क्षमता

    यामलाल गौतम

बिहानीको कलिलो पारिलो घाममा असी वर्षे हर्कबहादुर हुक्काको पाइप मुखमा लगाएर बुङ्ङ बुङ्ङ धुवाँ उडाउँदै परालको मचियामा बसिरहेका थिए । हुक्काको धुवाँ विस्तारै अन्तरिक्षमा विलय हुन्थ्यो । धुवाको विलयसँगै उनको असी वर्षे अनुभवी मष्तिस्कमा एउटा तरङ्ग आउँथ्यो । उनी सोच्दथे यो कर्णाली प्रदेशमा यस्तो अपार स्रोत र क्षमता तर खोइ न बुझ्नेले बुझ्दछन् न गर्नेले गर्दछन् । त्यतिकैमा परबाट आइरहेको लखरपाटे साइलोमाथि उनको नजर परेसँगै सोचमग्न ध्यान अन्तै मोडिन्छ ।

लखरपाटे साइलोले भन्यो, “नमस्कार बाजे ! हजुरले त म परैबाट आउँदादेखि नै हेरिरहनु भयो त ?” ‘नमस्कार साइला, के गर्ने बुढेसकालका यी आँखा धोका खान्छन् । मान्छे ठम्याउनै गाह्रो हुन्छ’ बुढाले अह..अह.. खोक्दै भने । लखरपाटे साइलो बोल्छ, ‘हैन बाजे, तपाईंका आँखा त तेजिला छन् । यो उमेरमा पनि भागवत् गीता जस्ता किताब विना चस्मै पढ्नुहुन्छ ।’
त्यतिकैमा बुढाले भने, ‘ल साइलो त उभिएको उभिएइ पो भयो त ? ए ! भित्र को छ बस्ने गुन्द्री सुन्द्री चकटी ल्याइदेऊ त । ए ! नानी । ए ! सोफिया ।’

सोफिया भित्रबाट एक हातमा कपी र पेन्सिल अनि अर्को हातमा चकटी लिइ हजुरबाको छेउमै चकटी राखी अलि यता छेउमा कपी र पेन्सिल राखी दुवै हात जोडी नमस्कार अंकल भन्दै बसिसियोस् भन्छिन् । लखरपाटे साइलोले पनि मन्द मुस्कानका साथ दुवै हात जोडी ल नानुलाई मेरो पनि नमस्कार छ भन्दछ । सोफिया कपी र पेन्सिल टिपी भित्रतिर लागिन् । लखरपाटे साइलोले बुढातिर फर्कदै भन्यो, ‘कति वर्षकी भइन् बाजे यी हजुरकी नातिनी ?’ ‘आठ वर्षमा हिँडिरहेकी छ’ बुढाले भने ।

‘कति ज्ञानी र संस्कारी रहिछिन् बाजे हजुरकी नातिनी त ? वास्तवमा छोरा–छोरी संस्कारी बनाउनु ठूलो कुरो रहेछ । तर सबैका कहाँ यस्ता हुन्छन् र ?’ बुढाले ऊ तिर हेर्दै भने, ‘बच्चा–बच्ची त काँचो माटो जस्तै हुन् । सीप प्रयोग गरेर जसरी ढाल्यो त्यस्तै आकारमा ल्याउन सकिन्छ । अझ वास्ता र निगरानी नै ठूलो कुरा हो साइला बच्चा बच्ची संस्कारी बनाउन त ।’ लखरपाटे साइलोले भन्यो, ‘त्यो त हो बाजे तर खोई कोही कोही त जन्मदै धुन्धुकारी भएर जन्मन्छन् कि के हो ? धुरु धुरु रुवाएको पनि देखेको छु बाबु आमालाई ।’ हर्के बुढाले सोधे, ‘के छ साइला घरतिर सब कुशल मंगल त छ नि ! गाउँघरतिर ताजा नौलो खबरहरू के–के छन् । तिमी त डुली हिँड्ने मान्छे बताऊ न ? आफू त जाइने बुढो भइयो यसो कतै गइयो, गफ सुनियो र चित्त बुझेन भने पनि अहिलेका यस्ता बुढाका के कुरा सुन्नु ? तपाईंको त मसानघाट जाने बेला भयो यता घरले जा जा भनेको छ उता वनले आ आ भनेको छ जे भए पनि के को पिर तपाईंलाई पो भन्दछन् अहिलेका तन्नेरी ठिटाहरू । अर्ति उपदेश त सुन्दै सुन्दैनन् । अझ कुरा नै गर्न चाहँदैनन् । मोबाइलमा मात्र आँखा गडेका हुन्छन् ।’

