यथार्थताको धरातलबाट उपकुलपतिलाई शुभकामना

                         कालीप्रसाद पाण्डे

हाल नेपालमा जम्मा ११ वटा विश्वविद्यालयहरू छन् र यी सबै विश्वविद्यालयहरू त्रिभुवन विश्वविद्यालय (त्रि.वि.)का प्राध्यापकहरू र विद्यार्थीहरूकै दादागिरीबाट आक्रान्त बनेका छन् । लाग्छ, सबै विश्वविद्यालयहरू त्रि.वि.का टाँठाबाठा, दादागिरी गर्न सक्ने प्राध्यापकहरूलाई पदाधिकारी बनाउन गठन भएका हुन् ।

एउटा नयाँ विश्वविद्यालय ऐन पास हुनासाथ पदाधिकारी बन्ने दौड शुरू हुन्छ, र कसले कसरी यी पद हत्याउने भन्ने एकमात्र ध्यये हुने गरेको छ । यसको ज्वलन्त उदाहरण हाम्रो आँखा अगाडी भएको मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई हेर्न सकिन्छ । वि.सं. २०६८ सालमा पहिलोपटक विश्वविद्यालयमा पदाधिकारी नियुक्ति हुनासाथ खुसियाली मनाउन पर्नेमा ठूलो विरोध शुरू भयो । एउटा प्राध्यापक सुर्खेती माटोमा हुर्किएको व्यक्तिŒव उपकुलपति भएर आउँदा कमसेकम सुर्खेतमा भएको त्रि.वि.को आंगिक क्याम्पसमा स्वागतम हुनुपर्ने हो कारण आफ्नो प्राध्यापक उपकुलपति भयो तर यहाँ त त्यसबखत प्रवेश निषेध गरियो । उनको विरोध र वेइजत गर्न आंगिक क्याम्पसका प्राध्यापकहरू तयार हुनु एउटा उदेकलाग्दो अवस्था सृजना भयो, किन ?

मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्थापना गर्न अगुवाइ गर्ने शिक्षा क्याम्पस सुर्खेतका प्राध्यापकहरू नै शिक्षा क्याम्पसलाई म.प. विश्वविद्यालयमा समायोजन गर्नु हुँदैन भनेर अगुवाइ गर्नु र आफ्नो पहुँच लगाएर समायोजन गर्न नदिने अवस्था सृजना गर्नाले शिक्षा क्याम्पसका अगुवा प्राध्यापकहरूको नियत प्रष्ट भएन र ? यसमा कुनै दुविधा छ ? सुर्खेतकै निर्णयले गर्दा महेन्द्रनगरस्थित शिद्दनाथ विज्ञान क्याम्पस पनि सुदूर–पश्चिमाञ्चल विश्वविद्यालयमा समायोजन भएन र कृषि तथा वन विश्वविद्यालयमा पनि झमेला भएको त्यही कारण हो । यहाँ स्मरण रहोस्, ‘ऐेनको मस्यौदा गर्दा शिक्षा क्याम्पसको परिसरमा विश्वविद्यालय स्थापना हुनेछ’ भनेर ऐन पेश गरियो तर पछि उहि प्राध्यापक खुलेर समायोजन नगर्ने पक्षमा लागे । वास्तवमा, विश्वविद्यालयको हितमा थियो त ? शुरूको विद्यार्थी भर्नामा नै शिक्षा क्याम्पसका विद्यार्थीहरूले म.प. विश्वविद्यालयको भर्नाको प्रवेश परीक्षामा अवरोध सृजना गर्नु र शिक्षा क्याम्पसका प्राध्यापकहरू नै म.प विश्वविद्यालयमा तालाबन्दी गर्न अग्रसर हुनु । वास्तवमा विश्वविद्यालयको स्वतन्त्रतामाथि नै हस्तक्षेप नभई अरू के ?

