जनशक्ति अभाव झेल्दै मेहेलकुना अस्पताल

शैया थपिएपनि सेवामा सुधार भएन

सुर्खेत : गुर्भाकोट नगरपालिका–६, सुर्खेतका इन्द्रबहादुर थापालाई मेहेलकुना अस्पतालले दिने सेवा पहिलेको भन्दा पनि झन खस्किएको जस्तो लाग्छ । १५ शैयाको अस्पताल स्तरोन्नती गरेर ५० शैयामा पु¥याएपनि सेवामा भने स्तरोन्नती हुन नसकेको उनको भनाई छ ।

थापालाई मात्रै होइन मेहेलकुना अस्पताल पुग्ने अधिकांशको यस्तै गुनासो हुने गरेको छ । शैया थपिएपनि सुविधा नथपिएको भन्दै सेवाग्राहीहरू आक्रोशित हुने गरेका छन् । तर अस्पताल भने जनशक्ति अभावको समस्या झेल्दै आएको छ । एकातर्फ अस्पतालको दरवन्दी नै पर्याप्त छैन । त्यसमाथि दरवन्दी अनुसार जनशक्ति पनि छैनन् ।

अस्पतालका निमित्त सुपरिडेन्टेन्ट डा. मनिषकुमार मिश्रका अनुसार ५० शैयाको अस्पतालका लागि नवौं अथवा दशौं तहको मेडिकल अधिकृत आवश्यक परेपनि आठौँ तहको मेडिकल डेण्टल अधिकृतले प्रमुखको भुमिका निभाउनु परेको छ । अस्पतालमा विशेषज्ञ डक्टर एक जना, जनरल फिजिसियन एक जना, चार जना मेडिकल अधिकृत, ल्याब टेक्निसियन दूई जना, एक्सरे रेडियोग्राफिमा दुई जना, प्रसाशनमा एक जना नायबसुब्बा, प्रसुतिमा तीन जना, अनमी तीन जना, प्यारामेडिसिनमा चार जना, एचए र अहेब चार जना गरी अझै करिब २५ जना जनशक्तिको आवश्यक भएको उनले बताए । तर करिब आधा जनशक्ति अभाव छ ।

मिश्रले अस्पतालमा आवश्यक कर्मचारीको अभावले गर्दा सेवामा प्रभाव परेको बताए । ‘अस्पतालले नियतवश सेवाग्राहीलाई सेवा नदिएको होईन’ उनले भने ‘कर्मचारी समायोजनका कारण मेहेलकुना अस्पताल ताला लगाउनुपर्ने अवस्थामा पुगेको थियो ।’ स्थानीय तहसँग समन्वय गरी केही समयका लागि करारमा कर्मचारी थप गरेपनि अझै अस्पतालमा कर्मचारी अभाव भएको उनले बताए । अस्पताललाई दरवन्दि नै थोरै भएको र भएको दरवन्दिमा पनि डाक्टरहरू नभएको उनले दुखेसो पोखे ।

आवश्यक जनशक्ति नभएपछि स्थानीय सरकारको समन्व्यमा करारमा केही कर्मचारी राखिएको छ । तर यसरी अस्प्ताल सञ्चालन हुन नसक्ने मिश्र बताउँछन् । नेपाल स्वास्थ्य विभागले केही मेडिकल अधिकृतहरू बाँडिरहेको भएपनि यस बारे भने कर्णाली प्रदेश सरकारले कुनै चासो नदेखाएको उनले गुनासो गरे । भनेजस्तो सेवा नपाउँदा सेवा ग्राहिले गुनासो गर्नु स्वभाविक भएको समेत उनले बताए ।

उता सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका जनस्वास्थ्य प्रशासक बृषबहादुर शाहीले मन्त्रालयमा आएका कर्मचारीहरू पठाईरहेको बताए । प्रदेश सरकारको मातहतमा रहेको मेहेलकुना अस्पताललाई स्थानीय तहले नै व्यवस्थापन गर्ने गरी जिम्मा दिएको समेत उनले बताए । तर गुर्भाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कर्णबहादुर कुँवरले मेहेलकुना अस्पताल कर्णाली प्रदेश सरकारको मातहतमा भएकोले आफूहरूको अधिकार क्षेत्रभित्र नपर्ने बताए । ‘हाम्रो अधिकार क्षेत्रभित्र नपरेको अस्पताल भएपनि हामीहरूले केही कर्मचारी समेत सहयोग गरेका थियौँ’ उनले भने ‘तर सँधै हामीहरूले सहयोग गर्न सक्दैनौ । हामै्र स्थानीय तहमा अस्पताल भएको कारण सेवाका गुणस्तर र प्रभावकारीतालाई हेर्न सक्छौं ।’

अस्पतालमा आवश्यक जनशक्तिको अभाव मात्रै होइन अन्य पूर्वाधारको समेत अभाव छ । ५० शैयाको अस्पतालमा एउटा एम्वुलेन्स समेत छैन । अघिल्लो आर्थिक वर्षमा प्रदेश सरकारले एम्वुलेन्स खरिदका लागि छुट्याएको बजेटको अत्तोपत्तो नभएको र गुर्भाकोट नगरपालिकाले समेत एम्वुलेन्स खरिदका लागि बाहिर जिम्मा दिएको स्थानीय समेत रहेका इन्द्रबहादुर थापाले बताए । जाजरकोट जिल्ला लगाएत सुर्खेतका सिम्ता गाउँपालिका, भेरीगंगा नगरपालीकाबाट सेवाग्राही आएपनि अस्पतालले भने राम्रो सेवा दिन नसकेको थापाले गुनासो गरे ।

वि.सं. २०७२ सालमा स्थापना भएको मेहेलकुना अस्पताल कर्णाली प्रदेश सरकारको मातहतमा रहेको छ । हाल अस्पतालमा विशेषज्ञ डाक्टर नभएपनि दुईवर्षे परिक्षण कालको लागि मिक्स साईमनले एकजना विशेषज्ञ डाक्टर पठाएको अस्पताल स्रोतले बताएको छ । अस्पतालमा दैनिक दुई सय ५० भन्दा बढी सेवाग्राही सेवा लिन आउने गरेका छन् ।

प्रकाशित मितिः   ९ कार्तिक २०७६, शनिबार ०९:१६