साइलोले भन्यो, ‘त्यहीँ त बाजे, बुढाको अनुभव र आशीर्वाद, युवाको जोश र शक्तिको खाँचो हुन्छ नि ! आजका युवा पनि अनुभवले खारिदै गएर भोली हजुर जस्तै वृद्ध हुने त हो नि ! के हुनु थियो र हाम्रो ठाउँतिर भूगोलले ठगेको कर्णालीका हामी बासिन्दा र प्रदेश । हाम्रो ठाउँलाई के हुन्छ र ? जुन व्यवस्था र सरकार आए पनि कागलाई बेल पाक्यो हर्ष न विस्मात भने जस्तै त हो नि !’

बुढाले बीचमै कुरा काट्दै भने, ‘हैन के भनेको साइला त्यस्तो हामी आफैमा सम्पन्न छौ नि ! हामीले कर्णालीलाई चिन्न नसकेको अझ भन्नु पर्दा आफैलाई चिन्न नसकेको हो । दुर्गम हो, दुर्गमका बासिन्दा हौँ तर हामी आफै सक्षम र क्षमतावान
भने छाँै है ।’

लखरपाटे साइलोले अप्ठ्यारो मान्दै भन्न थाल्यो, ‘खै बाजे मलाई त खै के खै कै हामी सम्पन्न भन्नु त कुवाभित्रको भ्यागुतोलाई कुवा नै संसार लागे जस्तै तर जब ऊ नदी र समुद्रमा पुग्दछ वास्तविकता थाहा पाउँछ संसार के हो भनेर । मलाई हजुरले भनेको कुराको विरोध गर्न मन छैन तर सोह्रै आना हजुरको भनाइले मेल खाएन कि बाजे ! हुन त हजुर देश खाएर शेष पल्टेको मान्छे, राणा, पञ्चायत, बहुदल, जनयुद्ध, लोकतन्त्र, गणतन्त्र प्रत्यक्ष आफ्नै आँखाले देख्नु र भोग्नु भएको मान्छे । कर्णाली मात्र नभएर साविक मध्यपश्चिमाञ्चल विकास क्षेत्रका सबै जिल्लाका मट्टी हजुरको पाइला पाइलामा परिचित छ । मैले त राणा, पञ्चायत इतिहासमा मात्र पढे सुनेको । तर पनि हजुरले के त्यस्तो क्षमतावान मान्नु भयो र हाम्रो यो कर्णालीलाई र यहाँका बासिन्दालाई । कुनै आधार र तर्क विना त हजुर कुरा नगर्ने मान्छे हो । एकाबिहानै कान पवित्र गराउन आएको छु । मलाई उत्सुकता जाग्यो बाजे बताउनुहोस् ।’

बुढाले बेली विस्तार लगाउन थाले । लु साइला म जाइने कताबाट सुरु गरौँ । वास्तवमा हाम्रो यो कर्णालीको सबै क्षमता बखान गर्ने सामथ्र्य मेरो यो जिब्रोलाई छैन । सय अंशमा केही अंशमात्र भन्दछु । तर जति भन्दछु ध्यान दिएर सुन् । मैले छुटाएको कुरा थपेर अरुलाई बताएस् । लु जा त भनु है त एक दुई कुरा ।