शिक्षा क्याम्पस सुर्खेत लामो समयसम्म हाल नेपालगन्ज भनेर उतै सञ्चालन भएका कारण सुर्खेतमा बाह्य भएर जनस्तरबाट २०३८ सालमा वीरेन्द्रनगर बहुमुखी क्याम्पस म.प.विश्वविद्यालयमा समायोजन हुँदा बहुमुखी क्याम्पसलाई यथावत् राख्नुपर्छ भन्ने आवाज पनि सशक्त रूपमा आयो । त्यो योजनाको अगुवाई गर्ने व्यक्तित्वहरूले विश्वविद्यालयको हित चाहेका हुन् त ? शिक्षा क्याम्पस त समायोजन नहुने तर यता बहुमुखी क्याम्पस पनि समायोजन नगर्ने भन्ने आवाज प्रखर रूपमा अगाडी आएका कारण २०६९ माघ २० र २१ गते विश्वविद्यालयका निरिह उपकुलपतिले रातारात समायोजन हुने शिक्षक र कर्मचारी नियुक्ति बाड्नु पर्यो । यसको कारण के ? अझ केही प्राध्यापकहरूले एक वर्षसम्म पनि समायोजनको नियुक्ति नबुझेर पुरानो बहुमुखी क्याम्पसलाई नै ब्युझाउन सकिन्छ कि भनेर लाग्नु के विश्वविद्यालयको हितमा थियो ? जिम्मेवार व्यक्तिहरूले नै निजी स्वार्थमा लागेर यसरी विश्वविद्यालयलाई घाइते बनाउनु उचित कार्य हो त ?

सुर्खेतका सम्पूर्ण जनताले बुझ्नु आवश्यक के छ भने जसले स्थापना गर्न भुमिका खेल्यो उसैले पुनः विश्वविद्यालय स्थापना पछि यसकै विरोधमा लाग्नु वास्तवमा गजवको चरित्र नै देखापरेको हो । एउटा जिज्ञासा जहिले पनि मनमा आउँछ, के सबै नेपालका विश्वविद्यालयहरूमा त्रि.वि.का आंगिक क्याम्पसका प्राध्यापकहरू नै पदाधिकारी बन्नुपर्ने बाध्यता हो त ? यदि यस्तै हो भने ऐन र नियमावलीमा नै यसको व्यवस्था किन नभएको ? यसको जानकारी पाउने हक सम्पूर्ण जनतालाई छैन ? अझै रहस्यको कुरा त गण्डकी पश्चिमका प्राध्यापक पदाधिकारी बन्नै नहुने किन ?

यसको जानकारी पनि आम–जनतालाई जानकारी हुनु पर्ने हाईन र ? यदि विश्वविद्यालय विश्वव्यापी महŒव राख्ने विषय हो भने अरू देशका नागरिक हुन पाउने कि नपाउने ? होइन भने पदाधिकारी ऐनमा नै क–कसले पाउने र क–कसले नपाउने भन्ने प्रष्ट व्यवस्था भए के होला ? देशको कुन भुगोलमा काम गर्ने प्राध्यापक पदाधिकारी बन्ने भन्ने कुरा ऐनमा नै व्यवस्था भए के होला ? वास्तविकता लुकाउने आवश्यकता हाल खुला संसारमा पक्कै पनि छैन र यो आवश्यक छ भन्ने लाग्छ भने त्यो सरकार असक्षम नै हो भन्न सकिन्छ । हाल यो देशमा उपकुलपति, सेवा आयोगको अध्यक्ष आदि कुुनैपनि पदमा बसेर काम गर्न सक्ने व्यक्तिको कमि छैन तर किन मध्य र सुदूर पश्चिममा पनि पूर्वकै प्राध्यापकको पदाधिकारी चलाउनुपर्ने ? यसको जवाफ हाल आएर पश्चिमका विश्वविद्यालयहरूमा अवश्य पनि चाहिएको छ ।

