नागरिक र प्रहरीबीचको दूरी
![]() |
पुनम बिसी |
छोराछोरीलाई पहिलेदेखि नै सिकाइन्छ, प्रहरीसँग डराउन । चोरी ग¥र्यौ, ढाँट्यौ छल्यौ भने प्रहरीले लैजान्छ, कुट्छ पिट्छ । हाम्रा बाबु आमा पनि यही भन्थे, सुनाउँथे । परिवेश उही छ, वर्तमान अवस्थामा पनि अभिभावक यही सुनाउँछन् । प्रहरीप्रतिको डर हर एक नागरिकमा काँडा सरी बिझेको छ । समाजमा भइरहने अपराधका घटनाहरूलाई न्यूनीकरणका लागि यो डर प्रभावकारी रूपमा गनिएको त छैन तर अपराध पश्चात् अपराधी फरार हुन या कानुनको दायरामा नआउन यो डर सघाउ चाहिँ अवश्य बनेको छ । मानिसहरू यही डरका कारण पनि कानुनी रूपमा अघि बढ्दैनन् ।
अझै पनि अधिकांश व्यक्तिहरूले आफ्ना बालबालिकाहरूलाई प्रहरीसँग डराउन सिकाउँछन् । त्यही सोचमा कि उसले समाजमा गलत काम नगरोस् । सामाजिक शान्त तथा सामाजिक वातावरणलाई फोहर नबनाओस्, ऊ आफै पनि गलत बाटोतिर नलागोस् । वालापनमै बच्चाको कलिलो मस्तिष्कमा रोपिएको प्रहरीप्रतिको धारणाको उत्तर के ? के त्यो बच्चा कहिले पनि कुनै पनि अपराधमा संलग्न रहँदैन ? जीवनभर प्रहरीप्रतिको डर तथा दूरी उसले बढाएरै राख्छ चाहन्छ । भनिन्छ नि ‘प्रहरीलाई साथी पनि नबनाउनु, दुस्मन पनि नढान्नु’, यही धारणा मात्र उसको मानसिकतामा छाइरहन्छ ।
हामी हाम्रा बालबच्चालाई यो पनि किन सिकाउँदैनौं कि प्रहरी हाम्रो साथी पनि हो । हामीले गर्ने हरेक सकारात्मक कामहरूमा प्रहरीको प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्नता तथा सहयोग रहेको हुन्छ । समय अब सामाजिक धारणाहरू परिवर्तन को हो । राणाकालीन समयहरूमा जब एक प्रहरी लठ्ठीका साथ गाउँमा आउँथ्यो तब सारा गाउँ नै डरले थुरथुर हुन्थे रे ? वर्तमान समयमा व्यवहारमा यही कुरा नभएता पनि मानसिकता भने यही छ । जसले प्रहरीप्रतिको धारणा तथा दूरीलाई बढाइराखेको छ । प्रहरीलाई साथीको रूपमा हेरिँदैन ।
केही बद्नाम प्रहरीका कारण पनि अहिले प्रहरी प्रशासनलाई गलत नियतले पनि हेरिने गर्छ । सडकमा खटिएका कोही एक ट्राफिक प्रहरीले आफ्नो पदको दुरूपयोग गरी कोही एक नियम विपरित सवारी हाँकिरहेका चालकबाट रकम असुली भ्रष्टाचार गरेमा सारा प्रहरी नै बद्नामको अवस्थामा आइपुग्छ । उदाहरणहरू सञ्चार माध्यममा आइरहने घटनाहरू हुन् । जहाँ एक प्रहरीले न्यूनतम रूपैयाँ भ्रष्टाचार गरेको आरोप पनि नआएको भने होइन ।
सुर्खेतको सन्दर्भमा कालोबजारी तथा गलत धन्दा चलाइरहेका व्यक्तिहरूसँग प्रहरीको मिलेमतोको शंका गरिरहेका आम नागरिक प्रहरीसँगको दूरी घटाउन
चाहन्नन् । प्रहरीका स–साना क्रियाकलाप हरेक नागरिकले हेरिरहेका छन् । नेपालगन्जबाट सडक माध्ययमद्वारा सुर्खेतमा भित्रिरहेको ब्राउन सुगरका प्रयोगकर्ताहरूको घटना लिउँ । उनीहरूले समाजमा आफ्ना अनुभवहरूको परिपेक्षमा रहेर समाचारदाताको रूपमा भूमिका निर्वाह गरिरहेका हुन्छन् । बाटोमा प्रहरीले भेट्दा कसरी आफू बचें ? बाटोमा प्रहरीले आफूसँग पकेटमा भएको पैसा पनि कसरी लियो ? पैसा दिएर कसरी आफू बाटोबाटै छुटे ? उनीहरूले यस्ता कुरा तथा घटनाहरूले समाजमा अन्य नागरिकका माझ प्रहरीलाई बद्नाम बनाइरहेका पनि छन् । अझ झन् समस्याको रूपमा नागरिक र प्रहरीबीचको बढ्दो दूरी ।