जाइने भन्दाखेरी भाषामा कर्णाली पहिलो । नेपाली भाषाको जननी कर्णाली । रोगग्रस्त भए पनि कुट्की, यार्सागुम्बा, पाँच औले जस्ता हजारौ जडिबुटीको खानी वा थलो हो कर्णाली । भोकमरी परे पनि विश्वको अग्लो ठाउँमा धान फलाउने क्षेत्र कर्णाली । स्याउ लगायत अन्य फलफूलको अपार भण्डार कर्णाली । भौगोलिक कठिनाइ भए पनि सहज जिन्दगी जिउँने म जस्ता मान्छेको थलो हो कर्णाली । नेपालकै सबभन्दा लामो अपार जलस्रोत भएको नदी कर्णाली, जसबाट विद्युत उत्पादन गरे देशलाई नै आवश्यकता पर्ने भन्दा कैयौं गुणा बढी उत्पादन गरी विदेशमा समेत निर्यात गर्न सकिने सम्भावना । विद्युतको प्रवाह सबै ठाउँमा नभए पनि जुनेली काठ चिन्ने क्षमता छ । स्थानीयस्तरमै जडिबुटी पहिचान गरी औषधि प्रयोग गर्ने क्षमता छ । कर्णालीलाई कसरी ठगिएको छ भनि गीतहरूको गाथा बनाएर गाउने क्षमता छ । भेडा, च्याङ्ग्रा, खच्चड लगायतका पशुपंक्षी पाल्ने पेसागत दक्षता छ । योगी नरहरिनाथ, जवानसिंह पोखरिया, इन्द्रबहादुर खड्का जस्ता विभूतिहरू जन्माउने क्षमता छ । खैरावाङ, पञ्चकोशी, चन्दननाथ जस्ता धार्मिक तपोभूमि स्थान छन् । पेट्रोलियम पदार्थ तथा धातुहरूको खानीको अपार भण्डार छ । ऐतिहासिक पुरातात्विक स्थलहरू के छैनन् कर्णालीमा । नेपालकै सबभन्दा ठूलो ताल रारा लगायत कुपिण्डे दह, बुलबुले ताल, काँक्रेविहार जस्ता मनोरम स्थलहरू छैनन् र यो कर्णालीमा । सुन्दर स्वच्छ कलकल बग्ने पानीका मुहान, नेपालकै अग्लो झरना समेत कर्णालीमै छ । यो कर्णालीमा घर–घरमा संस्कृति र संस्कार छ । संस्कार, संस्था, व्यक्ति, प्रविधि सब छ कर्णालीमा तर यिनलाई जोड्ने इच्छा शक्ति मात्र नभएको वा यही इच्छा शक्तिको खाँचो छ । त्यो इच्छाशक्ति कर्णाली हाँक्ने नेतृत्व र यहाँका बासीमा हुनु प¥यो नि ! हामीले गौरव गर्ने ठाउँ छैन र ?’ उनले आफूतिर एक टकले नियालीरहेको लखरपाटे साइलोलाई हेरे ।

उनले थप भने, ‘म बुढो मान्छे जाइने धेरै बोल्न पनि सक्दिनँ । धेरै सम्झन पनि सक्दिनँ । जे देखेको छु त्यही भनेको छु । मैले अघि नै पनि भनि सकेको छु । म धेरै नचाहिने बखान गर्न सक्दिन । कर्णाली क्षमतावान छ । तँलाई कस्तो लाग्यो त मेरा कुरा । अब कति आना विरोध गर्ने मनसाय छ लु भनिहाल जाइने ।’

लखरपाटे साइलो नतमष्तक हुँदै बोल्यो, ‘बाजे म त केहीँ भन्न नै नसक्ने भएँ । वास्तवमा म जस्ता हजारौं मान्छेहरू यहाँ कस्तुरी मृग भइ बाँचेका रहिछौँ । आफ्नै शरीरको वास्ना थाहा नपाई बाहिर–बाहिर त्यही वास्नाको खोजीमा भौतारिरहने । वा रनवन चहार्दै हिँड्ने । हामी आफूले आफैलाई नदेखि अरुको मात्र देख्ने । वास्तवमा इच्छा शक्ति त सबैमा होला केही गर्नुपर्छ मात्र नभनी गर्ने नै हो भने कर्णालीमा के रहेनछ र ? मेरा आँखा खुले बाजे अब म हजुरको यो सन्देश र विचारलाई सबैतिर प्रचार–प्रसार गर्दछु र आफ्नो ठाउँबाट पनि एक असल नागरिकले गर्ने काम गर्नेछु । भन्नेछु हाम्रो कर्णाली, राम्रो कर्णाली गौरव गरौँ । विकासको लागि दृढ इच्छाशक्तिसहित हातेमालो गरी अघि बढौँ ।