एउटा प्राध्यापक सरुवा भएर केन्द्रमा जान्छ र उसको लागि केन्द्रमा भएका विश्वविद्यालयहरूमा नै पदाधिकारी बन्ने अवसर हुँदा हुँदै किन पूर्व र पश्चिमका विश्वविद्यालय ताक्ने । नवगठित विश्वविद्यालयहरू नयाँ सोच, विचार र नयाँ तौरतरिकामा संचालन हुनुपर्ने र देशमा आवश्यक जनशक्ति उत्पादन गर्नु पर्नेमा किन त्रि.वि. नै विक्रितिर लाग्ने ? बाहिरबाट आएर यस क्षेत्रको विकास गर्न सक्ने भए, संघियता किन आवश्यक भयो ? एकलौटी केन्द्रबाट कार्यक्रम चलाए के फरक पर्छ ? फेरी, यदि प्रत्येक विश्वविद्यालयमा त्रि.वि.कै हैकम र दवदवा चल्ने हो भने त्यसकै शाखा राखेर चलाए भै हाल्यो नि । जनता निरिह छन्, केही बोल्न सक्दैनन् भनेर जे मन लाग्यो त्यही गर्ने भए यो सब नाटक गर्नु आवश्यक छैन र समायोजन भएर आउने प्राध्यापकहरूलाई विभेद गर्ने, दुःख दिने, धम्काउने, सुविधा कटौति गर्ने, व्यक्ति लक्षित व्यवहार गर्ने काम विश्वविद्यालयलाई सुहाउने कुरा पक्कै होइन । सायद यी सबै प्रश्नको जवाफ दिन न त पदाधिकारीहरू तयार छन् । यदी हामीलाई सरकारको झोले या भजन मण्डली नै आवश्यक भएको भए त्यस्तै व्यवस्था गरौँ तर ठाडो शिर गरेर त्यसको जवाफ दिन हामी तयार किन भएनौ ?

यहाँ त नियमावली बन्दा नै कुन–कुन व्यक्तिलाई सुविधाबाट वञ्चित राख्ने भन्ने कुरा मनमा राखेर नियमावली बनाइन्छ र संसारमा नभएको निर्णय गरिन्छ । कुनैपनि संस्थामा नभएका नियम यहाँ राखिन्छ र नियममा भएका व्यवस्था पनि व्यक्ति विशेषलाई हेरी कटौति गरिन्छ । एउटा प्राध्यापक साँच्चै सुविधाका लागि अदालतनै जानुपर्ने भए किन नियम बनाएको होला ? यहाँ त एउटा समूह नै सोझा, निमुखा र पहुँच नभएका व्यक्तिहरूलाई अनेक दुःख दिन तमतयार भएको पनि देखिन्छ ।

जहिले पनि भ्रष्टाचारको कुरा उठ्छ तर बाहिरबाट आउने पदाधिकारी कति कमाउन सकिन्छ भनेर नै आउने हुन् र हाल अझ पाटीलाई कति दिने, नेतालाई कति दिने र कति कर्मचारी नियक्ति गरिदिने भनेर आउने भएका कारण नै भ्रष्टाचार हुने नै भयो । यहाँ पहुँच हुने उम्कने र पहुँच नहुने फस्ने हो अरू के छ र ? एउटा उपकुलपति बन्ने मानिस बजेट कति छ ? कति लग्न सकिन्छ ? र कति के–के गर्न सकिन्छ ? भनेर आउँदछ र आफ्नो पालामा धुमघडाका गरेर जान्छ । यो कुनै नौलो कुरा भएन । पैसाको खेलमा गोल्ड मेडल समेत बिक्रि हुने नेपालका विश्वविद्यालयहरू भ्रष्टाचारको कुरा त सामान्य नै हो ।

अब पुनः नयाँ उपकुलपति आउने बेला भयो र मध्य–पश्चिमका प्राध्यापकहरू पनि स्वागतमा आतुर छन् । अब हामी भन्न चाहन्छौँ यहाँ निर्धक्क भएर आउनुहोस्, मोज गर्नुहोस् र जानुहोस् । नयाँ उपकुलपतिलाई यही शुभकामना दिन चाहन्छु ।

(लेखक म.प विश्वविद्यालयका पूर्व उपकुलपति हुन् ।)

प्रकाशित मितिः   १० कार्तिक २०७६, आईतवार ०८:३४