अँध्यारो चिर्दै उज्यालोतर्फ

cartoon 28

‘जब जीवनको अँध्यारोलाई चिर्दै तपाईं अगाडि बढ्नुहुन्छ, तपाईंको जीत निश्चित छ । उठ्नुस् आजैबाट, सङ्घर्षको अर्को नाम हो सफलता ।’ – ओशो

हरेक कालो बादमा चाँदीको घेरा हुन्छ । ठीक त्यसैगरी हरेक व्यक्तिको सफलताको पछाडि सङ्घर्ष जोडिएकै हुन्छ । सङ्घर्षका स्वरूप फरक होलान्, कसैका जीवनमा बढी र कसैको जीवनमा कम । तर सङ्घर्ष विनाको सफलता सायदै प्राप्त हुन्छ ।
आफूलाई सङ्घर्षको मैदानमा खरो रूपमा उतारेर सफलताका सिंढी चढिरहेकाहरू समाजमा थुप्रै भेटिन्छन् । जसका सङ्घर्षका कथाहरू अरुका लागि पनि उत्प्रेरणा बन्न सक्दछन् । यही ध्ययेका साथ साझा बिसौनी दैनिकले आफ्नो छैठौं वार्षिकोत्सवको अवसरमा यस्तै सङ्घर्ष र सफलताका कथाहरू समेटेर विशेषाङ्क ‘उत्प्रेरणा’ प्रकाशित गरेको छ ।
सफलता र सङ्घर्षबीच गहिरो सम्बन्ध हुन्छ । त्यसैले सफलता प्राप्त गर्नका लागि सङ्घर्ष गर्ने क्षमता हुनु नितान्त आवश्यक छ । हामीले समाजका विभिन्न क्षेत्र र पेसामा रहेका यस्ता उदाहरणीय व्यक्तिहरू खोज्ने प्रयास ग¥यौं, जसमा सङ्घर्ष गर्ने क्षमता, आँट, साहस र धैर्यता छ । जसले चुनौतीका पहाड छिचोल्दै खुशीको खोजी गरिरहे । जसले जस्तासुकै समस्याहरू आइपर्दा पनि हरेश नखाइ जीवनलाई सफलताको बाटोमा डो¥याइरहे । जसले निरन्तर साधना गरेर आफूलाई अब्बल सावित गरे । जसले सुकरातले भनेजस्तै जीवनलाई सङ्घर्षको अर्को नाम माने । अँध्यारो चिरेर उज्यालोतर्फ हिँडिरहेकाहरूको जीवनकथा छ उत्प्रेरणामा ।
आफू दृष्टिविहीन भएर पनि उच्च शिक्षा हासिल गरी अरुलाई ज्ञानको ज्योति बाँडिरहेका सुरेश खड्का, जो दृष्टिविहीनहरूले केही गर्न सक्दैनन् भन्नेहरूका लागि गतिलो उदाहरण हुन् । आँखाको दृष्टि गुम्दैमा जीवन अँध्यारो हुँदैन भन्ने प्रेरणा उनको जीवनीबाट पाउन सकिन्छ ।
अपाङ्गता हुनु भनेको जीवनको समाप्ती होइन भन्ने उदाहरण हुन् प्राध्यापक राजन कँडेल । जसको दुवै खुट्टा चल्दैनन् । ह्वीलचेयरको साहाराले हिँड्डुल गर्छन् तर परिवारको खम्बा उनै हुन् । पारिवारिक र सामाजिक बन्धनलाई तोडेर महिलाहरूले पनि सफलताको शिखर चुम्न सक्छन् भन्ने उदाहरणका लागि तेजु गुरुङ्गको जीवनकथा पर्याप्त छ । कैयौं चोट पर्दा पनि जीवनदेखि हरेश नखाएर सङ्घर्ष गर्दै सफलतातर्फ उन्मुख हरिमाया शर्मा उदाहरणीय अर्की महिला पात्र हुन् । निरन्तर साधनाले सफलता पाएका व्यक्ति हुन्, गायक भीमबहादुर कार्की । हामीले उनीहरूको सङ्घर्ष र सफलतालाई केलाउने प्रयास गरेका छौं ।
जो, केही असफलताहरूबाट हरेश नखाएर अघि बढ्छन् तिनीहरू एकदिन अवश्य सफल हुन्छन् । उत्प्रेरणामा समावेश व्यक्तिहरूको भोगेका जीवनकहानीले यसै भन्छन् । सफलता प्राप्त गर्ने कुनै अचुक मेडिकल औषधि हुँदैन । सफलताको सूत्र भनेकै सङ्घर्ष, साहस, मेहेनेत र धैर्यता रहेछ ।
शिखर छुन सजिलो पक्कै छैन । यात्रामा मानिस कैयौं पटक लड्छ । फेरि उठ्छ र हिँड्छ । त्यही हो सङ्घर्ष, जसको अगाडि सफलता छ । सफल भएका विख्यात व्यक्तिहरू देख्दा उनीहरूले सजिलै त्यो सफलता प्राप्त गरे होलान् जस्तो लाग्छ । तर नियालेर हेर्दा उनीहरूको सङ्घर्षको कहानी अर्कै भेटिन्छ । हिम्मत नहुँदो हो त अल्बर्ट आइन्सटाइन, आइज्याक न्यूटनदेखि हाम्रै पारिजात, झमककुमारी घिमिरे र शान्ता चौधरीहरू यो उचाइमा पुग्ने थिएनन् । शारीरिक अपाङ्गतासँग जुध्दै, सामाजिक बन्धनहरू तोड्दै, गरिबीसँग पैठेजोरी खेल्दै सफलताको उचाइ छोएका अरुहरू पनि थुप्रै छन् ।
हिँड्न नसक्नेहरू वैशाखी टेकेर, ह्वीलचेयरमा बसेर वा घस्रिएरै अघि बढिरहेका छन् । आफ्नै खुट्टाले हिँड्न नसक्दैमा उनीहरूको जीवन समाप्त भएको छैन । सपाङ्ग व्यक्तिहरूले भन्दा बढी प्रगति गर्नेहरूमा दुवै खुट्टा नचल्ने राजन कँडेल जस्ता व्यक्तिहरू पनि यहीं छन् । दृष्टिविहीनहरू भौतिक आँखाले दुनियाँ नियाल्न मात्रै सक्दैनन् । मनको आँखाले संसार नियाल्न सक्दछन् । आफ्नै अन्तरदृष्टिले संसार चिनेर अरुलाई पनि ज्ञानको ज्योति छर्दै हिँड्ने सुरेश खड्का पनि यही छन् । हुन त सबैले सफलता प्राप्त गरेका छैनन् । तर जसले सङ्घर्ष गरेर अघि बढेका छन् तिनले जरुर सफलताको उचाइ छोएका छन् । किनभने ओशोले भनेजस्तै जब जीवनको अँध्यारोलाई चिर्दै तपाईं अगाडि बढ्नुहुन्छ, तपाईंको जीत निश्चित छ । सङ्घर्षको अर्को नाम हो सफलता ।

प्रकाशित मितिः   २९ असार २०७३, बुधबार ०४:४९