग्छ । सोच्छन्, झुण्डिएर पिङ खेलेका ती खालका रुख कहाँ गए होलान् ?

वि.सं. १९८५ मा दैलेखको लाँकुरी गाउँ पञ्चायतमा जन्मिएका देवकोटा सानैदेखि सुर्खेतमा बस्दै आए । उनको जिम्दारी गोठेरी सुर्खेत उपत्यकामा थियो । त्यसैले यतै बसे । यहीको जंगलमा घाँस–दाउरा र गोठालो गर्दै हुर्किए । वीरेन्द्रनगर–६ गणेशचौक नजिकै त्यो बेलामा बाघले मान्छे समातेको घटना उनको मनमा ताजै छ । तर त्यो जंगल अब कहाँ रह्यो र !
रुद्रप्रसादलाई पहिलेको जस्तै हरियाली हेर्न मन छ । तर अब विगत फर्किएन आश भने छैन । भन्छन्, ‘अहिले त मानवता हरायो, सुन्दर हरियाली पनि सँगसँगै हरायो ।’ यसका अनेक कारण भएको देवकोटा बताउँछन् । उनी थप्छन्, ‘धर्म हरायो, नयाँ व्यवस्थाले पुरानो व्यवस्था डरायो, मान्छेमा ज्ञान मर्दै गयो । त्यसैको प्रभावले हिजोको हरियाली सुर्खेत आज उजाड बन्दै गएको होला ।’

वीरेन्द्रनगर–८ कि खिमा चालिसे पनि यहाँको विगतको हरियाली सम्झिन्छिन् । बजारको जन माध्यमिक विद्यालयको चौरमा अहिले पनि केही संख्यामा ठूला सालका रुख छन् । उपत्यकाभर त्यस्तै रुखहरूले भरिएको सालघारी थियो भन्छिन् उनी । दिउँसोमा भैसी चराउन उपत्यका झर्ने र साँझ परेपछि बास बस्न कटकुवा पुग्ने गरेको उनी बताउँछिन् । ‘हामीहरूले चौहानको बन भनेर वीरेन्द्रनगर क्षेत्रलाई चिन्थ्यौं’ उनी भनिन्, ‘वि.सं. २०२४ सालमा बस्ती बसाल्ने भनेर चौहानको वन फडानी गरियो ।’

वि.सं. २००३ सालमा वीरेन्द्रनगर–१४, कटकुवामा जन्मिएकी खिमाले थाहा पाउने बेलासम्म पनि वीरेन्द्रनगरमा सालघारी थियो । विस्तारै बस्ती विकास हुन थालेपछि बन नासिँदै गयो । आजभोलि वीरेन्द्रनगर उजाडिएको देख्दा खिमालाई अचम्म लाग्छ । बस्ती बढ्दै गएको कारण हरियाली हराउँदै गएको होला भन्ने लाग्छ खिमालाई । त्यतिमात्र होइन कानुन नमान्ने र मनपरी गर्नाले पनि वन सखाप भएको उनको भनाइ छ ।

वीरेन्द्रनगर उपत्यकामा दिनप्रति दिन जनसंख्याको चाप बढ्दो छ । बाह्य जिल्लाबाट बसाइँ सरेर आउनेहरूको संख्या पनि उत्तिकै छ । बस्ती बढ्दै जाँदा वन जंगल पनि फडानी भए । हरियाली हराउँदै गयो । कतिसम्म भने केही वर्ष अघिसम्म सडक आसपासमा हरियाली देखिने रुखहरू पनि अब छैनन् । पछिल्लो समय सडक विस्तारको कारण सडक छेउमा भएका रुखहरू समेत फडानी भएका छन् । जसले हरियाली मात्रै मासेको छैन वीरेन्द्रनगरलाई कुरूप बनाएको छ । वीरेन्द्रनगरको गुरुयोजना अनुसार केही काम भएको छैन । धुलो र प्रदूषण बढ्दै गएको छ । जसको प्रत्यक्ष असर यहाँका नागरिकको स्वास्थ्यमा परेको छ । गुरुयोजना अनुसार काम नभएकै कारण समस्या निम्तिएको बताउँछन् पूर्व इन्जिनियर ओमदत्त रेग्मी । हरियाली हराउँदा पानीको स्रोत पनि सुक्दै जान्छन् । जसका कारण समयमा पानी नपर्ने, पानी परे पनि मुसलधारे पर्ने, मुहानहरू सुक्ने लगायतका समस्या देखिन थालेको रेग्मीले बताए । उनले उपत्यकाको उत्तरी जलाधार क्षेत्रमा रुख रोप्ने र ढल निकासलाई समेत नगरले व्यवस्थापन गरी विभिन्न स्थानहरूमा ग्रिन पार्कहरू निर्माण गर्नुपर्नेमा जोड दिए ।

सुर्खेत उपत्यकाको गुरुयोजनामा हरियाली जोगाउने योजना भए पनि त्यसको कार्यान्वयन भएको छैन । ग्रिनपार्क निर्माण गर्ने योजना भए पनि पछिल्लो समय जग्गा अतिक्रमण बढेसँगै भएको हरियाली समेत मासिन पुगेको उनको बुझाइ छ । हरियाली बढाउनको लागि सबैभन्दा पहिले धुलो र प्लाष्टिक व्यवस्थापन गर्नु जरुरी भएको उनले बताए । उनले वातावरण संरक्षणमा दिगो सोच बनाउन अझै पनि सरकार पछि परेमा भविष्यमा ठूलो विपत्ती आइलाग्नेतर्फ समेत सचेत गराए ।

प्रकाशित मितिः   २४ कार्तिक २०७६, आईतवार १२:३७