आँटिली अनिता

 

अनिता ज्ञवाली

अनिता ज्ञवाली कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्र्तगत सामाजिक महाशाखाका महिला विकास अधिकृत हुन् । वि.सं. २०४३ असोज १८ गते बुबा मोतिप्रसाद ज्ञवाली र आमा कलावति ज्ञवालीको सन्तानका रूपमा वीरेन्द्रनगर नगरपालिका वडा नं. ८ अवास क्षेत्रमा जन्मिएकी ज्ञवालीले हाम्रा सहकर्मी मुना हमालसँग आफ्नो बाल्यकालको सम्झना यसरी साटिन् ः

आफ्नो बाल्यकाल सबैलाई विशेष लाग्छ । खेल्ने, रमाउने भएर होला बाल्यकाल बढी रमाइलो हुन्छ । म घरको सबैभन्दा कान्छो सन्तान । आठ भाईबहिनीमध्ये म सबैभन्दा कान्छो सन्तान भएकाले सबैको प्यारी थिएँ । सानै उमेरदेखि विद्यालय जान शुरु गरेँ । मैले वीरेन्द्रगरमा रहेको बालमन्दिरबाट औपचारिक शिक्षा लिएँ । प्राथमिक तह बालमन्दिरमा पढेपछि श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा पढेँ । सोही विद्यालयबाट प्रवेशिका उत्तीर्ण गरेँ ।

सानैदेखि पढाईमा रुचि थियो । मैले बाल्यकालमा खेल्ने–रमाउने सँगसँगै पढाईलाई पहिलो प्राथमिकता राखेको थिएँ । प्रायः विद्यालय छुटाइनँ । एकदिन विद्यालय छुटाउनु पर्दा नरमाइलो लाग्थ्यो । बाल्यकालमा आँटिलो, शान्त र मिलनसार स्वभावकी थिएँ । मैले जे पनि गर्न सक्छु भन्ने लाग्थ्यो । गरेर पनि छोड्थेँ । कुनै पनि काम आत्मविश्वासका साथ गर्थँे । त्यही भएर पनि जोकोहीले केही भन्न सक्दैनथे ।

बाल्यकालमा कहिलेकाहीँ बदमासी पनि गरियो । आफ्नै बारीका काँक्रा चोर्न साथीहरूलाई लिएर आउँथे । गाउँभरी काँक्रा धेरै फलेका हुन्थे । अरुको बारीको काँक्रा भने चोर्न गइनँ । बरु आफ्नै साथीहरूलाई ल्याएर आफ्नै बारीको काँक्रा चारेर खान्थ्यौँ । पढाईमा राम्रै विद्यार्थी थिएँ  । मलाई सबैभन्दा सजिलो विज्ञान बिषय लाग्थ्यो । किताबबाट सरले पढाएको जहाँबाट सोधेपनि म भनिदिन्थेँ । जो विद्यार्थी जान्ने हुन्छ उही नै शिक्षकको प्यारो हुन्थ्यो । सरले सबैलाई उठाएर सोध्नुहुन्थ्यो । एक दिन सरले सबैलाई सोध्नुभयो । मैले जानेर बस्न पाएँ तर मेरो मिल्ने साथीलाई आएन । मैले नजिकै भएर सिकाइदिएँ । पछि सरले उल्टै मलाई पिट्नुभयो ।

कहिलेकाहीँ हामी सरलाई पनि झुक्काउँथ्यौँ । एक जना सरले कहिले पनि होमवर्क नहेर्ने । त्यही भएर हामीले प्रायः होमवर्क गर्दैनथ्यौँ । कहिलेकाहीँ मात्र हेर्नुहुन्थ्यो । एक पटक होमवर्क नगरेको दिन सरले हेर्नुभयो । कक्षामा दुई जना साथीले मात्र होमवर्क गरेका रहेछन् । सरले होमवर्क हेरेपछि ‘टिक’ लगाउनुहुँदैनथ्यो । हामीले त्यही दुई वटा कपि रोटेशन गरेर सरलाई देखायौँ । पछि सरले थाहा पाएर सबैलाई पिट्नुभयो ।