हवस् त बाजे म अहिले लाग्छु । बाँकी कुराकानी पछि गरौँला । नमस्कार !’ ‘लु हैन के हतार हो जाइने । किन आएको ? के कति काम हो ? केही नभनी जान लागिस् त साइला’ बुढाले भने । ‘हैन त्यतिकै निस्केको हजुरका एक दुई कुरा सुनौ भनेर तर आजलाई पुग्यो । सधैं आइरहने मान्छे त हो नि के काम हुनु थियो र ! बाजे । भोलि पनि आइहाल्छु नि ।’

‘लु–लु म त हिँड्न पनि कठिन हुन्छ । अलि पहिलासम्म त यो गाउँको पुछारदेखि सिरान र वल्लो छेउदेखि पल्लो छेउसम्म नचहारेसम्म खाएको पच्दैनथ्यो । के गर्ने उमेर र रगत नै रहेछ राजा ।’ लखरपाटे साइलाले आफ्नो बाटो ततायो । बुढाकी बुढी घरभित्रबाट बाहिर निस्किइन् । उनले बुढालाई भनिन्, ‘हैन यो बुढेसकालमा पनि कति हात फन्नाइ फन्नाइ बात मार्न सकेका हुन् यी बुढाले । तपाईंका कुरा तपाईंका छोरा–बुहारी त खाँदैनन् अनि दुनियाँले खान्छ । जमना कहाँबाट कहाँ पुग्यो तपाईं उही आफ्नै पालाका ठर्रा कुरा रटिरहनुस् । यस्तो छ उस्तो छ । तपाईंका छोरा छोरी काठमाडौं हुँदै जापान अमेरिका ताक्ने तपाईं यही कर्णालीलाई संसार र स्वर्ग ठान्ने ।’

बुढाले बुढीतिर फर्कदैं भने, ‘कर्णाली संसार हैन एउटा संसारको विकसित कुनो बनाउनुपर्छ मात्र भनेको हो नि ! के छैन र स्रोत साधनको परिचालन गरे पो विकास हुन्छ । सडकको ट्रयाक खुलेर ट्रयाक्टर गुड्दैमा विकास हुने होइन । यहीँको ज्ञान सीपलाई आधुनिकतामा ढाल्ने कर्णालीको भूगोल सुहाउँदो अन्य विकास पनि हुनुपर्छ । जडिबुटी प्रशोधन, औषधि उद्योग, जलविद्युत आयोजना वातावरणमैत्री दिगो विकास, फलफूल तरकारी उत्पादन क्षेत्र कति हो कति ?’

बुढी थोते दात ङिच्चाउँदै बोलिन, ‘हो हो अब मर्ने बेलामा हरियो काँक्रो ! उज्यालो कर्णाली देखेर मर्ने भए यी बुढा अनि पाउने भए गति पनि । फोस्रा भाषण र आश्वासनको खानी र सत्ताधारीलाई मागी खाने भाडो पनि छ कर्णालीमा भनेर भनिदिएको भए हुने थियो नि त्यो लखरपाटे साइलोलाई । उसले गाउँ–गाउँमा फुक्दै हिँड्ने थियो ।’

बुढा सोचमग्न भएर बुढीको मुखमा हेरे । हेर बुढी यस्ता कुरा गर्ने तिमी पनि नेता हुने क्षमता भएकी मान्छे हौ । के गर्ने अलि पहिला जन्मियौं र पो । अहिले जस्तो महिला सशक्तीकरण भएको अवस्थामा भए त मन्त्री नै हुने अवसर पाउने थियौ । उतिबेला महिलालाई अगाडि आउन दिने पद्धति नै भएन ।

भयो बुढा भयो अब धेरै नफुक्र्याऊ । अब जिउनारको लागि भित्र सवारी होस् । फेरि हजुरको यो भाषण गर्ने क्षमता पनि घट्ला । घडीले दश बजाई सक्यो । अरू आटीबाट पाटी सर्ने होइन । ढलेको सिन्को यताको उता सार्ने होइन । गफ दिन प¥यो भने बसी–बसी नेपाल देख्ने । भात पनि मार्सिकै छ क्षमतावान नै कर्णालीको चिसो पानीमा फलेको । बुढा पानीको लोहोटा समाइ हात पखाली भित्र प्रवेश गरे ।

प्रकाशित मितिः   २३ कार्तिक २०७६, शनिबार ०८:०१