लागूऔषध दुव्र्यसन तथा लागूऔषधको प्रयोग सुर्खेतमा बढ्दो रूपमा रहेको छ । स्रोतका अनुसार टोल–टोलमा ब्राउनसुगर बेच्नलाई ‘डिलरहरू’को संख्या बढ्दो रूपमा रहेका छन् । सामाजिक शान्ति उनीहरूका कारण भङ्ग भइरहन्छ । समाज उनीहरूसँग हुक्क हुन्छ, सँगै डराउँछ पनि । कारण आफ्नो मस्तिष्कमा आफ्नो अधिन राख्न नरुचाउनेहरू भोलि जुनसुकै अपराध गर्न पनि पछि हट्दैनन् । यसको उदाहरण, क्याम्पस रोड आसपासमा भइरहने मोबाइल चोरीका घटनाहरू हुन् । वीरेन्द्रनगरमा अध्ययनको शिलशिलामा आएका अन्य जिल्लाका विद्यार्थीहरूलाई ‘तार्गेट’ गरिएको थियो । समाजवासी तथा नागरिकहरूले प्रत्यक्ष रूपमा यी सबै देखिरहेता पनि ती मानिस विरुद्ध उजुर समेत गर्न डराउँछन् । कारण प्रहरी र नागरिकबीचको दूरी पनि हो । ‘मुस्कानसहितको प्रहरी सेवा’ले कत्तिको प्रभावकारी भूमिका निर्वाह गरिरहेको छ ? सायद अझै समय छ, प्रहरीद्वारा त्यो कार्यक्रमको नतिजा हेर्न ।
आखिर किन मानिसहरू दवियरै बस्न रुचाउँछन् ? रातारात ठूलो स्वर निकाल्दै काठ तस्करहरू आफ्नो सवारी कुदाउँछन् । काठ तस्कर गर्नु ग्रैहकानुनी हो तर नागरिकहरू त्यसको प्रत्यक्ष दर्शक हुँदाहुँदै पनि आधुनिक जमानामा प्रहरीलाई एक फोन पनि गर्न सक्दैनन् । नागरिकहरू यसबारे बताउन सक्दैनन् । तस्करहरूद्वारा सुर्खेत वरपरका जंगलहरू सारा सखाप पारिँदैछ । जसको कारण केही वर्षमै हामी वीरेन्द्रनगरमै पानीको अभाव महसुस गर्दैछौं । भविष्य के ?
वीरेन्द्रनगरमा केही वर्ष पहिलेको तुलनामा घर तथा भवनहरू बन्ने क्रम निकै बढेको छ । वन कार्यालय तथा सामुदायिक वनको इजाजतमा यो सारा वीरेन्द्रनगर नगरपालिकालाई पुग्ने गरी काठ वितरण गरिएको छैन । तर पनि भवन निर्माण ? काठ तस्करहरूद्वारा नै वीरेन्द्रनगर नगरपालिका घरहरूमा काठ पुगेका छन् । यसरी ठूलो परिमाणमा सुर्खेत खाल्डोमा भित्रिएको काठ देखिरहेका आम नागरिकले पनि प्रहरीलाई कसरी विश्वास गर्न सकुन् ? कसरी नागरिक तथा प्रहरीबीचको दूरी कम होला ?
हरेक नागरिक आफू सुरक्षित हुन चाहन्छ । तस्कर, लागूऔषध दुव्र्यसनमा फसेकाहरू तथा अन्य सामाजिक अपराधीहरूको माझमा समाजमा कोही पनि बस्न अवश्य रुचाउँदैन । एउटा त्यस्तो समाज जहाँ सुरक्षा होस्, अवेरसम्म छोरी घर नफर्कदा पनि परिवारलाई पीडा नहोस्, भविष्यका कर्णधारका रूपमा गनिएका बालबालिकाहरू सुरक्षित रहुन्, हरेक एक नागरिकले आफ्नो अधिकारबाट वञ्चित हुन नपरोस् । अधिकांश नागरिकको सोचाइ यही हो । सोचाइ अनुरूपको समाज निर्माणका लागि सर्वप्रथम प्रहरी र नागरिकबीचको दूरी कम हुनैपर्छ । समाज निर्माणको भूमिका तथा कर्तव्य बोकेका यी दुई पक्ष, नागरिक र प्रहरीद्वारा आफ्ना कर्तव्यको पालना गर्नैपर्छ ।
प्रकाशित मितिः २१ चैत्र २०७२, आईतवार ०३:१३
साझा बिसौनी संवाददाता ।