खेल्नमा धेरै रुचि थियो । त्यसबाहेक मलाई घुम्न पनि रुचि थियो । एक पटक विद्यालयमै पढाई भइरहेको समयमा शौचालय जान्छौँ भनेर निस्केपछि दुई–चार जना साथीहरू मिलेर खेल्न थालेछौँ । पढाई भइरहेको छ भन्ने नै भुलेछौँ । पछि म्याडम आएर गाली गर्नुभयो ।

खेलमा म भलिबल खेल्थेँ । त्यसबाहेक एथ्लेटिक्स, हाइजम्प र लङजम्प खेल्थँे । खेल खेलेर पुरस्कार पाउँथे । विद्यालयमा विभिन्न खेलकुदका प्रतियोगिता भइरहन्थे । म कक्षा ६ मा पढ्दा हाइजम्प र लङजम्प दुवै खेलमा प्रथम भएर पुरस्कार जितेँ । पहिले दिदीले सबै जना ठूला छन् । तिमिले सक्दिनौ भन्नुभएको थियो ।

म कक्षा ६ मा पढ्नेले आठ, नौँ, दश कक्षा पढ्ने दिदीहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने थियो । पछि मैले जितँे । अहिले पनि त्यति बेला पाएको सफलताले खुशी दिन्छ । बाल्यकालमा लगनशील, सबैले भनेको मान्ने र घरको काममा पनि ध्यान दिने भएकाले सबैको प्यारो थिएँ । पढाई सँगसँगै घरको काम पनि गर्नुपथ्र्यो । लगनशील भएर काम गरेको देखेर छिमेकीले पनि मेरो उदारण दिन्थँे । दिउँसोको समयमा विद्यालय पढ्ने, बिहान–साँझ घरको काम गर्नुपथ्र्यो । दिदी–दाईहरूको बिवाह भइसकेकाले पनि बुबाआमालाई काममा सघाउँथे ।

म विद्यालयमा हुँदा स्काउटमा आवद्ध थिएँ । सामाजिक विकृति र विसंगतिको सधै विरोध गर्थेँ । यस विषयमा बोल्न डर लाग्दैनथ्यो । सामाजिक कामहरूमा पनि सहभागि हुने अवसर हुन्थ्यो । स्काउटबाट हामीले विभिन्न सामाजिक कार्यक्रमहरू गर्ने गथ्र्यौँ । कोही नभएकाहरूलाई सहयोग गर्न अघि सर्थँे । घरमा कोही आएको छ भनेर दिएर पठाउँथे । एसएलसी पास भएपछि मैले वीरेन्द्रनगरको जन माध्यमिक विद्यालयबाट प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेँ । त्यसपछि शिक्षा क्याम्पसबाट स्नातक र स्नातकोत्तर गरेँ । अहिले सात बर्षदेखि सरकारी सेवामा छु । स्नातकोत्तर गरेर चार महिना मात्र अधिकृतको तयारी गरँे । र पहिलो पटक नै मैले नाम निकाल्न सफल भएँ ।

अहिले सुचना प्रविधिको विकासले धेरै फड्को मारेको छ । अहिलेका बालबालिका सुचना प्रविधिसँग धेरै नै जानकार छन् । हामीले मोबाइल फोन चलाउन र देख्न पाएनौँ । टोल–टोलमा बालक्लबहरू छन् । हरेक योजनामा बालबालिका सहभागि हुन्छन् । अहिलेको सेवा सुविधाले बालबालिकालाई धेरै सहज बनाइदिएको छ ।

त्यसबेलामा हामीले यि अवसर पाएनौँ । तर घरमा केही निर्णय गर्दा वा काम गर्दा बुबाआमाले भने हामीलाई पनि सोध्ने गर्नुहुन्थ्यो । बालबालिकालाई तिमी केही सक्दैनौँ भनेर भन्न हुन्न भन्ने मेरो बाल्यकालमा भोगाई छ । सकेसम्म बालबालिकालाई दबाव दिनुहुँदैन । यो कुरा हरेक अभिभावक, शिक्षक र अन्य व्यक्तिहरूले बुझ्न जरुरी छ ।

प्रकाशित मितिः   २७ आश्विन २०७६, सोमबार १२:२९