वर्षेनी हराउँछन् कर्णालीका बालबालिका
मुना हमाल,
सुर्खेत : कर्णाली प्रदेशबाट वर्षेनी ठूलो संख्यामा बालबालिका हराउने गरेका छन् । कर्णाली प्रदेश, प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांक अनुसार पछिल्लो तीन वर्षको अवधिमा मात्रै नौ सय ८४ जना बालबालिका कर्णालीबाट हराएका छन् । आर्थिक वर्ष २०७३÷०७४ यताको अवधिमा ती बालबालिका हराएका हुन् ।
आर्थिक वर्ष २०७३÷०७४ मा दुई सय ८७ जना हराएका थिए भने आर्थिक वर्ष २०७४÷०७५ मा तीन सय २३ र २०७५÷०७६ मा तीन सय ७६ जना बालबालिका हराएको तथ्यांक प्रहरीसँग छ । यो तथ्याङ्क हेर्ने हो पनि कर्णालीमा बालबालिका हराउनेको दर पनि वर्षेनी बढ्दो छ । हराउनेमा बालकको संख्या बढी रहेको छ । तथ्याङ्कका अनुसार हराउनेमध्ये पाँच सय ११ जना बालक र चार सय ७३ जना बालिका रहेका छन् ।
घरको कमजोर आर्थिक अवस्थाकै कारण अधिकांश बालबालिकाहरूले घर छोड्ने गरेको पाइएको छ । गरिबीका कारण बालबालिका घर छोडेर हराउने गरेको हुन् । प्रदेशबाट हराउने बालबालिकामध्ये अधिकांश अति विपन्न तथा गरिब परिवारका बालबालिका रहेको विभिन्न अध्ययनले देखाएका छन् । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको कर्णाली प्रदेशको बालबालिकाको अवस्था सम्बन्धी पछिल्लो प्रतिवेदनमा पनि हराएर फेला परेका बालबालिकाहरू आफ्नो जीवन निर्वाह गर्न रोजगारीको खोजिमा हिड्ने गरेको र विभिन्न काममा संलग्न रहेको पाइएको उल्लेख गरिएको छ ।
कर्णालीका बालबालिकाहरू विशेष गरी रोजगारीका खोजीमा परिवार छोडेर अन्य जिल्ला तथा छिमेकी मुलुक भारतमा जाने गरेको पाइएको हो । गरिबीका कारण दुई छाक खानै समस्या पर्ने परिवार कर्णालीमा छन् । यहाँका ५२ प्रतिशत नागरिक नै गरिबीको रेखामूनि छन् । जसको प्रत्यक्ष असर बालबालिकाहरूमा पनि पर्ने गरेको छ । गास, वास र कपास जस्ता मौलिक अधिकारबाट वञ्चित हुनुपरेपछि यहाँका धेरै बालबालिकाहरू घर छोडेर हिंड्ने गरेको पाइन्छ ।
आर्थिक अभावका कारण पैसा कमाउने आशमा घरपरिवार छोडेर हराएका बालबालिकामध्ये केही समयपछि भेटिने गरे पनि केही बालबालिका फेला पर्न नसकेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । अधिकांश बालबालिका अति विपन्न तथा गरिब परिवारका बालबालिका भएको प्रदेश प्रहरी प्रमुख डिआइजी पूर्णचन्द्र जोशीले जानकारी दिए । बालबालिकाले रोजगारीको लागि घरपरिवार छोड्ने गरेको उनको भनाइ छ । उनले भने, ‘पहिलो कुरा बालबालिका आर्थिक अभावले रोजगारीका लागि नै घरपरिवार छोड्छन् । हराएका मध्ये केही बालबलिका घरमा झगडा परेर, बिवाह गरेर हराउने पनि गरेका छन् ।’
हराएका मध्ये २७ दशमलब २३ प्रतिशत बालबलिका अझै भेटिएका छैनन् । तीन वर्षमा हराएका मध्ये दुई सय ६८ बालबालिका भेटिएका छैनन् । प्रहरीका अनुसार तीन वर्षमा सात सय १६ बालबलिका भने भेटिएका छन् । सबै भन्दा बढी सुर्खेत, दैलेख, जाजरकोट, रूकुम पश्चिमबाट बालबालिका हराउने गरेका छन् । डिआइजी जोशीले हराएका केही बालबालिका प्रहरीको सम्पर्कमा नआउने गरेको पनि बताए । प्रहरीले हराएका बालबालिकाको खोजि कार्यमा निरन्तरता दिएको पनि उनको भनाई छ ।
हराएका बालबालिका होटल व्यवसाय र अति जोखिमपूर्ण काममा संलग्न हुने गरेको बालअधिकारकर्मी बताउँछन् । हराएका बालबालिका आफन्त तथा परिवारको सम्पर्कमा नहुँदा विभिन्न जोखिममा पर्ने गरेका छन् । उनीहरू बेचबिखनमा पर्ने, श्रम शोषणमा पर्ने, पढाईमा बञ्चित हुने र जीवननै जोखिममा रहने सम्भावना रहेको बालअधिकारकर्मी पवित्रा शाहीको भनाई छ । उनले आर्थिक रूपमा अति विपन्न परिवार तथा बालबालिकालाई लक्षित गरेर सरकारले कार्यक्रम ल्याउन सके हराउने संख्यामा कमी आउने बताईन ।
शाहीले जोखिममा रहेका परिवारलाई सेचतना दिनुका साथै आर्यआर्जनका कार्यक्रम र बालबालिकालाई घरमै बस्ने वातवरण गराउनु पर्नेमा जोड दिइन । ‘केही बालबालिका घरमा बुबा–आमाबीच राम्रो सम्बन्ध नहुँदा पनि हराएको पाइन्छ भने केही बालबालिका पढ्न मन नलागेर घर छोड्छन’ उनले भनिन्, ‘अभिभावकहरूका लागि पनि सचेतामूलक कार्यक्रम ल्याउन आवश्यक छ ।’
प्रकाशित मितिः १० कार्तिक २०७६, आईतवार ०८:२९
मुना हमाल ।